प्रहरीले नियन्त्रणमा लिएका कालीकोटका एक युवकको सुर्खेतमा मृत्यु भएको छ।
शुक्रबार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका–३ का मिनी हमाल भनेर चिनिने कृष्ण हमाललाई मादक पदार्थ सेवन गरेको भन्दै वीरेन्द्रनगरको सुब्बाकुनाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिएका हमालको मृत्यु भएको छ। उनलाई सुर्खेत अस्पतालले शनिबार बिहान मृत घोषणा गरेको हो।
उनलाई प्रहरीले नियन्त्रणमा लिनुअघि निर्घात कुटपिट गरेपछि मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।
भे १ क ९२२ नम्बरको ट्रकमा आएका उनलाई प्रहरीले मादक पदार्थ सेवन गरेको भन्दै कुटपिट गरेको आफन्तले बताए। आफन्तका अनुसार उनी त्यो ट्रकमा किराना पसलको सामान लिएर आएका थिए।
आफन्तका अनुसार ट्रकका सहचालक, चालक र हमाललाई प्रहरीले शुक्रबार राति सुब्बाकुनामै रोकेर राखेको थियो। शनिबार बिहानमात्र सुब्बाकुना प्रहरी पोष्टले उनीहरूलाई पुर्जी काटेर छोडेको हमालाका मामा नाता पर्ने एक आफन्तले बताए।
‘राति ट्रक कागजपत्र नभएपछि रोकिएको ट्रकका सहचालकमाथि प्रहरीले हातपात गरेछ, पछि कुरा गर्न जाँदा हमाललाई पनि कुटेछ,’ उनले भने, ‘रातभर छोडेनछ, बिहान अप्ठ्यारो भएपछि अस्पताल ल्याउँदा मृत घोषणा भयो।’
सुर्खेत अस्पताल प्रालिले सवा १० बजे हमाललाई मृत घोषणा गरेको हो।
हमालका आफन्तले शव बुझेका छैनन्। उनीहरूले वीरेन्द्रनगरका मंगलगढी र यरीचोकमा टायर बालेर आन्दोलन समेत गरेका छन्।
प्रहरीले भने घटनाबारे प्रष्ट बोलेको छैन।
‘आन्दोलन भएकाले अहिले हामी प्रहरी परिचालनमै व्यस्त छौं, यसबारे केही भन्न सकिँदैन,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले भने।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी नायब उपरीक्षक राजेन्द्रसिंह खड्काले पनि आफूलाई यसबारे औपचारिक जानकारी नआएको बताए।
‘म पनि बिदा बसेर भर्खरै फर्किएको हो, मलाई अफिसियल जानकारी आएको छैन,’ एसएसपी खड्काले भने।
छानबिनका लागि प्रशासनले बनायो समिति
घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति समेत बनाइएको छ।
शनिबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले छानबिन समिति बनाएको हो।
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा समिति बनाइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती, राष्ट्रिय अनुसन्धान सुर्खेत कार्यालयका अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएसन सुर्खेतका अध्यक्ष उत्तमप्रसाद शर्मा समितिको सदस्य छन्।
समितिले छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।