सहरको कथा: पनौती
यो शृंखला लेख्ने क्रममा म पाँचपटक पनौती पुगेँ। तीनपटक बाह्रवर्षे मकर मेला चलिरहँदा र दुईपटक मेला सुरू हुनुभन्दा अगाडि।
सुरूको दुईचोटि पनौती जाँदा म त्यहाँको व्यापार व्यवसाय देखेर छक्क परेकी थिएँ। दिउँसोको समयमै प्राय: पसल बन्द हुन्थे। चहलपहल हुनुपर्ने मध्यसहर दिउँसै चकमन्न देखिन्थ्यो। धन्न मेलामा चाहिँ सहर गुल्जार भयो। मेला भर्न आउने तीर्थारूहरूको भीड बढेसँगै पसलका ढोका खुल्न थाले। पसलले नपुगेर फुटपाथधरि भरिभराउ भए।
त्यति बेला मैले पनौतीका स्थानीय तथा लेखक कन्हैया नासननीले लेखेका यी हरफ सम्झिएँ, 'कहिलेकाहीँ मात्र मुख देखाउन टुपुल्किने परदेशी पतिको आगमन हुँदा हर्षले पुलकित भएर शृंगारमा सजिने भार्याजस्तै देखिन्छ मकर मेलाभरि पनौती। मेला सकिएपछि वातावरण फेरि उस्तै।'
बाह्रवर्षे मकर मेला गत साता सकियो। सोच्दैछु, अहिले पनौतीको वातावरण फेरि शान्त भइसक्यो होला!
तर पनौती सधैं यस्तो थिएन।
पनौतीलाई गुल्जार हुन मकर मेला कहिले आउला भनेर कुरेर बस्नुपर्दैन थियो।
एउटा समय यस्तो थियो, जब पनौती हरेक दिन गुल्जार हुन्थ्यो। यो सहर काठमाडौं–तिब्बत व्यापारको हिस्सा थियो र यो भेगकै प्रमुख व्यापार केन्द्र मानिन्थ्यो।
पनौती कथा शृंखलाको आजको अंकमा म तपाईंहरूलाई त्यही समयमा लिएर जाँदैछु।
बितिसकेको समयमा कसरी लिएर जाने भन्नुहोला! स्थानीय सुमनराज ताम्राकारले हामीलाई बाटो देखाइदिए, पनौतीको त्यो बेलाको झलक वर्णन गरेर।
सुमन धुलिखेल अस्पतालको प्रसूति विभागमा चिकित्सक छन्। हामीले उनलाई पनौतीमै भेट्न चाहेका थियौं तर उनको समय मिलेन। त्यसैले उनलाई भेट्न धुलिखेल अस्पताल नै पुग्यौं।
भेट्नुअघि उनले हामीलाई पनौतीको 'स्याउला' टोल (जसलाई 'वलाछेँ' पनि भनिन्छ) हेरेर आउन सुझाएका थिए। हामी स्याउला टोल घुम्न गयौं। त्यो बेला मकर मेला जारी भए पनि स्याउला टोलको व्यापार व्यवसायमा कुनै रौनक थिएन। एक–दुई पसलबाहेक सबैका ढोका बन्द थिए।
हामीले स्याउला टोलमा देखेको दृश्य सुनाउँदा सुमनले कुनै आश्चर्य मानेनन्। उनले खासमा हामीलाई त्यहाँको शून्यता नै देखाउन चाहेका रहेछन्। हाम्रो मुखबाट स्याउला टोलको अनुभव सुन्नेबित्तिकै उनले भने, 'यो टोलको खास नाम वलाछेँ हो। स्याउला भनेको त त्यहाँ बस्ने नेवार समुदायको थर हो। उनीहरू नै त्यहाँका मुख्य व्यापारी भएकाले पछि टोलको नाम नै स्याउला रहन गयो।'
उनले अगाडि भने, 'तपाईंहरूले ठिक भन्नुभयो, यो ठाउँ अहिले शून्य देखिन्छ। तर कुनै समय यस्तो थियो, यो बजार आधा रातसम्म व्यस्त रहन्थ्यो। त्यसपछि पनि ठप्पै हुने होइन। केही पसल रातभरि नै चल्थे। झिसमिसेमै उठ्नुपर्ने भएकाले स्याउलाका व्यापारीहरू कम सुतेर काम गरिरहेका हुन्थे।'
