राति नै रूसले आक्रमण गरिसकेको थियो। युक्रेनका मिलिटरी बेसका राडार ध्वस्त भैसकेका थिए। फागुन १२ गते बिहान उज्यालो नहुँदै युक्रेनमा कोकोहोलो मच्चिसकेको थियो। त्यही कोकोहोलोमा फसेका थिए डाक्टर पवन तिवारी।
युक्रेनमा 'एमएस जनरल सर्जरी' पढ्न पुगेका पवनलाई रूसले आक्रमण गर्ने छनक थियो। अन्तर्राष्ट्रिय मिडियामा रूसले युक्रेनमाथि हमला गर्ने समाचार आइरहेकै थिए। पवनलाई पनि विश्वविद्याललये मिलिटरी बेसमा स्थापना गरिएका अस्पतालमा बेलाबेला सर्जरी गर्न खटाएको थियो। मिलिटरी बेसमा पुग्दा पवनलाई आक्रमण भए असुरक्षित भइन्छ भन्ने लागकै थियो।
त्यसैले आक्रमण हुनुअघि नै युक्रेनको चेर्नोभिस्टीस्थित बुकोभेनियन स्टेट मेडिकल युनिभर्सिटीसँग उनले नेपाल फर्किने अनुमति मागेका थिए। विश्वविद्यालले नेपालमा फर्किएपछि 'प्राक्टिस' गर्न पाउने सुनिश्चितता खोज्यो। पवनले नेपाल मेडिकल काउन्सिललाई इमेल लेखे। इमेलको जवाफ आएन। जवाफ पर्खिएर बसिरहेकै बेला रूसले युक्रेनमाथि हमला गर्यो।
बिहानै मिसाइल र बन्दुकको आवाज आएपछि चेर्नोभिष्टीमा भागदौड मच्चिसकेको थियो। मानिसहरू बजारमा भेटेजति सामान किनिरहेका थिए। बैंकका एटिएमबाट पैसा निकाल्नेको लाइन थियो। पवन र उनका साथीले पनि बैंकबाट पैसा निकाल्न खोजे तर सफल भएनन्। बजारमा बल्लतल्ल एउटा पसलबाट सामानसम्म किन्न भ्याए।
रूसी आक्रमणलगत्तै युक्रेनले मार्सल कानून लागू गरेको थियो। १८ देखि ६० वर्षका नागरिकलाई देश छाड्न प्रतिबन्ध लगाइएको थियो। सामान्य नागरिकलाई नै सेनाले हतियार उपलब्ध गराइरहेको थियो। एक अर्कालाई देख्दा नै शंका गर्ने वातावरण युक्रेनमा थियो। पवन र उनका साथीहरूले पनि त्यस्तै अवस्थाको सामना गर्नुपर्यो। खानेकुरा किन्न बाहिर निस्किएका बेला एक युक्रेनियन नागरिकले उनलाई चक्कु देखाए।
'म उभिराखेको थिएँ। दुई जना आए। एक जनाले चक्कु देखायो। तँ अपराधी होस्, छुरा हान्दिछु भन्यो। उसले मलाई कागजात देखाउन भन्यो', पवनले भने, 'मेरा साथीहरू सामान किन्न सपिङ मलमा छिरेका थिए। म एक्लै चौरमा थिएँ। उसले भनेपछि मैले टाढैबाट कागजात देखाएँ। उसलाई कागजात दिएको भए लगेर जान सक्थ्यो भन्ने डर मलाई थियो। सँगै आएको उसको साथीले प्रहरीलाई खबर गरिसकेको थियो। एकैछिनमा प्रहरी, एम्बुलेन्स र आगलागी नियन्त्रण गर्ने गाडी आइपुगे।'
त्यसपछि प्रहरीले घेरा हाल्यो। पवन र उनका दुई साथीलाई प्रहरीले सोधपुछ गर्यो।
'त्यो मान्छेले चक्कु देखाउँदा त अगाडि जाने कि पछाडि जाने भयो। मलाई त म अब बाँच्दिनँ होला भन्ने लाग्यो', पवनले भने, 'प्रहरीले हाम्रो मोबाइल खोसेर कुनै रूसी एप छ कि छैन भनेर हेरे। रूसको कुनै कन्ट्याक्ट छ कि छैन भनेर जाँच गरे।'
रूससँगको कुनै साइनो नभेटिएपछि प्रहरीले उनीहरूलाई छाडिदिए। युद्धमा रहेको देशमा सबैतिरको शंकामा बाँच्न गाह्रो हुन थालेपछि पवन नेपाल फर्किने उपाय खोजिरहेका थिए। भारत र अन्य देशले आफ्ना विद्यार्थीलाई गाडीमा देशको झन्डा राखेर सीमासम्म पुर्याइरहेका थिए। पवन नेपालमा भएको परिवार सम्झिरहन्थे।
