बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर सञ्जीवकुमार शर्मा त्यसबेला स्तब्ध भए, जब आफ्नै नेतृत्वको एउटा ‘रिसर्च’ को नतिजा उनी नियाल्दै थिए।
चार वर्षदेखि नेपालको सर्पदंश समस्याबारे अनुसन्धान गरिरहेका उनको टिमको नतिजाले भन्थ्यो, ‘नेपालको तराई क्षेत्रमा मात्रै हरेक वर्ष सरदर ३ हजार मानिसको मृत्यु सर्पले डसेर हुन्छ। त्यसको पनि ७६ प्रतिशत संख्या महिलाको छ।’
राजनीतिक, आर्थिक, सामाजिक हरेक हिसाबले पछाडि पारिएका महिला नै नेपालमा सर्पको आक्रमणमा पनि सबैभन्दा धेरै पर्दा रहेछन्। सर्पको डसाइसँग महिलाको आर्थिक, सामाजिक र राजनीतिक ‘लोकेसन’ को साइनो पनि हुने रहेछ। शर्मा नेतृत्वको टिमले निकालेको निष्कर्ष हो यो।
स्वास्थ्यसम्बन्धी विश्वप्रसिद्ध जर्नल ‘द ल्यान्सेट ग्लोबल हेल्थ’ को यसपटकको अंकमा नेपालको सर्पदंश समस्याबारे विस्तृत रिपोर्ट सार्वजनिक भएको छ। नेपालमा प्रमुख अनुसन्धानकर्ताका रूपमा रहेका शर्माको समेत संलग्नतामा लेखिएको उक्त रिपोर्टसहितको जर्नल मंगलबार लण्डन र जेनेभाबाट एकैसाथ सार्वजनिक भएको छ। सन् २०१८ देखि स्विस नेपाल फाउन्डेसनको सहयोगमा विश्वभरका विभिन्न सर्पदंश विषेशज्ञ एवम् अन्य चिकित्सकको सहकार्यमा नेपालको तराईका जिल्लाहरूमा अध्ययन भएको थियो।
जर्नलमा प्रकाशित तथ्यांकअनुसार सन् २०१८ यता नेपालमा हरेक वर्ष तराईमा मात्रै करिब ४० हजार व्यक्तिलाई सर्पले टोक्ने गरेको छ।
‘हरेक वर्ष ४० हजार हाराहारीका तराईका मानिसलाई हरेक वर्ष सर्पले डस्ने गरेको छ,’ उक्त रिपोर्टका समेटिएको तथ्यांकबारे जानकारी दिँदै डाक्टर शर्माले भने ‘त्यसमध्ये हरेक वर्ष २ हजार ३ सय ८६ देखि ३ हजार २ सय २५ जनाको मृत्यु हुने गरेको छ।’
त्यसमा सबैभन्दा धेरै संख्या महिलाको हुने गरेको छ।
‘नेपालमा घरधन्दा, घाँस-दाउरा गर्नेदेखि खेतबारीमा धेरै हेलमेल हुने संख्या महिलाकै रहेछ,’ शर्माले भने, ‘त्यसैले उनीहरू नै बढी सर्पको डसाइमा पर्दारहेछन्। त्यसमध्ये धेरैले उपचार नपाएका कारण ज्यान गुमाउनु परिरहेको भेटिएको छ।’
बिपी प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक डाक्टर शर्मा मधुमेह र मुटुरोग विशेषज्ञ पनि हुन्। नेपालको सर्पदंश क्षेत्रमा लामो समयदेखि अध्ययन-अनुसन्धान पनि गरिरहेका उनको नेतृत्वको टिमले चार वर्षमा तराईका जिल्लाहरूमा मात्रै अध्ययन गरेको थियो। यो तथ्यांकमा पहाडी जिल्लाको संख्या समावेश छैन।
अनुसन्धानमा संलग्न टिमले निकालेको निष्कर्ष अनुसार तराईमा गर्मी सुरू भएपछि सर्पको सक्रियता सुरू हुने गर्छ।
‘जाडोमा सर्पले तापक्रम मेन्टेन गर्न सक्दैन, त्यही भएर गर्मी लागेपछि बढी बाहिर निस्कन्छ,’ शर्माले भने ‘उसको सक्रियता मनसुनमा सबैभन्दा धेरै हुन्छ।’
लगातारको झरीले सर्प लुक्ने प्वालहरूमा पानी भरिन्छ। पानी भरिने भएपछि सर्प सुरक्षित बासस्थलको खोजीमा मान्छेको घरआँगनतिर बढी पुग्छन्। त्यहीबेला सबैभन्दा धेरै मानिस सर्पको आक्रमणमा पर्छन्।
‘तराईका ग्रामीण भेगमा सर्पदंश बढी हुन्छ। गाउँका मानिस, जो खेती किसानी गर्नुहुन्छ, जंगल जानुहुन्छ, घाँस दाउरा गर्नुहुन्छ,गाईवस्तु चराउनुहुन्छ, उहाँहरूको जीवनमा सर्पसँग जम्काभेट हुने अवस्था धेरै आउँछ। सर्पले डस्ने खतरा हुन्छ,’ डाक्टर शर्मा भन्छन्, ‘अर्कोतिर राति सुतिराखेको ठाउँमा पनि करेतजस्ता सर्पले टोक्छन्। निदाएको बेला हातखुट्टा चलाउँदा छोइएर सर्पलाई चोट लाग्यो भने सर्पको डस्ने सम्भावना बढी हुन्छ।’
