पोखरामा आइतबार असिनाले सडक अवरुद्ध भयो। मानिसहरु हिँडडुल गर्न सकेनन्। बजार अस्तव्यस्त पारिदियो। मानिस बाहिर निस्कन सकेनन्।
साँझदेखि शहर सामान्य अवस्थामा फर्कियो। असिनाको अस्तव्यस्तता समाप्त भए। यही असिनाले किसानका बाली पनि सामाप्त पारिदियो।
पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले भने, ‘असिनाले यति ठूलो क्षति पुर्याउँछ भनेर आकलन नै गर्न सकिएन।’
पोखरामा आइतबार बिहान राम्ररी घाम लागेन। आकाश खुल्न थालेको केहीबेरमै फेरि बादल मडारियो। सिमसिम पानी पर्न थाल्यो। मसिना असिना झरे। यत्तिमै पानी रोकिन लागेपछि रानीपौवाका किसान मेमबहादुर गुरुङ तरकारीको टनेल तर्फ लागे।
अचानक ठूला ठूला असिना झर्न थाले। टनेल प्वाल पारेर असिना भित्र छिरे। ‘निस्तो असिना यति बाक्लो पर्यो कि, हाँडीमा मकै पड्किएको जस्तो भएको थियो,’ गुरूङले भने।
उनी सामुदायिक विद्यालयका पूर्व प्रध्यानाध्यापक हुन्। लमजुङको समिभञ्ज्याङस्थित सम्झना माविमा ३८ वर्ष अध्यापन गरेर गुरुङले पोखराको फुलबारीमा कृषि फार्म खोलेका थिए।
उनले फार्ममा २२ वटा भैंसी पालेका छन्। १९ वटा टनेलमा तरकारी खेति लगाएका छन्। पोखरामा कृषि कर्म गर्न ४६ लाख लगानी गरेका गुरुङको बाली असिनाले उडाइदिएको छ।
पोखरामा आइतबार दिउँसो परेको भिषण असिनाले गुरुङको तरकारी बालीका टनेल असिनाले धुजाधुजा पारिदिएको छ। लामो समय परेको बाक्लो असिनाको भार भैसीं गोठको छानोले धानेन। असिना पानीसहित हावाहुरीले छानो खसाइदिएको छ।
‘छानोले किचेर भैंसी सामान्य घाइते भएको छ, छरछिमेकका युवाहरुको सहयोगमा उद्धार गरिएको छ’ गुरुङले भने, ‘तरकारी बालीको टनेल पनि असिनाले खत्तम पारिदियो।’
उनका अनुसार तरकारी टनेलमा यही सिजनमा करिब २ लाख रुपैया बराबरको तरकारी लगाइएको थियो। गोठको छानो समेत गरेर १५ लाख बराबरको क्षेति पुगेको गुरुङको आकलन छ।
फुलबारीकै आविष्कार पौडेलको कादुरी अर्गानिक फार्मका आलु खन्ने बेलाभएको थियो। उनले बारीमा एक सय किलो आलु रोपेका थिए। आइतबारको असिनाले आलुमा सबैभन्दा धेरै क्षति पुगेको पौडेलले बताए।
‘थन्क्याउने बेला भएको आलु असिनाले खेर फालिदियो,’ पौडेलले भने, ‘अरु तरकारीबालीका टनेल पनि क्षतविक्षत पारिदिएको छ।’
उनको फार्ममा आलु, काउली, बन्दा, सागसब्जी, फर्सी, प्याज लगायतका तरकारी थिए। यस सिजनका लागि उनले डेढ लाख रूपैयाँका तरकारीबाली लगाएको बताए।
पोखराको मालेपाटन क्षेत्रमा पनि असिनाले उस्तै क्षेति पुर्याएको छ। झौखेत कृषि सहकारी र मालेपाटन किसान विकास समहुका अध्यक्ष नवराज दुवाडीका अनुसार किसानले फार्ममा पुगेर असिनाले पारेको क्षति हेर्न समेत नसकेको बताए।
‘असिना पानीमा खेतबारीमा जाने सकिएन, साँझसम्म पानी रोकिएको होइन,’ दुवाडीले भने, ‘कति क्षति भयो एकिन गर्न सकिएन।’
दुवाडी अध्यक्ष रहेको कृषि सहकारी र समुहले मालेपाटनमा करिब १ हजार रोपनी जमिनमा तरकारी खेति गरेका छन्। कृषि सहकारीमा २ सय र कृषि समूहमा १ सय जना मिलेर उनीहरुले तरकारी रोपेका हुन्। फार्ममा सागसब्जी, काउली, बन्दा, खुर्सानी लगायत छन्। भित्राउने बेला भएको आलु असिनाले पूर्ण रुपमा नष्ट पारेको उनको अनुमान छ।
‘असिनाले बाली केही छैन, माटोमा मिलाइदिएको छ,’ दुवाडीले भने, ‘कोही भर्खर रोपिएका थिए, केही भित्राउने बेलाका थिए, सबै नष्ट पारिदियो।’
