काठमाडौं ज्याठास्थित गुणाकर महाविहारको सार्वजनिक जग्गा (बहीलाछी) मा पुरातत्व विभागले शुक्रबारबाट उत्खनन सुरू गरेको छ।
सार्वजनिक जग्गा मासिने गरी वडा नम्बर २७ को भवन बनाउने तयारी गरिएको उक्त ठाउँमा स्थानीयको मागअनुसार उत्खनन गरिएको पुरातत्वविज्ञ उद्धव आचार्यले बताए।
पुरातत्व विभागका पूर्वकर्मचारी आचार्य विशेषज्ञका रूपमा उत्खनन निरीक्षण गर्दै छन्। त्यहाँ प्राकृतिक माटोको तहसम्म उत्खनन हुने उनले जानकारी दिए।
'कुनै संरचनाको जग वा पुरातात्विक सामग्री फेला पर्यो भने हामी त्यसैअनुसार रिपोर्ट तयार गर्छौं,' उनले भने।
स्थानीय तथा सम्पदा संरक्षण अभियन्ताहरू भने उत्खननबाट कुनै अवशेष वा पुरातात्विक सामग्री फेला नपरे पनि वडा कार्यालयले यहाँ भवन बनाउन छुट नपाउने बताउँछन्।
उनीहरूका अनुसार लाछी भनेको सार्वजनिक खुला ठाउँ भएकाले उत्खननबाट कुनै ऐतिहासिक सामग्री फेला पर्छ भन्ने ग्यारेन्टी छैन। यो ठाउँको प्रयोजन नै मान्छेहरू आराम गर्ने र सुस्ताउने भएकाले कुनै पुरातात्विक अवशेष नहुन पनि सक्छ।
गुणाकर महाविहार (छुस्याबहाः) मा रहेको साढे तीन सय वर्ष पुरानो शिलालेख नै यो लाछीको ऐतिहासिकता पुष्टि गर्ने दस्तावेज भएको सम्पदा अभियन्ता रवीन्द्र बज्राचार्यले बताए।
उक्त शिलालेखले यो जग्गा सार्वजनिक हो र सार्वजनिक प्रयोगमै आउनुपर्छ भन्छ। वडा कार्यालयले भने शिलालेखमा उल्लिखित विवरण लत्याउँदै यहाँ पाँचतले भवन बनाउन खोजिरहेको छ।
'सबै तथ्य शिलालेखमै भएकाले उत्खननमा केही फेला परोस् या नपरोस् त्यसले मान्यता राख्दैन,' बज्राचार्यले भने, 'इतिहास भनेको सबभन्दा पहिले लेखिएको अभिलेख हो। त्यसपछि बनेका सबै कागजपत्र बदर हुन्छन्।'
नेपाल सम्बत ७८८ अर्थात् बिक्रम सम्बत् १७२५ को उक्त शिलालेखबारे सोध्दा पुरातत्वविज्ञ आचार्यले भने, 'त्यसलाई छुट्टै टोलीले अध्ययन गर्नेछ।'
पुरातत्व विभागकै अभिलेख शाखामा लामो समय काम गरेका सिद्धिरत्न शाक्यले केही दिनअघि हामीलाई उक्त शिलालेख पढेर व्याख्या गरेका थिए।
उनका अनुसार शिलालेखमा लेखिएको छ, 'ध्वखा (ढोका) बहालका गुणज्योति बज्राचार्यले यहाँ महाविहार बनाएपछि लोकहितका लागि विहार अगाडि सबैले देख्नेगरी फल्चा (पाटी) बनाए। सँगै लाछी (खुला सार्वजनिक जग्गा) पनि संकल्प गरेर राखे। कसैले यो पटी वा विहार भत्कायो वा काठको टुक्रा पनि लिएर गयो भने पञ्च महापाप लाग्छ। संरक्षण वा हेरचाह गर्नेलाई हजारवटा विहार बनाएको र कोटीयज्ञ गरेको फल प्राप्त हुन्छ।'
शिलालेखमा उल्लिखित यो वर्णनबाट तीनवटा कुरा प्रस्टै बुझिन्छ।
पहिलो, गुणज्योति बज्राचार्य भन्ने व्यक्तिले ज्याठाको यो महाविहार बनाएका थिए। उनकै नामबाट यसलाई गुणाकर महाविहार भनिएको हो।
दोस्रो, उनले यहाँ महाविहार मात्र बनाएनन्, सर्वसाधारणको हितका लागि विहार अगाडि एउटा पाटी पनि निर्माण गराए। यो पाटी अहिले भत्किइसकेको छ। पहिले पाटी भएको प्रमाणका रूपमा चारवटा कलात्मक ढुंगााको अवशेष (इ ल्वँ) देख्न सकिन्छ। ती पनि गाडीको ठक्कर र संरक्षण अभावमा खिइँदै गएका छन्।
तेस्रो, उनले पाटीसँगै जोडिएको करिब चार आना क्षेत्रफलको जग्गा सार्वजनिक प्रयोग निम्ति खुला छाडे। यो सार्वजनिक स्थानलाई स्थानीयहरू 'बहीलाछी' भन्छन्। केही अघिसम्म यहाँ स्थानीय क्लबको सानो घर थियो। अहिले त्यही घर भत्काएर वडा कार्यालयले पाँचतले भवन ठड्याउँदैछ।