जर्नलमा प्रकाशित रिपोर्ट अनुसार नेपालको तराई भूभागमा पाइनेमध्ये मुख्यतः गोमन र करेत सर्प बढी विषालु छन्। त्यसमध्ये गोमनको सक्रियता साँझ र बिहान अनि करेतले राति बढी टोक्ने गरेको छ। करेत सर्प दिउँसो निष्क्रिय रहन्छ। जब राति हुन्छ, करेत आहाराको खोजीमा मान्छेको घरतिर पस्ने गर्छ। मुसा करेतको मुख्य आहारा हो। ‘जतिसुकै विषालु सर्पले पनि भोक लागेर डस्न आउने होइन,’ शर्मा भन्छन्, ‘आफूलाई सुरक्षा खतरा देख्यो भने मात्रै डस्ने हो।’
नेपालमा सर्पदंश पीडितले समयमा सही उपचार नपाएकै कारण मृत्युदर बढेको निष्कर्ष उक्त अध्ययनको छ। धेरैलाई राति सुतेकै ठाउँमा सर्पले डस्छ। कतिलाई घरको काम गर्दागर्दै डस्छ। घाँस दाउरा, भकारोको काम गर्दागर्दै, धान रोप्दै गर्दा वा खेतीमा अर्को कुनै काम गर्दा गर्दै डस्छ, जुन कुरा पीडितले बेलैमा थाहै पाउँदैनन्।
‘यसरी थाहा नपाएपछि उपचार हुने कुरै भएन,’ उनले भने, ‘फेरि जहाँ सर्पदंशको उपचार हुन्छ, त्यहाँ पर्याप्त उपकरणहरू पनि उपलब्ध छैनन्।’
उनका अनुसार सर्पले डस्दा स्नायु प्रणालीमा असर हुन्छ। त्यसपछि श्वासप्रश्वासमा असर पर्छ।
‘अहिले हाम्रोमा सेना, रेडक्रसमा र सरकारी अस्पतालमा मात्रै सर्पदंशको उपचार हुन्छ,’ शर्माले थपे,‘रेडक्रस र सेनाको उपचारस्थलमा कृत्रिम श्वासप्रश्वासको प्रबन्ध हुँदैन। त्यसले पनि धेरैको ज्यान गइरहेको छ।’
यसबाहेक सर्पदंशका बिरामीको उपचार गर्न चिकित्सकहरू हच्किँदा पनि मानवीय क्षति बढी भइरहेको छ। विषालु सर्पको टोकाइबाट स्नायु प्रणालीमा असर गर्ने र त्यसले गर्दा आँखाको लोतीमा प्यारालाइसिस भएर नचल्ने हुन्छ। मुख, जीब्रो, घाँटी, गर्दन र फोक्सो चलाउने मांसपेशी प्यारालाइसिस हुँदै गएपछि श्वास फेर्नै नसकेर बिरामीको मृत्यु हुने र त्यस्तो बेलामा कृत्रिम श्वासप्रश्वास जरूरी पर्ने उनको भनाइ छ।
हिउँदमा जाडो, निरन्तरको शीतलहर अनि गर्मीमा अचाक्ली तातो नेपालको तराईको मौसमी विशेषता हो। अहिले जाडो बिस्तारै घट्दै र गर्मी पनि त्यही रफ्तारमा उकालो लाग्ने क्रममा छ। जब गर्मी चढ्दै जान्छ, तराईलाई तातोले मात्रै होइन सर्पको बिगबिगीले पनि सताउने गर्छ। नेपालको तराई क्षेत्रमा सर्पले सताउने र त्यसले निम्त्याउने क्षति लगातार बढ्दै गएको डाक्टर शर्मा नेतृत्वको टिमको निष्कर्ष छ। यसबाहेक पशुपंक्षीको पनि सर्पदंशकै कारण हरेक वर्ष ठूलो क्षति हुने गरेको अध्ययनको निष्कर्ष छ।
जोगिने उपाय
डाक्टर शर्माका अनुसार सर्पदंशबाट जोगिन सतर्कता अपनाउन सकिन्छ। खासगरी विषालु सर्पको डसाइबाट जोगिन उपाय अवलम्बन गर्न सकिन्छ।
‘गोमन र करेतको दाँत छोटो र सानो हुन्छ। त्यसैले सकिन्छ भने लुगा अनि जुत्ता लगाएर हिँड्ने गर्नु पर्छ,’ शर्माको सुझाव छ, ‘खेती किसानी गर्दा यो व्यवहारिक हुँदैन होला तर पनि सकेसम्म ख्याल गर्नुपर्छ। राति हिँड्दा बत्ती बालेर, टर्च लाइट लिएर हिँड्नु पर्छ। जंगलतिर जाँदा लट्ठीले ठ्याकठुक पारेर हिँड्नपर्छ। त्यसरी हिँड्यो भने जोगिन सकिन्छ। मुसा बस्ने प्वालहरूमा हात छिराउनु हुँदैन। ढुंगाहरू पल्टाउँदा ख्याल गर्नुपर्छ। गाउँघरमा त कुनै बेला सिरानीमुनि, जुत्ताभित्र पनि सर्प बसेको हुन्छ। राति सुतेको बेला झुल लगाउनु पर्छ।’
शंकास्पद अवस्थामा वेवास्ता नगर्न पनि उनको सुझाव छ।
‘उपचारस्थलमा जतिसक्दो चाँडो पुग्नु सर्पदंशबाट जोगिने एक मात्र विकल्प हो,’ डाक्टर शर्माले भने ‘यसका लागि सदैव सचेत रहन सकियो भने मानवीय क्षति घटाउन सकिन्छ।’