धनगढीकी गीता चौधरी सानैदेखि प्रहरी हुन चाहन्थिन्। महिला प्रहरीहरू टक्क पोशाकमा ठाँटिएको देख्दा आफूलाई त्यही रूपमा कल्पना गर्थिन्। सुरक्षामा खटिने प्रहरी संगठन प्रवेश गरेर देशको सेवा गर्ने सपना देख्थिन्।
यो सपना पूरा हुन पाएन। तैपनि गीता दुखी छैनन्। किनकी उनी प्रहरीकै जिम्मेवारी हाराहारीको सुरक्षाकर्ममा छिन्।
चार वर्षदेखि गीता धनगढीका अस्पताल, स्कुल, डिपार्टमेन्टल स्टोर, मेलामहोत्सव, खेलकुद प्रतियोगिता लगायतमा 'सेक्युरिटी गार्ड' अर्थात सुरक्षाकर्मीका रूपमा काम गर्दै छिन्।
'प्रहरी हुने मेरो इच्छा पूरा भएन तर म प्रहरीकै जस्तो काममा छु,' गीताले भनिन्, 'आफूलाई कुशल सुरक्षाकर्मी मान्छु।'
गीताका आमाबा कमैया बसेका थिए। जमिनदारको घरमा कमैया बसेपछि घरभित्र खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, सरसफाइ गर्ने जस्ता सबै काम र खेतीको काम गर्नुपर्थ्यो। उनका आमाबाको जीवन यसरी नै चलेको थियो, छोराछोरी पनि पालिएका थिए।
सरकारले कमैयामुक्ति घोषणा गर्यो। गीताका आमाबाले जमिनदारको घरबाट मुक्ति पाए तर जीवनस्तरमा सुधार आएन। उनीहरू दैनिक ज्यालादारी गर्न थाले। निर्माण कार्यमा मजदुरी गर्थे।
एकदिन गाडीमा काठ बोझा लगाउँदै गर्दा मुढाले च्यापिएर गीताका बा बिते। परिवारमा बज्रपात भयो। आमा २२ वर्षकी मात्र थिइन्। गीता त छ वर्षकी।
गीताका मामाहरूको आमाका लागि अर्का श्रीमान खोजिदिए। गीता पनि आमासँगै 'नयाँ बा' को घरमा गइन्।
तर केही वर्षपछि गीताका 'नयाँ बा' बेपत्ता भए। आमा फेरि छोराछोरी लिएर माइत फर्किन्।
गीताका मामाले धनगढीको फूलबारीमा थोरै जमिनमा किनेका थिए। आमा चार जना छोराछोरी लिएर त्यहीँ बस्न थालिन्। छोराछोरी पाल्ने एक्लो जिम्मेवारी आमाको काँधमा थियो।
'आमा रातदिन नभनी कडा श्रम गर्नुहुन्थ्यो,' गीताले भनिन्।
फूलबारी धनगढी बजारबाहिर गाउँमा पर्थ्यो। त्यहाँ परिवारको गर्जो टर्ने गरी आमाले काम पाइनन्। उनी एउटा कोठा भाडामा लिएर धनगढीको बजार क्षेत्र सरिन्।
नभन्दै धनगढीमा आमाले अलि बढी काम पाइन्। गीतालाई स्कुल भर्ना पनि गराइन्। उनको पढाइ अघि बढ्यो तर आठ कक्षामा पढ्दापढ्दै, १४ वर्षको उमेरमा बिहे भयो।
'मलाई त केही थाहा थिएन, सोझी थिएँ, घरकाले जे भन्थे त्यही मान्थेँ,' गीता भन्छिन्, 'मेरो त बिहे पो गरिदिए। बिहे भएपछि पढाइ छुट्यो।'
यही बेलादेखि उनको पढाइ मात्रै छुटेन, प्रहरी हुने सपना पनि टुट्यो।
गीताका श्रीमानले धनगढीको एउटा पसलमा काम पाए। उनीहरू बजारमै बस्न थाले। श्रीमान दिनभरि काममा जान्थे। गीता आफू पनि केही काम गर्न पाए हुन्थ्यो भन्ने ठान्थिन्। त्यति सजिलै काम कहाँ पाइन्थ्यो र!
