काठमाडौं ज्याठास्थित गुणाकर महाविहार (छुस्याबहा:) को सार्वजनिक जग्गामा वडा नम्बर २७ ले आफ्नो भवन निर्माण गर्न लागेकोबारे विवाद उत्पन्न भएको छ।
महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, वडाध्यक्ष चिनियामान बज्राचार्य लगायतले गत माघ २३ मा भवन शिलान्यास गरेका थिए। महानगरले वडा कार्यालय भवन बनाउन सार्वजनिक जग्गा अतिक्रमण गर्न लागेको भन्दै स्थानीय र सम्पदा संरक्षण अभियन्ताहरूले विरोध गरेका छन्।
यो स्टोरीमा हामी महानगरले अतिक्रमण गर्न खोजेको गुणाकर महाविहारसँग सम्बन्धित उक्त जग्गाबारे चर्चा गर्दैछौं।
यो कथा खोज्न अन्त कतै जानुपर्दैन।
गुणाकर महाविहार परिसरभित्र मूल मन्दिरको ठ्याक्कै अगाडि दाहिने दिशामा ३५३ वर्ष अगाडिको शिलापत्र छ जसले उक्त जग्गा कुन प्रयोजनका लागि कहिले छुट्टयाइएको थियो भन्ने विस्तृत वर्णन गर्छ।
नेपाल सम्बत् ७८८ अर्थात् बिक्रम सम्बत् १७२५ को उक्त शिलापत्रलाई पुरातत्व विभागको अभिलेख शाखामा लामो समय काम गरेका सिद्धिरत्न शाक्यले पढेर व्याख्या गरिदिए।
उनका अनुसार शिलापत्रमा लेखिएको छ, 'ध्वखा (ढोका) बहालका गुणज्योति बज्राचार्यले यहाँ महाविहार बनाएपछि लोकहितका लागि विहार अगाडि सबैले देख्ने गरी पाटी बनाए। सँगै लाछी (खुला सार्वजनिक जग्गा) पनि संकल्प गरेर राखे। कसैले यो पाटी वा विहार भत्कायो वा काठको टुक्रा पनि लिएर गयो भने पञ्च महापाप लाग्छ। संरक्षण वा हेरचाह गर्नेलाई हजारवटा विहार बनाएको र कोटीयज्ञ गरेको फल प्राप्त हुन्छ।'
शिलापत्रमा उल्लिखित यो वर्णनबाट तीनवटा कुरा प्रस्टै बुझिन्छ।
पहिलो, गुणज्योति बज्राचार्य भन्ने व्यक्तिले ज्याठाको यो महाविहार बनाएका थिए। उनकै नामबाट यसलाई गुणाकर महाविहार भनिएको हो।
दोस्रो, उनले यहाँ महाविहार मात्र बनाएनन्, सर्वसाधारणको हितका लागि विहार अगाडि एउटा पाटी पनि निर्माण गराए। हराहर लोकेश्वर पनि स्थापना गरे।
तेस्रो, उनले पाटीसँगै जोडिएको करिब चार आना क्षेत्रफलको जग्गा सार्वजनिक प्रयोग निम्ति खुला छाडे।
यो त भयो साढे तीन सय वर्षअघिको कुरा। आजको अवस्था के छ त?
अहिले तपाईंहरू ज्याठाको गुणाकर महाविहार जानुभयो भने शिलापत्रमा लेखिएको विवरण हुबहु देख्नुहुन्न। महाविहार त जस्ताको तस्तै छँदैछ, तर त्यो महाविहारअगाडि पाटी छैन।
पहिले पाटी भएको प्रमाणका रूपमा चारवटा कलात्मक ढुंगााको अवशेष (इ ल्वँ) देख्न सकिन्छ। ती पनि गाडीको ठक्कर र संरक्षण अभावमा खिइँदै गएका छन्। धन्न पाटीको जग्गा बचेको छ। कसैले अतिक्रमण गरिसकेको छैन। पाटीको संरचना कस्तो थियो भन्ने चाहिँ कसैलाई सम्झनासम्म छैन।
अब रह्यो लाछी अर्थात् सार्वजनिक जग्गाको कुरा। त्यो चाहिँ छ कि छैन त?
