सहरको कथा: पनौती
धेरै धेरै, धेरै नै वर्ष पहिलेको कुरा हो।
त्यति बेला पाञ्चाल देश (पनौती) मा राजा दीर्घरथको शासन थियो। उनी धर्मात्मा राजा थिए, जनताका कुरा सुन्थे। जनताको चाहनाअनुसार उनीहरूलाई खुसी राख्दै शासन गर्थे।
उनको शासनकालमा पनौती राज्य समृद्ध थियो। जात्रापर्व र संस्कृतिमा राज्यले खुब तरक्की गरेको थियो। एउटै समस्या के भने, नगरको दक्षिणतर्फ ठूलो कृषियोग्य जमिन थियो तर त्यहाँ सिँचाइको राम्रो सुविधा थिएन। जे जति उत्पादन हुन्थ्यो, त्यो आकाशेपानीकै भरमा भइरहेको थियो। सिँचाइ भइदिएको भए त्यो कृषियोग्य जमिनबाट साविकभन्दा दोब्बर-तेब्बर उत्पादन गर्न सकिन्थ्यो। यसबाट राज्यले समृद्धिको बुलन्दी छुन सक्थ्यो। वरपरका अरू कुनै पनि राज्यले पनौतीसँग टक्कर लिन सक्ने थिएन।
त्यही भएर राजा दीर्घरथ कसरी सिँचाइको भरपर्दो स्रोत व्यवस्था गर्ने र कसरी त्यो कृषियोग्य जमिनमा बाह्रै महिना अन्नबाली लहलहाएको हेर्ने भन्ने चिन्तनमा हुन्थे।
उनले यसबारे राजपुरोहित र भारदारहरूसँग सरसल्लाह गर्न आफ्नो दरबारमा बैठक डाके।
एक जना राजपुरोहितले आफ्नो आसनबाट उठेर भने, 'महाराज, यहाँबाट उत्तरतर्फ फुल्चोकी डाँडा छ। हजुरले त्यहाँ गएर फुल्चोकी माईको तपस्या गर्नुहोस्। फुल्चोकी माई प्रसन्न हुनुभयो भने देवीको कृपाले पनौतीको पानीको समस्या दूर होला।'
राजा दीर्घरथलाई राजपुरोहितको सुझाव मन पर्यो।
उनी फुल्चोकी डाँडामा गएर फुल्चोकी माईको तपस्या गर्न थाले।
जति बेला राजा दीर्घरथ फुल्चोकी डाँडामा तपस्या गर्दै थिए, त्यही बेला पाटनका राजा पनि आफ्नो राज्यको पानी अभाव अन्त्य गर्न फुल्चोकी माईलाई पुकार्दै तपस्या गर्न आएका थिए।
दुवै राजाले धेरै वर्ष तपस्या गरे।
आखिरमा फुल्चोकी माई प्रकट भइन्।
दुवै राजाले फुल्चोकी माईसामु दुई हात जोडेर एकैपटक बिन्ती बिसाए। उनीहरूको बिन्ती पनि एउटै थियो, 'माई, मेरो राज्यमा एउटा नदी प्रवाहित गरिदिनुहोस्।'
फुल्चोकी माई दुई राजाको तपस्या देखेर खुसी थिइन्। तर दुवैको एकै प्रकारको बिन्ती सुनेर उनी एकछिन अकमकिइन् र भनिन्, 'म एकैपटक दुईवटा नदी त दिन सक्दिनँ।'
उनले अगाडि भनिन्, 'तिमीहरू दुई जनामध्ये जसले सुन र चाँदीको फूल पहिले ल्याएर मलाई प्रसन्न तुल्याउँछ, म उसैको राज्यमा नदी प्रवाहित गर्नेछु।'
पाटन सुनचाँदीका गरगहना र कलाकौशलमा सम्पन्न राज्य थियो। त्यही भएर त्यहाँका राजालाई फुल्चोकी माईको मागअनुरूप सुन र चाँदीको फूल टक्र्याउन कुनै समस्या भएन। पनौतीका राजा भने यस्तो माग सुनेर चिन्तित भए। कृषि पेसामा मात्र संलग्न पाञ्चालवासीहरूका लागि सुन र चाँदीको फूल तयार पार्न सम्भव थिएन।
हरेक सानोठूलो समस्यामा जनमत बुझ्न अग्रसर हुने राजा दीर्घरथले यसपालि पनि आफ्ना जनताबाटै समस्या सामाधान हुन्छ कि भन्ने आशा राखेर भोलिपल्ट राजसभा डाके जसमा भाइभाइरदार र गुरूपुरोहित मात्र होइन, आमजनतालाई पनि आमन्त्रण गरिएको थियो।
त्यही बैठकमा राजा दीर्घरथले फुल्चोकी माईको प्रस्ताव सार्वजनिक गरे।
सभामा उपस्थित एक जनाले राजालाई सुझाव दिए, 'सक्कली सुन र सक्कली चाँदीको फूल बनाएर फुल्चोकी माईलाई चढाउन हाम्रो राज्य सक्षम छैन। हामीसँग सुनचाँदीको फूल बनाउने कौशल छैन। तर त्यसो भन्दैमा हजुर निराश हुनुपर्दैन राजन। मसँग एउटा उपाय छ।'
राजा दीर्घरथले खुसी हुँदै सोधे, 'के उपाय?'
राजाले यति भनिसकेपछि सभामा उपस्थित ती नागरिकले भने, 'राजन, सुन र चाँदीको फूल टक्र्याउन नसकेर के भो त, हामी फुल्चोकी माईलाई प्रकृतिकै सुन्दर फूल चढाउन सक्छौं। सुनजस्तै पहेँलो तोरीको फूल र चाँदीजस्तै टल्किने सेतो मुलाको फूल चढाउन सक्छौं। सच्चा हृदयले चढाएको प्राकृतिक फूल फुल्चोकी माईको निम्ति सुन र चाँदीभन्दा अमूल्य हुनेछ भन्ने मेरो विश्वास छ राजन।'
नागरिकको यस्तो सुझाव राजा दीर्घरथसहित राजासभामा उपस्थित सबैलाई चित्त बुझ्यो।
त्यसपछि पनौतीका सबै नागरिक मिलेर आफ्नो खेतबाट सबभन्दा सुन्दर तोरीको फूल टिपे, सबभन्दा टल्किने मुलाको फूल टिपे र तोरी र मुलाका फूलको माला उनेर राजासामु प्रस्तुत गरे।
राजा दीर्घरथ त्यही माला लिएर फुल्चोकी माईसामु उपस्थित भए। पाटनका राजा पनि सक्कली सुन र सक्कली चाँदीको फूल लिएर फुल्चोकी माईलाई टक्र्याउन आएका थिए।
दुवै राजाबाट प्राप्त उपहार हातमा लिँदै फुल्चोकी माईले भनिन्, 'तिमीहरू दुवैले मेरो बचन राख्यौ। तर पनौतीका राजा दीर्घरथले जसरी तोरी र मुलाको प्राकृतिक फूलबाट माला उनेर मलाई चढाए, म त्यसबाट अत्यन्तै प्रसन्न भएँ। सुन र चाँदीको फूल बहुमूल्य छ तर यसमा प्रकृतिको सुवास छैन। सुन र चाँदीको फूल बनाउन कालिगढी पनि प्रशस्तै चाहिन्छ तर यसमा प्राण छैन। राजा दीर्घरथले ल्याएको मालामा प्रकृतिको सुवास पनि छ र यसमा माला उन्ने कालिगढहरूको परिश्रम पनि बसाउँछ। त्यसैले म पाञ्चाल देशतर्फ बहने गरी नदी प्रवाहित गर्नेछु।'
फुल्चोकी माईको यस्तो भनाइ सुनेर राजा दीर्घरथ हर्षविभोर भए। पाटनका राजाले पनि आफ्नो हार स्वीकार गरे।
