भाग्य लेख्ने कलमको खोजीमा
जति पैसा हुन्थ्यो यो गोजीमा
धन-पैसाले किन्न पाए, भाग्य लेख्ने कलम
आफैं बेची किन्ने थिएँ, भए यस्तो चलन...
यो गीत सुन्नुभएको छ? छैन भने युट्युबमा 'भाग्य लेख्ने कलम' खोज्दा सुरिलो महिला स्वरमा पश्चिमेली भाकामा सुन्न सक्नु हुन्छ। स्वर जति सुरिलो छ, गीतको मजबुन पनि त्यतिकै मार्मिक लाग्छ।
गीत गाएकी हुन् दैलेखकी धना परियारले। उनी रहरभन्दा बढी पीडाले गायिका भएकी हुन्।
२१ वर्षअघिको हो कुरा हो, २०५७ सालको। धना तीन वर्षकी थिइन्। उनकी आमा नामसरा महिनावारी भएकाले भाइलाई लिएर छाउगोठमा सुतेकी थिइन्।
जाडोको मौसम थियो। धना एकाबिहानै आमा खोज्दै छाउगोठ पुगिन्। गोठमा अँगेनो थियो। नामसराले आगो जोरेकी थिइन्। खोइ, कसरी हो, छाउगोठमा आगो लाग्यो। छानो ह्वारह्वार बल्न थाल्यो।
छानामा आगो लागेको देखे पनि सानी धना भाइलाई लिएर बाहिर निस्किन सकिनन्। भाइलाई आफ्नो जिउले छोपेर बसिन्। गोठमा आगो लागेको थाहा पाएर आमा हस्याङफस्याङ गर्दै आइन्। धना आत्तिँदै चिच्याइरहेकी थिइन्।
आमाले हारगुहार गरिन्। भेला भएका छिमेकीले आगो निभाए, साना दिदीभाइको उद्धार गरे। धनाका दुवै हातका औंला, कुम र टाउकाको केही भाग निकै नराम्ररी पोल्यो। भाइलाई भने धनाले छोपेरै जोगाइन्।
'मलाई आगोले पोले पनि बुवाले उपचार गराउन अस्पताल लानुभएन,' अहिले २४ वर्ष लागेकी धनाले भनिन्, 'आमा अस्पताल लैजान चाहनु हुन्थ्यो रे, पैसा भएन रे।'
धनाका बुवा जसवीरे लुगा सिउने काम गर्थे, गाउँमा बिहेबटुलोमा बाजा बजाउँथे। नामसरा र जसवीरेका सात सन्तान थिए, पाँच छोरी र दुई छोरा। धना छोरीमध्ये साहिँली थिइन्। जसवीरे धेरै छोरी जन्माएको भनेर नामसरालाई दोष दिन्थे, दपेट्थे । दुई जनाबीच कहिलेकाहीँ धेरै दिनसम्म बोलचालै बन्द हुन्थ्यो।
धनालाई तीन वर्षको उमेरमा आफ्नो शरीर जलेको त्यो घटनाको धुमिल सम्झना छ। त्यसपछिका दिन सम्झिँदा अहिले पनि उनका आँखा रसाउँछन्, 'मलाई आगोले पोल्दा बुबाले एकपटक पनि कस्तो छ भनेर हेर्नु भएन। छोरो भएको भए अस्पताल लैजानु हुन्थ्यो होला।'
दैलेखको जनज्योति माध्यमिक विद्यालयमा चौधरी सर भनिने एक जना शिक्षक थिए। उनले मेडिकल शिक्षाको एउटा कोर्स पढेका रहेछन्। उनी गाँउघरका बिरामीलाई उपचारका लागि सल्लाह–सुझाव दिन्थे, केही औषधि पनि बाँड्थे।
