हालै सुर्खेतमा श्रवणशक्तिबिहीन दुई व्यक्ति चोरीको आरोपमा पक्राउ परे। प्रहरी उनीहरूसँग बयान लिन असमर्थ भयो।
कतिपय सरकारी तथा अन्य सार्वजनिक कार्यक्रममा सांकेतिक भाषाका दोभाषे देखिन्छन्। ती दोभाषेले हात र औंलाको सहायताले श्रवणशक्ति नभएका व्यक्तिहरूलाई कुरा बुझाउँछन्।
श्रवणशक्ति नहुने व्यक्तिका कुरा चाहिँ अरूले कसरी थाहा पाउने?
सुर्खेतको प्रहरीका सामु यही प्रश्न खडा भएको थियो। आफूले पक्राउ गरेका व्यक्तिको बयान लिन नसकेपछि प्रहरीले राष्ट्रिय अपांगता महासंघ, कर्णाली प्रदेशलाई दोभाषे पठाइदिन आग्रह गर्यो।
महासंघले गौरव शाहीलाई पठायो।
उनले प्रहरीले सोधेका प्रश्न सांकेतिक भाषाका माध्यमले आरोपित श्रवणशक्तिबिहीन व्यक्तिलाई बुझाए। सांकेतिक भाषामा दिएको जवाफ गौरवले प्रहरीलाई सुनाए। दुई घन्टामा बयान सकियो।
त्यही आरोपको मुद्दा अदालतमा पुग्यो। अदालतले पनि महासंघलाई दोभाषे पठाइदिन आग्रह गर्यो। महासंघले फेरि पनि गौरवलाई नै पठायो।
'उनीहरू (श्रवणशक्तिबिहीन) सँग बयान लिँदा भाषाको समस्या भयो, महासंघले मलाई पठायो,' गौरवले भने, 'त्यहाँ उनीहरूको बयान टाइप गर्न दोभाषेको काम गरेँ। अदालतले मलाई धन्यवाद दियो।'
सरकारी तथा गैरसरकारी कार्यक्रमहरूमा गौरवको उपस्थिति अनिवार्य जस्तै भएको छ।
कालिकोटका गौरव १८ वर्षअघि पाँच वर्षको उमेरमा बुवाको उपचारको सिलसिलामा सुर्खेत आएका थिए। त्यसपछि परिवारको बसाइ सुर्खेतमै भयो। यतै हुर्के, पढे।
कोरोना लकडाउन भएपछि फुर्सद मिल्यो। सुर्खेतमा उनको बसाइ सिद्ध बहिरा स्कुलनजिकै थियो। उक्त स्कुलका शिक्षकहरूसँग चिनजान थियो। अपांग सशक्तिकरण केन्द्रले तालिम चलाउने कुरा शिक्षकहरूबाटै थाहा पाए। उनलाई फुर्सद सदुपयोग गर्न तालिम लिन मन लाग्यो, अवसर पनि पाए।
तालिम रहेछ सांकेतिक भाषाको।
गौरव भन्छन्, 'मलाई सांकेतिक भाषा सिक्छु भन्ने सोच नै थिएन। दोस्रो चरणको कोरोना प्रभाव जारी थियो। मैले समय सदुपयोग गर्ने विचार गरेँ।'
उनले तीन महिना तालिम लिए। तालिममा अक्षर र शब्द मात्र सिक्न पाए। यतिले पनि सांकेतिक भाषामा रस भिज्यो तर सिक्ने धित मरेन। युट्युब हेरेर आफैं सिक्न थाले। युट्युबबाटै सांकेतिक भाषाका बाक्य बनाउन सिके।
'तालिमपछि युट्युबबाट भिडिओ हेरेर कापीमा लेख्ने अभ्यास गर्दै सिकेँ,' आइटी (इन्फर्मेसन टेक्नोलोजी) मा स्नातक पढिरहेका उनले भने, 'सांकेतिक भाषामा वाक्य बनाउन युट्युबबाटै सिकेको हुँ।'
तालिम सकिएको केही दिनमै गौरवलाई कर्णाली प्रदेशसभा सचिवालयले एउटा अन्तक्रिया कार्यक्रममा बोलायो। अचानक उनले सांकेतिक भाषाको दोभाषे हुनुपर्ने भयो। भर्खर वाक्य बनाउन जान्दै गरेका उनलाई अचानक आएको जिम्मेवारी पूरा गर्न निकै असहज लाग्यो। त्यसयता कार्यक्रमहरूमा उनी सहजै दोभाषेको काम गरिरहेका छन्।
'सांकेतिक भाषा सिक्दा रमाइलो लाग्यो। सुन्न र बोल्न नसक्नेहरूसँग जोडिएर काम गर्दा केही योगदान गर्न सकेजस्तो लाग्न थालेको छ,' गौरव भन्छन्, 'मैले उनीहरूका कुरा अरूलाई बुझाउन सकेको छु।'
श्रवणशक्ति नभएकाहरूलाई पूर्णरूपमा सांकेतिक भाषाबाट बुझाउन नसकेको अवस्थामा लेखेर भए बुझाउने गरेको उनले बताए। गौरव उनीहरूका कुरा लिएर सार्वजनिक निकायमा पनि पुग्छन्। उनीहरूका माग र कुरा सुनाउन सहयोग गर्छन्।
गौरवका केही साथीलाई उनको काम मन पर्दैन। बेकारमा समय खेर फालेको भन्ठान्छन्। उनलाई भने यसमा रमाइलो लागेको छ। २३ वर्षीय उनी भन्छन्, 'बोल्न र सुन्न नसक्नेहरूसँग घुलमिल हुन थालेको छु। केही सहयोग गर्न सक्दा खुसी लागेको छ।'
