झापाको दोमुखामा गएराति आगलागी हुँदा दुई जना जलेर गम्भीर घाइते भएका छन्।
शिवसताक्षी नगरपालिका वडा नम्बर १० की ४३ वर्षीय बालिका भण्डारी र उनकी १४ वर्षीय छोरी अस्मिता जलेर घाइते भएका हुन्।
उनीहरूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।
पूर्वको पर्यटकीय दोमुखा क्षेत्रमा बिहीबार राति ११ बजे आगो सल्किएको हो। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
आगलागीबाट दोमुखाका चार वटा होटल र एउटा दोमुखा युवा क्लबको कार्यालय पनि जलेर नष्ट भएको छ। स्थानीय हरी भण्डारी, डम्बर मगर, किशोर लिम्बु र जय थपलिया पलियाको होटलमा आगलागी भएको प्रहरीले जनाएको छ।
दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाले निर्माण गरेका ती भवन होटलका लागि बहालमा लगाएको थियो। होटलका सबै सामग्री जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले बताए।
आगलागी शुक्रबार बिहान ३ बजे कमल गाउँपालिका, दमक नगरपालिका र बिर्तामोड नगरपालिकाको बारुण यन्त्रले निभाएको थियो।
आगलागी निभाउन स्थानीय बासिन्दा र प्रहरी पनि खटेका थिए। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।