फुल्चोकी माईले राजा दीर्घरथलाई सम्बोधन गर्दै अगाडि भनिन्, 'हे राजन! मेरो वरदानबाट प्राप्त यो नदी आफैंमा पवित्र छ। यो नदी जुन ठाउँमा पुगेर अर्को नदीसँग मिसिन्छ, त्यो दोभान अझ पवित्र हुनेछ। त्यहाँ स्नान गर्ने मानिस, देवता वा राक्षस जोसुकैले आफ्नो पापबाट मुक्ति पाउने छन्। सबैलाई पापबाट मुक्तिको अवसर दिन प्रत्येक बाह्र वर्षमा त्यो संगम स्थलमा ठूलो मेला लाग्नेछ।'
यसरी फुल्चोकी माईको कृपाअनुसार पनौती अर्थात् पाञ्चाल देश लीलावती नदीले सिञ्चित भयो।
यो घटनाको केही समयपछि लीलावती नदीले सिञ्चित भएर लहलहाएको पनौती भूमि देखेर पाटनका राजालाई आरिस लाग्यो। उनले पनौतीतिर बगेको लीलावती नदीतर्फ रोषपूर्ण नजरले हेरे। पाटनका राजाको रोषपूर्ण नजरकै कारण पनौतीमा बग्ने लीलावती नदीलाई 'रोशी' पनि भन्न थालियो। यो नदीको प्रवाह पनि रोषपूर्ण छ।
पाटनका राजा आफ्नो आरिसले उत्प्रेरित भएर फेरि फुल्चोकी माईको तपस्या गर्न गए। छ वर्ष लगातार आराधना गरिरहे।
उनको तपस्याबाट प्रसन्न भएर फुल्चोकी माईले पनौतीमा लीलावती नदी प्रवाह गरेको छ वर्षपछि पाटनलाई गोदावरी नदी उपहार दिइन्।
गोदावरी नदी प्रवाहित गर्दै पाटनका राजालाई फुल्चोकी माईले भनिन्, 'तिमीकहाँ पाञ्चाल देशमा जस्तो पानीको त्यति ठूलो अभाव छैन। त्यसैले म तिमीलाई छोटो प्रवाह भएको नदी दिन्छु। तर यो नदी पनि लीलावतीजस्तै पवित्र हुनेछ। यहाँ स्नान गर्न भक्तजनहरूको भीड र मेला लाग्नेछ।'
त्यति बेलादेखि नै छ-छ वर्षको अन्तरमा यी दुई नदीको संगममा बाह्रवर्षे मेला लाग्दै आएको छ।
पनौतीको बाह्रवर्षे मकर मेलासँगै सम्बन्धित छ अर्को नदी, रूद्रावती।
रूद्रावती त्रिवेणीघाटमा अवस्थित कुञ्जगिरि पर्वतको फेदबाट सुरू भएर ब्रह्मायणी मन्दिरको मुनिमुनि बहने धार्मिक विश्वास छ। गुप्त रूपमा बहने दूधरूपी यो नदी ३२ लक्षणले युक्त मान्छेले मात्र देख्न सक्ने विश्वास गरिन्छ।
रूद्र भनेको शिवको रूप हो। उनकी पत्नी पार्वती इन्द्रपत्नी शचीको तपस्याबाट प्रसन्न भएर आफैं नदीका रूपमा प्रकट भएको किम्बदन्ती छ। रूद्रावती नदीबारे विस्तृत कथा मैले यही श्रृंखलाको दोस्रो अंक 'पनौतीको त्रिवेणीघाटमा दुइटा नदी, तेस्रो चाहिँ खोइ?' मा चर्चा गरेकी छु।
फुल्चोकी माईको आशीर्वादले प्रवाहित लीलावती (रोशी) नदीको संगम पुण्यमती नदीसँग हुन्छ। फुल्चोकी माईले भनेजस्तै रोशी र पुण्यमती नदीको संगम स्थलमा हरेक बाह्र वर्षमा मकर मेला लाग्छ। यो मेला भर्नेले पापबाट मुक्ति पाउने विश्वास गरिन्छ।
भनिन्छ, राजा जयार्जुनको समयमा पनौतीको नाम नै पुण्यमती थियो। ब्रह्मायणी मन्दिरमा पाइएको बिक्रम सम्बत् १७१७ को अभिलेखअनुसार यही नदीबाट पनौतीको नामाकरण पुण्यमती भएको थियो। कालान्तरमा पुण्यमाता, पुण्यवती, पलाँती, पनाती लगायत विभिन्न नाम हुँदै पनौती भयाे। मान्छेलाई खानाको अभाव हुँदा यो नदीले अन्नहरू बगाएर ल्याई अभाव पूर्ति गरेकाले पुण्यमती भनिएको स्थानीय बताउँछन्।
पुण्यमती नदी नाला, बनेपा, सुब्बागाउँ हुँदै पनौतीको घाट क्षेत्रमा पुगेपछि लीलावती (फुल्चोकी माईको आशीर्वादबाट प्रवाहित) र रूद्रावती नदी (३२ लक्षणले युक्त मान्छेले मात्र देख्ने गुप्त नदी, के तपाईंले यो नदी देख्नुभएको छ?) सँग मिसिन्छ।
यही त्रिवेणी संगम स्थलमा पनौती सहर बसेको छ।
सभ्यता, संस्कृति र समाजका तीनवटा कोण मिलेर एउटा सहर बन्छ। पनौती यस्तो सहर हो जुन आफैंमा त्रिकोण आकारमा बसेको छ। पुण्यमती (पद्मावती) र रोशी (लीलावती) नदीको दोभानमा बसेकाले पनौतीले त्रिकोण आकार पाएको हो। यसका तीन कोणमा सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता महेश्वरको त्रिशक्ति एकाकार हुने विश्वास गरिन्छ।
यो विश्वास पनौतीमा प्रचलित विभिन्न किम्बदन्तीहरूमा आधारित छन्।
ब्रह्माले सृष्टि गरेकी परम् सुन्दरी अहिल्यासँग देवराज इन्द्रले छल गरेको कथा पनौती सहरसँग जोडिन्छ। विष्णुको स्वरूप मानिने बासुकी नागराजले पनौतीलाई सुरक्षा दिँदै आएका छन्। उनले आफ्नो धन यहीँ लुकाएर राखेको मानिन्छ। भगवान महादेवको पुरानो मन्दिर इन्द्रेश्वर महादेव पनि पनौतीमै छ। पनौतीमा सबभन्दा धेरै पाइने मन्दिर महादेवकै हो। (ब्रह्मा, विष्णु र महेश्वरको पनौती सम्बन्धसँग जोडिएका किम्बदन्तीबारे 'पनौतीको त्रिवेणीघाटमा दुइटा नदी, तेस्रो चाहिँ खोइ?' मा पढ्नुहोस्।)
यति मात्र होइन, हिन्दु धर्ममा चारधाम भनिने केदारनाथ, बद्रीनाथ, रामेश्वर र द्वारिका पनि पनौतीको त्रिवेणीघाटमै छन्। त्रिवेणीघाटमा मेला भर्नेहरूले चारधाम गएबराबर पुण्य प्राप्त गर्ने भनाइ छ।
जिन्दगीमा एकचोटि पनौतीको त्रिवेणीघाटमा पाइला टेक्ने हो भने भारतमा रहेका ती चार तीर्थस्थल जानै नपर्ने यहाँका स्थानीय बताउँछन्। पनौतीलाई नेपाल भाषामा 'पलाँती' भनिएको त्यसैले हो। नेपाल भाषामा पलाँतीको अर्थ 'पाइला टेक्नुपर्ने ठाउँ' हो।
के तपाईंले काठमाडौंबाट ३२ किलोमिटर टाढाको यो सानो सहरमा पाइला टेक्नुभएको छ?