अहिले स्याउला टोलका मान्छे छरपस्ट भएका छन्। कतिले पुर्ख्यौली व्यवसाय छाडेर औषधि र फेन्सी पसल खोलेका छन्। केहीले जेनतेन किराना पसल चलाइरहेका छन्।
'अझै पनि हामी राम्रो घ्यू र सगुनका लागि सुकेको माछा किन्नुपर्यो भने स्याउला टोलमै जान्छौं,' ताम्राकारले भने।
काठमाडौं उपत्यकाका अन्य ठाउँमा जस्तै पनौतीका बासिन्दा पनि पहिले जाति विशेषका आधारमा निश्चित व्यवसाय र काम गर्थे। कपालीले लुगा सिउँथे, सहनाई बजाउँथे। नापितले कपाल काट्थे। देउलाले माछा मार्ने, जाल बुन्ने र निगालोका सामान बुन्ने काम गर्थे।
त्यस्तै, मानन्धरले तेलको काम गर्थे। ताम्राकारले धातुका सामान बनाउँथे। बुद्धाचार्य, बज्राचार्य र शाक्यले सुनचाँदीका काम गर्थे भने प्रजापतिले माटोका भाँडा बनाउँथे।
जाति विशेषका आधारमा गरिने यस्ता व्यवसाय पनौतीभरि विभिन्न ठाउँमा छरिएका भए पनि व्यापारको प्रमुख केन्द्र स्याउला टोल नै थियो। त्योबाहेक अर्को टोल यलाछेँ हो जहाँ कर्माचार्य थरका समुदायले भोट (तिब्बत) र काठमाडौंबाट ल्याइएका लत्ताकपडा बेच्थे। यो व्यापार मल्लकालमै सुरू भएको स्थानीय बताउँछन्।
पनौती श्रृंखलाकै तेस्रो अंकमा मैले 'हामीले नदेखेको दरबार' भनेर यहाँको लायकू दरबारबारे बताएकी थिएँ। उक्त अंकमा तपाईंहरूले दरबारको जानकारीसँगै मल्लकालका स्थानीय सामन्त रामवर्द्धनको परिवारबारे थाहा पाउन सक्नुहुन्छ।
चौधौं–पन्ध्रौं शताब्दीतिर सामन्त रामवर्द्धनको परिवारले पनौतीमा स्थानीय शासक भएर राज्य गरेको इतिहास छ। उनीहरूले पनौती मात्र नभई नेपाल उपत्यकाको शासन व्यवस्थामै ठूलो भूमिका खेलेका थिए। के–कस्तो भूमिका थियो भन्ने जान्न उक्त लेखको लिंकमा क्लिक गरेर पढ्नुस् न है!
रामवर्द्धन परिवारको प्रसंग यो लेखमा जोड्नुको कारण के भने, उनीहरू त्यस समयका शक्तिशाली शासक बन्नुमा पनौती त्यति बेला एक प्रमुख व्यापार केन्द्र हुनुको ठूलो हात छ।
संशोधन मण्डलले प्रकाशन गर्ने त्रैमासिक पत्रिका 'पूर्णिमा' को एउटा पुरानो अंकमा इतिहासकार धनवज्र बज्राचार्यले 'शक्तिशाली भारदार रामवर्द्धनहरू र तात्कालिक नेपाल' शीर्षकमा एउटा लेख लेखेका छन्। नेपाल उपत्यकाको शासन व्यवस्थामा रामवर्द्धन परिवारको कसरी उदय भयो भन्नेबारे धनवज्रले उक्त लेखमा विस्तारपूर्वक वर्णन गरेका छन्।
त्यही लेखको अन्त्यतिर उनी लेख्छन्, 'भोट र चीनसँग नेपालको सम्बन्ध प्राचीन कालदेखि बराबर कायम थियो। रामवर्द्धनहरूले पनि आफ्ना दूत र कोसेली पठाई चीन दरबारसँग सम्बन्ध राखेका थिए। चिनियाँ मिङ वृत्तान्तमा दूतको आवतजावतको वर्णन पाइन्छ।'