उनका अनुसार स्कुलमा पढेका र नपढेकाहरूको संकेत फरक हुन्छ। पढेका श्रवणशक्तिबिहीनको संकेत बुझ्न सजिलो हुन्छ। कर्णाली प्रदेशमा स्रोत कक्षाहरूमा पढाउने कतिपय शिक्षकसँग समेत सांकेतिक भाषाको राम्रो ज्ञान नभएको गौरवले पाएका छन्। आवश्यक तालिम व्यवस्था नहुँदा यस्तो अवस्था रहेको उनको बुझाइ छ।
श्रवणशक्तिबिहीनको मनोविज्ञान केही शंकालु पनि हुने उनी बताउँछन्। भन्छन्, 'उनीहरू भएको ठाउँमा अरू कसैले आपसमा कुरा गर्दा आफ्नो कुरा काटेको हो कि भन्ने शंका गर्छन्। बीचबीचमा सांकेतिक भाषाबाट कुरा बुझाउँदा ढुक्क हुन्छन्।'
भविष्यमा कुनै निकायमा रोजगारी गर्दा पनि श्रवणशक्तिबिहीन सेवाग्राहीका लागि काम गर्न आफूलाई सजिलो हुने उनी बताउँछन्।
गौरव यो काममा एक्ला छैनन्। वीरेन्द्रनगरका २० वर्षीय प्रकाश बुढा उनका सहयात्री हुन्। बिबिएस प्रथम वर्ष पढिरहेका प्रकाश न्यून दृष्टि भएको अपांगता समूहमा पर्छन्।
प्रकाशले गौरवसँगै सांकेतिक भाषाको तालिम लिएका थिए। उनी पनि विभिन्न कार्यक्रममा श्रवणशक्तिबिहीनका कुरा अरूलाई बुझाउने दोभाषेको काम गर्छन्।
'मलाई दोभाषे भएर काम गर्न पाउँदा खुसी लागेको छ,' प्रकाशले भने, 'यहाँ (सुर्खेतमा) बाहिरबाट दोभाषे बोलाएर सांकेतिक भाषा अनुवाद गराउनु पर्थ्यो। अहिले हामी (गौरव र प्रकाश) ले गरेका छौं।'
गौरवभन्दा केहीपछि यो काम थालेका प्रकाशले तीन वटा सार्वजनिक कार्यक्रममा काम गरिसके। श्रवणशक्तिविहीनको आवाज आममानिससम्म पुर्याउने अवसरलाई प्रकाशले निकै महत्वपूर्ण ठानेका छन्।
भन्छन्, 'मेरा लागि गर्वको कुरा हो। सांकेतिक भाषासम्बन्धी तालिम लिएपछि मैले अवसर पनि पाएको छु।'
प्रकाश कहिलकाहीँ बाटोमा भेटिएका श्रवणशक्तिविहीन व्यक्तिलाई पनि सहयोग गर्छन्। उनीहरूको कुरा बुझाउन सहजीकरण गरिदिन्छन्। सांकेतिक दोभाषेका रूपमा काम गर्न थालेपछि प्रकाशले यसको महत्व बुझ्न थालेका छन्। सार्वजनिक निकायमा यस्ता दोभाषे अनिवार्य गर्नुपर्ने उनको भनाइ छ।
'भविष्यमा म जुनसुकै क्षेत्रमा भए पनि श्रवणशक्तिबिहीनका लागि काम गर्न छाड्दिनँ,' प्रकाशले भने।
राष्ट्रिय अपांगता महासंघ कर्णाली प्रदेशका जनवकालत संयोजक जितलाल ढकालका अनुसार पहिले दोभाषेहरू पोखराबाट बोलाइन्थ्यो। अहिले गौरव र प्रकाशले सम्हालेका छन्। यस्ता दोभाषेलाई दिगो बनाउन भने चुनौतीपूर्ण रहेको उनी बताउँछन्।
'सांकेतिक भाषामा दोभाषेको काम पेसाका रूपमा विकास हुन सकेको छैन। त्यसैले अर्को विकल्प खोज्नु पर्छ,' ढकालले भने, 'पेसाका रूपमा विकास गर्न सरकारले मद्दत गर्नुपर्छ।'
यसको तालिम दिएर कर्णालीका सबै जिल्लामा दोभाषे तयार गर्ने गरी प्रदेश सरकारसँग राष्ट्रिय अपांगता महासंघले समन्वय गरिरहेको पनि उनले बताए।
कर्णालीमा स्रोत शिक्षक र विशेष विद्यालयका शिक्षक दोभाषेको काम गर्न सक्छन्। तर उनीहरूमा समयसापेक्ष शब्द र वाक्यको ज्ञान नहुँदा भाषा अपूर्ण हुने गरेको ढकालको भनाइ छ।
'शब्दहरू परिमार्जन हुँदै गएका छन्, त्यसअनुसार तालिम दिन सकिएको छैन,' उनले भने, 'यसले गर्दा अझ पनि पूर्णरूपमा सञ्चार गराउन सकिएको छैन।'
प्रत्येक नागरिकलाई सञ्चारको हक हुने संवैधानिक व्यवस्थाअनुसार सरकारी क्षेत्रबाटै सांकेतिक भाषाका दोभाषे उत्पादन गरी पेसाका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ। श्रवणशक्तिबिहीनहरू सीमान्तकृत अपांगताको वर्गमा पर्ने भएकाले उनीहरूका लागि सबै क्षेत्रबाट विशेष सहयोग पुर्याउनु पर्ने राष्ट्रिय अपांगता महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्मा बताउँछन्।