युद्ध सुरू भएको दुई-तीन दिनपछि मात्र नेपाल मेडिकल काउन्सिलले पवनको इमेलको जवाफ दियो। प्राक्टिस गर्ने विषयमा होइन कति मेडिकल पढ्ने विद्यार्थी छन् युक्रेनमा भन्दै सोधखोजका लागि।
'हामीले म (डाक्टर पवन तिवारी) र डाक्टर गणेश बिष्ट छौं भनेर जवाफ दियौँ', पवनले भने, 'उहाँहरूले दूतावासमा सम्पर्क गर्न भन्नुभयो।'
युक्रेनमा नेपालको राजदूतावास छैन। पवनलाई मेडिकल काउन्सिलले जर्मनीको दूतावासमा सम्पर्क गर्न सुझाव दियो। त्यसो त जर्मनीस्थित नेपाली राजदूतावासले नेपालीलाई सम्पर्क आउन सूचना प्रकाशित गरिसकेको थियो।
'हामीलाई चाहिएको कागजात उपलब्ध गराउने भनेर उहाँहरूले भन्नुभयो। अनि नजिकैको बोर्डरमा पुग्न सुझाव दिनुभयो', पवनले भने, 'हामी बसेको ठाउँबाट रोमानियाको बोर्डर ३० किलोमिटरमा रहेछ।'
पवन र गणेश एकसरो कपडा र थोरै खानेकुरा बोकेर बोर्डरका लागि निस्किए। युक्रेनमा शंकाको वातावरण यस्तो थियो कि रोमानियाको बोर्डरमा पुग्न ट्याक्सी चढ्दा समेत केही मान्छेले उनीहरुको फोटो खिचे।
'बोर्डर पुग्न लामो जाम थियो। हामी ट्याक्सीबाट उत्रियौं। बिहान ९ बजेबाट हिँडेर दिउँसो २-३ बजे बोर्डर पुग्यौं', पवनले भने, 'बोर्डर नखुलेकाले ४-५ दिनदेखि मान्छेहरू कुरेर बसिराखेका रहेछन्। इन्डियनहरूले स-सानो समूहमा महिला र बालबालिकालाई सबैभन्दा पहिला उद्धार गर्ने काम गरिराखेका थिए। हाम्रो केही थिएन।'
नेपालको हो भनेपछि कसैले पनि वास्ता नगर्ने अवस्था त्यहाँ थियो।
‘जर्मनीस्थित दूतावासले कागजात बनाइदिए पनि त्यहाँ बोर्डरमा कुनै कागजातको काम थिएन', पवनले भने, 'अफ्रिकनहरूले जान देऊ भनेर हल्ला गरिराखेका थिए। बोर्डर प्रहरीले उनीहरूलाई आज बोर्डरपारि लैजान्छु भनिराखेको थियो। हामी पनि इण्डियन र एसियन छाडेर अफ्रिकनको भीडमा छिर्यौं। चार दिनदेखि यहाँ बसेको भनेर हल्ला गर्यौं। त्यसपछि कागजात चेक गरेर बोर्डर क्रस गर्यौं।'
रोमानियामा भने उनीहरूलाई खासै समस्या भएन। त्यहाँ स्वयंसेवकले उनीहरूलाई खाने बस्ने व्यवस्था मिलाएका थिए। उनीहरूलाई शरणार्थी शिविरमा बस्न स्वयंसेवकले भनिराखेका थिए। तर पवन र गणेशले नेपाल जाने बताएपछि स्वयंसेवकले एयपोर्टसम्म ल्याइदिए। तर जहाज पाएनन्। फेरि स्वयंसेवकले नै पैसा दिएर उनीलाई अर्को एयरपोर्टसम्म पुग्ने व्यवस्था मिलाइदिए।
'हामीसँग भएको पैसाले हामीले फ्लाइ दुबईको टिकट किन्यौं', पवनले भने, 'तर त्यहाँको एयरपोर्टले हामीलाई नेपालको नियम अनुसार पिसिआर नेगेटिभ भएको रिपोर्ट माग्यो।'
पवन र गणेश फसादमा परे।
'हामीले त्यो नियम हाम्रा लागि हटाइदेऊ र नेपाल छिर्न दिन्छौं भनेर पत्र लेखिदिन भनेर दूतावासलाई भन्यौँ। दुतावासले राम्रो रेस्पोन्स गरेन', पवनले भने, 'त्यसपछि हामीले एउटा अस्पतालमा गएर पिसिआर गर्यौं। रिपोर्ट आयो। रिपोर्ट आएपछि जहाज चढ्न पाइयो।'
पवन र गणेश एक साता अघि मात्र नेपाल आइपुगेका छन्।
हेर्नुहोस् भिडिओ-