रामवर्द्धन परिवारका मदनरामको विक्रम सम्बत् १४३९ को एउटा शिलालेख काठमाडौंको इतुम्बहालमा छ। उक्त शिलालेखमा मदनरामले आफूलाई 'परममाहेश्वर' (शैवधर्मका ठूला उपासक) भन्ने विशेषण लगाएका छन्। उनी बौद्धधर्ममा पनि उत्तिकै झुकाव राख्थे भन्ने कुरा इतुम्बहालमै दीपंकर बुद्धको मूर्ति स्थापना गरेकाले प्रस्ट हुन्छ।
त्यसमाथि मदनरामकी पत्नी जैत्रलक्ष्मी सुगतवंशावतारिणी (बौद्ध कुलमा जन्मेकी) थिइन्। यसरी मदनराम परिवार एक प्रकारले बौद्ध धर्मानुयायीजस्तै थियो।
'विक्रम सम्बत् १४४१ मा बौद्ध भिक्षुको नेतृत्वमा चीनबाट नेपाल आएको दूतमण्डलको स्वागत मदनरामले गरे। मदनरामले पनि यताबाट सुनका बुद्धमूर्ति, बौद्धग्रन्थ र नेपालका विशिष्ट चिजको कोसेलीसाथ आफ्ना दूत चीन पठाएका थिए,' धनबज्रले लेखेका छन्, 'त्यो दूतमण्डल १४४४ मा चीन दरबार पुग्यो। त्यसको तीन वर्षपछि नेपाली दूतमण्डल पुनः चीन गएको वर्णन चिनियाँ मिङ वृत्तान्तमा छ।'
उनी अगाडि लेख्छन्, 'मदनरामका छोरा शक्तिसिंहरामको समयमा पनि चीनसँग दूतको आवतजावत भएको उल्लेख चिनियाँ वृत्तान्तमा पाइन्छ। यसरी चीनसँग सम्बन्ध जोडी रामवर्द्धन परिवारले आफ्नो स्थिति झन् मजबूत गरेको देखिन्छ।'
चिनियाँ वृत्तान्तबाटै विक्रम सम्बत् १४८४ सम्म शक्तिसिंहराम शासन गर्दै थिए भन्ने थाहा हुन्छ। त्यसपछिका अभिलेख भने फेला नपरेकाले उनीपछि रामवर्द्धन परिवारको शक्ति घट्दै गएको इतिहासकारहरूले अनुमान गरेका छन्।
यसरी पनौतीमा स्थानीय शासक भएर बसेका रामवर्द्धन खलकले नेपालको शासन व्यवस्थामै प्रभाव पार्ने गरी आफ्नो शक्ति बढाउँदै लैजानुले पनि त्यति बेलाको राज्य प्रणालीमा पनौतीको महत्व झल्काउँछ। कुनै पनि ठाउँको महत्व त्यहाँ हुने आर्थिक कारोबारले निर्धारण गर्छ। चीनसँग निकट सम्बन्ध राखेका रामवर्द्धन खलकका सदस्यहरूले त्यसैबाट फाइदा उठाउँदै आफ्नो अधिकारमा रहेको पनौतीलाई तिब्बत व्यापारको एक प्रमुख केन्द्र बनाएका हुन सक्छन्।
अब हामी पनौती कसरी व्यापार केन्द्र थियो र यहाँको व्यापार कसरी सुक्दै गयो भन्नेबारे चर्चा गरौं।
काठमाडौंबाट पनौती जान अचेल हामी धेरैले बनेपाको बाटो समात्छौं। तर यो बाटो काठमाडौं-कोदारी जोड्ने अरनिको राजमार्ग बनेपछि मात्र चलनचल्तीमा आएको हो।
अरनिको राजमार्ग बन्नुअघि साँगाबाट बासडोल हुँदै पनौती जाने बाटो थियो। यसलाई पनौती जाने पुरानो र छोटो बाटो मानिन्छ। व्यापार मार्ग मात्र होइन, काठमाडौं खाल्डो (खासगरी भक्तपुर र पाटनको हरिसिद्धि) बाट पनौतीसम्म जात्रा र नाच लैजाने बाटो पनि यही थियो।
