नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) को पक्षमा लागेर आफूहरूविरूद्ध जथाभाबी बोल्ने र लेख्नेलाई कारबाही गर्न पीडित परिवारले माग गरेको छ।
बलात्कारविरूद्ध प्रहरीमा जाहेरी परेपछि पलका पक्षधरहरूले पीडितविरूद्ध सडकमा नाराबाजी गर्नुका साथै सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिएका थिए। यसले दिक्क भएका नाबालिगका आमाबुबाले पलको पक्ष लिएर आफूहरूमाथि जथाभाबी बोल्नेलाई कारबाहीको माग गरेका हुन्।
शाहमाथि अहिले तनहुँ र नवलपुर प्रहरीले अनुसन्धान गरिरहेको छ।
बिहीबार कास्की प्रहरी कार्यालयमा भेटिएकी आमाले सामाजिक सञ्जालमा गरिएका गाली देखेर आफूहरू आत्तिएको बताइन्। उनले त्यसरी गाली गर्नेलाई कारबाही गर्न प्रहरीको ध्यानाकर्षण गराइन्। पलसँग पीडित पक्षले पैसा खाएको, बार्गेनिङ गरेको, मुद्दा फिर्ता लिने र प्रहरी हिरासतमै विवाह गरिदिने भनेकोजस्ता कुरा झूटा भएको र त्यस्तो कुरा बोल्नेलाई कारबाही हुनुपर्ने उनको माग छ।
‘दस/बाह्रवटा भैंसी पालियो, खेतीपाती गरेर खाइयो, अहिलेसम्म कसैको दुई पैसा खा’छैन। छोरीलाई आरआइपी, हार्दिक श्रद्धाञ्जलि लेखेको र बोलेको देख्दा एकदम आत्तियौं। गाउँघरमा पनि कुरा काट्छन्। कुरा बुझेका मान्छेहरूले भने साथ दिनुभएको छ,’ नाबालिगकी आमाले भनिन्, ‘जो जसले हाम्रो चरित्र हत्या गरे, झुटा कुरा फैलाए उनीहरूलाई कारबाही होस्।’
न्यायका लागि कानुनी उपचारमा आउनुअघि पटकपटक पीडक पक्षले मिल्न दबाब दिएको आमाको भनाइ छ।
उनका अनुसार बलात्कारविरूद्ध जाहेरी दिन पहिलोपटक गत माघ ९ गते पीडित परिवार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेको थियो। पलले फोन गरेर जाहेरी नदिन भने। अन्तिम अवस्थामा जाहेरी नदिइकन पीडित परिवार पोखरा फर्कियो।
भोलिपल्ट माघ १० गते पोखरा आएर पलले घटनामा मिलापत्र गर्न जोड लगाए। त्यस दिन पलले केही सञ्चारकर्मीसमेत लगेर बलात्कारको उजुरी नदिन र मिल्न दबाब दिएका थिए।
पीडित पक्ष नमानेपछि पलले बलात्कारविरूद्ध जाहेरी दिए आफ्नो ‘करिअर’ सकिने र नाबालिग गायिकाको पनि करिअर सकिने भन्दै पीडितलाई आफ्नो पक्षमा पार्न खोजेका थिए।
विशेष गरी आफूलाई पटकपटक फोन र भेटघाटमार्फत बलात्कार उजुरी दिनबाट रोक्न खोजेको आमालाई बताइन्। उजुरी दिनुअघिसम्म पनि धेरै जनाले फोन गरेर प्रहरीमा जानबाट रोक्न खोजेको उनको भनाइ छ।
‘छोरीले फोन उठाएन भनेर मलाई फोन गर्थे, उजुरी दिन हुँदैन भन्थे,’ पीडित आमाले भनिन्।
उजुरी दिनुअघि निकै दबाबमा परेपनि अब भने न्याय पाउने आशा जागेको उनले बताइन्। ‘उजुरी नदिन निकै दबाब थियो।उजुरी दिइयो अब न्याय पाइन्छ भन्ने विश्वास छ,’ उनले भनिन्, ‘न्याय नपाएसम्म हामी लडिरहने हो।’
कसरी पुगे पीडित प्रहरीसम्म?