छैन भने तपाईंहरू आफ्नो सुविधाअनुसार फुर्सत निकालेर पनौती घुम्न जाँदै गर्नुहोला। त्यसअघि पनौती कथा शृंखलाको आजको अंकमा हामीसँग पनौतीको 'भर्चुअल सिटी टुर' गर्नुहोस् है त।
यो सिटी टुरमा हामीलाई पनौती घुमाउँदै हुनुहुन्छ, यहाँका स्थानीय एवं संस्कृतिविद् तुयुकाजी ताम्राकारले।
ताम्राकारसँग हाम्रो पहिलो भेट पनौती बसपार्कमा भएको थियो। उनको नयाँ घर बसपार्कनजिकै छ। पुरानो घर पुरानो पनौतीमा पर्छ।
सिटी टुरमा निस्कनुअघि ताम्राकारले यो सहरको संरचना सर्सर्ती बताए।
उनका अनुसार हिजोआज पनौतीको बनोट त्रिभुज आकारमा सीमित छैन। सरकारले २०५३ माघ ११ गते पनौतीलाई नगरपालिका घोषणा गरेपछि पहिले त्रिभुज आकारमा बसेको पनौती अब 'पुरानो पनौती' भएको छ। पुरानो पनौतीसहित त्यसबाहिरका सुन्थान, शारदा, टौखाल, देवीस्थान, सुब्बागाउँ, मल्पी र खोपासी गरी आठ गाविस गाभेर अहिलेको बृहत् पनौती बनेको छ।
ताम्राकारलाई हामीले भेटेको बसपार्क पहिलेको मानेश्वरी चउर हो। त्यहाँबाट पुरानो बस्तीतर्फ बढ्दै गर्दा ताम्राकारले भने, 'पहिले यहाँ उबडखाबड चउर थियो, पोखरी पनि थियो। सबै सम्म पारेर २०३६-३७ सालतिर बसपार्क बनाइएको हो।'
अगाडि बढ्दै जाँदा हामीले सडकको दायाँतर्फ फल्चा (पाटी) देख्यौं। पहिले पहिले भक्तपुर र साँखुबाट माधवनारायण जात्रा ल्याउँदा तीर्थारूहरू यही फल्चामा आराम गर्थे र पानी पर्दा ओत लाग्थे। त्यहीँनिर पहिले कुवा पनि थियो जहाँ हातखुट्टा धोएर तीर्थारूहरू नगर प्रवेश गर्थे। त्यो कुवा अहिले छैन। जात्रा भने जारी छ।
हिजोआज स्मृतिमा मात्र रहेको मानेश्वरी चउर छिचोलेर हामी त्रिकोण आकारको पुरानो पनौती पुग्यौं।
जुन विन्दुबाट पुरानो पनौती सुरू हुन्छ, त्यहाँ हामी इँटाले बनेको एउटा ठूलो ढोका देख्नसक्छौैं। यो पुरानो पनौतीको प्रवेश द्वार हो। यो द्वार पनौती नगरपालिकाले आजभन्दा पन्ध्र-सोह्र वर्षअघि मात्र बनाएको हो। प्राचीन ढोकाको सम्झनाका रूपमा यो नयाँ द्वार बनाएको ताम्राकार बताउँछन्।
उनले नगरपालिकाले बनाएको इँटाको प्रवेश द्वारभन्दा पन्ध्र-बीस मिटर दुरीमा ढुंगाको जगजस्तो संरचना देखाए। त्यहाँ ढुंगाकै सानो स्तम्भ पनि गाडिएको थियो।
'यो पनौतीको प्राचीन ढोकाको अवशेष हो,' उनले भने, 'नगरपालिकाले यसलाई पुरानो चिनोका रूपमा सुरक्षित राखेर यसैको आकारसँग मिल्दोजुल्दो नयाँ ढोका बनाएको हो।'
सहर छिर्ने मार्गमा रहेको ढुंगेद्वारको अवशेषले कुनै समय पनौती किल्लाजस्तो पर्खालले घेरिएको थियो भन्ने संकेत गर्छ।
पहिले पहिले सहरहरूमा सुरक्षा दृष्टिले पनि वरिपरि पर्खाल लगाउने र ठाउँठाउँमा ढोका बनाउने चलन थियो। चोर, डाँका र दुश्मनहरू सजिलै प्रवेश गर्न नसकून् भनेर यस्तो संरचना बनाउने गरिएको इतिहास छ।
पृथ्वीनारायण शाहले तीनपटक आक्रमण गर्दा पनि कीर्तिपुर प्रवेश गर्न नसक्नुमा त्यहाँको मजबुत सुरक्षा ढोका नै मुख्य कारण रहेको भनाइ छ।
पृथ्वीनारायणले पनौतीमा पनि हमला गरेका थिए। गोर्खाली फौजले पनौती जितेपछि यहाँको ढोका संरक्षण अभावमा जीर्ण हुँदै गएको र अवशेष मात्र बाँकी रहेको हुनसक्ने ताम्राकार बताउँछन्।
पुरानो ढोकाको अवशेष र नगरपालिकाले बनाएको नयाँ ढोकानजिकै गुप्तेश्वर महादेवको मन्दिर छ। यहाँ महादेव लुकेर बसेको मानिन्छ। देवी भद्रकाली ढोकाबाट फुत्त भागेर जान नसकोस् भनेर महादेवले यहाँ बसेर नाकाबन्दी गरेको भनाइ छ।
किम्बदन्तीअनुसार एकपटक विष्णु अवतार श्रीकृष्णले १६ हजार गोपिनीसँग रासलीला गरेको देखेर महादेवलाई इर्ष्या लागेछ। उनलाई पनि धेरै जनासँग विवाह गरेर यौन सन्तुष्टि लिने चाहना भएछ।
उनले आफ्नो चाहना विष्णुलाई सुनाए।
विष्णुले कृष्ण अवतारको स्वरूप र प्रकृति बेग्लै भएकाले यस्तो अनावश्यक लफडामा नफस्न महादेवलाई सुझाए।
महादेव मानेनन्।
त्यसपछि भगवान विष्णुले महादेवका लागि मायावी केटीहरू मिलाइदिए। ती मायावी केटीहरू महादेवको पछि लाग्न थाले। उनीहरू महादेवलाई तानातान गर्थे।
उनीहरूको तानातानले महादेवलाई खानै नपाउने, सुत्नै नपाउने अवस्था उत्पन्न भयो।
महादेव ती मायावी केटीहरूबाट भाग्दै विभिन्न ठाउँ लुक्न गए। त्रिवेणीघाटमा आएर नागराज बासुकीको ठाउँमा पनि लुके। तर केटीहरूले पिछा छाडेनन्। उनीहरू नदीको किनारमा महादेवलाई कुरेर बसे।
यसरी केटीहरूले बाटो नछाडेपछि महादेवले आफू लुकेकै ठाउँबाट भगवान विष्णुलाई आराधना गरी बोलाए।
विष्णु आएर उनलाई सल्लाह दिए, 'तपाईंले अब उन्मक्त भैरवको अवतार लिई ती सबै युवतीको यौनइच्छा पूरा गर्नुपर्छ। तपाईंको समस्याको अर्को कुनै सामाधान छैन।'
महादेवले त्यसै गरे।
उन्मक्त भैरवको अवतार लिएपछि उनी यौनले यति उन्मक्त भए, ती मायावी केटीहरू भागेर लाखापाखा लागे।
यति मात्र होइन, ब्रह्मायणी, इन्द्रायणीजस्ता देवीहरू पनि महादेवलाई छल गरेर भागे। त्यसपछि उन्मक्त भैरवले भद्रकालीलाई आफ्नो निशाना बनाए।
भद्रकाली पनि त्यसरी नै भागेर जालिन् भनेर उन्मक्त भैरवको रूप लिएका महादेव बाटो बन्द गर्न पनौतीको पहिलो ढोकानजिकै लुकेर बसे। त्यही ठाउँमा अहिले गुप्तेश्वर महादेव मन्दिर छ।
महादेवले पनौतीको लायकू (दरबार) नजिकै पनि नाकाबन्दी गरेका थिए। त्यही भएर भद्रकाली त्यहाँबाट पनि भाग्न सकिनन्।
उन्मक्त भैरवको यो कथा पनौतीका धेरै मन्दिर र जात्राहरूसँग जोडिएको छ।
जसरी ढोकाले दुश्मनहरू सहरभित्र नछिरून् भनेर सुरक्षा दिन्छ, यहाँको गुप्तेश्वर महादेव मन्दिरले देवीहरू सहर छाडेर बाहिर नजाऊन् भनेर पहरेदारी गर्छ।
ढोकानजिकै दायाँतर्फ हिति (ढुंगेधारा) छ। झट्ट हेर्दा एउटा मात्र हिति देखिए पनि त्यहाँ तीनवटा धारा जोडिएका छन्।
यो हिति पनौतीको खानेपानीको मुख्य स्रोत हो। पहिले हितिमा रोशी नदीको पानी आपूर्ति गरिन्थ्यो। बस्तीका सबै भागमा पानीको स्रोत पुर्याउन ठाउँठाउँमा घट्ट चलाएर नदीको पानी तान्ने चलन थियो। रोशी खोलाको पानी यति सफा थियो, सिधै खान मिल्थ्यो। फोहोर र ढल मिसाएपछि खानयोग्य रहेन। जलविद्युत आयोजनाले रोशीको पानी खोपासीमा लगेपछि हितिहरू बिस्तारै सुक्न थाले।
