बलात्कार आरोपित अभिनेता पल शाह (पूर्णविक्रम शाह) प्रकरणमा पीडित नाबालिग गायिकाले राज्यबाट संरक्षण पाउनुपर्नेमा उल्टो पटकपटक समस्या झेल्दै आएकी छन्।
उनले कास्की प्रहरीमा एक महिनाअघि नै उजुरी दिन जाँदा प्रहरीले उजुरी लिएन। अहिले पल शाह पक्राउ परिसक्दा पनि प्रहरी कार्यालयको ढोकैमा पीडितविरूद्ध भइरहेका नाराबाजी प्रहरीले मौन भएर सुनेर बसेको छ। सामाजिक सञ्जालमा पीडितलाई थप लाञ्छित गर्ने अभिव्यक्तिहरूमाथि पनि प्रहरीले कुनै कारबाही गरेको छैन।
ती नाबालिग गायिकाले पल शाहद्वारा आफूमाथि पटकपटक बलात्कार भएको भन्दै करिब एक महिनाअघि नै गृहजिल्ला कास्की प्रहरीमा उजुरी दिएकी थिइन्। तर घटना भएको अन्तिम स्थान तनहुँ भएको भन्दै कास्की प्रहरीले उजुरी लिन मानेन। तनहुँमै उजुरी गर्न जानू भन्ने सल्लाह दिएर उनलाई फर्काइयो।
यस्तो जघन्य अपराधमा पीडितले जुनसुकै प्रहरी कार्यालयमा उजुरी दिन सक्छन्। कास्की प्रहरीले त्यही बेला उजुरी दर्ता गरेर आवश्यक कारबाही बढाएको भए पल शाह एक महिनाअघि नै पक्राउ पर्ने थिए। उसको गैरजिम्मेवारीका कारण पीडित नाबालिग गायिका एक महिनासम्म प्रहरीकहाँ जान सकिनन्। यस अवधिमा बलात्कारजस्तो जघन्य अपराधमा मुछिएका पीडकले उल्टै पीडितलाई मानसिक पीडा हुने अभिव्यक्त दिइरहे।
'पीडित परिवारले आफूलाई जहाँ सुरक्षित र न्याय पाइन्छ भन्ने ठान्छ, त्यहीँ जान सक्छ,' अधिवक्ता कुञ्जनी परियार 'प्यासी' ले सेतोपाटीसँग भनिन्, 'कास्की प्रहरीले एक महिनाअघि उजुरी पर्नासाथ कारबाही अघि बढाएको भए पल शाह उतिबेलै पक्राउ पर्थे। पीडितमाथि थप मानसिक आघात थपिने थिएन।'
कास्की प्रहरीको निस्क्रियताको फाइदा उठाउँदै पल शाहले यो एक महिनाबीच विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा '१७ वर्षकी नाबालिगसँग यौन सम्पर्क भएको' र 'गर्भवती नभएकाले विवाहका लागि स्वीकार गर्न आवश्यक नभएको' सम्म भन्न भ्याए। प्रेममा यस्तो हुनु सामान्य भएको पनि उनले तर्क दिए।
पल शाहको यो तर्कलाई पछिल्लो समय उनका समर्थकहरूले पनि बोकेर हिँडेका छन्। उनको पक्षमा नारा लगाउने र सामाजिक सञ्जालमा लेख्नेहरूले यस्तै भनाइ अघि सारेका छन्।
तर नेपालको कानुनले यस्तो तर्क मान्दैन।
१८ वर्षभन्दा कम उमेरका नाबालिगसँग सहमति, प्रेम, विवाह लगायत कुनै पनि बहानामा राखिएको यौन सम्पर्कलाई कानुनले 'बलात्कार' भन्छ। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले यसरी बलात्कार गर्नेलाई १० देखि १२ वर्ष कैद सजाय तोकेको छ।