पनौतीलाई नेपाल खाल्डोसँग भौतिक र आर्थिक रूपले जोड्ने यो बाटो अहिले बिरानो छ।
पनौतीको दक्षिणतिर नमोबुद्धको दाप्चा भन्ने ठाउँ छ। त्यहाँबाट भकुन्डे हुँदै बिपी राजमार्ग (बनेपा-बर्दिबास) जोडिन्छ। पहिले काठमाडौंबाट पूर्वतिर जानेहरू यही बाटो प्रयोग गर्थे। २०१६ सालमा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले बिपी राजमार्गका लागि 'क्षेत्रीय यातायात कार्यालय' उद्घाटन गरेको खडपू यही रूटमा पर्छ।
बिपी राजमार्गको काम पञ्चायतकालमा राजनीतिक कारणले रोकियो, सुमनराज ताम्राकारले भने, 'बिपीले सुरू गरेको काम किन प्रवर्द्धन गर्ने भन्ने मनसायले पञ्चायतकालमा त्यो राजमार्ग निर्माण अगाडि बढ्न सकेन। पछि २०५२ सालतिर जापान सरकारको सहयोगमा फेरि काम सुरू भयो। तर माओवादी द्वन्द्व लगायत विभिन्न कारणले रोकिँदै, अघि बढ्दै लगभग दुई दशक लगाएर २०७२ असार १८ गते बल्ल सम्पन्न भयो।'
त्यसबीच राजा महेन्द्रको पालामा २०२२ सालमा अरनिको राजमार्ग बन्यो जसले साँगाबाट पनौतीतिरको पुरानो मार्ग पछ्याएन। यो राजमार्ग बनेपा, धुलिखेल, पाँचखाल हुँदै कोदारी पुग्यो। पनौती बीचैमा छुट्यो।
राजमार्ग बनेपछि मान्छेले पुरानो बाटो बिर्सिँदै गए। त्यसको असर पनौतीको व्यापार व्यवसायमा पर्यो। राजमार्गले छोएका बनेपा र धुलिखेल गुल्जार हुँदै गए, पनौती मूल सुकेको ढुंगेधाराझैं सुख्खा हुँदै गयो।
व्यापारसँगै नाच र जात्राको निम्ति पनि बनेपाकै बाटो प्रयोग हुन थाल्यो।
'अहिले सडकका हिसाबले सबैलाई बनेपा सजिलो भइसक्यो। तर नेपाल बन्द हुँदा वा कुनै कारणले राजमार्ग अवरूद्ध भयो भने अझै पनि मान्छेहरू बासडोलको पुरानै बाटो प्रयोग गर्छन्,' ताम्राकारले भने।
बनेपा–पाँचखाल हुँदै सिधै जिरी जाने बाटो पनि छ। पहिले सगरमाथा पर्वातारोहण गर्न जानेहरू यही बाटो प्रयोग गर्थे। पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शोर्पा र एडमन्ड हिलारी यही बाटो हुँदै सगरमाथा पुगेका थिए। २०१० जेठ १६ गते सगरमाथाको सफल आरोहण गरेर फर्कने क्रममा बनेपाको शीर मेमोरियल अस्पताल नजिकैको चउरमा उनीहरूलाई अभिनन्दन गर्न मान्छेहरू कुरेर बसेको ताम्राकार बताउँछन्।
'पर्वतारोहण वा हिमाली भेग जान हिँडेका मान्छेले बनेपा-पाँचखालको बाटो प्रयोग गर्थे। पूर्वतिर जानेहरूको मुख्य बाटो भने पनौती नै थियो। काठमाडौं खाल्डोबाट तिब्बत व्यापार पनि पनौतीकै बाटो हुन्थ्यो,' उनले भने।