अहिले यहाँ पाइपलाइनबाट पानी ल्याइएको छ। खानेपानीका लागि हितिको आवश्यकता कम हुँदै गएपछि संरक्षण अभावले पनि हितिहरू सुकेका छन्।
अब हामी पनौतीको ढोकामा धेरै अलमल नगरी अगाडि बढौं है।
ढोकाबाट सिधा बाटो हिँड्ने हो भने हामी लायकू छिचोल्दै त्रिवेणीघाट पुग्न सक्छौं। जम्माजम्मी १०–१५ मिनेटमै। यो बाटोनजिकै गणेशको मन्दिर छ। यसलाई टोल गणेश भनिन्छ। कुनै शुभकार्यको सुरूआत गर्दा गणेश भगवानलाई पूजा गर्ने हिन्दुधर्मीको चलन छ। काठमाडौं उपत्यकाका कुनै पनि पुरानो बस्तीको प्रवेश विन्दुमा गणेशको मन्दिर स्थापना गरिएको पाइन्छ।
प्रवेश ढोकाबाट सिधा अगाडि बढ्ने हो भने सबभन्दा पहिला अघा टोल पुगिन्छ। हामी भने सरासर अगाडि हिँडेनौं। हामीले यो बाटोमा सबभन्दा पहिला आउने दायाँ गल्ली समात्यौं र भद्रकाली चोकतिर गयौं।
भद्रकाली चोकको पुरानो स्वरूप अहिले बाँकी छैन। पुराना घर भत्काउँदै जाने र नयाँ संरचना बनाउने क्रममा चोकको स्वरूप बिग्रँदै गएको ताम्राकार बताउँछन्।
त्यहाँबाट हामी अर्को चोक पुग्यौं जहाँ भद्रकाली मन्दिर छ। यहाँ हरेक वर्ष जेठ महिनामा हुने जात्रामा भद्रकालीको नाच देखाइन्छ। पहिले यहाँ पोखरी र डबली थियो। अहिले पोखरी पुरेर चोक बनाइएको छ। डबली भने बाँकी छ।
'टोलवासीलाई अप्ठ्यारो परेपछि यसरी पोखरी पुर्दा रहेछन्,' ताम्राकारले भने।
भद्रकाली मन्दिर वरिपरि घरहरू छन्। एउटा घरको बीचबाट मान्छे आउजाउ गर्न ढोकाजस्तो खाली ठाउँ बनाइएको छ। यो खाली ठाउँबाट अर्को चोक पुग्ने बाटो छ। पहिले यहाँ खुला बाटो थियो, पछि मान्छेहरूले बाटोलाई अलिकति ठाउँ छाडिदिएर माथि कोठा ठूलो पारेको ताम्राकारले बताए।
'यही प्रवृत्ति अहिले लगभग सबै चोकका घरले अपनाएका छन्। मान्छेको मनमा लोभ आएपछि पुराना संरचना यसैगरी बिग्रन्छन्,' यसो भन्दै ताम्राकार अगाडि बढे।
त्यहाँबाट हामी गुभाजु चोक पुग्यौं। पहिले यहाँ गुभाजु अर्थात् बज्राचार्य थर भएका तान्त्रिकहरू बस्थे। उनीहरूले बिरामीलाई फुकेर निको पार्ने काम गर्थे। उनीहरूलाई गुर्जु पनि भनिन्थ्यो। त्यही भएर यो चोकलाई गुभाजु वा गुर्जु चोक भनिएको हो।
यही चोकमा पहिले नगरपालिका भवन थियो। माओवादी द्वन्द्वकालमा बम विस्फोट भएपछि नगरपालिका भवन बस्तीबाहिर भगवान डाडाँमा सारिएको छ।
ताम्राकारले हामीलाई यसरी चोक–चोक घुमाउनुको कारण थियो, पनौती बस्तीको बनोट देखाउनु।
नेवार बस्तीमा चोकको विशेष महत्व छ। वरिपरि घर र बीचमा खुला ठाउँ, इनार, हिति लगायत संरचना बनाइएको वर्गाकार संरचना नै चोक हो। चोक भनेको आफैंमा एउटा समुदाय पनि हो। चारैतिर घरले घेरिएको हुनाले चोकका मान्छे सुरक्षित महशुस गर्छन्। चोर, डाँकाहरूको डर हुँदैन। एउटा घरले अर्को घरलाई भर दिने हुँदा भुइँचालो जाँदा भत्किने सम्भावना पनि कम हुन्छ।
हिजोआज चोकको अवस्था पहिलेजस्तो छैन। पुराना घर मर्मत नभएर भत्किएका छन्। नयाँ संरचना बन्ने क्रम बढ्दो छ। एउटा सिंगो घर दाजुभाइबीच बाँडफाट हुँदा स्वरूप बिग्रिएको छ। कति घरका मान्छे त बसाइ सरेर बनेपा, भक्तपुर र काठमाडौं गएका छन्। यसले उनीहरूको पुरानो घर मात्र होइन, चोक नै सुनसान बन्दै गएको छ।
हामी गुभाजु चोकबाट पमाडी टोलतिर बढ्दै गर्दा मैले ताम्राकारलाई यहाँका मान्छेको पेसाबारे सोधेँ।
'पहिला त खेतीपाती नै थियो। अहिले विदेश जाने, मजदुरी गर्ने अनि बुढेसकालमा तास खेल्ने,' उनी यसो भन्दै हाँसे।
अहिले हामी पमाडी टोलमा छौं। यो ठाउँ अघिल्ला चोकहरूभन्दा ठूलो हुन्छ। धेरै समुदाय र धेरै चोक मिलेर टोल बन्ने ताम्राकारले बताए।
पमाडी टोलको बीचमा सोह्रखुट्टे फल्चा (पाटी) छ। बुद्धको स्तुप छ। नजिकै ब्रह्मायणीको द्यःछेँ छ। नेपाल भाषामा द्यः भनेको देवता र छेँ भनेको घर हो।
ब्रह्मायणीको द्यःछेँ कम्तीमा तीन–चार सय वर्ष पुरानो मानिन्छ। पनौतीमा कुनै पनि नाचगान गर्नुअघि पहिले नासद्यः मा पूजा गरिन्छ अनि पमाडी टोलको ब्रह्मायणी मन्दिरमा ल्याएर प्रस्तुत गरिन्छ। यहाँ भएको धातुको देवता २०२५-२६ सालतिर चोरी भएकाले नयाँ निर्माण गरिएको ताम्राकार बताउँछन्।
सोह्रखुट्टे फल्चाको पनि आफ्नै इतिहास छ। कुनै समय मुखिया वा सामन्तहरूले यही फल्चामा बसेर न्याय-निसाफ गर्थे। कसैलाई अन्याय भएको छ भने यही फल्चामा बसेर सामूहिक छलफल र फैसला हुन्थ्यो। कर उठाउने, भेला गर्ने, कुलो बनाउने, पानी आएन भने कसरी ल्याउने, जात्रा कसरी सम्पन्न गर्ने लगायत सामाजिक र सांस्कृतिक गतिविधिबारे छलफल गर्ने थलो पनि यही फल्चा थियो।
फल्चाअगाडि बुद्ध स्तुप छ। पनौतीका धेरै समुदाय हिन्दु धर्म मान्छन्। केही बौद्ध धर्म मान्नेहरू पनि छन्। पनौतीमा बौद्ध धर्मको ठूलो प्रचार भएका बेला यो स्तुप बनेको र समयक्रममा पुनर्निर्माण हुँदै आएको ताम्राकार बताउँछन्।
जेष्ठ पूर्णिमाको दिन नमोबुद्धबाट दिपांकर बुद्धको मूर्ति ल्याएर जात्रा गर्दा यही स्तुपमा राख्ने चलन छ।
यहाँ प्रचलित एउटा किम्बदन्तीअनुसार नमोबुद्धको खास घर पनौती हो। पनौतीलाई जब पाञ्चाल देश भनिन्थ्यो, त्यति बेला महासत्व नाम गरेका एक राजकुमारले जंगलमा भोकाएका बघिनी र डमरूहरू देखेपछि आफ्नै शरीरको मासु खुवाएछन्। पछि उनकै कंकाल र लुगाहरू पुरेर त्यो स्थलमा एउटा चैत्य निर्माण गरियो जसलाई 'नमोबुद्ध' भनिन्छ।
यस आधारमा गौतम बुद्धको पूर्वजन्म मानिने नमोबुद्धको जन्मस्थल नै पनौती हो भन्ने स्थानीयहरूको भनाइ छ।
नमोबुद्धसँग सम्बन्ध गाँसिएको पनौतीको स्तुप हेर्दै गर्दा हाम्रा गाइड संस्कृतिविद् ताम्राकारको नजर स्तुप वरिपरिका घरहरूमा गयो।
'पहिले मन्दिरको गजुरभन्दा अग्लो घर बनाउन हुन्न भन्ने चलन थियो। सामन्तहरूले किन अग्लो घर बनाएको भनेर रोकिदिन्थे,' उनले भने, 'अहिले त मनपरी छ। एक फिट बढाउनसके बहादुरी ठान्ने चलनले गजुरभन्दा अग्ला घर बन्न थालेका छन्।'
मैले उनलाई सोधेँ, 'मन्दिरको गजुरभन्दा अग्लो घर किन बनाउनु हुन्न?'