यसरी कानुनले नै बलात्कार परिभाषित गरेको घटना सामाजिक सञ्जालमा भाइरल हुँदा पनि सरकारको ध्यान गएन। कानुनले बलात्कार ठानेको घटनाका पक्ष र विपक्षबीच सामाजिक सञ्जालमा चर्चा चलिरह्यो। कानुनविपरीत नाबालिग पीडितको नाम, थर, ठेगाना र फोटोसमेत सार्वजनिक गरिए। बलात्कारजस्तो विषयमा पीडितको गोपनियता र संरक्षणको हक कसैले पालना गरेनन्।
अहिले पनि तनहुँ प्रहरी कार्यालयअगाडि दिनहुँ कानुनविपरीत पीडितलाई थप पीडा दिने र न्याय निरूपणमा खलल पुग्ने गतिविधि भइरहेका छन्। यस्ता गैरकानुनी धन्दा चलाउनेलाई प्रहरीले कारबाही गर्नुको सट्टा खुलमखुल्ला न्याय निरूपणमा अवरोध पुर्याउने हर्कत गर्न दिएको प्यासी बताउँछिन्।
'यस्तो जघन्य अपराधमा पीडितको संरक्षण, गोपनियता र न्याय निरूपणमा अवरोध गर्ने खालका गतिविधि रोक्नु प्रहरीको दायित्व हो,' उनले भनिन्, 'प्रहरीले पीडितलाई पीडा दिने खालका अभिव्यक्ति नियन्त्रण गर्न सकेको देखिँदैन।'
नाबालिग गायिकासँग प्रेममा रहँदा सहमतिमा यौन सम्पर्क गरेको पलले फोन रेकर्डमै स्वीकार गरेका छन्। सामाजिक सञ्जालमा भाइरल यस्ता अडिओकै आधारमा प्रहरीले उनलाई पक्राउ गरेर घटनाको छानबिन गर्नुपर्ने थियो। जघन्य अपराधमा पनि उजुरी पर्खेर बस्ने र उजुरी दिँदासमेत नलिएर प्रहरी कर्तव्यबाट विमुख भएको प्यासीको भनाइ छ।
कास्कीमा उजुरी दर्ता नभएको करिब एक महिनापछि पीडित परिवार तनहुँ प्रहरीमा उजुरी दिन पुगे। तनहुँ प्रहरीमा उजुरी दर्ता हुँदै गर्दा बलात्कार आरोपी पल भने काठमाडौंमा खुल्लमखुल्ला थिए। उनी पीडित नाबालिगविरूद्ध सामाजिक सञ्जालमा बोलिरहेका थिए।
उजुरी दर्तापछि प्रहरीले पलको खोजी बढायो। पल रातारात गायब भए। उनी सामाजिक सञ्जाल चलाइरहेका थिए, विभिन्न युट्युबमा अन्तर्वार्ता दिइरहेका थिए तर प्रहरीले समाउन सकेन।
सामाजिक सञ्जालमा छाइरहेका पललाई पक्राउ गर्न प्रहरीले देशभरका प्रहरी कार्यालयमा सर्कुलर गरेको बतायो। विभिन्न टोली गठन गरेर उनको खोजी थालेको जानकारी दियो। नेपाल प्रहरीमा गम्भीर अपराध अनुसन्धानको जिम्मा पाउने केन्द्रीय अनुसन्धान ब्युरो समेत पलको खोजीमा लागिपरेको प्रचार प्रहरीले गर्यो।
यति गर्दा पनि बलात्कार उजुरी परेको पाँच दिनसम्म प्रहरी पलको नजिकसम्म पुग्न सकेन। पलले आफैं तनहुँ प्रहरीमा पुगेर आत्मसमर्पण गरे।
एड्भोकेसी फोरम गण्डकीका संयोजक समेत रहेकी प्यासीले पल शाह प्रकरणमा नेपाल प्रहरी पीडकप्रति नरम देखिएको दाबी गरिन्। 'प्रहरीले पाँच दिनसम्म पललाई पक्राउ गर्न नसकेको हो कि नचाहेको हो?' उनको प्रश्न छ।
कास्की प्रहरीले बलात्कारजस्तो जघन्य घटनामा जुन व्यवहार देखायो, केन्द्रीय कार्यालयले पनि उस्तै व्यवहार देखाएको उनको भनाइ छ।
नाबालिग गायिकाको बलात्कारमा मात्र होइन, कास्की प्रहरीले यसअघि अर्को मुद्दामा पनि राम्ररी अनुसन्धान नगर्दा बलात्कार पीडितलाई नै थुनामा पुर्याएको उदाहरण छ।
