सहरको कथा: पनौती
पनौती सहरको बनोट त्रिभुज आकारको छ।
दुई खोला (पुण्यमती र रोशी) को बीचमा रहेको यो सहरलाई कसैले पिपलको पातमा बसेको भन्छन्। कसैले माछाजस्तो छ भन्छन् त कोही यःमरिजस्तो देख्छन्।
आकाशका बादल हेर्दै दिमागले कल्पने आकारजस्तै। एउटै बादलको आकारलाई फरक मान्छेले फरक देखेजस्तै।
जसले जस्तो देखे पनि मोटामोटी रूपमा पनौती तीनवटा कोण भएको त्रिभुजजस्तै छ।
हामी अब आकारभन्दा अलिकति पर जाऔं। किनभने, हिजोआज पनौतीको बनोट त्रिभुज आकारमा सीमित छैन।
सरकारले २०५३ माघ ११ गते पनौतीलाई नगरपालिका घोषणा गरेपछि पहिले त्रिभुज आकारमा बसेको पनौती अब 'पुरानो पनौती' भएको छ। पुरानो पनौती, सुन्थान, शारदा, टौखाल, देवीस्थान, सुब्बागाउँ, मल्पी र खोपासी गरी आठ गाविस गाभेर अहिलेको बृहत् पनौती बनेको छ।
यही त्रिभुज आकारभन्दा बाहिर पर्छ, जेलाँदे जसलाई पनौतीको प्राचीन थलो मानिन्छ।
जेलाँदेमा खेतका ठूल्ठूला फाँट छन्, नयाँ नयाँ घर पनि बनेका छन्। पुरानो इतिहास झल्काउने प्राचीन पाटी र घरहरूका अवशेष मात्र बाँकी छन्।
पुरानो पनौती वडा नम्बर ७ मा पर्छ। जेलाँदे वडा नम्बर ४, अर्थात् टौखालमा पर्छ। इतिहासकार केदारनाथ प्रधानले 'बनेपाको ऐतिहासिक रूपरेखा' किताबमा जेलाँदेलाई पनौतीको पुरानो थलो भनेर उल्लेख गरेका छन्।
उनका अनुसार त्यहाँ उडुसले निकै दुःख दिन थालेपछि मान्छेहरू कोही पवित्र तीर्थस्थल त्रिवेणीमा बसाइँ सरे, कोही भक्तपुर गएर बस्न थाले।
'यहाँबाट भक्तपुर गएका मानिसले आफ्नो जन्मथलोको स्मरणमा सूर्यमढी टोललाई जेलाँ वा जेलाँटोल भनी सम्बोधन गर्न थालेकाले पनि (जेलाँदेको ऐतिहासिकता) पुष्टि हुन्छ,' उनले किताबमा लेखेका छन्।
पनौती कथा शृंखलाको आजको अंकमा हामी तपाईंहरूलाई पनौतीको प्राचीन थलो मानिने यही जेलाँदेबारे बताउने छौं।
यो अंक लेख्न हामी केही दिनअघि जेलाँदे घुम्न गएका थियौं। तपाईंहरू पनि आउनुस् है हाम्रो यो यात्रामा!