'देवताभन्दा ठूलो त मान्छे होइन नि,' उनले भने, 'मन्दिरभन्दा अग्लो घर हुँदा मान्छेले झ्यालबाट थुक्ने, फोहोर फाल्ने र घर सफा गर्दा गजुरमा पर्छ। त्यो भनेको भगवानको अपमान हो। त्यही भएर मन्दिरभन्दा घरको उचाइ सानो हुनुपर्छ। तर अहिलेका मान्छेमा धार्मिक आस्था हराउँदै गइसक्यो।'
बौद्ध स्तुपनजिकै सैंजु चोक छ। यो सैंजु थर भएकाहरूको चोक हो। यहाँका घरमा काष्ठकलाले भरिपूर्ण झ्यालहरू छन्।
यहीँ हाम्रो भेट गोपालदास सैंजुसँग भयो। गोपालदासले आफ्ना बाबुबाजेबाट सुनेअनुसार, यो चोकका घरहरू कम्तीमा तीन-चार सय वर्ष पुराना छन्। पहिले काष्ठकलाको काम गर्न दुई–चार पैसा मात्र ज्याला लाग्थ्यो। त्यसैले अधिकांशले कलापूर्ण झ्यालहरू बनाएको उनले सुनाए।
'हाम्रा यी पुरातात्विक झ्यालहरू किन्न भनेर बेलाबेला मान्छे आउँछन्,' उनले भने, 'यी झ्याल नै सैंजु चोकका पहिचान हुन्।'
चोककै एउटा घरमा तिका झ्या (झ्यालको एक प्रकार) देखाउँदै सैंजुले भने, 'भूतप्रेतले झ्यालबाट नतर्साओस् भनेर यस्तो झ्याल बनाएको भनाइ छ। केही मान्छेले पहिले पहिले राजाहरूले राम्री केटी देख्यो कि आँखा गाड्ने हुँदा आफ्ना छोरीबेटी जोगाउन यस्तो झ्याल बनाइएको पनि भन्छन्।'
जुनसुकै कारणले बनेका भए पनि आज यी झ्याल संरक्षण पर्खाइमा छन्। घरहरू पनि चिराचिरा परेका छन्। पुराना घर संरक्षण गर्दै आएका भक्तपुरका रवीन्द्र पुरीले केही समयअघि सैंजु चोक जिर्णोद्धार गर्न रूचि देखाएका रहेछन्। तर स्थानीयले मानेनन्। अहिले त त्यति बेलाका सग्ला घर पनि जीर्ण भइसके।
संस्कृतिविद् ताम्राकार यस्ता कलाले भरिपूर्ण झ्याल जोगाउन जरूरी भएको बताउँछन्। पहिले यस्तो झ्याल बनाउनु भनेको सम्पन्नताको प्रतीक थियो, उनले भने, 'कसले राम्रो झ्याल बनाउने भनेर प्रतिस्पर्धा नै चल्थ्यो। सम्पन्नताको प्रतीक भन्नु नै कलाकृति, मठमन्दिर, फल्चा, हिति र चोकहरू थिए।'
उनले अगाडि भने, 'चोक हेर्नुछ भने सैंजु चोक हेर्नू भन्ने त कहावत नै थियो।'
सैंजु चोकबाट बाहिरिँदै गर्दा ताम्राकारले यहाँको जीर्ण अवस्थाप्रति संकेत गर्दै भने, 'यहाँका घरहरू चर्किएको–भत्किएको भुइँचालोले मात्र होइन। पानी चुहिएर र संरक्षण नपुगेर पनि हो।'
हामी सैंजु चोकबाट फेरि पमाडी टोलमा फर्कियौं। पमाडीबाट वलाछेँ हुँदै त्रिवेणीघाट पुग्ने बाटो छ। तर हामीले त्यो बाटो नसमातेर बायाँतर्फको सिधा बाटो लियौं जुन अघा टोल अनि लायकूतर्फ जान्छ।
यो बाटो अलिकति अगाडि बढेपछि हामी न्हुँ बहाः पुग्यौं जहाँ नमोबुद्ध जन्मिएको विश्वास गरिन्छ। बीचमा सानो स्तुप छ। त्यहाँको एउटा घरमा नमोबुद्ध द्यःछेँ लेखिएको छ। यो नमोबुद्धको घर हो। पहिले यहाँ बुद्ध भगवानका मूर्ति र महत्वपूर्ण पुरातात्विक सामग्रीहरू थिए। तीमध्ये कति त चोरी भइसके। यो चोकबाट हामी लायकूको पछाडिको भाग देख्न सक्छौं।
यहाँबाट निस्किएर हामी सरासर गल्लीबाट अगाडि बढ्यौं। लायकूतर्फ जानुअघि मैले ताम्राकारलाई आफ्नो मोबाइलमा भएको सरस्वतीको मूर्ति देखाएँ र सोधेँ, 'यो मूर्ति कता छ? सामाजिक सञ्जालमा निकै चर्चामा आएको थियो।'
उक्त मूर्ति देखेपछि इतिहासविद् गौतमवज्र बज्राचार्यले फेसबुकमा लेखेका छन्, 'आधा शताब्दी नेपाली कलाकृतिमा काम गरेको भए पनि यति सुन्दर आकृति मैले पनौतीमा अहिलेसम्म देखेको थिइनँ।'
मैले संस्कृतिविद् ताम्राकारलाई यो कुरा सुनाएपछि उनले हाँस्दै भने, 'ओहो! चर्चामा आएपछि त मान्छेले चोर्छन्। बरू नहेर्दा नै ठीक होला कि!'
उनले तै पनि हामीलाई त्यो मूर्ति देखाए जुन अघा टोलमै रहेको एउटा हितिमा रहेछ। तीनवटा धारा भएको उक्त हितिलाई गा: हिति भनिन्छ। नेपाल भाषामा गा: भनेको खाल्डो हो। यो हिति पुग्न सडकबाट केही खुड्किला तल ओर्लनुपर्छ।
'पहिले कतै पानी नआउँदा यहाँबाट आउने ठूलो पानीले सहयोग पुग्थ्यो,' ताम्राकारले भने, 'यो हिति प्राचीन खालका कलात्मक ढुंगे मूर्तिहरूले भरिएको छ। ती मूर्ति संरक्षण नहुँदा कति त चोरी भइसके।'
सरस्वतीलाई विद्याकी देवी भनिन्छ। यहाँ सरस्वतीको मूर्ति हुनुले पानी लिन आउने महिलाले ज्ञानको महत्व बुझून् भन्ने आसय झल्काउने उनी बताउँछन्। सरस्वतीबाहेक विष्णु, गणेश लगायत विभिन्न देवीदेवताका मूर्तिहरू पनि छन्।
कुनै समय यो हिति झारले पुरिएर गुमनाम अवस्थामा पुगेको थियो। स्थानीयले केही समयअघि मात्र यसको जिर्णोद्धार गरेका हुन्।
त्यहाँबाट हामी अघा टोलमै रहेको ठूलो चोक पुग्यौं। यसलाई लायकू (दरबार स्क्वायर) क्षेत्र पनि भनिन्छ। यहाँ बायाँतर्फ दुईवटा डबली छन्। ती डबलीमा दुई फरक नाच देखाइन्छ – भक्तपुरदेखि आएको नवदुर्गा नाच र हरिसिद्धिदेखि आएको जलप्याखं (हरिसिद्धि नाच)।
नवदुर्गा नाच हरेक वर्ष पनौती आउँछ। जलप्याखं भने बाह्र वर्षमा एकपटक। माथिल्लो डबली नवदुर्गा नाचको हो, तल्लो हरिसिद्धिको। भनिन्छ, नवदुर्गा नाच्नेहरू तल्लो डबली र हरिसिद्धि नाच्नेहरू माथिल्लो डबली जानुहुन्न। हरेक डबलीमा उनीहरूको आ–आफ्नै शक्ति हुने विश्वास गरिन्छ।
'हाम्रो शक्तिक्षेत्रमा तँ किन आएको भनेर उनीहरूबीच झगडा पर्छ। त्यही भएर उनीहरूको नाच सकभर एकैपटक नपर्ने गरी आयोजना गरिन्छ। एकैपटक पर्यो भने मुक्कामुक्की पनि हुनसक्छ,' ताम्राकारले भने।
भक्तपुरदेखि नवदुर्गा नाच र ललितपुरको हरिसिद्धिदेखि जलप्याखं किन पनौतीसम्म ल्याइन्छ भन्नेबारे विस्तृतमा जान्न 'तीनतिर बसाइँ सरेका थिए प्राचीन पनौतीका बासिन्दा' शीर्षकको लेख पढ्न सक्नुहुन्छ।