लमजुङकी बलात्कार पीडित मर्स्याङ्दी (नाम परिवर्तन) आफ्नै कार्यालयमा बलात्कारको शिकार भएकी थिइन्। उक्त घटनामा जिल्ला अदालत कास्कीले पीडकलाई दोषी ठहर गरेर कारागार चलान गरिसकेको छ।
पीडक पक्षले कार्यालयको आफ्नो टेबलको घर्रामा मर्स्याङ्दिले सही गरेर राखेको खाली चेक भेट्टायो। त्यसैमा ५३ लाख रूपैयाँ भरेर पीडित मर्स्याङ्दीविरूद्ध चेक बाउन्सको मुद्दा लगाइयो। बलात्कार मुद्दामा बयान फेरेर आफूलाई उन्मुक्ति दिन नमाने चेक बाउन्सको मुद्दा लगाइदिने भनी पीडकले धम्की दिएपछि मर्स्याङ्दी प्रहरीको शरणमा पुगेकी थिइन्।
उनले बलात्कारको घटना भएपछि आफू कार्यालय जान नसकेको र कार्यालयमा राखेको चेक देखाएर धम्की आएको भन्दै चेक फिर्ता गराइदिन प्रहरीलाई उजुरी दिएकी थिइन्।
मर्स्याङ्दीले दिएको उक्त उजुरीउपर कास्की प्रहरीले छानबिनसम्म गरेन। बरु चेक बाउन्स मुद्दामा पक्राउ गर्यो। दुई महिनादेखि उनि थुनामा छिन्।
पल शाह प्रकरणमा पनि प्रहरीले मौनता साँधेर पीडितलाई झन् पीडा दिएको छ। प्रहरीले आफ्नै कार्यालयअगाडि पल शाहका समर्थकहरूलाई बलात्कारका पीडित नाबालिग गायिकाविरूद्ध नाराबाजी गर्न छुट दिएको छ। सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा पनि पीडितलाई नै पीडा दिने गरी अभिव्यक्ति आइरहेका छन्।
पछिल्लो फिल्ममा सँगै अभिनय गरेकी पूजा शर्माले बलात्कारको छानबिनमा रहेका पलको पक्षमा सुरूदेखि नै खुलेर फैसला दिइरहेकी छन्। बलात्कार आरोपितका पक्षमा उनले दिएको अभिव्यक्तिले अनुसन्धान प्रभावित गर्ने मात्र होइन, पीडितको संरक्षणको हकसमेत उल्लंघन गर्छ।
उनले शुक्रबार फिल्म रिलिज क्रममा भनेकी थिइन्, 'पललाई कसैले केही गर्न सक्दैन, मेरो शतप्रतिशत विश्वास छ। आज नराम्रा मान्छेहरूले खेदो खनेको होला, पलका लागि पूजा शर्माको टिम जहिले पनि स्वागत गर्छ।'
पूजाले मात्र होइन, पलका पक्षमा रहेका केही व्यक्तिले सामाजिक सञ्जालमार्फत उनलाई निर्दोष भएको दाबी गरिरहेका छन्। उनीहरूले बलात्कारको उजुरी दिएकी नाबालिग गायिकाको चरित्रमा प्रश्न उठाउँदै पीडितलाई थप पीडा दिइरहेका छन्।
सामाजिक सञ्जालमा कतिपयले त छोरीलाई सार्वजनिक मञ्च वा अन्यत्र एक्लै गीत गाउँदै नाच्दै हिँड्न दिन नहुने तर्क पनि गरेका छन्। नाबालिग गायिकाको नाम र तस्बिर प्रयोग गरेर सामाजिक सञ्जाल, युट्युब लगायतमा पीडितको आलोचना गर्ने क्रम जारी छ। यस्ता अभिव्यक्तिमाथि प्रहरीले कुनै कानुनी प्रक्रिया चालेको छैन।
पीडितको गोपनियताको हक, न्याय र अपराध पीडित संरक्षण ऐनविपरीत यस्ता गतिविधि भइरहेको अधिवक्ता प्यासीको भनाइ छ। यसरी पीडितलाई झनै पीडा दिने गरी भइरहेका गतिविधि र पीडकका पक्षमा आइरहेका अभिव्यक्ति रोक्न प्रहरी अग्रसर हुनुपर्ने उनको भनाइ छ।