पनौतीका स्थानीय एवं संस्कृतिविद् तुयुकाजी ताम्राकारको पछि लागेर हामी बसपार्कबाट बासडोल पुग्ने बाटो हिँड्दै छौं। यो बाटोलाई पनौतीबाट हिँडेर साँगा हुँदै भक्तपुर पुग्ने पुरानो र छोटो बाटो मानिन्छ। पनौतीलाई नेपाल खाल्डोसँग भौतिक र आर्थिक रूपमा जोड्ने यो बाटो अहिले बिरानो छ।
इतिहासविद् योगेश राज २०७५ कात्तिक १० गते 'पनौतीका अभिलेख संग्रह' (२०५७) को संवर्द्धित संस्करण निकाल्ने सिलसिलामा यो बाटो हिँडेका थिए। भ्रमणपछि उनले 'पासूका' पत्रिकाको पूर्णांक ६७ मा 'बासडोलको वसन्तदेवको अप्रकाशित अभिलेख' भनेर लेख लेखेका छन्। बासडोलको बाटो अझै पनि योगेश राजले आफ्नो लेखमा वर्णन गरेझैं छ।
उनले लेखेका छन्, 'बासडोल लाग्ने बाटो पनाति (पनौतीको पुरानो नाम) बसर्पाकबाट अलि टाढासम्म पक्की छ। त्यसपछि कच्ची र धुलाम्मे। खोलाले काटेको बेँसी कतै फराकिलो त कतै साँघुरो। पारि ठाडो भीर जंगल देखिन्छ। वारि उकालो र ओरालो मनोरम छ। भञ्ज्याङमा चौताराका अवशेष भेटिन्छन्। छिटपुट घर देखापर्छन्। पसल छैनन् भन्दा हुन्छ। एकदुई खण्ड ज्यादै सुनसान छ। त्यहाँ राति हिँडिदैन जस्तो लाग्छ।'
उनले यो ठाउँको थप वर्णन गर्दै लेखेका छन्, 'केही दशक अघिसम्म व्यापारी, गृहस्थ, सैनिक, भरिया यो बाटो हिँड्थे भन्ने कुरा हामीले पनातिमा सुनेका थियौं। पनातिबाट साँगा पुग्ने यो छोटो बाटो काठमाडौं–कोदारी जोड्ने राजमार्ग बनेपा भएर गएपछि यात्रीहरू घटदै गए। व्यापार सुक्यो। मेलमिलाप घट्यो। यताको गाउँबस्ती ओझेलमा परे।'
संस्कृतिविद् ताम्राकारले हामीलाई त्यहाँका सुनसान फाँट देखाउँदै जेलाँदे यही भएको बताए।
यो ठाउँ हेर्दा यस्तो लाग्छ, यहाँ कहिले बस्ती बसेकै थिएन। पनौतीको प्राचीन थलो हुनु त परको कुरा।
ताम्राकारले हामीलाई रातो माटो भएको बारीतिर लगे। त्यहाँ टिनको छानाको गोठमा भैंसीपालन गरिएको थियो। त्यहाँबाट माथि उक्लिएपछि हामीले परपरसम्म फैलिएका फाँटहरू देख्यौं।
यो ठाउँको नाम अपभ्रंस हुँदै जेलाँदे, जलाँदे, जलाँ, जेलाँ लगायत भनिँदै आएको ताम्राकार बताउँछन्।
उनका अनुसार सूर्य उदाउँदा पहिलोपटक घाम पर्ने ठाउँ भएकाले यसलाई जेलाँदे भनिएको हो। पनौती काठमाडौं उपत्यकाको पूर्वी भागमा रहेकाले घामको किरणले पहिलोपटक छुने बस्तीका रूपमा यसको नामकरण भएको हुनसक्छ।
इतिहासको कुनै कालखण्डमा उडुसले टोकेर मान्छेहरू भागेकाले यहाँको बस्ती पूरै सखाप भएको कहावत छ।
ताम्राकार भने उडुस मात्र नभई थप तीनवटा सम्भावित कारण औंल्याउँछन् – युद्ध, आगलागी वा भुइँचालो।
'यी तीनमध्ये कुनै एक कारणले मान्छेहरू भकाभक मरेको र उडुस पनि लाग्ने भएकाले स्थानीयले यहाँ नबस्ने सल्लाह गरेर अन्त बसाइँ सरेका हुन सक्छन्,' उनले भने।