अघा टोलका यी डबलीनजिकै हामी गुम्बज शैलीको मन्दिर देख्न सक्छौं जसलाई पशुपतिको मन्दिर भनिन्छ। यहाँको बाटोमा ज्या पुन्हि (जेष्ठ पूर्णिमा) को समय भैरव र भद्रकालीको रथ जुधाउने जात्रा लाग्छ। यो जात्रालाई पनौतीको मूल जात्रा पनि मानिन्छ।
भैरव र भद्रकालीको वृत्तान्त हामीले अगाडि गुप्तेश्वर महादेवको कथामा सुनिहाल्यौं। यो जात्रामा भैरव र भद्रकालीको रथ तीनपटक जुधाइन्छ। त्यो भनेको उनीहरूबीचको समागम देखाइएको हो। यो जात्रा पनौतीलाई सुरक्षा दिएर बसेका इन्द्रेश्वर महादेव, भद्रकाली, उन्मक्त भैरव र ब्रह्मायणीलाई श्रद्धा गर्ने पर्व पनि हो। त्यही भएर जात्रा बेला उनीहरूको मूर्तिलाई मन्दिर बाहिर निकालेर नगर परिक्रमा गराइन्छ।
जेष्ठ पूर्णिमामा पर्ने ज्या पुन्हि पर्वले मनसुन नजिकिएको संकेत गर्छ। नेपाल भाषामा ज्याको अर्थको काम हो। जेठको समय मान्छेहरू खेतीपातीको कामले व्यस्त हुन्छन्। उनीहरू रातको समय जात्रा गर्ने र बिहान काम गर्ने गर्थे। अहिले भने साँझतिर जात्रा हुन्छ।
'पहिले पहिले यो जात्रा राति हुन्थ्यो, बिहान उज्यालो हुने बेलासम्म सकिइसक्थ्यो,' ताम्राकारले भने, 'त्यसैले कमैले मात्र देख्न पाउँथे। सबैले जात्रा देखून् भनेर पनि उज्यालैमा गरेको हुनुपर्छ।'
'देश जात्रा' पनि भनिने यो जात्रा पनौतीबाहेक अन्त कतै छैन भनिन्छ। भक्तपुर, बनेपा र नालादेखिका मान्छे जात्रा हेर्न आउने ताम्राकार बताउँछन्।
रथ जुधाउने एक दिन मात्र भए पनि ज्या पुन्हि नौ दिनसम्म चल्छ। दरबार नजिकै भएकाले पनि होला, पनौतीको यो मुख्य जात्रा यहीँको बाटोमा गरिन्छ।
अब हामी बाटोछेवैको लायकूतिर लागौं।
लायकू भनेको दरबार हो। अहिले यहाँ पुरानो दरबारका अवशेष, चोक र इनारहरू छन्। यी सबै पुरातत्व विभागको उत्खननबाट फेला परेका हुन्। २०६० सालसम्म यहाँ दरबार थियो भन्ने कुरा स्थानीयको बोलीचालीमा सीमित थियो। कसैले दरबार देखेका थिएनन्। त्यसको अवशेष पनि देखेका थिएनन्। सबै जना लायकू, लायकू भन्थे र ठाउँको नाउँ नै लायकू भएकाले यहाँ पक्कै दरबार हुनुपर्छ भन्ने स्थानीयको विश्वास थियो।
त्यहाँ स्थानीयले धान सुकाउँथे, खेलकुद लगायत अन्य गतिविधिहरू गर्थे। पछि उत्खनन भयो र दरबारका अवशेष भेटिए। यो ठाउँ कसरी उत्खनन गरियो र यो दरबार कसको हुनसक्छ भन्नेबारे यसै शृंखलाअन्तर्गत 'हामीले नदेखेको दरबार' शीर्षकको स्टोरीमा पढ्न सक्नुहुन्छ।
दरबारको एकातिर तुलजा भवानीको मन्दिर भएको विश्वास गरिन्छ। त्यहाँ हरेक दसैंमा 'जीवित देवी' कुमारी आउँछिन् र पूजाआजा हुन्छ।
पनौतीकी कुमारी सुवाल थरकी बालिकामध्येबाट छानिन्छ। तर अहिलेकी कुमारी घुल्लु थरकी छन्। करिब ८० वर्षपछि कुमारी प्रथा ब्युँताउने क्रममा सुवाल थरबाट रजस्वला नभएका र नेवार परम्पराअनुसार इही र गुफा नबसेका बालिका नभेटिएपछि स्थानीय ओजस्वी घुल्लुलाई कुमारी बनाइएको हो।
यसबारे जान्न यही श्रृंखलाको '८० वर्षपछि ब्युँताइएको पनौतीकी 'गुमनाम' कुमारी' भन्ने स्टोरी पढ्नू है।
हामीले लायकू क्षेत्रमा धेरै अलमल गरेनौं। त्यहाँबाट निस्किएर हामी इन्द्रेश्वर मन्दिरतर्फ लाग्यौं। यो मन्दिरलाई काभ्रे जिल्लाकै महत्वपूर्ण र पुरानो मन्दिर मानिन्छ।
मन्दिर तीनतले छाने शैलीको छ। प्रत्येक तलाको पुनर्निर्माण बेग्लै समयमा भएकाले कति वर्ष पुरानो भन्ने यकिन छैन। गोपाल राजवंशावलीमा विक्रम सम्बत् १३५१ को वैशाख महिनामा युवराज्ञी विरमदेवीले इन्द्रकुट बनाएकी थिइन् भन्ने उल्लेख छ। इन्द्रकुट नै इन्द्रेश्वर मन्दिर हुन् भन्ने विश्वास गरिन्छ।
यही मन्दिरमा पनौतीका महासामन्त जयसिंहरामको एउटा अभिलेख छ। उक्त अभिलेखअनुसार जयसिंहरामले मन्दिर प्रांगणमा रहेको तुलामा जोखेर आफ्नो शरीर बराबर सुन दान गरेका थिए। उनले सुनको घोडा, सुनकै हात्ती, सुनको रथ र सुनकै कल्पवृक्ष बनाई ब्राह्मणहरूलाई दान दिए र पछि इन्द्रेश्वर मन्दिर जिर्णोद्वार गरी चुल्का पनि प्रदान गरे।
अहिले पनि मन्दिर अगाडिको डबलीनजिकै एउटा तुला देख्न सकिन्छ। त्यही तुलामा जयसिंहरामले आफ्नो तौल बराबर सुन दान गरेको भनाइ छ।
मन्दिरको बायाँतर्फ हामी गौतम ऋषिकी पत्नी अहिल्याको ढुंगा पनि देख्न सक्छौं जसलाई उनका श्रीमानले इन्द्रसँग शारीरिक सम्बन्ध राखेको देखेपछि ढुंगा बन्ने श्राप दिएका थिए। त्रेतायुगमा भगवान रामको चरण उक्त ढुंगामा परेपछि मात्र उनी पापमुक्त भएको भनाइ छ।
इन्द्रेश्वर मन्दिरनजिकै ठूलो चोकमा पनौती संग्रहालय छ। यहाँ प्राचीन वस्तु र ग्रन्थहरू छन्। पुराना बाजा, भाँडा, इँटा, मुकुण्डो, मूर्ति, हातहतियार लगायत विभिन्न सामग्री पनि छन्। संग्रहालयकै एउटा कुनामा इन्द्रेश्वर महादेव मन्दिरकै नक्कल उतारिएको सानो नमूना छ। त्यसबारे बताउँदै संस्कृतिविद् ताम्राकारले भने, 'फ्रेन्चहरूले इन्द्रेश्वर मन्दिर जिर्णोद्धार गर्नुअघि त्यसको नक्कल उतारेका थिए। संग्रहालय बनेपछि त्यसलाई यहाँ ल्याएर राखिएको हो। अहिले त यो नमूना आफैंमा महत्वपूर्ण इतिहास भइसक्यो।'
इन्द्रेश्वर मन्दिरनजिकै उन्मक्त भैरवको मन्दिर छ। उन्मक्त भैरव यौनले उन्मक्त हुने र राम्री युवती देखेपछि भुतुक्कै हुने गरेको हामीले माथि पढिसक्यौं। म अब अर्को कथा सुनाउँछु।
एकपटक स्थानीयवासीले जात्राका लागि उन्मक्त भैरवलाई लिन जाँदा उनी आफ्नो ठाउँमा भेटिएनछन्। कहाँ गएछन् भनेर तान्त्रिकले ध्यान दृष्टिले हेर्दा उनी त साँखुकी एक देवीसँग रहेछन्।