उनका अनुसार जति पनि नेवारहरू व्यापार वा अन्य प्रयोजनका लागि भोट (तिब्बत) आउजाउ गर्थे, ती सबै यही बाटो हिँड्थे। भोट जान कि त भक्तपुर, साँगा, पनौती, बनेपा अनि पाँचखाल भएर जानुपर्थ्यो। कि काठमाडौंबाट मेलम्ची हुँदै पाँचखाल पुग्नुपर्थ्यो। भोट जाने बाटो भएकैले बनेपालाई 'भ्वंत' वा 'भोदे' पनि भनिन्छ।
'बनेपालाई वर्णिपुर, बनेपुर भनेर विभिन्न अभिलेखमा लेखिएको छ। ती शब्दले व्यापार भन्ने बुझाउँछ,' बनेपा सातगाउँ किताबमा ज्ञानकाजी मानन्धरले लेखेका छन्, 'हुन पनि काभ्रे जिल्लामा रहेका सहरहरूका बीचमा अवस्थित बनेपा व्यापारीहरूको थलो हो। पहिलेदेखि भोटसँग व्यापारिक सम्बन्ध भएकाले यसलाई भ्वंत, भोदे लगायत भनिएको हुुनुपर्छ।'
पनौतीका मानिस पनि भोट जान बनेपा-पाँचखालकै बाटो प्रयोग गर्थे। भोटबाट उनीहरू नुन, सुन र ऊन (लत्ता कपडा) ल्याउँथे। ती सामग्री आवश्यकताअनुसार काठमाडौंबाट पनि ल्याइन्थ्यो।
यो भेगका श्रीखण्डपुर, दाप्चा लगायत ठाउँको व्यापार केन्द्र पनौती नै थियो। त्यहाँका मानिसले आफ्नो घरमा भएका घ्यू, सुकाएको माछा र दूधजन्य खानेकुरा पनौतीमा बेच्न ल्याउँथे। पनौतीकै खोलामा असला माछा प्रशस्त पाइन्थे। करिब १५ वर्षअघिसम्म दाप्चा (नमोबुद्ध) का मानिस सिल्भरको क्यानमा नाम्लो लगाएर दूध बोकेर हिँड्दै आउने गरेको ताम्राकार सम्झन्छन्।
'त्यहाँका दुई-तीन गाविसबाट संकलन गरिएको दूध बोकेर उनीहरू दैनिक हिँड्दै पनौती आउँथे। यहाँ पशुपति मन्दिरसँगै दूध चिस्यान केन्द्र (जुन ठाउँलाई हिजोआज दूध मिलकै नामले चिनिन्छ) छ। त्यहीँ उनीहरूले दूध पुर्याउँथे,' उनले भने।
पनौतीको नियति नै बदलिदिएको अरनिको राजमार्गबारे स्वीस भूगर्भविद् टोनी हेगनले आफ्नो किताब 'नेपाल: द किंगडम इन द हिमालयज' (नेपालको चिनारी) मा वर्णन गरेका छन्।
उनी लेख्छन्, 'तिब्बती पठार पुग्न सबभन्दा छोटो बाटो भएकाले काठमाडौंका टुर सञ्चालकहरू पर्यटकलाई यही बाटो तिब्बत पठाएर फाइदा लिइरहेका छन्। यस सडकबाट धुलिखेल र बनेपा सहर काठमाडौंसँग राम्ररी जोडिएका छन्। तर अरू ठाउँलाई यस सडकबाट खासै फाइदा छैन। आर्थिक रूपले त्यति फाइदा नभए पनि यस सडकबाट महाँकाल, चौतारा र जिरीसम्म जाने मार्गहरू बनेका छन्।'
इतिहासविद् योगेश राजले 'पासूका' पत्रिकाको पूर्णांक ६७ मा साँगाबाट बासडोल हुँदै पनौती जाने बाटोबारे लेखेका छन्। उनी २०७५ कात्तिक १० गते 'पनौतीका अभिलेख संग्रह (२०५७)' को संस्करण निकाल्ने सिलसिलामा यो बाटो हिँडेका थिए। यो बाटो अझै पनि योगेश राजले आफ्नो लेखमा वर्णन गरेझैं छ।