कतिपयले उडुसलाई त्यति बेला फैलिएको कुनै महामारीको प्रतीक रूपमा पनि लिन्छन्।
जे कारणले भए पनि यहाँबाट बसाइँ सरेका मान्छे तीनतिर फैलिएका छन्। एकथरी मान्छे बासडोल हुँदै भक्तपुर पुगेका छन्। उनीहरूले पुरानो ठाउँको सम्झनामा आफ्नो नयाँ बस्तीलाई नै जेलाँटोल भन्न थाले।
भक्तपुरवासीहरू अझै पनौतीलाई आफ्नो 'ढुकु' अर्थात् खाद्यान्न भण्डार मान्छन्। आलु, धान लगायत अन्न उनीहरू यहीँबाट लग्छन्। यहाँको रातो माटो पनि घर लिप्न लग्ने गरिन्छ। भक्तपुरबाट आउने नवदुर्गा नाच बनेपा सात गाउँ अन्तर्गतका साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट, बनेपा र पनौतीमा लगिन्छ।
कसैले भक्तपुरका नवदुर्गाको मुकुन्डो नाच लिच्छविकालदेखि चलेको भन्छन्। यसको यकिन तिथिमिति छैन। नेपाल सम्बत् ६३३ मा भक्तपुरका राजा सुवर्ण मल्ल (भुवन मल्ल) ले यो नाच पुनः सञ्चालनमा ल्याएको मात्र उल्लेख छ। पनौतीमा भने आनन्ददेवकै पालामा नाच सुरू भएको विश्वास गरिन्छ।
'काभ्रे जिल्लाका सात मुख्य बस्तीहरू आनन्ददेवले नै कलिगत वर्ष ४१९७ मा बसाएका हुँदा यस क्षेत्रमा पनि नवदुर्गा ल्याएको हुनुपर्छ,' लेखक ज्ञानकाजी मानन्धरले आफ्नो किताब 'बनेपा सातगाउँ' मा लेखेका छन्।
यो नाच मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन बनेपा ल्याएपछि त्यसको चौथो दिन पनौती ल्याइन्छ।
पहिलो दिन नवदुर्गालाई नगरवासीहरूले श्रद्धापूर्वक पूजा गर्छन्। दोस्रो दिन नवदुर्गा गणले न्हि प्याखँ (दिनभरिको नाच) र बेलुकासम्म चा प्याखँ (रातको नाच) नाच्छन्। तेस्रो दिन विभिन्न देवीहरूको नाचका साथै दिउँसो सिम्ह दुम्ह र साँझ स्वेत भैरवबाट ङा लाकेगु (माछा मार्ने) नाच हुन्छ। चौथो दिन नवदुर्गाहरू भक्तपुर फर्कन्छन्।
संस्कृतिविद् ताम्राकारका अनुसार जेलाँदेका केही मानिस भक्तपुरसँगै ललितपुरको हरिसिद्धि पुगे।
हिँड्दै हरिसिद्धि पुग्दा त्यहाँका स्थानीयले अपरिचित मान्छेहरू देखेर सोधे होलान्, 'तिमीहरू कहाँबाट आएको? किन आएको?'
उनीहरूले आफ्ना पीडा सबै सुनाएपछि हरिसिद्धिका मान्छेले पाटन दरबारसम्म खबर पुर्याए।
त्यो बेला प्रशस्त जग्गा-जमिन भएकाले काम गर्न सधैं मान्छेको अभाव हुन्थ्यो। त्यही भएर दरबारका मान्छेले भने, 'हामी तिमीहरूलाई राख्छौं। खेतबारी पनि दिन्छौं। यहाँ आओ।'
उनीहरू भोलिपल्ट झिसमिसेमै दरबारतिर हिँडे।
जो मान्छे जेलाँदेबाट हरिसिद्धि हुँदै पाटन गएका थिए, उनीहरू पुजारी वा गुठियार समुदायको हुनुपर्छ। उनीहरूले आफूसँगै आफ्नो ठाउँको भगवती देवी पनि लिएर गएका थिए जसलाई जलाँद्यः भनिन्छ। त्यो भनेको जलाँ वा जेलाँ देशको देवता हो।
हरिसिद्धिका बासिन्दाले जेलाँदेका मान्छेले ल्याएको भगवती देवीलाई आफ्नै ठाउँमा राख्न चाहे। जेलाँदेबाट आएका मान्छेलाई राम्रो व्यवहार पनि गरे।