नामसरा धनालाई लिएर उनै चौधरी सरकहाँ गइन्। उनले एउटा मलम दिए। धनाको घाउ केही बिसेक भयो तर राम्ररी निको भएन। आगोले जलेपछि धनाको बालसुलभ चञ्चलता घरभित्र सीमित भयो। घाउ पूरा निको भएन। उनलाई घरभित्र राखेर आमा मेलापात जान्थिन्। दिन बित्दै गयो, धना छ वर्षकी भइन्।
घरनजिकै गणेश माध्यमिक विद्यालय थियो। घरबाट विद्यालय परिसर सबै देखिन्थ्यो। घन्टी बजेको सुनिन्थ्यो। धनाका दाइदिदी पनि किताबकापी बोकेर स्कुल जान्थे। धना पनि स्कुल गएर पढ्न चाहन्थिन्, साथीहरूसँग खेल्न चाहन्थिन्।
एकदिन धनाले आमासँग स्कुल जाने भनिन्। आमाले मानिनन्। आमालाई आगोले पोलेकी छोरीलाई सबैले हेला गर्लान् भन्ने पिर थियो, घाउ निको भएपछि जालिस् भनिन्। पोलेको केही भाग निको भइसकेको थिएन। घाउमा लुगा टाँसिन्थ्यो र फेरि बल्झिन्थ्यो।
'म झ्यालबाट बाहिर हेरिरहन्थेँ। खेल्न र स्कुल जान मन लाग्थ्यो,' धना सम्झिन्छिन्।
धनाले एकदिन ठूला दाजु अर्जुनलाई आफूलाई स्कुल लैजान भनिन्। अर्जुनले आमालाई भनेपछि धनाको इच्छा पूरा भयो। उनी दाजुदिदीसँगै स्कुल जान थालिन्।
स्कुल जाने रहर त पूरा भयो तर सोचेजस्तो सजिलो भएन। कक्षा कोठामा धना अलग्गै बस्थिन्। साथीहरू उनीसँग बस्न मन पराउँदैन थिए। उनी ढुंगो ओछ्याएर बस्थिन्। ढुंगो चिसो हुन्थ्यो, लेख्न पनि अप्ठ्यारो।
दायाँ हातमा औंला थिएनन्, बायाँ हातमा पनि तीन वटा मात्रै। सँगै पढ्ने साथीहरू धनालाई दुर्व्यवहार गर्थे। ती दिन सम्झिँदै धनाले भनिन्, 'साथीहरू मलाई भूत, राक्षस भन्थे। केटीहरूभन्दा पनि केटाहरूले बढी दुःख दिन्थे। म बस्ने ढुंगो पनि फलिदिन्थे।'
उनले हिम्मत गरेर एकदिन कक्षामा शिक्षकलाई सबै कुरा सुनाइन्। शिक्षकले सबैलाई सम्झाए। धनालाई जिस्क्याउने, दुःख दिने र जेसुकै भन्नेलाई सजाय दिने चेतावनी दिए।
'यसपछि साथीहरूले नराम्रो व्यवहार गर्न छाडे, केटाहरूले दुःख दिन पनि छाडे,' उनले भनिन्, 'मैले बेन्चमा बस्न पाएँ।'
घाउ निको हुँदै गयो तर आगोले पोलेको निशान जीवनभरिलाई रह्यो।
धना मेहनती र कक्षामा अब्बल विद्यार्थी थिइन्। साथीहरूलाई गृहकार्य गर्न सघाउँथिन्। स्कुलमा अतिरिक्त क्रियाकलापका कार्यक्रम हुँदा गीत गाउँथिन्। आठ कक्षामा पढ्दै गर्दा धनाले 'बिदाइ गीत' गाइन्। यो गीत गाएपछि उनी स्कुलमा गायिकाका रूपमा चिनिन थालिन्। उनकी फुपू कमला महताराले गीत गाउन हौसला दिइन्।
दुर्गम पहाडी गाउँमा गीत गाएर अघि बढ्न सजिलो थिएन। धना भन्छिन्, 'म दलित परिवारकी छोरी, अझ आगोले पोलेर अपांग भएकी थिएँ। कसले पत्याउँथ्यो र!'