पोखरामा असिना पानी यसवर्ष अप्रत्याशित छिटो परेको दुवाडीले बताए। ‘फागुनको तेस्रो हप्तातिर पथ्र्यो, त्यतिबेलासम्म आलु निकाल्न भ्याइन्थ्यो,’ उनले भने।
महानगरका कृषि महाशाखा प्रमुख कडरियाले पोखराका सबैजसो कृषि फार्म र कौसी खेतिलाई असिनाले क्षेति गरेको बताए। पोखराको मुख्य बजार क्षेत्रदेखि लेखनाथ लगायतका स्थानमा भिषण असिना परेको कडरियाले बताए।
पोखराका कृषि फार्महरुबाट असिनाले ठूलो क्षति पुगेको जानकारी आएको उनले बताए। प्राकृतिक प्रकोप रहस्यमयी भएको भन्दै उनले भने, ‘यति भिषण असिना हामीले अपेक्षा गरेका थिएनौं।’
पोखरा महानगरले युवा स्वरोजगारदेखि, कृषि उद्यमीलाई आर्थिक र प्राविधिक सहयोग गर्ने नीति लिएको कडरियाले बताए। महानगरले शहरी खेतिका लागि कौसीमा तरकारी बाली रोप्ने किसानलाई पनि सहयोग गर्दै आएको छ। उत्पादनमा किसानलाई सहयोग गर्ने महानगरको नीति छ।
महानगरका कृषि महाशाखा प्रमुख कडरियाले असिना लगायत प्राकृतिक विपत्तिमा परेका किसानलाई क्षेतिपूर्ति वा राहत दिने कार्यक्रम भने नभएको बताए। ‘असिनाले खाएको किसानलाई आगामी योजनामा प्राथमिकता दिन सक्छौं,’ कडरियाले भने, ‘असिना वा प्राकृतिक प्रकोपको क्षेतिमा क्षेतिपूर्ति दिने योजना हामीसँग छैन।’
पोखरा महानगरसँग मात्र होइन, प्राकृतिक विपत्तिमा परेका किसानलाई प्रदेश र संघ सरकारले पनि अहिलेसम्म सहयोग नगरेको किसानको गुनासो छ। प्राकृतिक प्रकोपबाट बालीमा परेको क्षतिपूर्ति लिन कृषि बिमा उपयुक्त विकल्प रहेको कडरियाले बताए।
पोखरामा कृषि फार्म चलाइरहेका मेमबहादुर गुरुङ, आविष्कार पौडेल र नवराज दुवाडीले कृषि बिमा गरेका छैनन्। पौडेलका अनुसार ३ महिना आयु रहेका बालीको बिमा गर्न लगानी मात्र बढ्ने बताए।
‘पोहोर तरकारीको बिमा गरेको थिए, फाइदा पाइएन,’ पौडेलले भने, ‘३ महिने बालीमा बिमा गर्दा खर्च मात्र बढ्ने रहेछ।’
तरकारीबाली र भैंसी पालेका मेमबहादुर गुरुङ र सहकारी र समुहमा कृषि गरिरहेका दुवाडीले बिमा गर्ने बेला असिना परेको बताए। उनीहरुले पनि कृषि बिमा झण्झटिलो हुने प्रतिक्रिया दिए। बिमा गर्न सजिलो भए पनि भुक्तानी पाउन असिना परेको फोटो, भिडिओ, प्राविधिक रिपोर्ट, बिमा कम्पनीको अनुगमन लगायत झण्झटिलो प्रक्रिया राखेको उनीहरुको भनाई छ।
दुवाडीका अनुसार बिमा कम्पनीमा किसानले तिर्नुपर्ने प्रिमियम सरकारले तिरिदिने बताए। तर प्रभावकारी नभएको उनको पनि अनुभव छ। कृषि बिमा कार्यक्रम प्रभावकारी रुपमा किसानको खेतबारीमा पुर्याउनुपर्ने उनको भनाई छ।
‘हरेक वर्ष असिना आएकै छ, आउँछ भन्ने पनि थाहा छ,’ उनले भने, ‘प्रकोप हामीले सोचेभन्दा फरक तरिकाले आउने भएकाले बाली जोगाउन बिमा नै प्रभावकारी बनाउनुपर्छ।’
किसानले भने तीनै तहका सरकारले असिनाको क्षतिमा राहत दिनुपर्ने माग राखेका छन्। किसानको खेतबारीमा पुगेर सरकारले क्षेतिको मुल्याङ्कन गर्नुपर्ने र किसानलाई सक्दो राहत दिनुपर्ने उनको माग छ।
कृषि समुह, फार्म संचालक र कृषि सहकारी मिलेर असिनाको क्षेतिबारे सरकारको ध्यानाकर्षण गराउने दुवाडीले बताए।
‘किसानलाई असिनाले पुर्याएको क्षति सरकारले हेरेर बस्नु हुँदैन,’ उनले भने, ‘हाम्रा खेतबारीमा प्राविधिक पठाएर सरकारले सकभर राहत दिनुपर्छ।’