हरिसिद्धिबाट आत्मीय व्यवहार पाएपछि उनीहरू खुसीखुसी त्यहीँ बसे। उनीहरूलाई दरबारको लोभभन्दा आफू र आफ्नो भगवानलाई राम्रो ठाउँमा पुर्याउने चाहना बढी थियो।
यसरी जेलाँदेबाट हिँडेको दोस्रो समूह हरिसिद्धिमै बसोबास गर्न पुग्यो।
तेस्रो समूहका मान्छे भने अहिलेको पुरानो पनौती अर्थात् त्रिवेणी घाट नजिकै बसाइँ सरेको ताम्राकार बताउँछन्।
त्यो ठाउँलाई एउटै ढुंगामा बसेको बस्ती मानिन्छ। त्यहाँको जमिन खन्दा माटो नभई केही फिटमै ढुंगा भेटिन्छ। त्यस्तो ठाउँमा भुइँचालोको जोखिम कम हुन्छ।
'२०७२ को भुइँचालोमा पुरानो पनौती बस्ती बाहिर र जेलाँदेमै पनि थुप्रै घरहरू चर्किए, भत्किए। त्यहाँ भने खासै असर परेन। त्यसले पनि माटोभन्दा ढुंगामा घर बलियो हुन्छ भन्ने पुष्टि भयो,' ताम्राकारले भने, 'त्यो बेला पनि त्यस्तै भुइँचालो आएकाले केही मान्छे त्रिवेणी घाटतिर सरेको हुनुपर्छ।'
जेलाँदेका मान्छेले पुरानो पनौतीमा नयाँ बस्ती बसाएपछि उनीहरूले हरिसिद्धि पुगेको समूहलाई खबर पठाए, 'हामीले यहाँ बस्ती बसालिसक्यौं। तपाईंहरू अब यहीँ फर्कनुहोस्। हाम्रो देवतालाई पनि यहीँ ल्याउनुहोस्।'
हरिसिद्धि पुगेका मान्छे त्यहीँ रमाउन थालिसकेका थिए। उनीहरूले त्यहाँ छुट्टै बस्ती बसालिसकेका थिए।
उनीहरूले भने, 'हामीले पनि यहाँ बस्ती बसालिसक्यौं। अब हामीलाई यहीँ ठिक छ।'
पनौतीका मान्छेले फेरि कर गरे, 'हामीले हाम्रो भगवानलाई त पूजा गर्न पाउनुपर्यो नि।'
धेरै कर गरेपछि उनीहरूले १२ वर्षमा एकचोटि भगवतीलाई लिएर पनौती आउने बाचा गरे। आज पनि हरेक बाह्र वर्षमा हरिसिद्धि नाच पनौती आउने चलन रहेको ताम्राकार बताउँछन्।
हरिसिद्धिलाई 'जल' भन्ने चलन पनि छ र हरिसिद्धिबाट पनौती लगिने नाचलाई 'जलद्यः जात्रा' पनि भनिन्छ। 'द्यः' भनेको नेपाल भाषामा देउता हो।
यो नाचलाई मुकुट लगाएर नाचिने नेपालको पहिलो नृत्य मानिन्छ। करिब २४०० वर्षअघि राजा विक्रमादित्यले यो नाच प्रचलनमा ल्याएको भनाई छ। २०६२ सालमा प्रकाशित किताब ‘नेपाल मण्डलका मुकुण्डो नाच’ का अनुसार भारतको उज्जैन नगरका विक्रमादित्य नेपाल आउँदा आफ्ना कुलदेवता श्री हरिसिद्धि देवीलाई उनले कलशमा साधना गरी ल्याएर नेपालमा स्थापना गरेका थिए।
‘हरिसिद्धिलाई त्रिशक्ति मानिन्छ र हरिसिद्धि नै महेश्वरी हुन्,’ किताबमा लेखिएको छ, ‘विक्रमादित्यले आफ्ना कुलदेवतालाई स्थापना गरेपछि नाचको सुरूआत गरेकाले यस नाचलाई नेपालको सबैभन्दा पुरानो नाच मानिन्छ।’
बीचमा यो नाच लोप भइसकेको थियो। पाटनका प्रसिद्ध तान्त्रिक गयोजुजुको सहयोगमा काठमाडौंका मल्लराजा अमर मल्लले नाच पुनः सञ्चालनमा ल्याएको मानिन्छ। पछि राजा प्रताप मल्लले विधिवत् नियम बसालेर नाच थप विस्तार गरे।