यही समय, २०७० सालमा संविधानसभाको दोस्रो निर्वाचन हुने भयो। म्यादी प्रहरीमा भर्ना खुल्यो। गीताले प्रहरी बन्ने आफ्नो पुरानो सपना सम्झिन्। म्यादी प्रहरीका लागि आवेदन दिइन्।
'सानी छँदा दौडिन, उफ्रिन, रूख चढ्न सिपालु थिएँ,' उनले भनिन्, 'म्यादी प्रहरीमा जागिर खुलेपछि मौका आएजस्तो लाग्यो। फारम भरेँ, छनौट पनि भएँ।'
गीताले म्यादी प्रहरीमा सानोतिनो तालिम पनि पाइन्। काम राम्ररी गरिन्। आखिर म्यादी न थियो! चुच्चे ढुंगो उही टुंगो भनेझैं घर फर्किनु परिहाल्यो तर प्रहरी बनेर देशको सेवा गर्ने इच्छा झन् प्रबल भएर आयो।
आफूले चाहेरै मात्रै हुने कुरा थिएन। आजभोलि भन्दाभन्दै चार वर्ष बित्यो। फेरि २०७४ सालमा आम निर्वाचन हुने भयो। सरकारले म्यादी प्रहरी भर्ना गर्ने भयो।
गीताले थोरै दिन भए पनि म्यादी प्रहरीमा जाने विचार गरिन् तर परिवारमा कुरा मिलेन।
'श्रीमानले आइमाई मान्छे प्रहरीमा जानु पर्दैन भने। म जान पाइनँ,' गीताले भनिन्, 'यही कुराले एक वर्षसम्म हाम्रो झगडा भइरह्यो।'
अब त उमेर पनि घर्किँदै थियो। प्रहरी भएर देशको सेवा गर्ने इच्छा पूरा नहुने नै भयो। श्रीमानको कमाइले मात्रै घर चलाउन गाह्रो हुन्थ्यो। गीता पनि नियमित आम्दानी हुने केही न केही काम गर्न चाहन्थिन्।
एक दिन एक जना साथीले सेक्युरिटी गार्डको जागिरबारे बताइन्। गीताको मन लोभियो। प्रहरी बन्ने इच्छा पूरा नभए पनि प्रहरीको जस्तै काम गर्ने सेक्युरिटी गार्ड बन्नु उचित हुने ठानिन्।
गीताले म्यादी प्रहरीमा काम गर्दाका आफ्ना कागजात जम्मा पारिन्। धनगढीमा रहेको एक सेक्युरिटी गार्ड कम्पनीले कामदार माग्यो। आवेदन दिइन्। तर छनौट भइनन्।
उनले प्रयास छाडिनन्। अर्को पटक आवेदन गरिन्।
यसपटक भने उनलाई एउटा खेलकुद प्रतियोगितामा दस दिनका लागि कम्पनीले पठायो। उक्त दस दिनको कामपछि कम्पनीले गीतालाई पत्यायो।
'कम्पनीलाई मेरो ड्युटी राम्रो लागेछ अनि अर्को पटक पनि काम गर्ने अवसर दियो। मलाई एउटा स्कुलमा पठायो,' उनले भनिन्, 'मेरो ड्युटी देखेर सबैले तारिफ गरे। मलाई कम्पनीले सधैंका लागि लियो।'
गीताको कमाइ सन्तोषजनक नै छ। उनी कहिलेकाहीँ घरबाहिर अलि टाढा पनि जानु पर्छ। कम्पनीले अस्थायीरूपमा त्यसरी खटाउँछ। सामान्यतया उनी बिहान १० बजेदेखि देखि बेलुका ५ बजेसम्म ड्युटी गर्छिन्। साथीसँग पालो मिलाउँदा र साथीले बिदा लिएको समयमा चाहिँ कहिलेकाहीँ रातिको ड्युटी पनि गर्नु पर्छ।
गीता भन्छिन्, 'दुई जनाको कमाइले घर चलेको छ। छोराछोरी पढ्दै छन्। अलिकति जग्गा पनि किनेका छौं। प्रहरी नभएर के भयो र! प्रहरीकै जस्तो काम गर्न पाएकी छु भनेर चित्त बुझाएकी छु।'