कर्फ्यूपछि सुर्खेतको वीरेन्द्रनगर बजार शान्त बनेको छ। एमसिसीको विरोधमा सोमबार भएको प्रदर्शनमा सहभागी केही समूह उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सोमबार बेलुका सवा ८ बजेदेखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यू जारी गरेको छ।
वीरेन्द्रनगरमा रहेका विभिन्न पार्टी कार्यालयहरू र प्रहरी बीचमा प्रदर्शनकारीहरूले क्षति पुर्याउन थालेपछि प्रशासनले कर्फ्यू जारी गरेको हो।
कर्फ्यू जारी भएको क्षेत्रमा ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।
यस्तै, आज बिहान वीरेन्द्रनगरस्थित यरीचोकमा केही मानिसले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। पसल बन्द गराउन गएको प्रहरी टोलीसँग उनीहरूले प्रतिवाद गरेका थिए। त्यसक्रममा सामान्य झडप समेत भएको थियो।
पाँच जनालाई प्रहरीले आजै पक्राउ गरेको जिल्ला प्रहरी कार्याल सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
आज र हिजो गरी सुर्खेतमा प्रदर्शनमा उत्रिएका २३ जना प्रहरी नियन्त्रणमा छन्।
डिएसपी घर्तीका अनुसार सोमबारको प्रदर्शनका क्रममा दुई जना सर्वसाधारण घाइते भएका छन्। एमाले पार्टी कार्यालय गेटमा प्रदर्शनकारीले आगो बाल्ने क्रममा प्रहरीसँग झडप भएको थियो।
उक्त झडपमा परी पार्टी कार्यालय नजिकैको विष्णु होटलका सञ्चालक ३८ वर्षीय रणबहादुर डाँगी र शाही खाजाघरकी १२ वर्षीया सुजाता शाही घाइते भएका छन्।
प्रहरीका अनुसार रणबहादुरलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। उनको टाउकोमा चोट लागेको छ।
सुजाताको भने तीन वटा दाँत झरेका छन्। उनको वीरेन्द्रनगरकै माया नर्सिङ होममा उपचार भइरहेको डिएसपी घर्तीले बताए।
यस्तै केही प्रहरी पनि घाईते भएका छन्। घाइतेमध्ये १२ जना प्रहरी सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।
सोमबार बेलुका प्रदर्शनकारीहरूले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको कार्यालयमा क्षति पुर्याएका छन्। माओवादी र कांग्रेस पार्टी कार्यालयमा सिसा फुटेका छन् भने एमाले पार्टी कार्यालयको बोर्ड जलाइएको छ।
सोमबार बेलुका नै कर्फ्यू आदेश जारी भएकै बेला प्रदर्शनकारीले मंगलगढी चोकमा रहेको प्रहरी बिट जलाइदिएका छन्।
क्षतिको यकिन विवरण निकाल्न प्रहरीले मुचुल्का उठाइरहेको छ।