गाउँमा सामान्य किसानी गरेका आमाबुबालाई प्रभावित पार्न पलले पटकपटक भेटवार्ता गरेको पाइएको छ।
आफूमाथि भएको हिंसाबारे पीडित नाबालिगले पोखराका फिल्मकर्मी एवं पृथ्वीनारायण क्याम्पसका प्राध्यापक रेशम सापकोटालाई जानकारी गराइन्। सापकोटाले घटनाबारे अधिवक्ता टंकप्रसाद पौडेललाई जानकारी गराएर नाबालिगसँग भेटाए।
‘पहिलो भेटमा पीडित नानी रोएका देख्दा उनलाई अन्याय भएको महसुस गरेँ,’ अधिवक्ता पौडेलले भने, ‘न्यायका लागि प्रहरीसमक्ष जान पीडितलाई आग्रह गरेँ।’
त्यति बेला पीडित नाबालिग एक्लै कास्की प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। उनलाई महिला प्रहरीले परामर्श दिइन्।
प्रहरीले पीडितका आमा र बुबालाई बोलाए। पल शाह ठूलो सेलिब्रिटी भएको भन्दै पीडित परिवारले न्यायको आशासमेत गरेका थिएनन्। कसैले साथ नदिने भन्दै पल शाह पक्षले नै चुनौती दिइरहेका थिए।
पीडित परिवारलाई न्यायिक प्रक्रियामा जानबाट रोक्न पलले हदैसम्म प्रयास गरेका थिए। कास्की प्रहरीले भने अपराधका घटना लुकाउन नहुने र न्यायमा लाग्न पीडित परिवारलाई परामर्श दिएको थियो।
घटनाको गम्भीरता हेरेर तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्का र अनुसन्धान अधिकृतलाई समेत पोखरा बोलाएर घटनाबारे विस्तृत जानकारी गराएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताए।
‘हामीकहाँ जाहेरी आएको होइन, पीडितलाई संरक्षण गरेर जाहेरी दिन तनहुँ पठाएको हो,’ एसपी थापाले भने, ‘छिमेकी जिल्ला घटनास्थल भएको र नजिकै भएकाले पनि जाहेरी दिन कानुनअनुसार तनहुँ पठाएका हौं। अन्तिम अवस्थामा त्यो दिनमा जाहेरी दिनुभएनछ।’
पीडित परिवारलाई सुरक्षा दिन कुनै कसर बाँकी नराखेको थापाले बताएका छन्। उनका अनुसार पीडित परिवारको गाउँ र पोखरामा नाबालिग बसेको ठाउँसम्म प्रहरीले रेखदेख गरिरहेका छन्।
गाउँमा दिनहुँजसो प्रहरी आउने गरेको पीडित नाबालिगकी आमाले बताइन्।
पीडित परिवारको गाउँमा प्रहरीले अपराधविरूद्ध सचेतना कार्यक्रम आयोजना गरेको छ। जिल्ला प्रहरी कार्यालयको टोली शुक्रबार गाउँ पुगेर कानुनी सचेतना, अपराध, पीडितको गोपनियताको हक लगायतबारे जानकारी गराउने डिएसपी सुन्दर तिवारीले बताए।
कास्की प्रहरीकै साथले न्याय खोज्ने आत्मबल आएको पीडित बुबाले बताए।
‘हामीलाई केही पनि थाहा थिएन, सरहरूले नै न्याय खोज्नुपर्छ, हामी साथ दिन्छौं भन्नुभयो,’ उनले भने, ‘प्रहरीको साथले छोरीमाथि भएको अन्यायविरूद्ध लड्ने निर्णय गर्यौं।’