उनले लेखेका छन्, 'बासडोल लाग्ने बाटो पनाति (पनौतीको पुरानो नाम) बसर्पाकबाट अलि टाढासम्म पक्की छ। त्यसपछि कच्ची र धुलाम्मे। खोलाले काटेको बेँसी कतै फराकिलो त कतै साँघुरो। पारि ठाडो भीर जंगल देखिन्छ। वारि उकालो र ओरालो मनोरम छ। भञ्ज्याङमा चौताराका अवशेष भेटिन्छन्। छिटपुट घर देखापर्छन्। पसल छैनन् भन्दा हुन्छ। एक-दुई खण्ड ज्यादै सुनसान छ। त्यहाँ राति हिँडिदैन जस्तो लाग्छ।'
यो ठाउँको थप वर्णन गर्दै उनी लेख्छन्, 'केही दशक अघिसम्म व्यापारी, गृहस्थ, सैनिक, भरिया यो बाटो हिँड्थे भन्ने कुरा हामीले पनातिमा सुनेका थियौं। पनातिबाट साँगा पुग्ने यो छोटो बाटो काठमाडौं–कोदारी जोड्ने राजमार्ग बनेपा भएर गएपछि यात्रीहरू घट्दै गए। व्यापार सुक्यो। मेलमिलाप घट्यो। यताको गाउँबस्ती ओझेलमा परे।'
उता पनौतीको दक्षिणतिर डाँडापारि तालढुंगा भन्ने ठाउँ छ। त्यहाँबाट मिल्चे हुँदै मकवानपुर–हेटौंडा पुग्ने कच्ची बाटो खनिँदै छ। त्यो बनेपछि हेटौंडा जाने सबभन्दा छोटो बाटो यही हुनेछ। यस हिसाबले काठमाडौंलाई तराईसँग जोड्ने सबभन्दा छोटो मार्ग मात्र होइन, चीनबाट भारतसम्मको सबभन्दा छोटो उत्तर–दक्षिण मार्ग पनि यही हुनेछ।
'पहिले पहिलेका मान्छेले चीनदेखि भारतसम्म व्यापार मार्गका रूपमा यही बाटो प्रयोग गरेको हुनुपर्छ,' ताम्राकारले भने।
राजमार्गसँग छुनु र नछुनुले कुनै सहरको भविष्यलाई कस्तो असर पार्छ भन्ने उदाहरण हो, पनौती। अरनिको राजमार्गले पनौतीको व्यापारलाई असर पारेको थियो, बिपी राजमार्ग चल्तीमा आएपछि यहाँ फेरि व्यापारको सम्भावना बढेको छ।
अहिले बन्दै गरेका नयाँ बाटाले पनौतीको व्यापार सम्भावना थप बढाउनेमा ताम्राकार आशावादी छन्।
पनौतीको पश्चिमतिरबाट कुशादेवी, लाकुरी भञ्ज्याङ, लुभु हुँदै ग्वार्को जाने बाटो बनेको छ। ती बाटो चौडा पार्ने काम भइरहेको छ। पनौतीको घाट भएको ठाउँतिर पनि बाटो चौडा पार्दै निकट भविष्यमा भकुण्डेबाट दाप्चा भएर पनौती, कुशादेवी हुँदै ग्वार्को छिचोल्ने छोटो बाटो बन्दैछ।
'पनौतीलाई काठमाडौं खाल्डोसँग जोड्ने यी वैकल्पिक बाटो हुन सक्छन्,' ताम्राकारले भने, 'मुख्य राजमार्ग सबै व्यस्त भइसक्यो। पूर्वबाट आउने साना गाडीहरूले वैकल्पिक बाटो प्रयोग गर्ने हो भने उता त्यति भीडभाड हुँदैन, पनौतीको सुकेको व्यापार फेरि फस्टाउन सक्छ।'
यी वैकल्पिक बाटाहरू चालू भएपछि के भविष्यमा पनौतीको व्यापार फेरि पहिलेजस्तै गुल्जार होला?
नभए त फेरि अर्को बाह्रवर्षे मकर मेला नै कुर्नुपर्ला नि!
पनौती कथा शृंखलाको अर्को अंकमा हामी यो सहरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न २६ वर्षदेखि हुँदै आएको कोशिसबारे चर्चा गर्नेछौं।
(पनौती कथा शृंखलाको दसौं अंक शुक्रबार प्रकाशन हुनेछ।)