स्कुल जाने र कहिलेकाहीँ गीत गाउने भए पनि घरको काम त गर्नै पर्थ्यो। यही बीचमा दिदीको बिहे भयो। धना स्कुल गएको कुरा उनका बुवालाई मन परेको थिएन। बुबा वस्तुबाख्राको गोठालो पठाउँथे।
'दिदीको बिहे भएपछि घरको काम मलाई थपियो। बुबा स्कुल जानु पर्दैन भन्नुहुन्थ्यो। बिस्तारै मेरो पढाइ बिग्रिन थाल्यो,' उनले भनिन्।
किशोर वयकी धना रजस्वला भइन्। उनको जीवनमा पनि आमाकै नियति दोहोरियो, 'पहिलो पटक रजस्वला हुँदा मैले सात दिन छाउगोठमै बिताएँ।'
मेलापात, गोठालो, घरको काम सबै गर्दै धना कक्षा १० पुगिन्। पढाइ कमजोर हुँदै गएको भए पनि उनले २०७० सालमा एसएलसी दिइन्। दुइटा विषय मौका परीक्षा दिएर पार लगाइन्। एसएलसी उत्तीर्ण त भइन् तर पढाइ त्यहीँ रोकियो।
घरमा बसिरहेकै समयमा उनलाई अंग्रेजी विषय पढाउने शिक्षक नरबहादुर महताराले गीत रेकर्ड गर्न काठमाडौं जान आग्रह गरे। रेर्कड गर्न धेरै रकम चाहिन्थ्यो। उनीसँग पैसा शून्य थियो। कहिल्यै पनि घर नछाडेकी उनलाई काठमाडौं पुग्नु ठूलो चुनौती थियो।
'सरले तिम्रो स्वर राम्रो छ, गीत रेर्कड गर्न आऊ भन्दा खुसीको सीमा रहेन तर मसँग पैसा थिएन,' धनाले भनिन्, 'मैले भाउजूलाई भनेँ। उहाँले दाइलाई भनेपछि, भारतबाट ४० हजार पठाइदिनुभयो।'
उनका अनुसार कमाएर चाँडै फिर्ता गर्नु पर्ने शर्त दाइको थियो। यही पैसा हात परेपछि धनाको गायिका बन्ने यात्रा अघि बढ्ने भयो। आमालाई भने छोरीको पिर थियो। काठमाडौंमा एक्ली छोरीलाई के होला, कसो होला भन्ने चिन्ताले आमालाई सताएको थियो।
'मैले आमालाई सम्झाएँ,' उनले भनिन्, 'मलाई केही हुँदैन, संघर्ष गर्न सक्छु भनेँ। बल्ल आमा मान्नुभयो।'
लगत्तै उनी एकजना छिमेकीको साथ लागेर काठमाडौं आइन्। तिनै छिमेकीको सहयोगमा बसाइको प्रबन्ध पनि भयो।
अनामनगरको स्टुडियोमा धनाको पहिलो गीत रेकर्ड भयो, देउडा गीत– सुदूरकी मैना।
'यो गीत रेकर्ड गर्दा १७ हजार रूपैयाँ बुझाएँ। काठमाडौं जानु, स्टुडियो देख्नु, गीत रेर्कड गर्नु मेरो सपना नै थियो। मेरो खुसीको सीमा नै रहेन,' यसरी धना गायन क्षेत्रमा प्रवेश गरिन्।
लगत्तै उनका थप तीन वटा गीत रेर्कड भए। यसमध्ये दुइटाका लागि फेरि पैसा तिरिन्। 'भाग्य लेख्ने कलम' गीत तीन वर्षअघि रेकर्ड भएको हो। कमला महतराले लेखेको यो गीतले उनलाई गायिकाका रूपमा चिनायो। यसको संगीत पनि उनैले गरेकी हुन्।