प्रत्येक बाह्र वर्षमा हरिसिद्धि नाचको पुनर्स्थापना हुन्छ जसलाई 'सिठी च्वनिगु' भनिन्छ। यसमा नयाँ कलश स्थापना, मुकुटमा रंगरोगन, नयाँ पोसाक सिलाइ, पुजारीको सट्टाभर्ना लगायत गरिन्छ।
मंसिर पूर्णिमा र फागु पूर्णिमामा हरिसिद्धि नाच हुन्छ। त्यहाँ नाच सकिएपछि अन्य सहरहरू काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, पनौती, दोलखा, बुंगमती लगायत ठाउँमा नाच लगिन्छ।
हरेक बाह्र वर्षमा हरिसिद्धिबाट पनौतीमा नाच आउन थाले पनि बीचका ४०–५० वर्ष विभिन्न राजनीतिक तथा आर्थिक उथलपुथलले यो क्रम रोकिएको थियो। पनौतीका स्थानीयले जलद्यःलाई ल्याउनुपर्छ भनेर सक्रिय भूमिका खेलेपछि नाच पुनः सञ्चालनमा आएको छ।
२०६६ सालमा जनतासँग चन्दा उठाएर र नगरपालिकासँग मिलेर हरिसिद्धि नाचका कलाकारलाई दुई–तीन दिन बस्ने व्यवस्था र पूजाविधि मिलाई नाचगान गराइएको थियो। यो बाह्रवर्षे नाच देखाउने समय यसै वर्ष परेको छ।
यी त भए संस्कृति र किम्बदन्तीका आधारमा अनुमान गरिएका तर्कहरू। अब हामी यहाँ भेटिएका सामग्रीका आधारमा कुरा गरौं।
जेलाँदे बस्तीमा खेत खन्दा कुनै कुनै ठाउँमा इँटाका चोइटाहरू निस्कन्छन्। एकपटक एउटा डुंगासमेत फेला परेको थियो जसले यो ठाउँमा ठूलो पोखरी भएको अनुमान गरिएको छ। जेलाँमा अहिले पानीको अभाव छ। पहिले त्यही पोखरीले पानीको समस्या सामाधान गर्दो हो।
बासडोलको बाटोमा पुरानो ढुंगेधारा पनि फेला परेको छ। बासडोल उकालो लाग्ने बाटोमै एउटा फल्चा (पाटी) छ। पहिले त्यो फल्चा अलि पर थियो। जीर्ण भएपछि संरक्षण भएन। पछि त्यसको सट्टा नयाँ फल्चा बनाइएको संस्कृतिविद् ताम्राकार बताउँछन्।
त्यही फल्चा वा पाटीका कारण यो ठाउँ जेलाँपाटी भनेर पनि परिचित छ। त्यसमाथि शिवलिंग र कुलदेवता पूजा गर्ने स्थान छ।
बासडोल जाने बाटोनजिकै भगवान डाँडा भन्ने ठाउँ छ। त्यही डाँडामाथि पनौती नगरपालिका छ। नगरपालिकाभित्र हामी गौतम बुद्धको स्तुप देख्न सक्छौं। यो स्तुपको पनि आफ्नै किस्सा छ।
एकपटक एक जना मान्छेको सपनामा भगवान बुद्ध आएछन् र भनेछन्, 'म यहाँभित्र छु। मलाई निकै दुःख–कष्ट भइरहेको छ। मलाई यहाँबाट निकाल।'
उनले सपनामा देखेको ठाउँ उत्खनन गर्दा गौतम बुद्धका स–साना मूर्ति, माटो र धातुका पुराना पैसा लगायत महत्वपूर्ण सामग्री फेला परे।
यो २०१५–२०१६ सालतिरको कुरा हो। त्यति बेला नगरपालिका बनिसकेको थिएन। चौतारामा हुने स्थानीय भेलाले महत्वपूर्ण प्रशासनिक निर्णय लिन्थ्यो। भेटिएका पुराना सामग्री स्थानीयलाई नै सुरक्षित राख्न दिने निर्णय भएको थियो। अहिले यी सामग्री पुरातत्व विभागमा छ।