तपाईं एकचोटि फुर्सत निकालेर त्यो ठाउँ आफ्नै आँखाले हेर्न जानुभयो भने त्यहाँ पाटीको अवशेषसँगै लाछी हुनुपर्ने जग्गा खाली नै देखिन्छ। यो जग्गालाई स्थानीयहरू 'बहीलाछी' भन्छन्। केही अघिसम्म यहाँ स्थानीय क्लबको सानो घर थियो। अहिले त्यही घर भत्काएर वडा कार्यालयले पाँचतले भवन ठड्याउँदैछ। यो जग्गा सार्वजनिक होइन र यसको लालपुर्जा स्थानीय क्लबकै नाममा छ भन्ने वडा कार्यालयको दाबी छ।
लालपुर्जा छ कि छैन वा भए पनि त्यो जग्गाको स्वामित्व कसरी स्थानीय क्लबको हातमा गयो भन्ने कुरा छुट्टै खोजीको विषय हो। तर लालपुर्जा वा अन्य कानुनी कागज देखाएकै भरमा ज्याठाको यो चार आना जग्गा सार्वजनिक होइन भनेर कसैले दाबी गर्न सक्दैन। किनभने, वडा कार्यालयले देखाउने जुनसुकै कानुनी कागजभन्दा ठूलो प्रमाण भनेको गुणाकर महाविहारभित्र रहेको साढे तीन सय वर्ष पुरानो शिलालेख हो जसले उक्त जग्गा गुणज्योति बज्राचार्यले सार्वजनिक प्रयोग निम्ति छुट्टयाएका हुन् भन्ने प्रस्टै बुझाउँछ।
यसरी कुनै दानी, उपकारी व्यक्तिले साढे तीन सय वर्षअघि सार्वजनिक हित निम्ति छुट्टयाएर गएको जग्गा कुनै पनि अन्य काममा प्रयोग गर्न हुँदैन भन्ने कुरा घामजत्तिकै छर्लंग छ। यसमा धेरै माथापच्ची गर्नैपर्दैन।
कानुनी आँखाले हेर्दा पनि बहीलाछीको जग्गामा वडा कार्यालय भवन त के, स्थानीय क्लब त के, सानो चिया पसलधरि खुल्नु हुँदैन। गुणज्योति बज्राचार्यले केटाकेटी खेल्न, मान्छेलाई आराम गर्न संकल्प गरेको यो जग्गा त्यही कामका लागि मात्र प्रयोग हुनुपर्छ।
'गुणाकर महाविहारको नाममा पाटी र जग्गा संकल्प गरेर राखेको भनेर शिलापत्रमा प्रस्ट लेखिएकाले यो कुनै वादविवाद गरिरहनुपर्ने विषय होइन,' शाक्यले भने।
महानगर वा वडा कार्यालयको काम सार्वजनिक जग्गा जोगाउने हो, त्यसमा आफ्नो भवन ठड्याउने होइन। वडा कार्यालयले आफ्नो भवन बनाउन अरू ठाउँमा जग्गा खोज्न सक्छ, किन्न सक्छ। तर कसैले दान गरेको जग्गा आफ्नो काममा प्रयोग गर्नु नैतिक वा कानुनी रूपले पनि उचित नहुने सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधर बताउँछन्।
वडाले बनाउने भनेको घरको डिजाइन हेर्दा त्यो उसको कार्यालयभन्दा व्यावसायिक भवनजस्तो देखिन्छ।
भवनका पाँच तलामध्ये दुई तलामा वडा कार्यालय रहनेछ भने बाँकी तीन तला पसल, सभाहल र ज्याठा सामुदायिक क्लबलाई दिइनेछ। महानगरपालिकाले जग्गामा ठड्याएको बोर्डमा उल्लिखित सूचनाअनुसार यो भवनको लागत २ करोड ८० लाख ८१ हजार रूपैयाँ छ। यसको निर्माण ठेक्का प्रतिष्ठा–रमिता–अम्बुजा जेभीले पाएको छ।
सम्पदा क्षेत्रमा यति ठूलो भवन बनाउने योजनाले सार्वजनिक जग्गा मात्र अतिक्रमण गर्दैन, काठमाडौंबाट हराउँदै गएको लाछीको इतिहास पनि नामेट पार्नेछ।