तान्त्रिकले धेरैपटक फकाएर फर्काउन खोज्दा पनि उनी आउन मानेनन्।
त्यसपछि तान्त्रिकले जुक्ति लगाएर भनेछन्, 'तपाईंलाई गोलोगोलो चिउरा दिउँला, आठ खुट्टा भएको भोग पनि दिउँला। तपाईं यहाँ आइदिनुपर्यो।'
उन्मक्त भैरव निकै भोकाएका थिए। गोलो चिउरा र आठ खुट्टाको भोग कस्तो होला भनेर उनलाई हेर्ने इच्छा भयो। उनी तुरून्तै साँखुबाट यहाँ आइपुगे।
उनी आएपछि तान्त्रिकले आफ्नो तन्त्रमन्त्रबाट उनलाई यहीँ मन्दिरमा बाँधेर राखे।
यो मन्दिरभित्र हामी भीमकाय रूपका उनै भैरवलाई बाँधेर राखिएको आकृतिमा देख्न सक्छौं। उनको फोटो खिच्न पाइँदैन। यी भैरवलाई हरेक जेठ महिनाको जात्रामा गोलो चिउराको बदलामा चटामरि चढाउने चलन छ।
इन्द्रेश्वर मन्दिरको पछिल्लो भागबाट त्रिवेणीघाट पुगिन्छ। यो घाटलाई हिन्दु धर्मावलम्बीहरू पवित्र तीर्थस्थल मान्छन्। स्नान र पूजाआजा गर्छन्। यहाँ हरेक बाह्र वर्षमा मकर मेला लाग्छ। मकर मेलासँग जोडिएका कथा अनि यो ठाउँको विशेषताबारे विस्तृतमा 'पनौतीको त्रिवेणीघाटमा दुइटा नदी, तेस्रो चाहिँ खोइ?' शीर्षकमा पढ्न सक्नुहुन्छ।
यही घाटमा पनौतीका चार ठूला धाम छन्। यहाँ बद्रीनाथ, केदारनाथ, रामसीतासँग सम्बन्धित रामेश्वर र द्वारिकाको प्रतीकका रूपमा कृष्ण मन्दिर छ।
'जिन्दगीमा एकपटक चार धाम गइयो भने जन्मले सार्थकता पाउँछ भनिन्छ। त्यसैले हिन्दुहरू चार धाम जान उत्सुक हुन्छन्। सबै काम सकेपछि चार धाम पुगेर मर्ने इच्छा हुन्छ,' ताम्राकारले भने, 'चार धाम जान नसक्ने मान्छेलाई त्यहाँ गए बराबरको धर्म प्राप्त होस् भनेर त्रिवेणीघाटमा यी मन्दिर बनाइएका हुन्। यी चारै मन्दिर पुगेपछि चार धाम गए बराबर फल पाइन्छ।'
हामी त्रिवेणीघाटको रोशी खोलातर्फको बाटो अगाडि बढ्यौं।
रोशी खोलाबाट अगाडि तीन–चारवटा गल्ली भेटिन्छन्। कुनै समय ती गल्ली सिधा धागोजस्तै सरर मिलेका थिए। हरेक गल्लीमा खोल्सा बनेका छन्। पहिले रोशी खोलामा ठूलो बाढी आयो भने त्यो पानी खोल्साहरूबाट बगेर जान्थ्यो, ताम्राकारले भने, 'अहिले खोल्साहरू भत्किएका छन्। घरहरूको अतिक्रमणमा परेकाले गल्ली पनि पहिलेजस्तो सिधा धागोमा देखिन्न। ठूलो बाढी आयो भने बस्तीलाई ठूलो जोखिम पुग्न सक्छ।'
खोलैखोलाको बाटो हिँड्दै हामी दुमांगल भन्ने ठाउँ पुग्यौं। सिम्रौनगढबाट भागेर आएका राजा हरिसिंहदेवकी श्रीमती देवलदेवी र उनका भारदारहरू यही बाटो पनौती आएको मानिन्छ। त्यही भएर यहाँ एउटा भनाइ छ– 'सिमांगल (सिम्रौनगढ) देखि भागेर आएको मान्छे दुमांगलमा बास बसेको।'
यहाँको गल्लीबाट सिधा लायकू क्षेत्र पुगिन्छ। यही बाटो हुँदै उनीहरू दरबारतर्फ गएको मानिन्छ।
गल्लीबाट अगाडि बढ्नुअघि बीच बाटोमा एउटा खाल्डोजस्तो ठाउँ छ। त्यहाँ रहेको लाम्चो ढुंगालाई मान्छेहरू पूजाआजा गर्छन्। त्यसमा कुनै भगवानको आकृति भने छैन। यो ढुंगाको कथा उन्मक्त भैरवसँग जोडिन्छ।
कथाअनुसार यौनले उन्मक्त भैरव बाटोमा राम्री युवतीलाई कुरेर बस्ने, तान्ने र फकाउने गर्थे। कसैकसैले यहाँ कालिगढले भैरवको आकृति बनाइरहेका बेला मौसम खराब भएको वा भैरवले उत्पात मच्चाएकाले बनाउँदा बनाउँदै उक्त आकृति उल्ट्याएर गएको पनि भन्छन्। तर साँच्चिकै भैरवको आकृति छ कि छैन भनेर सुल्टाएर हेर्ने प्रयास कसैले गरेका छैनन्।
हामी दुमांगलबाट वलाछेँ गयौं। यसलाई 'स्याउला' टोल पनि भनिन्छ। यो स्याउला थर भएकाहरूको टोल हो। पहिले यो टोल पनौतीको प्रमुख व्यापार केन्द्र थियो जुन काठमाडौं–तिब्बतको व्यापार हिस्सा थियो। उक्त टोल र पनौतीको व्यापारबारे विस्तृतमा 'कुनै समय आधा रातसम्म व्यापार चल्थ्यो पनौतीमा' लेखमा पढ्न सकिन्छ।
वलाछेँ टोलभन्दा अलि अगाडि पाटी भएको एउटा चोक छ जसलाई 'ध्वखा फको' नामले चिनिन्छ।
नेपाल भाषामा 'ध्वखा' भनेको ढोका हो भने 'फ' ले फल्चालाई जनाउँछ। हामी यहाँ फल्चा त देख्न सक्छौं, तर ढोकाको अवशेष मात्र बाँकी छ।
फल्चा (पाटी) को विशेषता के भने, यहाँ टोलबासी जम्मा हुन्छन्, कुराकानी गर्छन् र समय कटाउँछन्। कुनै समय यातायात सुविधा नहुँदा मान्छेहरू मकर मेलाका लागि पन्ध्र-बीस दिन हिँडेर आउँथे। त्यस बेला उनीहरूलाई बस्न, आराम गर्न र ओत लाग्न ठाउँ चाहिन्थ्यो। कतिपय यस्तै फल्चामा बस्थे। यहीँ ढिँडो, रोटी लगायत खानेकुरा पकाउँथे र रात काट्थे। त्यसपछि मकर मेलाको जात्रा हेर्थे, पूजाआजा र रमाइलो गर्थे अनि फर्कन्थे।
यसपालिको मकर मेलामा पनि धेरैजसो जोगीहरूले यस्तै पाटीमा एक महिना गुजारे।
मकर मेलाको समयमा हामी पुग्दा ध्वखा फल्चामा महिलाहरू यःमरि पकाउँदै थिए। पनौतीलाई यःमरिको सुरूआत भएको ठाउँ मानिन्छ। यसबारे तपाईंहरूले 'यसरी सुरूआत भयो पनौतीबाट यःमरि पकाउन' शीर्षकको लेखमा विस्तृतमा पढ्न सक्नुहुन्छ।
त्यहाँबाट अगाडि बढ्दै हामी पनौतीको अर्को महत्वपूर्ण ठाउँ पुग्यौं जसलाई क्वाठ भनिन्छ। यो मल्लकालतिरको सुरक्षा चौकी हो। ढिस्कोमा परिणत भएको ठाउँमा अहिले बगैंचा छ। दसैंमा यहाँ भुइँखसी (खसीका रूपमा काटिने लौका, फर्सी वा काँक्रो) काटिन्छ। पहिलेको लडाइँको सम्झनास्वरूप तरबार चलाएर अभिनय पनि गरिन्छ।
राजा भूपतीन्द्र मल्लले नेपाल सम्बत् ८२८ कात्तिकमा पनौतीको क्वाठ बनाउन नाप लिएर गएका थिए। उनले यहाँ नदीको दोभानमा क्वाठ बनाएका थिए। यसका लागि भक्तपुरदेखि मान्छे ल्याइएको थियो।
उक्त क्वाठबारे भाषाविद् चुन्दा बज्राचार्यले 'भूपतीन्द्र मल्ल पनातिया ख्वहो क्वाठया धरोत' किताब लेखेकी छन्।
किताबमा उनी लेख्छिन्, 'क्वाठको नाप लिएर आएको सात महिनापछि नेपाल सम्बत् ८२९ अषाढ शुक्ल पक्ष पूर्णिमाका दिन राजा भूपतीन्द्र मल्ल स्वयंले क्वाठको प्रतिस्थापन गरेका थिए। राजा स्वयं यहाँको काममा अघि सरेका थिए भने अरू भाइभारदार, राजपरिवारका उच्च पदाधिकारी र अन्य कामदारलाई काम गर्ने हौसला दिनु उनको स्वभाव थियो।'
क्वाठ भएको चोकलाई महालक्ष्मी चोक वा क्वाठकै नामले पनि चिनिन्छ। यही ढिस्कोनजिकै पनौतीको अर्को परम्परागत ढोका थियो। त्यो ढोकाको अहिले अवशेष पनि छैन। नजिकै जलविद्युत योजनाका लागि भवन बनाएपछि ढोकाको अस्तित्व मेटिएको ताम्राकार बताउँछन्।
'हामीले पनौतीमा छवटा ढोका थियो भन्ने पत्ता लगाइसक्यौं। तीमध्ये कतिको अवशेष पनि बाँकी छैन,' ताम्राकारले भने, 'पनौती सानो छ तर यहाँ ढोकाको ठूलो महत्व थियो। झट्ट कोही भित्र जान नसकोस् भनेर ढोका बनाइएको हो। यसले सहरलाई सुरक्षा दिन्थ्यो।'
क्वाठबाट अगाडि बढ्दा पनौतीको मुख्य सडक पुगिन्छ जुन बस्तीबाहिर पर्छ। बस्तीबाहिर सरस्वतीख्य: अर्थात् सरस्वती भगवान खेल्ने चउर छ।
सरस्वती चउरको कुरा गर्दा यो सडकनजिकै भए पनि मानेश्वरीजस्तो पूरै अतिक्रमित भएको छैन। चउर आधुनिक पार्कजस्तै बनेको छ। सानो पोखरी पनि छ। एउटा कुनामा रहेको सरस्वतीको मूर्ति मान्छेले पूजा गर्दागर्दा अनुहार नचिनिने भइसकेको छ।
'यहाँ पहिला ठूलो ढुंगा थियो। सानोमा हामी सरस्वती पूजाको समय उक्त ढुंगामा अक्षरहरू लेख्थ्यौं। सरस्वतीलाई तेल पनि घस्थ्यौं। त्यसो गर्दा पढ्न आउँछ भन्ने विश्वास थियो,' ताम्राकारले भने, 'अहिले त्यो चलन हरायो। नियमित पूजा भने हुन्छ।'
मानेश्वरी र सरस्वती चउरजस्तै क्वाठ चउर, भीमसेन चउर, इन्द्रेश्वर, ब्रह्मायणी लगायत भगवानलाई चउर वा खुला ठाउँ दिने पहिलेदेखिको चलन हो। भगवानका लागि छुट्याइएका यस्ता ठाउँ मान्छेले खुला सार्वजनिक स्थलका रूपमा प्रयोग गर्छन्। अहिले आधुनिकता र अतिक्रमणले यस्ता ठाउँ हराउँदै गएका छन्।
सरस्वती चउर हुँदै हामी फेरि सुरूकै नगर प्रवेशद्वार आइपुग्यौं।
यो ढोकाभन्दा बाहिरको भागलाई नेपाल भाषामा 'ध्वखा पिने' भनिन्छ। यसको अर्थ हो, ढोकाबाहिर। पहिले ढोकाभित्रका टोलमा बसोबास गर्नेलाई सम्पन्न मानिन्थ्यो। ढोकाभित्रका मान्छेले बाहिरकालाई हेप्ने चलन थियो। अहिले सडक लगायत विकास गतिविधिका कारण बाहिरका मान्छे ढोकाभित्रका भन्दा सम्पन्न भएको ताम्राकार बताउँछन्।
'भित्रका मान्छे पनि बाहिर आउने क्रम बढ्दो छ। तर मौलिकता र सम्पदाको हिसाबले अझै पनि ढोकाभित्रको बस्तीको महत्व बढी छ,' उनले भने।
उनका अनुसार ढोकाभित्रका मान्छेले आफ्नी छोरी अन्माएपछि यही ढोकामा आएर विदाइ गर्छन्। त्यति बेला छोरीको रेखदेख जिम्मा विवाह भएको घरलाई सुम्पिने चलन छ।
नगरपालिकाले बनाएको इँटाको नयाँ ढोकानजिकै फल्चामा बसेर यात्रा र कुराकानीको बिट मार्दै संस्कृतिविद् तुयुकाजी ताम्राकारले भने, 'पनौती सानो छ तर सानो हिराजस्तै महत्वपूर्ण छ।'
हामीले अहिले तपाईंहरूलाई जुन पनौतीको भ्रमण गरायौं, यो त्रिभुज आकारको पनौती हो। मौलिक घर र सम्पदाले भरिएको यही बस्तीलाई युनेस्कोले विश्व सम्पदाको प्रस्तावित सूचीमा राखेको छ। प्रस्तावित सूचीमा परेको २६ वर्ष बितिसक्दा पनि पनौती किन विश्व सम्पदामा सूचीकृत हुन सकेन भन्ने जान्न '२६ वर्षदेखि पूरा हुन नसकेको पनौतीको एउटा सपना' शीर्षकको लेख पढ्न सक्नुहुन्छ।
पनौती जब त्रिभुज आकारमा बसेको थियो, यो सहरलाई मान्छेहरूले अंक सातमा बसेको सहर भन्थे। त्यसो भन्नुको अर्थ यहाँ सातवटा ढुंगेधारा, इनार, चोक, सुरक्षा ढोका लगायत संरचना छन् भन्ने हो। अहिले ठ्याक्कै सातवटा संरचना भेटिँदैनन्। कुनै सातभन्दा बढी छन्, कुनै कम।
'वास्तुअनुसार जब यो बस्ती बस्यो, त्यति बेला अंक सातलाई नै आधार बनाएर बस्ती बसेको हुनुपर्छ,' ताम्राकारले भने, 'अहिले मान्छेको आवश्यकताअनुसार केही संरचना नयाँ बनेका छन् भने केही पहिले भएका पनि हटाइएका छन्।'
ताम्राकार पनौतीलाई नमूनायोग्य सहर मान्छन्। भुइँचालोबाट केही हदसम्म सुरक्षित हुनु, ढलकुलो मिलेको, धारा–इनारहरूको बन्दोबस्त भएको, चोक र ठाउँठाउँमा फल्चा हुनु यसका आधार हुन्। केही संरचना पहिलेको तुलनामा बिग्रिए पनि यो सहर अझै नमूनायोग्य नै रहेको उनी बताउँछन्।
उनका अनुसार कतिपय मान्छे पनौती आएर आनन्द मान्दै भन्छन्, 'हामीलाई एकपटक आउँदा त यति आनन्द भयो भने यहाँ बस्ने मान्छे कति खुसी हुँदा हुन्।'
'कस्तुरी मृगले आफ्नो नाभीमा भएको बासना थाहा नपाएर भौंतारिएजस्तो यहाँका मान्छे पनि भौंतारिएका हुन् कि भन्ने मलाई लाग्छ,' पनौती सिटी टुरको अन्त्यमा ताम्राकारले भने।
...
सहर अनगिन्ती कथाहरूको श्रृंखला हो – पनौती घुमेपछि मलाई यस्तै लाग्यो।
त्रिकोण आकारको पनौतीको कुनाकुना घुमेपछि मलाई लाग्यो– यहाँका हरेक इँटा, ढुंगा र पर्खालसमेतका आफ्नै कथा छन्। कति भनिए होलान्, कति छुटे होलान्। नभनिएका कथाहरू भन्ने अवसर कुनै दिन जुर्ला नै।
अहिलेलाई भने पनौती कथा श्रृंखलाबाट म छुट्टिँदैछु।
यो शृंखलाको बाह्रौं तथा अन्तिम (आमन्त्रित) लेख अर्को साता प्रकाशन हुनेछ। पनौतीमाथि लामो अनुसन्धान गरेका फ्रान्सेली मानवशास्त्री जेरार्ड तोफाँले त्यहाँको संस्कृति र समुदायबारे लेख लेखेका छन्।