१६ वर्षअघि धरानबाट मजदुरी गर्न पोखरा आएका थिए, २० वर्षीय रोजन राई।
उनले पोखराको सातमुहानेस्थित खुदी खोलामा ग्याबिनको तारमा ढुङ्गा भर्ने काम गर्थे। २०६३ वैशाख २९ गते राई साथीहरूसँग बसेर मदिरा सेवन गरे। मदिराको नशामा उनीहरूको आवाज ठूलो भयो, होहल्ला सुनिन थाल्यो।
स्थानीय अशोक गुरूङले होहल्ला गरेको भन्दै मजदुरलाई कुटपिट गर्न थाले। मदिरामा लठ्ठिएका मजदुर भाग्न थाले। गुरूङको कुटपिटबाट गम्भिर घाइते भएका राईको उपचारका क्रममा मृत्यु भयो। त्यसपछि गुरूङ फरार भए।
राईको मृत्युको कारण टाउकोमा लागेको चोट रहेको चिकित्सकले पोष्टमार्टम रिपोर्टमा लेखेको थियो। फरार गुरूङ उक्त घटना पश्चात काठमाडौंमा ३ महिना लुके।
‘काठमाडौंमा फरक/फरक होटलमा बसेको देखियो, एउटा होटलमा बढीमा ७ दिन मात्र बसेछन्,’ घटनाको १६ वर्षपछि अभियुक्त सार्वजनिक गर्दै कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले भने, ‘नजिकका मान्छेसँग मात्र फोनमा सम्पर्क गर्दा रहेछन्।’
त्यतिबेला हत्या अभियुक्त गुरूङलाई प्रहरीले पक्रन सकेन। प्रहरीको आँखा छल्दै १६ वर्ष देश विदेश पुगे।
प्रहरीका अनुसार गुरूङ त्यतिबेला मध्यरातमा पोखरा पनि आउजाउ गरेका रहेछन्। पोखरा आएर उनले १० हजार रुपैयाँ लिएर भारत गए। भारतबाटै कुवेत पुगे।
कुवेतमा २ वर्ष काम गरेर फेरि नेपाल फर्किए गुरूङ। उनलाई त्यतिबेला पनि प्रहरीले पक्राउ गर्न सकेन। हत्या अभियोग लागेका गुरूङको फाइल कास्की प्रहरीमा त्यत्तिकै थन्कियो।
‘कुवेतबाट फर्केर अभियुक्त काठमाडौंमै धेरै बस्दा रहेछन्,’ कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले भने, ‘त्यसपछि उनी बहराइन पुगे, जहाँ अभियुक्तले आफूलाई सुरक्षित ठाने।’
२०६५ सालमा बहराइन पुगेपछि गुरूङ नेपाल फर्केनन्। प्रहरीले पनि उनको खोजतलास गर्न छाडिदियो। पीडित परिवार न्याय खोज्न आएनन्।
कास्की प्रहरी प्रमुख रमेश थापाले उक्त घटनाका फेरि अनुसन्धान अघि बढाउन निर्देशन दिए।
प्रहरीले घटनाका प्रत्यक्षदर्शीसँग फेरि बयान लिन थाल्यो। अनुसन्धानका क्रममा कटुसको दाउराले राईलाई प्रहार गरेको र छुट्याउन खोज्दासमेत गुरूङले नछाडेको एक जना प्रत्यक्षदर्शीले बयान दिए।
मादक पदार्थ सेवन गरेका गुरूङले राईलाई सुरूआतमा थप्पड हाने।
'तँ को होस्' भन्दै थप कुटपिट गर्न थालेपछि राई भागे। प्रत्यक्षदर्शीका बयान अनुसार गुरूङले भागिरहेका राईलाई लघारी लघारी दाउरा प्रहार गरेका थिए।
डिएसपी तिवारीका अनुसार त्यसपछि राईको टाउको गम्भीर चोट लाग्यो। उपचारका क्रममा मृत्यु हुन पुग्यो।
घटनाका अभियुक्त अशोक गुरूङ रहेको र उनी बहराइनमा रहेको थाहा लागेपछि उनलाई पक्रिन प्रहरीले कास्की जिल्ला अदालतबाट गत असोज ७ गते अनुमति लियो।
नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) को माध्यमबाट गुरूङलाई पक्रिन इन्टरपोलको सहयोगमा ‘रेड नोटिस’ जारी भयो। मंसिर २८ गते रेड नोटिस जारी भएको साता नपुग्दै बहराइन प्रहरीले पुस १ गते गुरूङलाई पक्राउ गर्यो।
अन्तरदेशीय कूटनीतिक प्रक्रिया पूरा गरेर गुरूङलाई नेपाल ल्याउँदा केही ढिलाइ भएको एसपी थापाले बताए।
‘पीडितको पक्षमा राज्यले काम गर्छ, अभियुक्त जहाँ पुगे पनि कानुनको कठघरा बाहिर जान सक्दैन,’ थापाले भने, ‘अपराधमा संलग्नले सजाय पाउँछ।’
प्रहरीले घटनाका अभियुक्तलाई बहराइनबाट पोखरा ल्याएर कारबाही अघि बढाएको छ।
घटनाको अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालतले ७ दिनको म्याद दिएको छ। उनलाई मुलुकी ऐनको दफा १३ र अपराध संहिताको दफा १७७ अनुसार सजाय मागदाबी गरेर अदालतमा पेस गर्ने तयारी प्रहरीले गरेको छ।
घटनाको १६ वर्षपछि प्रहरीले बहराइनबाट अभियुक्त पक्राउ गर्न सफल भए पनि पीडित परिवार भने अहिलेसम्म भेटिएका छैनन्।
घटनाको मुचुल्काका आधारमा मृतक राईको ठेगाना पत्ता लागे पनि पीडित परिवार फेला नपरेको कास्की प्रहरी प्रमुख एसपी थापाले बताए।
‘हामीले पीडित परिवारको खोजी गरिरहेका छौं,’ उनले भने, ‘सम्बन्धित जिल्लाका प्रहरीसँग समन्वय गरेर मृतकका आफन्तको खोजी गरिरहेका छौं।’