यो जग्गाको लालपुर्जा अहिले ज्याठा युवा तथा सामुदायिक क्लब र बौद्धिक विकास प्राथमिक विद्यालयको नाममा छ। गुणाकर महाविहारभित्र रहेको शिलालेखले भने उक्त जग्गा गुणज्योति बज्राचार्यले सार्वजनिक प्रयोग निम्ति छुट्टयाएका थिए भन्ने बुझाउँछ। कुनै दानी, उपकारी व्यक्तिले साढे तीन सय वर्षअघि सार्वजनिक हित निम्ति छुट्टयाएर गएको जग्गा कुनै पनि अन्य काममा प्रयोग गर्न हुँदैन।
क्लबका अध्यक्ष इन्द्रमान महर्जन शिलालेखमा बहीलाछी कहाँ छ भनेर प्रस्ट नलेखिएको बताउँछन्। त्यही भएर यो लाछी र शिलालेखमा उल्लिखित लाछी फरक हुनसक्ने उनको तर्क छ।
'शिलालेखमा उत्तर हो कि दक्षिण हो प्रस्ट लेखिएको छैन। हामीसँग लालपुर्जा भएकाले यो हाम्रै जग्गा हो,' उनले भने, 'हामी त टोलकै विकासका लागि क्लब र वडा बनोस् भन्ने हेतुले अगाडि बढेका हौं। यहाँको ऐतिहासिक सम्पदा मास्नु हाम्रो मनसाय होइन।'
सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधर भने यो मुद्दालाई बहकाउने प्रयास भइरहेको बताउँछन्।
उनका अनुसार स्थानीयको स्मरणमा बहीलाछी भनेको यही ठाउँ हो। यहाँ हुने सांस्कृतिक, धार्मिक र सामाजिक गतिविधिले त्यसलाई अर्थ्याउने उनको भनाइ छ।
'जुन ठाउँ सांस्कृतिक, धार्मिक र सामाजिक क्रियाकलापमा उपयोग भइरहको छ, त्यही नै लाछी हो,' उनले भने, 'विभिन्न जात्रापर्वमा भगवानलाई फल्चा (पाटी) मा राखेर मान्छेहरू लाछीमा आराम गर्छन्। येँया (इन्द्रजात्रा) को उपाकू यात्राको रूट र फल्चाको अवशेषले त्यही भन्छ। क्लबले नै यहाँ इन्द्रजात्रा बेला महाकाली नाच देखाउने र सम्यबजी खुवाउने गर्छ।'
उनले अगाडि भने, 'मैले बहीलाछीमा प्रजापति समुदायअन्तर्गतका कुमालहरूले माटाका भाँडा बनाएर सुकाएको देखेको छु।'
'अ क्लासिकल नेवारी डिक्सनरी' अनुसार लाछी शब्द लाछबाट आएको हो। यसले त्यस्तो खुला ठाउँ बुझाउँछ जहाँ विभिन्न किसिमका सामुदायिक गतिविधि हुन्छन्।
सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार यो शब्द मल्लकालमा उत्पत्ति भएको हो।
मूल सडक किनार वा व्यस्त बसोबास क्षेत्रको बीचमा कसैले सार्वजनिक प्रयोजनका लागि छुट्टयाएको जग्गालाई लाछी भनिन्छ, उनले भने, 'सामान्यतया प्रशस्त घाम लाग्ने खुला ठाउँमा लाछी बनाइन्छ। त्यही भएर यहाँ नवजात शिशुलाई तेल लगाइन्छ, बाली सुकाइन्छ। सामुदायिक कार्यक्रम र भोजका लागि पनि यस्ता खुला ठाउँ प्रयोग हुन्छन्।'
महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, वडाध्यक्ष चिनियामान बज्राचार्य लगायतले गत माघ २३ गते यहाँ भवन शिलान्यास गरेका थिए।
वडाध्यक्ष बज्राचार्य आफूहरूले वडाको भवनका लागि जग्गा खोजिरहेको र क्लबले पनि नयाँ भवन बनाउन खोजिरहेकाले दुवैको सहकार्यमा काम भइरहेको बताउँछन्।
'हामी यसअघि महाबौद्धमा रहेको क्लबमा बहाल तिरेर बसेका थियौं। यहाँको क्लबलाई पनि घर आवश्यक भएपछि सहकार्य गरेका हौं,' उनले भने।
उनका अनुसार पाँचतले भवनमा वडा कार्यालयसँगै क्लब, भोजका लागि हल लगायत हुने छन्। वडाकै विभिन्न कामका लागि ठूलो भवन बनाउनुपरेको उनले बताए। भवन निर्माणको लागत २ करोड ८० लाख ८१ हजार रूपैयाँ हो। यसको निर्माण ठेक्का प्रतिष्ठा–रमिता–अम्बुजा जेभीले पाएको छ।
यो सार्वजनिक जग्गा हो भन्ने पुष्टि भए निर्माण कार्य रोक्ने उनले बताए।
'कुनै हकवालाको जग्गामा हामीलाई भवन बनाउन मन छैन। हामीले त महानगरले नै स्वीकृति दिएको र क्लबसँग लालपुर्जा पनि भएकाले काम थालेका हौं,' वडाध्यक्ष बज्राचार्यले भने, 'उत्खननबाट ऐतिहासिक तथ्य फेला पर्यो भने हामी त्यसैअनुसार अगाडि बढ्छौं।'
यो पनि हेर्नुहोस्: