भक्तपुरको भ्रमण सूचीमा नयाँ गन्तव्य थपिएको छ – न्हू पुखू अर्थात् रानीपोखरी।
२०४० सालदेखि सेनाको नियन्त्रणमा रहेको यो पोखरीलाई भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले सार्वजनिक स्वामित्वमा ल्याएर जिर्णोद्धार गराएका हुन्। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मंगलबार उद्घाटन गरेपछि पोखरी सर्वसाधारणको निम्ति खुला भएको छ।
तपाईं भक्तपुर जाँदै हुनुहुन्छ भने सल्लाघारी चोकबाट सिद्धपोखरी जाने बाटोमा सल्लाका ठूल्ठूला रूख छन्। माथि थुम्को र खुला ठाउँ छ। तपाईं स–साना खुड्किला उक्लेर त्यहाँ पुग्न सक्नुहुन्छ। यो थुम्कोलाई 'च्वङा गणेश पार्क' भनिन्छ।
पार्कबाट अगाडि बढेपछि सैनिक आवासीय महाविद्यालय पुगिन्छ। त्यहीँभित्र पर्छ, रानीपोखरी।
२०२१ सालको नापीमा पोखरी र वरपरको चउर सार्वजनिक स्थल थियो। यसलाई स्थानीयहरू सानो टुँडिखेल भन्थे। २०४० सालमा त्यहाँको करिब पाँच सय रोपनी जग्गा सेनाले नियन्त्रणमा लियो। खुला सार्वजनिक चउरमा सैनिक आवासीय महाविद्यालय, खेल मैदान र स्कुलका भवनहरू ठडिए।
पुर्खौं पुर्खादेखि स्थानीयले भोगचलन गर्दै आएको जग्गा सेनाको कब्जामा पुगेपछि ऐतिहासिक रानीपोखरी र स्थानीय कुलदेवता (दिगु द्य:) पनि सर्वसाधारणको पहुँचबाट टाढा भए। जनताले आफ्नै पोखरी र आफ्नै दिगु द्य: जान सेनाको अनुमति लिनुपर्ने भयो। प्रत्येक वर्ष देवाली पूजामा सेनाको अनुमति लिएर मात्र स्थानीयहरू त्यहाँ पस्न पाउँथे। सेनाको नियन्त्रणमा पुगेपछि रानीपोखरी पनि संरक्षण अभावमा लगभग ओझेल पर्यो।
करिब चार दशकपछि पोखरीको स्वामित्व जनतामा फिर्ता आएको उत्सव मनाउन मंगलबार सयौं मान्छे उद्घाटन समारोहमा भेला भएका थिए। पोखरी किनार भरिभराउ थियो। एक स्थानीय पोखरीको विगत सम्झिँदै भन्दै थिए, 'हामी त पहिले यसलाई भूत पोखरी भन्थ्यौं। यहाँ दिउँसै यति सुनसान हुन्थ्यो, आउनै डर लाग्थ्यो।'
यसरी गुमनाम अवस्थामा पुगेको यो पोखरी कसरी ब्युँताउन सम्भव भयो त?
त्यसका लागि तीन वर्ष पहिलेको एउटा घटनामा फर्किनुपर्छ।
२०७५ चैत १८ गते भक्तपुरका मेयर प्रजापतिले तत्कालीन रक्षामन्त्री र प्रधानसेनापतिलाई भेटेर न्हू पुखू र त्यस वरपरको जग्गा सार्वजनिक प्रयोगको निम्ति खुला गर्न आग्रह गरेका थिए।
त्यो बेलासम्म यहाँका स्थानीयले प्रत्येक वर्ष आफ्नो कुल देवता पूजा गर्न जाँदा सेनासँग विवाद हुन्थ्यो। प्रजापतिले उक्त समस्या तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापालाई सुनाए। पोखरी जिर्णोद्धार गर्ने र आपसी साझेदारीमा सधैंका लागि खुला गराउने प्रस्ताव अघि सारे।
थापा उनको प्रस्तावमा सकारात्मक सुनिए पनि तत्कालै केही जवाफ दिएनन्। २०७६ जेठ २ गते पोखरी खुला गर्न सेनाबाट स्वीकृति मिल्यो।
'नगरपालिकाले जिर्णोद्धार र रेखदेखको जिम्मा लिने गरी रानीपोखरी सार्वजनिक हुने भयो। सानो टुँडिखेल, पार्किङ लगायत अन्य विषयमा पनि सम्झौता भयो,' नगरप्रमुख प्रजापतिले भने, 'अनि ढिला नगरी हामी काममा खटियौं।'
नगरपालिकाले सेनासँग स्वीकृति पाएर पोखरी जिर्णोद्धार सुरू गर्नुअघि यहाँ जंगलजस्तो घारी थियो। सफा गरेपछि बिस्तारै बर्खाको पानी भरिएर पोखरीको आकार पायो। पोखरी छिर्न पहिले सेनाको अनुमति लिनुपर्थ्यो, अहिले बेग्लै ढोका बनाइएको छ।
यो पोखरीको क्षेत्रफल १२ रोपनी ५ आना २ पैसा छ। बीचमा नागको खाँबो राखिएको छ। पोखरी बीचको नागले एउटै रेखामा रहेका भक्तपुरका रानीपोखरी, सिद्धपोखरी र नः पोखरीबीचको सम्बन्ध झल्काउने संस्कृतिविद् ओम धौभडेल बताउँछन्।
नगरपालिकाले पोखरी उद्घाटन क्रममा सार्वजनिक गरेको ‘न्हू पुखू जिर्णोद्धार २०७८’ किताबको एउटा लेखमा धौभडेलले लेखेका छन्, 'रानीपोखरीलाई नागको टाउको, बीचको सिद्धपोखरीलाई नागको जीउ र सबभन्दा पुछारको नः पोखरीलाई नागको पुच्छर मानिन्छ। त्यसैले यी तीनवटै पोखरी एउटै नाग हो भन्ने चलन छ।'
पोखरीको दक्षिण दिशाबाहेक तीनतिर अत्यन्त राम्रा बोटबिरूवाले सजिएको बगैंचा, बीचमा सुनको नाग र चारैतिर बहुमुल्य कलाकृति छन्। यसले यो पोखरीलाई रानीझैं सुन्दर मानेर यहाँका मल्ल राजा जगज्योर्ति मल्लले रानीपोखरी नामाकरण गरेको इतिहास छ।
जिर्णोद्धार क्रममा पोखरी वरिपरि पर्खाल लगाइएको छ। पर्खाल, पेटी, बाटो, डबली लगायत संरचना मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएका छन्। पोखरीभित्र तीनवटा फल्चा (पाटी) र बाहिर एउटा फल्चा छ भने वरिपरि चारवटा ढोका छन्।
सुरूमा यहाँ एउटा मात्र फल्चा थियो, जसलाई ह्वाङ–ह्वाङ फल्चा भनिन्थ्यो। वरिपरिका पर्खाल भत्किएर हावा आउजाउ हुने गरी भ्वाङ परेपछि स्थानीयले ह्वाङ–ह्वाङ फल्चा भन्न थालेको इतिहासविद् पुरूषोत्तमलोचन श्रेष्ठ बताउँछन्।
रानीपोखरीको दक्षिणपट्टि डिलको मध्यभागमा रहेको यो फल्चाबारे उनी भन्छन्, 'यो केही भिन्न शैलीमा बनेको अनौठो र सुन्दर फल्चा हो। मैले देख्दादेख्दै यो प्रत्येक वर्ष वर्षात, घाम र हावाहुरीको मारले गल्दै गयो।'
उनले अगाडि भने, 'ललितपुरको हरिसिद्धि नाच र कान्तिपुरको नरदेवी नाच बाह्र वर्षमा एकपल्ट भक्तपुर दरबारमा देखाउन ल्याउने चलन छ। पहिले नाचगणहरू भक्तपुर आउँदा सर्वप्रथम रानीपोखरीको यही फल्चामा विश्राम गर्थे। औपचारिक सूचना पाएपछि उनीहरूलाई स्वागत गरी सहरभित्र लैजाने प्रबन्ध गरिन्थ्यो। मल्लकालमा नेपाल मण्डलका राजा, मन्त्री, भारदार लगायत उच्चपदस्थ व्यक्तिहरूको भेटघाट हुने थलो पनि यही फल्चा थियो।'
नगरपालिकाले पोखरी र फल्चा निर्माणका लागि छुट्टाछुटै उपभोक्ता समिति गठन गरेको थियो।
पोखरीको दक्षिणतिर केही रूख छन्, खाली ठाउँ छ। पोखरी घुम्न आउनेका सवारी पार्किङ गर्न त्यो जग्गा पनि उपलब्ध गराउनेबारे सेनासँग सम्झौता भएको छ। त्यस क्षेत्रको सुरक्षाका लागि नगरपालिकाले सिसिटिभी क्यामरा जडान गर्ने पनि सम्झौतामा छ।