'सरकारले पीडितको संरक्षण गर्न सकेन,' उनले भनिन्, 'यो प्रकरणले आगामी दिनमा बलात्कारका घटना बाहिर ल्याउन र बलात्कारविरूद्ध लडाइँ अझै कमजोर भएको देखाउँछ, पीडितविरूद्ध भइरहेका गैरकानुनी गतिविधि तत्काल रोकिनुपर्छ।'
बलात्कार हुन सक्ने आशंकामा बालबालिकादेखि वृद्धसम्म कोही पनि एक्लै हिँडडुल र नाचगान गर्न पाउने अधिकारबाट वञ्चित हुने कुरा सोच्न पनि नसकिने प्यासीले बताइन्।
'गायिकालाई एक्लै गीत गाउँदै, नाच्दै हिँड्न दिनु परिवारको गल्ती हो भन्नुको अर्थ अभियुक्तलाई सिधै चोख्याउन खोज्नु हो, अपराध पीडित संरक्षण ऐनविरूद्धको कार्य हो,' प्यासीले भनिन्, 'सरकारले पीडितलाई न्याय दिन चाहन्छ भने त्यस्ता अभिव्यक्ति दिनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ।'
यसका लागि प्रहरीले उजुरी पर्खेर बस्न नहुने उनको सुझाव छ।
तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए। अपराध पीडित संरक्षण ऐन, गोपनियताको हक र बलात्कार प्रोत्साहन हुने गरी आएका अभिव्यक्तिका विषयमा उनले केही भनेनन्। पीडितलाई थप पीडा दिने गरी प्रहरी कार्यालयअगाडि नै भइरहेका गतिविधिमा पनि डिएसपी खड्काले प्रतिक्रिया दिएनन्।
पल प्रकरणमा प्रहरीले पीडितलाई दिनुपर्ने संरक्षण गुमाएको मात्र होइन, न्यायालयको स्वतन्त्रतामा समेत हस्तक्षेप भइरहेको प्यासीले बताइन्।
'पीडितलाई मानसिक यातना दिएको छ, सामाजिक सञ्जाल र सार्वजनिक ठाउँमा अदालत खडा गरेर फैसला आइरहेको छ,' उनले भनिन्, 'अभियुक्तले न्यायालयमा पेस गर्नुपर्ने प्रमाण फेसबुकमा ल्याएर न्यायालयको गरिमा र स्वतन्त्रतामा हस्तक्षेप गर्न खोजेका छन्।'
यो घटनामा पल शाहले नै पेस गरेको प्रमाणका आधारमा नाबालिग बलात्कार भएको पुष्टि हुन सक्ने प्यासीको दाबी छ।
सरकारले पीडित संरक्षण गर्न नसक्दा बलात्कारीलाई प्रोत्साहन हुन पुगेको उनले बताइन्। बलात्कार मुद्दा गिजोल्न नायिका पूजादेखि विभिन्न युट्युब सञ्चालक र पीडितलाई पीडा दिनेहरूलाई प्रहरीले कारबाही गर्नुपर्ने उनको माग छ।
'अपराध घटनाका पीडितलाई संरक्षण गर्न कानुन बनेका छन्, तर यस घटनामा पीडित संरक्षणमा सरकार चुकेको छ,' प्यासीले भनिन्, 'गायिकालाई उल्टै आरोप लगाएर उम्किन खोजेको देखिन्छ, बलात्कार दुरूत्साहन र मिलाउन खोज्ने मतियारलाई पनि कानुनी दायरामा ल्याउनुपर्छ।'
नाबालिग गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा पलले मायाप्रेमको जालमा फसाएर पटकपटक बलात्कार गरेको उल्लेख छ। म्युजिक भिडिओ सुटिङ क्रममा पलले पोखरा, चितवन, बागलुङ लगायत स्थानमा बास बस्दा पटकपटक बलात्कार र यौन दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ।