काठमाडौंको सोल्टीमोडबाट सालकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीले काठमाडौं महानगरपालिका-१३ स्थित सोल्टीमोडबाट एक जनालाई सालकको आखेटोपहारसहित पक्राउ गरेको हो।
धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-३ घर भई तार्केश्वर नगरपालिका-१० नेपालटार बस्ने ४० वर्षीय गोपाल बानियाँलाई प्रहरीले पक्राउ गरेको हो।
उनले सालकलाई १२ लाखमा बेच्न लागेको भन्ने सूचना वृत्तले पाएको थियो। सो सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।
उनीबाट दुई वटा सालकको आखेटोपहार बरामद गरेको छ। त्यस्तै एउटा डिजिटल तराजु एउटा, मोबाइल फोन एउटा बरामद गरेको छ।
उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको वृत्तले जनाएको छ।