धौलागिरी हिमश्रृङ्खला अन्तर्गत मानापाथी हिमालबाट शनिबार बिहानै हिमपहिरो गयो।
बिहान करिब साढे ४ बजेतिर हिमपहिरो जाँदा गाउँमा ठूलो हावाहुरी चल्यो, गाउँलेले हिमपहिरो गएको थाहा पाए।
हिमपहिरोले चौंरी गोठ उडाइदेला भनेर मुस्ताङको थासाङ गाउँपालिका-२ नौरीकोटकी सुशीला गौचनले सोचेकै थिइनन्।
‘गोठमा चौंरी थियो, गोठाला गएको चार दिन भएको थियो,’ उनले भनिन्, ‘हिमपहिरोले चौंरी मार्ला भनेर सोचेकै थिएन।’
नौरीकोट गाउँबाट एक घण्टा बढी उकालो गएपछि आउँछ सुशीलाको चौंरी गोठ भएको ठाउँ छिप्लुङ पुगिन्छ।
संयोगले सुशीलाको चौंरी हेर्न बसेका गोठाला शुक्रबार गाउँतिर झरेछन्। गोठमा चौंरीमात्र थिए। बिहानै आएको हिमपहिरोले गोठमा रहेका २५ वटा चौंरी मारिदिएको उनले बताइन्।
‘हामी त गोठमा गोठाला छन् भनेर ढुक्क थियौं, अघिल्लो दिन नै गोठाला गाउँ झरेर बाँचेछ,’ सुशीलाले भनिन्, ‘हिमपहिरोले मेरो २५ वटा चौंरी मारिदियो।’
उनका अनुसार गोठमा ४० वटा चौंरी थिए। १५ वटा भने हिमपहिरोबाट जोगिएका छन्। मुस्ताङमा एउटै चौंरीको मूल्य एक लाख बढीसम्म पर्ने भन्दै उनले शनिबारको हिमपहिरोले २२ लाख बराबरको क्षति पुगेको बताइन्।
सुशीलाको अरू पेसा व्यवसाय छैन। चौंरीपालन नै मुख्य आम्दानीको स्रोत भएको सुशीलाले बताइन्। चौंरीपालनसहित अरू खेती पनि उनीहरू गर्छन्।
हिमपहिरोले चौंरी पनि मारिदिने र खेतीपातीमा पनि असर गर्न थालेपछि गाउँलेमा चिन्ता थपिएको छ।
‘हिमपहिरोले गरिखान देलाजस्तो छैन,’ सुशीलाले भनिन्, ‘अब के गर्ने हो केही थाहा छैन।’
नौरीकोटका स्थानीय सुजन गौचनका अनुसार शनिबार गएको हिमपहिरो घट्टेखोलामा जमेको छ।
‘आइस र माटो मिसिएको पहिरो जमेको छ, अहिलेसम्म उर्लिएको छैन,’ उनले भने, ‘बर्खाको बेला उर्लिन सक्छ, भन्न सकिँदैन।’
हिमपहिरोले जंगल फडानी समेत गरेको स्थानीयबासीले बताएका छन्।
मानापाथी हिमालबाट घट्टेखोलामा पहिरो झरेको ठाउँसम्म बोटबिरूवा सखाप पारेको स्थानीय ६४ वर्षीय लालबहादुर गौचनले बताए। उनले हिमपहिरो जाने क्रम बढेको अनुभव सुनाए।
उनका अनुसार यसअघि वर्षमा एक पटक वा २/३ वर्षमा एक पटकमात्र हिमपहिरो जाने गरेको थियो।
झण्डै ४० वर्षअघि सोही ठाउँमा हिमपहिरो आफ्नो चौंरी गोठमा क्षति गरेको लालबहादुरले सम्झिए।
‘आज हिमपहिरोले चौंरी मारेको ठाउँमा ४० वर्षअघि हाम्रो पनि गोठ थियो,’ उनले भने, ‘त्यतिबेला हिमपहिरोले हाम्रो चौंरी खाइदिएको थियो।’
हिमपहिरोको सासले चौंरीदेखि बोटबिरूवा र बालीनालीसमेत उडाइदिएको उनले बताए।
हिमपहिरोका घटना बढेकोमात्र होइन, ठूलो मात्रामा हिमपहिरो झर्न थालेको लालबहादुरको अनुभव छ। गत कात्तिक २८ गते सोही स्थानमा गएको हिमपहिरो उनले जीवनमै ठूलो हिमपहिरोका रूपमा लिएका छन्।
त्यतिबेला मानापाथी हिमालबाट हिमपहिरो जाँदा ११ जना घाइते भएका थिए भने २४ वटा चौंरी हराएका थिए।
कात्तिक अन्तिममा गएको ठाउँबाट शनिबार हिउँपहिरो झरेको लालबहादुरले बताए।
स्थानीयबासीले हिमपहिरोका घटना सामान्य भए पनि एकै वर्षमा पटक/पटक नोक्सान पुग्ने गरी हिमपहिरो जाने गरेको र हिमपहिरोको आकार ठूलो हुँदै गएको बताएका छन्।
‘जीवनमै यति ठूलो हिमपहिरो देखेको थिइनँ,’ लालबहादुरले गत कात्तिकको हिमपहिरो सम्झिँदै भने, ‘त्यति ठूलो हिमपहिरो गएको ठाउँबाट वर्ष दिन नहुँदै आज फेरि गयो, यसअघि यस्तो देखेको थिइनँ।’
त्यतिबेला हिमपहिरो जाँदा गाउँमा भागदौड मच्चिएको थियो भने हिमपहिरोसँगै आएको पानी र माटो मिसिएको हावाहुरीले गाउँका केहीघरका छाना समेत भत्काइदिएको लालबहादुरले बताए।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अनुसार २०५४ सालमा पनि उक्त स्थानमा ठूलो हिमपहिरो गएको थियो। त्यतिबेला १ जनाले ज्यान गुमाएका थिए भने ५४ वटा चौंरी मरेका थिए। हिमपहिरोले पुर्याएको क्षतिका विषयमा एक्यापले विवरण संकलन गर्ने एक्याप मुस्ताङका प्रमुख ऋषि बरालले बताए।
हिमपहिरोका विषयमा अनुसन्धान भने हुन नसकेको उनको भनाइ छ।
हिमनदी विज्ञ राकेश कायस्थले पछिल्लो हिमपात पहिरोका रूपमा झरेको हुन सक्ने अनुमान लगाएका छन्।
हिमपहिरोको प्रकृतिका विषयमा स्थलगत अध्यन आवश्यक रहने भन्दै उनले कति पुरानो हिउँ पहिरोमा झरेको यसै भन्न नसकिने बताए।
‘जाडोयाम सकिएर विस्तारै तापक्रम पनि बढ्दै गएको छ, यही कारण पहिरो गएको हुन सक्छ,’ उनले भने, ‘यसपालि बढी हिउँ परेकाले पहिरो गएको पनि हुन सक्छ।’