'यसरी यो ठाउँमा भगवान बुद्धको मूर्ति फेला परेकाले तीन–चार वर्षअघि त्यसैको सम्झनामा नगरपालिका परिसरमा स्तुप बनाइएको हो,' ताम्राकारले भने, 'त्यो पुरानो स्तुप भने होइन।'
गौतम बुद्धको स्तुप भेटिनुले जेलाँदेमा कुनै समय बौद्ध धर्मको तरंग आएको हुनुपर्ने उनी अनुमान गर्छन्।
बासडोलको बाटो हिँड्दै गर्दा इतिहासविद् योगेश राजले लिच्छविराजा वसन्तदेव (मानदेवका नाति) को विक्रम सम्बत् ५६९ को महत्वपूर्ण अभिलेख फेला पारेका छन्।
काठमाडौं उपत्यकाबाहिर पूर्वी भेगमा साँगा, नाला, बनेपा, खोपासी, भकुण्डेबेंसी, दुम्जा, पलाञ्चोक भगवतीमा एउटा–एउटा र साँखुमा दुइटा गरी हालसम्म नौवटा लिच्छविकालीन शिलालेख पाइएका छन्। साँखुमा अर्को एक लिच्छवि अभिलेख फेला परेको छ। बासडोलमा यो अभिलेख भेटिएपछि अब पूर्वी भेगका लिच्छवि अभिलेखको संख्या ११ पुगेको छ।
'बासडोलमा पाइएको यो अभिलेख वसन्तदेवको पहिलो र यो भेगकै दोस्रो पुरानो हो,' पासूका पत्रिकामा योगेश राजले लेखेका छन्।
पनौती र वरपरका क्षेत्र उत्खनन् गर्दा नवपाषाणकालीन अवशेषहरू पनि फेला परेका थिए। त्यस आधारमा पनौतीमा किराँतकालमै बस्ती बसेको हुनुपर्ने इतिहासविद्हरूको अनुमान छ। पनौतीको प्राचीन थलो मानिने जेलाँदेको भने खासै उत्खनन् भएको छैन।
सन् २०१५ मा पुरातत्व विभाग र बेलायतस्थित दुरहाम विश्वविद्यालयले यो ठाउँको भौगर्भिक सर्वेक्षण गरेको थियो। उक्त सर्वेक्षणले पनौतीको मध्य-दक्षिणी भागमा इँटाका संरचना भएको र उत्तरी भागमा आधुनिक इँटाहरू मक्किँदै गएको बताएको छ। यहाँको सतहमा पुराना इँटाका संरचना हुनसक्ने उक्त अध्ययनले देखाएको छ।
सर्वेक्षणमार्फत् यहाँका पुरातात्विक र ऐतिहासिक ठाउँहरूको नक्सांकन पनि गरिएको छ। ती ठाउँ अहिले जोखिममा पर्दै गएका छन्।
फाँटहरू भएको ठाउँमा भने ऐतिहासिक महत्वका संरचना नहुनसक्ने अन्वेषकहरूले जनाएका छन्। यो ठाउँमा आधुनिक संरचना बन्नुअघि नै संरक्षण गर्ने हो भने केही पुरातात्विक तथा ऐतिहासिक अभिलेख फेला पर्न सक्ने उनीहरूले बताएका छन्। उनीहरूले थप सर्वेक्षण र उत्खननको सल्लाह पनि दिएका छन्।
संस्कृतिविद् तुयुकाजी ताम्राकार पनि यो ठाउँको बृहत् उत्खनन हुन सके थप तथ्य बाहिर आउनेमा आशावादी छन्।
२०२८ सालसम्म जेलाँदेको फाँटमा ताम्राकार परिवारको पनि जग्गा थियो। त्यो समय बुवाले दुई रोपनी जग्गा हजार रूपैयाँमा बेचेको सम्झँदै उनले भने, 'अहिले त सबभन्दा महँगो ठाउँ नै यही भइसक्यो। उत्खनन गर्न आए पनि अब त मान्छेले दिँदैनन् होला।'
पनौती कथा शृंखलाको अर्को अंकमा हामी त्यो समयको चर्चा गर्नेछौं जब पनौती काठमाडौं-तिब्बत व्यापार मार्गको हिस्सा थियो र यसलाई यहाँको प्रमुख व्यापार केन्द्र मानिन्थ्यो।
(पनौती कथा शृंखलाको नवौं अंक बुधबार प्रकाशन हुनेछ।)