दस महिनाअघि बहराइन पुगेका झापा दमक-५ का ४३ वर्षीय दिनेश सिग्देललाई पत्नी अनिता केसीले बिदा मिलाएर घर आउन ताकेता गरिरहेकी थिइन्।
जसरी पनि बिदा मिलाएर आउन कान्छी श्रीमतीले दबाब दिएपछि दिनेशले पनि चाँजो मिलाए।
त्यसैले माघ २० मा उनी घर आइपुगे। बहराइनबाट जम्मा १५ दिनको बिदा मिलाएर घर आएका उनी उसैको हातबाट मारिए, जसलाई भेट्न उनी सात समुद्र तरेर आएका थिए।
प्रहरीले प्रारम्भिक अनुसन्धानबाट निकालेको निष्कर्ष र घटना विवरणले देखाउँछ - दिनेशको हत्या विभत्सताको पराकाष्ठा नाघ्ने हदमा भएको छ।
कान्छी श्रीमती अनिता र उनका प्रेमी सरोज भण्डारी मिलेर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।
सिग्देलको हत्या विराटनगर-३ पीपलचोकमा रहेको अनिताको डेरामा माघ २२ मा भएको प्रहरीले जनाएको छ।
सिग्देलकी कान्छी पत्नी ३० वर्षीया अनिता केसी र उनका प्रेमी विराटनगर-४ इकराइका २९ वर्षीय सरोज भण्डारीले हत्या गरेको खुलेको हो।
१० महिनाअघि बहराइन गएका दिनेश १५ दिनको बिदाको लागि माघ २० गते घर आएका थिए। माघ २१ गते कान्छी पत्नी अनितासँग भेट भएपछि उनीहरू विराटनगरस्थित नोबेल अस्पताल अगाडिको एक होटलमा बस्थे।
होटलमा एक रात बसेपछि उनीहरू विराटनगर-३ पीपलचोकस्थित डेरामा २२ माघको राति पुग्छन्।
अनिताको पूर्वयोजना अनुसार सरोजलाई त्यसअगाडि जानकारी दिन्छिन्- उनी कोठामै हुन्छन्। अनिताले श्रीमानलाई कोठामा पुर्याउँदा सरोज खाटमा बसेका थिए।
कोठामा पुगेको केहीबेरमा सरोजले परिबन्धमा पारेर दिनेशको घाँटीमा गलबन्दीले कस्छन्। कसेर घाँटीमा पासो लगाएपछि दुबै जनाले हत्या गर्छन्। सरोजको हत्या गरेपछि उनीहरू त्यसरात दुबै जना बाहिर बसेका थिए। भोलिपल्ट २३ माघमा बिहान कोठामा आएर शव व्यवस्थापनमा जुट्छन्।
कुनै फिल्मी दृश्यभन्दा पनि खतरनाक लाग्ने यो घटनाकी मुख्य अभियुक्त अनिताको माइती सुनसरीको प्रकाशपुर हो। उनकी ७ वर्षकी छोरी छन्। बुवाकफ हत्या गरेको दिन छोरी मामाघरमा हुन्छिन्।
सुनसरी प्रहरी प्रमुख एसपी सन्जयसिंह थापाले दिएको जानकारी अनुसार हत्या गरेको भोलिपल्ट भण्डारीको शरीर ग्रेण्डर मेसिनले काटेर दुई वटा जेब्रा झोलामा हालेर धरानतिर लगिएको थियो। धरान-४ को कोशी राजमार्ग अन्तर्गत धरान-धनकुटा सडकको जंगलमा सिटी सफारीमा हालेर शव उनीहरूले फालिदिएका थिए।
सिग्देलको हत्या भएको १२ दिनपछि ४ फागुनमा टाउको, हात खुटा जेब्राको झोला खाँदेको र जंगलमा फ्याँकेको अवस्थामा गाउँलेले फेला पारेका थिए। प्रहरीलाई उनीहरूले खबर गरेपछि प्रहरी घटनाको अनुसन्धानमा जुटेको थियो।
शव फेला परेको एक हप्तापछि सोमबार मृतकको पहिचान खुलेको हो। पहिचान खुलेकै दिन प्रहरीले हत्या आरोपमा अनिता र सरोजलाई पक्राउ गरेको हो। सुनसरी प्रहरीले मंगलबार धरानमा पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजानिक गरेको छ।
रोजगारीको सिलसिलामा सिग्देल बहराइन रहेको र श्रीमतीसँगको सम्बन्धमा दरार उत्पन्न भएको कारणले प्रेमीसँग मिलेर हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी सिंहले बताए।
‘श्रीमानले विदेशमा कमाएको रकम कान्छी पत्नी पठाउने गरेका थिए। उक्त रकम प्रेमीसँग मिलेर मोजमस्तीमा उडाउने गरेको देखियो। त्यही भएर श्रीमान श्रीमतीको सम्बन्धमा खटपट थियो। स्वदेश फर्किएपछि मार्ने योजना अनुसार प्रेमीसँग मिलेर हत्या गरेको देखिएको छ,’ एसपी सिंहले भने।
अनितालाई पठाएको एक लाख रुपैयाँ प्रेमी सरोजलाई ऋण बापत दिएकी थिइन्। त्यसमा थप ७५ हजार रुपैयाँ पनि दिएर विदेशबाट आउँदै गरेका श्रीमान् दिनेशको हत्या गर्ने र प्रेमी सरोजसँग घरजम गर्ने उद्देश्यले हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी सिंहले बताए।
कोठाभित्र श्रीमानको हत्या गरेपछि शवको व्यवस्थापन गर्न मृतकको शरीर टुक्रा-टुक्रा पार्ने र जेब्रा झोलामा हालेर फाल्ने योजना उनीहरूले बनाएको देखिन्छ। सोही योजना अनुसार चार हजार रुपैयाँमा स्थानीय बजारबाट ग्रेण्डर मेसिन, तीन थान जेब्रा झोला र पोलिथिन खरिद गरी शव व्यवस्थापनमा उनीहरू लागेको देखिएको प्रहरीले बताएको छ।
सुरूमा ग्रेण्डर र खुकुरीले सरोजको घाँटी काटी टाउको र दाहिने तिघ्राको भाग अलग गराएको र शरीरको भाग अर्को झोलमा हाली सोही दिन साँझ ट्याम्पो भाडामा लिएर इटहरी हुँदै धरानको जंगलमा शव पुर्याएको देखिएको प्रहरीले जनाएको छ।
प्रेमीसँग मिलेर पतिको शव जंगलमा फालेपछि उनीहरू पर्यटकीय गन्तव्य भेडेटारमा बास बसेको खुलेको छ। एक रात भेडेटारमा बसेपछि भोलिपल्ट २४ माघमा विराटनगर आए। सरोज र अनिता ५-६ महिनादेखि प्रेम सम्बन्धमा थिए। उनीहरूसँगै बस्दै आएका थिए। सरोज श्रीमतीसँग सम्बन्ध राम्रो नभएपछि उनी माइती बस्दै आएको पनि खुलेको छ।
प्रहरीले हत्यामा प्रयोग गरिएको ग्रेण्डर मेसिन, गलबन्दी पनि बरामद गरेको छ। पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानले सुनसरी अदालतमा कर्तव्य ज्यानमुद्दामा म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।