सुर्खेतको बराहताल गाउँपालिका-२ रानीघाटकी पूर्णकली विकको अहिलेको दैनिकी सहज छैन।
दिनभर भेरीको पानीमा आधा डुबेर उनी बालुवा निकाल्छिन्। पानीमा डुबेर निकालेको बालुवा बेचेपछि उनको परिवारको खर्च टर्छ।
‘परिवारको छाक टार्न कमाइ हुनुपर्यो, कमाउनका लागि काम त नगरी भएन,’ पूर्णकलीले भनिन्, ‘घरखर्च चलाउने नै बालुवा भएपछि पानीमा जान्नँ भनेर कहाँ भयो त, मेसिनले निकाल्न लागेपछि किनारमा बालुवा छँदै छैन नि।’
पूर्णकलीको रानीघाटमा रहेको जग्गामध्ये आधा जग्गा २०७१ सालको बाढीले बगाइदिएको छ। अहिले बाँकी भएको जमिनको उब्जनीले केही महिना मात्र खर्च धानिन्छ।
रानीघाटलगायत यो क्षेत्रका भेरी नदी आसपासका केही गाउँका महिलाहरूको आम्दानीको मुख्य स्रोत नदीको बालुवा हो। नदी किनारबाट बालुवा निकालेर बिक्री गर्ने गरेका उनीहरू ३ वर्षयता नदीमै पसेर बालुवा निकाल्ने बाध्यतामा पुगेका छन्।
ठेक्का लिएर व्यवसायीहरूले मेसिनबाट बालुवा उत्खनन् गर्न थालेपछि बालुवा निकालेरै घरखर्च चलाउने स्थानीयहरूलाई नदीमा जानुपर्ने बाध्यता सिर्जना भएको हो।
‘मेसिनले नलिए त हामीलाई राम्रै हुन्थ्यो नि, पानीमा डुबेर निकाल्नै पर्थेन। किनारमै बालुवा हुन्थ्यो,’ पूर्णकलीले भनिन्, ‘ठेकेदारले एक साइडबाट हामीजस्ता गरिबका लागि छोडिदिए त हाम्रो जीविका चलाउन सजिलो हुन्थ्यो नि।’
बालुवा निकाल्न बिहानदेखि बेलुकासम्म पानीमा रुझ्दा बिरामीसमेत पर्ने गरेको उनले बताइन्। कहिलेकाहीँ बिरामी हुँदा बालुवाबाट भएको कमाइ औषधि गर्न सकिने गरेको उनले बताइन्।
गाउँका महिलाहरू भेरी नदी घट्न सुरू भएदेखि नै पानीमा पसेर बालुवा निकाल्छन्। उनीहरूका लागि कात्तिकदेखि असारसम्मको समय बालुवा निकाल्ने मुख्य सिजन हो।
बराहताल-२ माझगाउँकी ललिसरा विकलाई अहिले पानीमा रुझेको नतिजा उमेर ढल्किएपछि देखिएला भन्ने चिन्ता छ।
‘अहिले त शरीरमा अलिअलि रगत भएर होला बिरामी परिएको छैन, अहिले दिनभर नदीमा पसेको नतिजा पछि बुढेसकाल लाग्दै गर्दा पो देखिने हो कि,’ उनले भनिन्, ‘यसरी दिनभर चिसोमा पस्नु भन्दा त पाखैमा रोजगारी गर्न मन थियो, तर उपाय नै छैन।’
नदीमा पसेर बालुवा निकाल्न टायरमा प्रयोग हुने ट्युब प्रमुख माध्यमका रूपमा छ। हावा भरिएको ट्युबमाथि टिन राखेर नदीको आफू नडुब्ने भागसम्म पुगेर बालुवा निकालेर किनारमा ल्याइन्छ।
पानीमा डुबेर दुई जनाले निकालेको बालुवा डेढ दिनमा एक ट्याक्टर पुग्छ। छिमेकका एक/एक जना महिला मिलेर बालुवा निकाल्छन्। एक ट्याक्टर बालुवा बढीमा १ हजार ५ सय रुपैयाँ ट्याक्टरवालाले दिएर लैजान्छन्।
कात्तिकदेखि यता बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म नदीमा पसेर बालुवा निकाल्ने गरिएको माझगाउँकै विस्ना विकले बताइन्।
‘यसरी बालुवा निकाल्यो भने डेढ दिनमा एक ट्याक्टर हुन्छ, कहिलेकाहीँ त १२ सय रुपैयाँमा बिक्री गरेर दुई जनाले बाँड्नुपर्छ,’ उनले भनिन्, ‘पुस-माघमा त बेलुकापख कठ्याङ्ग्रिँदै घर जानुपर्छ।’
वीरेन्द्रनगर-२ फलाँटेका महिलाहरुको पेशा पनि यही हो। असारदेखि कात्तिकसम्म रोजगारीको विकल्प नभएको फलाँटेकी रीता कुँवरले बताइन्।
‘घरमा थोरै बाख्रा छन्, त्यो सहायक आम्दानी हो,’ उनले भनिन्, ‘नदीमा आएर बालुवा निकाल्ने त हाम्रो पेशा नै भइहाल्यो।’
मेसिनले नदीबाट बालुवा निकाल्न थालेपछि नै आफूले निकाल्ने बालुवाको बिक्रीदर घटेको फलाँटेकी देवीसरा विकले बताइन्।
मेसिन नदीमा पसेको देखेर सबै गाउँले आत्तिएर एकैपटक बालुवा निकाल्न थालेपछि मूल्य घटेको उनले बताइन्।
‘हामीले अलिकति भए पनि गाउँलेका लागि ठाउँ छोड्दिनुस् भनेर ठेकेदारलाई आग्रह गरेकै हो, उहाँहरूले मान्नुभएन,’ देवीसराले भनिन्, ‘पहिले त एक ट्याक्टर बालुवाको २५ सय रुपैयाँ दिन्थे, मेसिनले निकाल्न थालेपछि गाउँका धेरैले आत्तिएर बालुवा निकालेर थुपार्न थाले। प्रतिस्पर्धा भएर त्यतिबेला घटेको रेट अहिले जस्ताको तस्तै छ।’
मेसिनले नदी उत्खनन् गर्न थालेपछि गाउँलेका दु:ख बढेको उनले बताइन्।
यो पेशा गर्ने महिलाहरूलाई पछिल्लो समय आम्दानीभन्दा दु:ख धेरै हुने गरेको देवीसराले बताइन्।