अब हामी 'लाछी' के हो र काठमाडौं सभ्यतामा यसको महत्वबारे चर्चा गरौं।
'अ क्लासिकल नेवारी डिक्सनरी' अनुसार लाछी शब्द लाछबाट आएको हो। यसले त्यस्तो खुला ठाउँ बुझाउँछ जहाँ विभिन्न किसिमका सामुदायिक गतिविधि हुन्छन्।
सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार यो शब्द मल्लकालमा उत्पत्ति भएको हो।
मूल सडक किनार वा व्यस्त बसोबास क्षेत्रको बीचमा कसैले सार्वजनिक प्रयोजनका लागि छुट्टयाएको जग्गालाई लाछी भनिन्छ, उनले भने, 'सामान्यतया प्रशस्त घाम लाग्ने खुला ठाउँमा लाछी बनाइन्छ। त्यही भएर यहाँ नवजात शिशुलाई तेल लगाइन्छ, बाली सुकाइन्छ। सामुदायिक कार्यक्रम र भोजका लागि पनि यस्ता खुला ठाउँ प्रयोग हुन्छन्।'
सम्पदा अभियन्ता तुलाधर पनि काठमाडौं उपत्यकाका सार्वजनिक जग्गामा यस्ता लाछीको निकै महत्व रहेको बताउँछन्।
'मैले बहीलाछीमा प्रजापति समुदायअन्तर्गतका कुमालहरूले माटाका भाँडा बनाएर सुकाएको देखेको छु,' उनले भने, 'प्राकृतिक प्रकोप बेला पनि लाछी निकै महत्वपूर्ण हुन्छ। विभिन्न जात्रापर्वमा भगवानलाई फल्चा (पाटी) मा राखेर मान्छेहरू लाछीमा आराम गर्छन्।'
नेपाल भाषामा एउटा गीत पनि छ:
'वा माया वा वा जिमिथाय् लाछी इ वा
जीवन खुशीचाय् चाचाहिले वा...'
यो गीतमा साथीहरूलाई सुला कासा (खेल), घः कासा, पिचा कासा लगायत खेल खेल्न बोलाइएको छ। यसले लाछीजस्तो सार्वजनिक ठाउँको महत्व देखाउँछ।
केही दिनअघि हामीले लाछीको महत्व विस्तृतमा बुझ्न तुलाधरसँग काठमाडौं वरिपरिका लाछीहरू खोज्दै घुमेका थियौं। त्यस क्रममा पहिलो लाछी पुग्यौं – तँलाछी।
तँलाछी ज्याठाबाट असनतिर निस्कने बाटोमा छ। यहाँको लाछी अहिले बाइक र सवारी साधन पार्किङ गर्ने ठाउँ बनेको छ तर कुनै संरचनाले अतिक्रमण गरेको छैन। सँगै फल्चा पनि छ जहाँ मान्छेहरू आराम गरिरहेका देखिन्छन्।
फल्चामा ढोका बनाएर २०७४ सालयता तँलाछी टोल सुधार समाज सञ्चालन हुँदै आएको छ। नजिकै हामीले फलामले बनेको वीरधाराको अवशेष पनि देख्यौं। राणा प्रधानमन्त्री वीरशमशेरले काठमाडौंका बासिन्दालाई खानेपानी खुवाउन ठाउँठाउँमा यस्ता फलामे धारा बनाएका थिए।
तँलाछी नजिकै ध्वाखाबहाः छ जसलाई तँबहाः अर्थात् ठूलो बहाल भनिन्छ। यही बहालबाट उक्त लाछीको नाम तँलाछी भएको हुनसक्ने तुलाधर अनुमान गर्छन्।
गुणाकर महाविहार (छुस्याबहा:) बनाउने गुणज्योति बज्राचार्यको घर यही ध्वाखाबहा:मा थियो। त्यसैले छुस्याबहा:लाई ध्वाखाबहाःअन्तर्गतको शाखा पनि मानिन्छ। ध्वाखाबहाःको एउटा कुनामा लिच्छविकालीन चैत्यहरू छन् जुन निकै विशेष र महत्वपूर्ण भएको तुलाधर बताउँछन्। यसले यो ठाउँको बसोबास लिच्छविकालीन रहेको प्रमाण दिन्छ।
त्यहाँबाट हामी कुसुमबियालाछीतिर बढ्यौं।
कुसुमबियालाछीमा फल्चा र लाछी सँगैसँगै छैनन्। बीचमा सवारी साधन गुड्ने बाटो छ। यहाँको लाछी यसअघि हामीले हेरेका बहीलाछी र तँलाछीभन्दा ठूलो क्षेत्रफलको छ। लाछीको बीचमा बौद्ध स्तुप र एउटा ठूलो रूख छ। यसले लाछी अलि साँघुरो देखिन्छ। तर यो ठाउँले स्थानीय र आउजाउ गर्नेहरूलाई आराम गर्ने खुला ठाउँ दिएको छ। यहाँ केही पसल पनि खुलेका छन्।
कुसुमबियालाछीबाट हामी जमल नजिकैको कमलाछी पुग्यौं।
कमलाछीको पुरानो नाम कर्मीलाछी हो। कर्मीको अर्थ कामदार भन्ने बुझिन्छ। विभिन्न खालका कालिगढहरूको थलोका आधारमा यो ठाउँलाई कर्मीलाछी भनिएको हुनसक्छ।
नामै कमलाछी भएपछि यहाँ लाछी नहुने त सवालै आउँदैन। तर यहाँको लाछी हामीले सजिलै फेला पारेनौं। लाछी भेट्नुअघि हाम्रो नजर सडक किनारमा रहेको एउटा सानो मन्दिरमा गयो। मन्दिरका दुईतिर बुद्धका मूर्ति र बीचमा शिलापत्र थियो।
बिक्रम सम्बत् १८८७ को उक्त शिलापत्रमा त्यहाँ नजिकै हिति (ढुंगेधारा) र फल्चा (पाटी) भएको उल्लेख छ। उक्त हिति शिलापत्र भएको ठाउँबाट करिब ५० मिटर पर छ जसलाई अहिले पुरेर फुटबल क्लब बनाइएको छ। फल्चा बाँकी नै छ। कमलाछीको लाछी भएको ठाउँ भने नाय् टोलमा हो। यसलाई स्थानीय भाषामा क्वनाय् त्वाः भनिन्छ।
यति मात्र होइन, असनको दक्षिणतिर वलाछी छ। तुलाधरसँगको करिब दुई घन्टा यात्रामा हामीले काठमाडौंका पाँचवटा लाछी भेट्यौं। तीबाहेक अरू कति लाछी अतिक्रमणमा परेर हराइसके भने बाँकी लाछी पनि मान्छेले यसको महत्व नबुझ्दा र अतिक्रमणका कारण हराउने क्रममा छन्।
त्यसरी नै महानगरबाट अतिक्रमण भएर नामेट हुने संघारमा आइपुगेको लाछी उही गुणाकर महाविहार अगाडिको बहीलाछी हो।
हामीले यो भ्रमणबाट के बुझ्यौं भने, लाछी भनेको सडक नजिकैको खुला ठाउँ हो जहाँ सामुदायिक गतिविधि हुन्छन्। त्यहाँ सामुदायिक छलफल र क्रियाकलाप गर्न फल्चा पनि सँगै हुन्छ। अहिले सडक विस्तार र आधुनिकीकरणका कारण फल्चा र लाछी मासिँदै गएका छन्।
लाछीको यो संक्षिप्त भ्रमण वृत्तान्तपछि अब म तपाईंहरूलाई गुणाकर महाविहारमा भएको अर्को घटना सुनाउँछु जसले यो ठाउँ कसरी सडक बिस्तारको चपेटामा परेको थियो भन्ने बुझाउँछ।
त्यसअघि यो कस्तो विहार हो भन्ने बुझौं।
बहालमा भएको एउटा अर्को शिलापत्रअनुसार यो नेपाल सम्बत ७६९ अर्थात् बिक्रम सम्बत् १७०६ मा बनेको हो।
'गुणाकर महाविहार – बुद्धिस्ट मोनास्ट्रिज अफ नेपाल' किताबमा जोन लकले लेखेका छन्, 'नेपाल सम्बत् ७८८ (बिक्रम सम्बत् १७२५) मा गुणज्योति बज्राचार्यले बहाःको आधिकारिक उद्धघाटन गरेका थिए। त्यति बेला काठमाडौंका राजा प्रताप मल्ललाई पनि उनले निमन्त्रणा दिएका थिए।'
गुणज्योति ल्हासा व्यापार गर्थे। ल्हासा व्यापारबाट मनग्य धन आर्जन गरेपछि उनले पुण्यप्राप्ति र जनहितका लागि गुणाकर महाविहार र त्यसअगाडि पाटी र लाछी बनाएको बुझिन्छ।
यो महाविहारलाई मध्यकालीन उत्कृष्ट बौद्ध विहारमध्ये एक मानिन्छ। चतुर्भुज मण्डलाकार स्वरूपको यो महाविहार दुईतलाको छ। यहाँको प्रवेशद्वार, तोरण, मूर्तिसहितका टुँडाल, काठका कलात्मक झ्याल र चैत्य लगायतलाई मध्यकालीन वास्तुकला र काष्ठकलाको उत्कृष्ट नमूना मानिन्छ।
जोन लकले किताबमा लेखेका पनि छन्, 'उपत्यकामा संरक्षित बौद्ध विहारमध्ये छुस्याबहा: सबभन्दा उत्कृष्ट नमूना हो।'
अन्य विहार तथा बहीमा जस्तै यहाँ पनि बीचमा मुख्य चोक छ। चोकमा देवदेवीका मूर्ति, मण्डल र चैत्यहरू छन्। यस्ता चोकमा बौद्ध धर्मसम्बन्धी अध्ययन अध्यापन, धार्मिक प्रवचन, पूजाआजा, छलफल र भोज हुन्छन्। यो चोक र यहाँको बहालमा कुनै समय स्कुल पनि सञ्चालन हुने गरेको थियो।
सन् १९७० मा जोन सि. र सुसन एल. हन्टिङटनले खिचेको फोटोमा स्कुले केटाकेटीहरू गुणाकर महाविहारको ढोकाभित्र बरण्डामा पढिरहेका देखिन्छन्। त्यसैगरी, सन् १९७० मै जिसेल हाइभर्टले खिचेको तस्बिरमा ढुंगाले बनेको हात्तीमाथि चढेर साना केटाकेटीले फोटो खिचिरहेको देखिन्छ।
तुलाधरका अनुसार पहिले यो बहालमा बौद्धिक विकास भन्ने सरकारी स्कुल थियो। पछि त्यो यहाँबाट सर्यो।
'पहिला चोक, बहाल लगायत सार्वजनिक ठाउँमा स्कुल सञ्चालन गर्नु सामान्य थियो। न्यानो चाहिँदा चोक, लाछी लगायत सार्वजनिक स्थान र पानी पर्दा बहालभित्र पढाइन्थ्यो,' उनले भने।
महाविहारको चोकमा हामी चारवटा चैत्य देख्न सक्छौं। यहाँको ठूलो चैत्य भने पहिले विहारभित्र थिएन। शिखर शैलीमा बनेको 'रम्यकुटागार' नामक उक्त चैत्य पहिले बाहिर सडकमा थियो जसलाई यज्ञहोम गरी भित्र सारियो।
यो चैत्य बाहिर हुनुको महत्व के थियो भने, येँया (इन्द्रजात्रा) को समय उपाकू यात्रा क्रममा विभिन्न चैत्य परिक्रमा गर्दा यहाँको चैत्य पनि परिक्रमा गरिन्थ्यो। सडकमा सवारी आवतजावत गर्न असहज भएपछि उक्त चैत्य सारेर भित्र ल्याइएको तुलाधर बताउँछन्। सडकबाट सारेर भित्र ल्याइएको वर्णन त्यही चैत्यमा देवनागरी लिपिमा कुँदिएको छ।
जर्मनीका वास्तुविद् ओल्फगाङ कोर्नले २०२९ सालअघि नै यहाँ आएर यो चैत्यको नापनक्सा लिएका थिए। त्यति बेला उनले नापनक्सा लिँदा यो चैत्य सडक किनारमै थियो। पछि आउँदा पुरानो ठाउँमा चैत्य नदेखेर उनी अलमलिएछन्। वरिपरि सोधेपछि बल्ल त्यो चैत्य विहारभित्र सारिएको थाहा पाएछन्।
'बहालभित्र फेला परेपछि उनले त्यहाँ फेरि नापनक्सा लिएका थिए,' तुलाधरले भने।
