प्रहरीको नियन्त्रणमा रहेका कालिकोटका एक युवकको मृत्यु भएपछि मृतकका परिवारले प्रहरी चौकीका इन्चार्जविरूद्ध जाहेरी दिएका छन्।
परिवारले सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११स्थित सुब्बाकुना प्रहरी चौकीका इञ्चार्ज सहायक प्रहरी निरीक्षक (असई) शेरसिंह धामीविरूद्ध जाहेरी दिएका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतमा धामीविरूद्ध जाहेरी परेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
यो घटनामा मृतक कृष्णका बुवा हिराचन्द्रले असई धामीविरूद्ध जाहेरी दिएका हुन्। प्रहरी नायब उपरीक्षक घर्तीका अनुसार असई धामीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
‘जाहेरी दर्ता भएर आरोप लागेका व्यक्ति हाम्रो नियन्त्रणमा हुनुहुन्छ,’ उनले भने।
कालीकोटको नाग्मामा रहेको आफ्नो किराना पसलको लागि हमाल गत शुक्रबार राति भे १ क ९२२ नम्बरको मिनी ट्रकमा नेपालगंजबाट आएका थिए।
राति करिब साढे ११ बजे उनीहरू वीरेन्द्रनगरको प्रवेशविन्दु सुब्बाकुना पुगे।
आफन्तका अनुसार सुब्बाकुना चौकीका प्रहरीले मिनी ट्रक र कागज जाँच्ने क्रममा चालक तिलकबहादुर शाहीमाथि हातपात गरे।
हातपात भएपछि गाडीबाट ओर्लिएर हमालले प्रहरीसँग कुरा गर्न खोजेका थिए। तर प्रहरीले हमालमाथि पनि कुटपिट गरेको आफन्तको आरोप छ।
मादक पदार्थ सेवन गरेको र सवारी कागज नभएको भन्दै प्रहरीले मिनी ट्रकलाई नियन्त्रणमा लियो।
‘असईले ट्रक रोकेर भित्र जानुभयो, ड्युटीमा भएका एकजना जवानले हामीलाई अर्को गाडीमा पठाउनुभयो,’ पीडिततर्फका एकजनाले भने, ‘हामीलाई त्यो गाडीले पनि झारिदियो। फेरि हामीले प्रहरीलाई आफूहरूले खाना पनि नखाएको हुँदा जान दिनुस् भन्यौं। खाना खाने भए हिँडेर जाऊ, नत्र यतै सुत् भने।’
उनका अनुसार त्यसपछि उनीहरू त्यही मिनी ट्रकमा सुते। शनिबार बिहान प्रहरीले पुर्जी काटेर उनीहरूलाई छोडिदिएको थियो।
तर सुब्बाकुनाबाट करिब तीन किलोमिटर गुडेपछि उमा पेट्रोलपम्प नजिकै हमालले बोल्न छाडे।
‘त्यसपछि अस्पताल लग्यो। अस्पताल पुगेको केही समयपछि मृत्यु भएको भन्ने आयो,’ उनले भने।
उनको सुर्खेत अस्पतालमा शनिबार बिहान सवा १० बजे मृत्यु भएको हो।
प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको आरोप आफन्तले लगाएपनि जिल्ला प्रहरी कार्यालयले यसबारेमा प्रष्ट बोल्न सकेको छैन।
‘आफन्तले प्रहरीलाई दोष दिइरहनुभएको छ। हामीले यसबारेमा अनुसन्धान नगरी केही बोल्न मिल्ने अवस्था छैन,’ प्रहरी नायब उपरीक्षक घर्तीले भने, ‘शवको पोष्टमार्टम रिपोर्ट हेर्नुपर्ने होला। छानविन समिति पनि बनेको छ। यसबाट पनि केही निष्कर्ष आउला।’
पोष्टमार्टमको लागि हमालको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ।
यो घटनाको छानविनका लागि शनिबार सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति पनि बनेको छ।
समितिमा डिएसपी घर्ती, राष्ट्रिय अनुसन्धान सुर्खेत कार्यालयका अनुसन्धान अधिकृत गोपाल थापा, उच्च अदालत बार एशोसिएशन सुर्खेतका अध्यक्ष उत्तमप्रसाद शर्मा र कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर चन्द्रेश सिंह सदस्य छन्। डा. सिंहलाई आफन्तको आग्रहमा समितिमा राखिएको हो।
यसअघि समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो। आफन्तको आग्रहपछि उक्त समय बढाएर ७ दिन पुर्याइएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।
हमालको मृत्यु भएपछि शनिबार पीडित पक्षले वीरेन्द्रनगरमा आन्दालेनसमेत गरेका थिए।
आइतबार पनि आन्दोलन गर्ने तयारी गरेका आफन्तसँग जिल्ला प्रशासनले छलफल गरी सहमति गरेपछि स्थगित भएको छ।
प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार छानबिन समितिमा एक जना चिकित्सकलाई सदस्यका रूपमा थप गर्ने, समितिको प्रतिवेदन बुझाउने म्याद सात दिन बनाउने, पीडकलाई कानुबमोजिम कारबाहीको दायरमा ल्याउने, मृतकका परिवारलाई उचित राहतको लागि पहल गर्ने सहमति भएको छ।