सुर्खेतम ६ वर्षअघि सञ्चालन भएर पनि बन्द भएको प्याराग्लाइडिङ फेरि सुरू भएको छ। २०७१ देखि ०७२ सालसम्म कहिलेकाहिँ सुर्खेतको आकाशमा प्याराग्लाइडिङ गरिन्थ्यो।
सिद्धपाइलाको डाँडाबाट उडान गरी वीरेन्द्रनगर उपत्यकको खुलामञ्चमा अवतरण गर्ने गरिएको थियो। फाट्टफुट्ट दुई वर्ष चलेको प्याराग्लाइडिङ त्यसबेला विविध कारण बन्द भयो।
स्थानीय स्तरमा दक्ष जनशक्ति नहुँदा र बाहिरबाट जनशक्ति ल्याएर सञ्चालन गर्न मिल्ने गरी प्याराग्लाइडिङ नचल्दा त्यसबेला लामो समय प्याराग्लाइडिङ नचलेको हो। महंगो शुल्क पनि प्याराग्लाइडिङ बन्द हुनुको अर्को कारण थियो।
६ वर्षपछि सुर्खेतमा अहिले फेरि प्याराग्लाइडिङ सुरू गरिएको छ। अहिले उडान र अवतरण गन्तव्य पनि परिवर्तन गरिएको छ। वीरेन्द्रनगरभन्दा माथिको गोठीकाँडाबाट उडान गरी वीरेन्द्रनगर उपत्यकाको देउतीथानस्थित खाली भागमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ।
यो भागमा उडाउन पाउने गरी नागरिक उड्ययन प्राधिकरणबाट अनुमति लिइएको छ। माघ २२ गते परीक्षण उडान गरिएको प्याराग्लाइडिङले अहिले निरन्तरता पाइरहेको छ।
सुर्खेतको वेलकम प्याराग्लाइडिङ प्रालिले यसको अनुमति पाएको हो। अहिले शुल्क कम गर्नुका साथै प्याराग्लाइडिङलाई निरन्तरता दिन थप केही व्यवस्थापन गरिएको कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेको वेलकम प्याराग्लाइडिङ प्रालिका सञ्चालक पदम शाहीले बताए।
‘त्यो समयमा यता दक्ष जनशक्ति उपलब्ध थिएन, बाहिरबाट जनशक्ति ल्याएर खर्च धान्नेगरी हाम्रो बिजनेस भएन,’ शाहीले भने, ‘जनशक्ति उपलब्ध हुन्थ्यो वा व्यवसाय राम्रो चल्थ्यो भने त्यतिबेला चलिसकेको प्याराग्लाइडिङ बन्द गर्नुपर्ने थिएन।’
अहिले फेरि सुर्खेतमा सुरू गरिएको प्याराग्लाइडिङले निरन्तरता पाउला त? यसले सुर्खेतको पर्यटन व्यवसाय र अरूपर्यटकीय महत्वका क्षेत्रलाई प्रवर्द्धन गर्नमा पनि सकारात्मक प्रभाव पार्न सक्ला?
सुर्खेतका पर्यटन व्यवसायी ज्ञानेन्द्र गौतम प्यारागलाइडिङको सकारात्मक प्रभाव अरू पर्यटकीय क्षेत्रमा पनि पर्ने कुरामा विश्वस्त छन्।
‘अरू पर्यटकीय क्षेत्रमा यसले पक्कै पनि प्रभाव त पार्छ, यसैपनि पर्यटकीय गन्तव्यका रूपमा सुर्खेत परिचित नै छ। प्याराग्लाइडिङ भयो भने झन् पर्यटकको आकर्षण बढ्छ,’ गौतमले भने, ‘प्याराग्लाइडिङ गर्न आएको मानिसले यहाँका अरू पर्यटकीय क्षेत्र पनि अवलोकन गर्न सक्छन्, अरू पर्यटकीय क्षेत्रमा घुम्न आउने उद्देश्यले आएका मानिसले प्याराग्लाइडिङ पनि गर्न सक्छन्।’
सुर्खेतमा सुरू गरिएको प्याराग्लाइडिङ मुनाफाको लागिभन्दा पनि जिल्लाको पर्यटकीय महत्वलाई जोगाउने उद्देश्यका साथ व्यवसायी अगाडि बढ्नु पर्नेमा उनले जोड दिए। यसले सुर्खेतमा थालिएको प्याराग्लाइडिङलाई निरन्तर टिक्न पनि सहयोग पुग्ने उनको भनाइ छ।
‘अहिले यो मुनाफा कमाउने व्यवसाय होइन, मुनाफा नै लिने आशा पनि खासै गर्नु हुँदैन,’ उनी भन्छन्, ‘प्याराग्लाइडिङ चलाएर जिल्लाको पर्यटकीय महत्वलाई देखाउन भने सहयोग पुग्छ, हामी पनि त्यही उद्देश्यका साथ लाग्नुपर्छ।’
पहिले विभिन्न कारणले यो कार्यलाई निरन्तरता दिन नसकिएकाले अहिले व्यवस्थित गर्न थप केही काम गरिएको कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष शाहीले बताए।
जनशक्ति अभावकै कारण पहिला प्याराग्लाइडिङ बन्द गर्नु परेकाले अहिले जनशक्तिको व्यवस्थापन गर्न पोखराको बाबु एड्भेन्चर प्रालिसँग सहकार्य गरिएको छ। शाहीका अनुसार उक्त कम्पनीलाई शेयर दिइएको छ।
सम्झौताअनुसार बाबु एड्भेन्चरले सुर्खेतको प्याराग्लाइडिङको लागि जनशक्ति पठाउने छ।
अहिले शुल्क पनि पहिलाभन्दा झन्डै आधा घटाइएको छ।
‘पहिले ६५०० देखि ७ हजार रुपैयाँ शुल्क लिएर पर्यटकलाई उडाइन्थ्यो, अहिले त्यसलाई घटाएर ३५०० मा ल्यायौं,’ अध्यक्ष शाहीले भने, ‘थला परेको यहाँको पर्यटनलाई माथि उठाउन शुल्क एकदमै कम बनाइएको हो।’
सस्तो मूल्यमा स्थानीयदेखि बाहिरबाट आउने पर्यटकलाई सुर्खेतको आकाशमा उडाएर मनोरञ्जन दिने जमर्को आफूहरूको भएको उनले बताए।
शुल्क घटाउनुका साथै जनशक्तिको व्यवस्थापन भएकाले सुर्खेतको प्याराग्लाइडिङलाई दीगो बनाउन मद्दत पुग्ने उनको विश्वास छ।
६ वर्षअघि प्याराग्लाइडिङ गराउँदा स्थानीयले शुल्क महंगो भएको गुनासो गरेकाले अहिले कम गरिएको हो।
अहिले सुर्खेतमा फोटो र भिडिओसहित प्याराग्लाइडिङ गर्दा समूहमा भए प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ लाग्छ। एक्लै भए ३ हजार पाँच सय लाग्छ। फोटो र भिडिओको १ हजार रुपैयाँ अतिरिक्त शुल्क लाग्छ।
अध्यक्ष शाहीका अनुसार अहिले दैनिक ४० वटासम्म प्याराग्लाइडिङ उडान गर्न सक्नेगरी प्राधिकरणबाट अनुमति लिइएको छ। त्यसैअनुसार जनशक्ति र सामग्रीको व्यवस्थापन गरिएको उनले बताए।
‘अहिले पाँच-सात जना हाम्रो सम्पर्कमा दैनिक आउनुहुन्छ, मौसमले साथ दियो भने बिस्तारै पर्यटक पनि बढ्नुहुन्छ। हाम्रो सबै उडान पनि हुनेछन्,’ उनले भने।
शाहीका अनुसार अहिले सुर्खेतमा टेन्डम (मान्छेलाई लिएर उडाउने) र स्लो (एक्लै पाइलटले मात्र उडाउने) मध्ये टेन्डमका लागि चार जना पाइलट छन्। स्लोका लागि ७ जना पाइलट छन्।
प्याराग्लाइडिङ उडाउने ठाउँसम्म जान गाडीको पनि व्यवस्था गरिएको छ। त्यसमा गाडीको शुल्क भने छुट्टै लाग्ने उनले बताए।
पर्यटन व्यवसायी हरि बिष्ट पछिल्लो समय मानिस पर्यटकीय क्षेत्रसँगै साहसिक पर्यटनमा बढी रूची राख्ने भएकाले सुर्खेतको प्याराग्लाइडिङले निरन्तरता पाउने बताउँछन्।
‘अहिले सामाजिक सञ्जालमा हरेक गतिविधि देखिने हुनाले ती कुराको देखासिकी पनि हुने गरेको छ, सुर्खेतमा पनि यो साहसिक पर्यटकीय काम सुरू भएको छ। निरन्तरता पाइहाल्छ,’ उनले भने।
कर्णाली प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रमध्ये सुर्खेतमा धेरैजसो छन्। बुलबुले उद्यान, पुरातात्विक क्षेत्र काँक्रेविहार, दैलेख र सुर्खेतको सिमाना गुराँसे, सुर्खेतको गोठीकाँडा लगायतका क्षेत्र प्रमुख पर्यटकी क्षेत्रमध्ये हुन्।
पछिल्लो समय काँक्रेविहार मन्दिरलाई पुनर्निर्माण गरिएको छ। बुलबुले उद्यानलाई पनि व्यवस्थित गर्ने काम चलिरहेको छ।
सुर्खेतमा सुरू भएको प्याराग्लाइडिङले यस्ता पर्यटकीय क्षेत्रलाई अझ प्रवर्द्धन गर्नमा महत्वपूर्ण भूमिका खेल्नेमा व्यवसायीहरूको विश्वास छ।