यसैबीच उनी काठमाडौंको नवजीवन कलेजमा ११ कक्षामा भर्ना भइन्। उत्तीर्ण पनि भइन्। तर १२ कक्षा पूरा गर्न पैसा भएन। धनाले दाइलाई पैसा फिर्ता गर्न सकेकी थिइनन्। आफूले आगोबाट बचाएका भाइ खेमराज भारतमा काम गर्थे। धनाले तिनै भाइलाई सम्झिन्। भाइले केही पैसा पठाइदिए। अनि १२ कक्षाको परीक्षा दिइन्।
यसपछि भने काठमाडौं बस्ने उपाय भएन। गायन पनि रोकियो। अन्ततः धना गाउँ फर्किन्।
मलीन स्वरमा उनले भनिन्, 'मेरो लागि सहर नै राम्रो थियो। सहरको मान्छेले मेरो अपांगतामा माथि प्रश्न गर्थेनन्। गाउँले छिनछिनमा मार्थ्यो तर म त्यही गाउँ फर्किन बाध्य भएँ।'
दाजुको पैसा फिर्ता नगरेकोमा मानसिक ताडना पनि भोग्नुपरेको उनी बताउँछिन्। त्यसैले उनले फेरि घर छाड्ने विचार गरिन्।
'मिर्गौला बेचेर भए पनि दाइको ऋण तिर्छु, यो घरमा कहिले पनि फर्केर आउँदिनँ भनेर आमालाई भनेँ अनि घरबाट निस्किएँ,' उनले भनिन्, 'फुपूका छोरा वीरबहादुरसँग ऋण मागेर काठमाडौं हिँडे।'
उनी कीर्तिपुरमा एक जना साथीसँग बस्न थालिन्। ऋण मागेर ल्याएको पैसा सकियो। थप कमाइ भएन।
'मैले आफ्नो भागको भाडा तिर्न नसकेपछि साथीहरूले ओढ्ने-ओछ्याउने लुगा नै खोसे,' उनले भनिन्, 'म लगाउने लुगाको भरमा चिसोमा सुत्थेँ। मेरो शरीर चिसोले फुलिन्थ्यो।'
उनलाई वीरबहादुरले नै सहयोग गरे। टेलरिङ काम गर्ने वीरबहादुरले बर्दियाका सानु सुमनसँग धनाको भेट गराइदिए। सानु सुमनको मद्दतले धना सञ्चारमाध्यममा पुगिन्। उनको दुःखको कथा छापियो। रेडियोमा अन्तर्वार्ता बज्यो। यसबाट उनलाई आर्थिक सहयोग जुट्यो।
दाइको ऋण तिरियो। दाहिने हातको उपचार भयो। हात राम्ररी चल्ने भयो। तर गीत गाउने उनको सपनामा 'ब्रेक' लागिरहेकै छ।
आजकाल धना किताब पढ्न थालेकी छन्। नेपालमा जात व्यवस्थाबारे, साहित्यक कृतिहरू पढ्छिन्। अध्ययनले उनलाई धेरै कुरा बुझाएको छ, 'हाम्री आमाले खुकुरीको धारमा हिँडेर हामीलाई बचाइन्। पारिवारमा आमाले धेरै पीडा भोगिन्। म आमाहरूको अधिकारका लागि लड्न चाहन्छु।'
अब धना कानुन विषय पढेर वकालतको काम गर्न चाहन्छिन्। जातीय विभेदविरूद्ध लड्न चाहन्छिन्। अपांगता भएकाहरूको अधिकारका लागि काम गर्न चाहन्छिन्। सबभन्दा ठूलो काम उनी सदाका लागि छाउगोठ भत्काउन चाहन्छिन्।
'कोही पनि आमा र तिनका काखे छोराछोरी छाउगोठमा जल्नु नपरोस्,' उनले भनिन्, 'किनकी जलेभन्दा बढी समाजको नराम्रो व्यवहारले पोल्छ।'