यो बहाल हुँदै सडक बन्नुअघि उत्तरपट्टिको बहीलाछीसम्मै बहाल क्षेत्र फैलिएको थियो। सडक बनेपछि लाछी र बहाल वारि र पारि भए। सवारी आवागमन बढेपछि चैत्यमा पटकपटक ठक्कर लागेका कारण सुरक्षा निम्ति भित्र सारिएको स्थानीय सम्झन्छन्।
अहिले फेरि लाछी हुनुपर्ने सार्वजनिक जग्गामा वडा कार्यालय भवन बनाएर अतिक्रमण गर्न महानगर नै अग्रसर छ।
यसरी सार्वजनिक जग्गा हस्तक्षेप गर्नुभन्दा भत्किएको पाटी बनाउन र चैत्य यथास्थानमा सार्न महानगरको ध्यानाकर्षण हुनुपर्ने तुलाधर बताउँछन्।
केही समयअघि सम्पदा संरक्षणकर्मीहरू बहीलाछीमा भवन बनाउन कस्सिएको वडा कार्यालयसँग कुराकानी गर्न गएका थिए। मल्लकालीन सार्वजनिक क्षेत्रको अवधारणामा बनेको लाछी मास्नु काठमाडौंको सम्पदा मास्नु हो भनेर उनीहरूले जनप्रतिनिधिहरूलाई बुझाउन खोजे। तर वडा कार्यालयले आफ्नो कुरा सुन्न नचाहेको र यससम्बन्धी निवेदन पनि बुझ्न नमानेको तुलाधर बताउँछन्।
'यदि वडाले बलजफ्ती यहाँ भवन बनाउने हो भने हामी कानुनी प्रक्रियामा जान्छौं,' उनले भने।
यति मात्र होइन, ज्याठाका स्थानीयले यहाँको लाछीको महत्व बताउँदै केही समयअघि पुरातत्व विभागलाई पत्र लेखेका थिए। उनीहरूले भनेका छन्, 'बहीलाछी र पाटीले ओगटेको मौलिक स्थानमा वडा कार्यालय भवन निर्माण गर्नु वा अरू कुनै पनि आधुनिक संरचना निर्माण गर्नु भनेको धार्मिक, ऐतिहासिक तथा पुरातात्विक स्थान मास्नु हो। प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार त्यो गैरकानुनी, आपराधिक र दण्डनीय काम हो।'
पुरातत्व विभागले महाविहारसँगै निर्माण हुने संरचनाले सम्पदाको महत्वमा असर पर्ने भन्दै काम रोक्न आदेश दिएको छ। तर विभागको आदेशका बाबजुद धमाधम काम सुरू हुने तरखर भइरहेकाले स्थानीय आक्रोशित छन्।
यसबीच विभागले यसै साता लाछी भएको क्षेत्र उत्खनन गर्न प्राविधिक पठाउने भनेको छ। यो उत्खननबाट यो ठाउँको ऐतिहासिकता पुष्टि हुने स्थानीयले अपेक्षा गरेका छन्।
लाछी भनेको सार्वजनिक खुला ठाउँ भएकाले उत्खननबाट कुनै ऐतिहासिक सामग्री फेला पर्छ भन्ने ग्यारेन्टी छैन। यो ठाउँको प्रयोजन नै मान्छेहरू आराम गर्ने र सुस्ताउने भएकाले यहाँ कुनै सामग्रीको अवशेष नहुन पनि सक्छ। तर कुनै अवशेष पाइएन भन्दैमा भोलि त्यसैलाई आधार देखाउँदै वडा कार्यालयले यहाँ भवन बनाउने छुट पाउँदैन।
गुणाकर महाविहारमा रहेको साढे तीन सय वर्ष पुरानो शिलालेख नै यो लाछीको ऐतिहासिकता पुष्टि गर्ने दस्तावेज हो जसले यो जग्गा सार्वजनिक हो र सार्वजनिक प्रयोगमै आउनुपर्छ भनेर वकालत गरिरहेको छ। योभन्दा ठूलो अर्को प्रमाण खोज्ने दरकार छैन।
अब यो महानगर र वडा कार्यालयका जनप्रतिनिधिहरूकै हातमा छ- पाटी वा बहीलाछी मासेर पञ्च महापाप बोक्ने, कि यसलाई संरक्षण गरेर हजारवटा विहार बनाएको र कोटीयज्ञ गरेको फल प्राप्त गर्ने!