यो पोखरीको इतिहास पनि फल्चाजस्तै मल्लकालसँग जोडिन्छ।
यो काठमाडौंको रानीपोखरीभन्दा पुरानो हो। भक्तपुरका राजा जगज्योर्ति मल्लले विक्रम सम्बत् १६८७ मा रानी राजलक्ष्मीको सम्झनामा यो पोखरी बनाएका हुन्। काठमाडौंको रानीपोखरी त्यसको ४० वर्षपछि अर्थात् १७२७ सालमा राजा प्रताप मल्लले छोरा चक्रवतेन्द्रको मृत्युपछि रानीलाई खुसी पार्न बनाएका थिए।
यहाँ पोखरी जिर्णोद्धार गर्नुअघि वरिपरि उत्खनन गरिएको थियो। त्यस क्रममा शिलालेख, उमामहेश्वरको मूर्ति, शिवलिंग, जलद्रोणी लगायत भेटिएका थिए। भेटिएको एउटा शिलालेख मल्लराजा जितामित्रको हो। उक्त शिलालेख ऐतिहासिक दृष्टिकोणले निकै महत्वपूर्ण छ।
यो पोखरीलाई कान्तिपुरका राजा प्रताप मल्लले भत्काइदिएका थिए भन्ने इतिहास छ। उनले पोखरीमा रहेका सुनको नाग लगायत अन्य कलाकृति उठाएर हनुमानढोका दरबारमा सजाउन लगे। पोखरीनजिकै दूधपाटीमा रहेको भाज्या पुखू पनि बिगारिदिए।
'बाजेको पालामा बिग्रिएको रानीपोखरी जितामित्रले जिर्णोद्धार गरेको कुरा यहाँ भेटिएको शिलालेखमा उल्लेख छ। पोखरी बनेको खुसियालीमा तत्कालीन कान्तिपुर र ललितपुरका राजालाई बोलाएर उत्सव मनाएको पनि त्यसबाट थाहा हुन्छ,' इतिहासविद् श्रेष्ठले भने।
भक्तपुरको रानीपोखरी जगज्योर्ति मल्लले सहरी सन्दरता, शोभा र प्रतिष्ठाका लागि मात्र बनाएका थिएनन्। पोखरीसँग उनले धार्मिक–सांस्कृतिक अर्थ पनि जोड्न चाहेका थिए। पोखरी वरिपरि भएका कुलदेवता र देवीदेवताले यो स्पष्ट हुन्छ। प्रत्येक वर्ष अक्षया तृतीयाको दिन यहाँ कुलदेवता पूजा हुन्छ।
यसरी आजभन्दा ३९२ वर्षअघि निर्माण भएको यो पोखरीलाई ४८ वर्षपछि राजा जितामित्रले जिर्णोद्धार गरेका थिए भने अहिले भक्तपुर नगरपालिकाले त्यसलाई फेरि नयाँ जीवन दिएको छ।
भक्तपुरले काठमाडौंमा प्रताप मल्लको पालामा बनेको रानीपोखरी र ललितपुरमा सिद्धिनरसिंह मल्ल पालाको रानीपोखरी जिर्णोद्धारमा पनि सहयोग गरेको थियो।
'मल्लकालमा फरक–फरक समयमा बनाइएका ऐतिहासिक महत्वका पोखरीहरूको जिर्णोद्धारको अवसर एकसाथ पाउनु भक्तपुरवासीको निम्ति गौरवको कुरा हो,' मेयर प्रजापतिले आइतबार न्हू पुखू उद्घाटन क्रममा भने, 'इतिहासमा विरलै मात्र पाइने अवसर भक्तपुरवासीलाई प्राप्त भएको छ।'
उनले अगाडि भने, 'जर्मन वास्तुकलाविद् नील गोत्सेले भक्तपुरलाई जीवित संग्रहालयको नाम दिनुभएको छ। यसलाई जोगाउन नगरपालिकाले इतिहास खोतल्दै कयौं लोप भइसकेका र लोपोन्मुख सम्पदाको अध्ययन, अनुसन्धान र उत्खनन गरिरहेको छ। हामीले सम्पदा संरक्षण र सम्वर्द्धनलाई मुख्य प्राथमिकतामा राखेका छौं।'
पोखरी जिर्णोद्धारका लागि सुरूमा ४ करोड ४१ लाखको लागत अनुमान गरिएको थियो। उपभोक्ता समितिमार्फत काम गर्दा त्योभन्दा कम २ करोड ५४ लाख ८३ हजार रूपैयाँमै पूरा भएको नगरपालिकाले जनाएको छ। निर्माण क्रममा ८८४ जनाले श्रमदान गरेका थिए।