काठमाडौंका विश्व सम्पदा क्षेत्रमा मापदण्डविपरीत संरचना निर्माण भइरहेको भन्दै युनेस्कोले 'खतरा सूची' मा राख्ने चेतावनी दिइरहेका बेला काठमाडौं महानगरपालिकाले वसन्तपुर डबलीमा ३५ फिट अग्लो राष्ट्रिय झन्डा राख्ने तयारी गरेको छ।
पुरातत्व विभागले सम्पदा स्थलको संरक्षण र व्यवस्थापनविपरीत यस्तो निर्माण नगर्नू भनेर सचेत गराउँदा गराउँदै महानगरले विश्व सम्पदा क्षेत्रमा पर्ने वसन्तपुर डबलीमा एकतर्फी रूपले राष्ट्रिय झन्डा राख्न कंक्रिट संरचना निर्माण गरेको हो।
विभागसँग समन्वय नगरी सुरू गरिएको निर्माण 'स्थगित गर्नू' भन्दै पुरातत्वले गत फागुन ६ गते महानगरपालिकालाई पत्र लेखेको थियो। स्थानीय तथा सम्पदा संरक्षण अभियन्ताहरूले यो योजनाको विरोध गर्दै आएका छन्। महानगरले भने सबैलाई झुक्याउँदै आठवटा झन्डा ठड्याउने कंक्रिट संरचना रातारात निर्माण गरेको छ।
‘काठमाडौं उपत्यका विश्व सम्पदा स्थललाई खतराको सूचीमा राख्न विश्व सम्पदा समितिबाट पटक–पटक प्रस्ताव भइरहेको छ,' पुरातत्वका अधिकृत देवेन्द्र भट्टराईले महानगरलाई पठाएको पत्रमा भनिएको छ, 'नेपाल सरकारले पनि अस्वीकार गर्दै आएको परिप्रेक्ष्यमा बिनाअध्ययन स्थानीय सरकारबाटै गरिने यस्ता कार्य विश्व सम्पदा स्थलको संरक्षण एवं व्यवस्थापनविपरीत हुने भएकाले निर्माण कार्य स्थगित गरी विभागसँग समन्वय गर्न अनुरोध छ।’
सम्पदा स्थलहरूको रेखदेख र सुरक्षाप्रति जवाफदेही पुरातत्व विभागले नै यसरी पत्र पठाइसकेपछि महानगरले निर्माण रोकेर समन्वय गर्नुपर्नेमा थाहै नदिई वसन्तपुर डबलीको एउटा खण्डमा ढलान पूरा गरेको छ।
महानगरको सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाका अनुसार काठमाडौं उपत्यकाका पाँच स्थानमा बाह्रवटा झन्डा राख्ने योजना छ। त्यसका लागि करिब ७० लाख रूपैयाँ बजेट छुट्याइएको छ।
उचाइको मापदण्डका कारण वसन्तपुर डबलीका आठवटा र स्वयम्भूमा राख्ने भनिएको एउटा झन्डा ३५ फिटका हुनेछन्। रत्नपार्कको शान्तिवाटिकामा १०३ फिट अग्लो झन्डा राखिएको छ। त्यति नै उचाइको झन्डा तीनकुने र शंखपार्कमा राख्ने योजना रहेको थापाले जानकारी दिए।
‘राष्ट्रिय झन्डा भनेको हाम्रो प्रतिष्ठा र इज्जतको प्रतीक हो। यसले सहरको शोभा बढाउँछ। हाम्रो देशको पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्छ,’ उनले भने।
झन्डा ठड्याउन ढलान गर्नुको कारणबारे सोध्दा थापाले भने, ‘हामी झन्डा फहराउन स्टिलको पोल राख्दैछौं। त्यो पोल ढलेर नोक्सान नहोस् भनेर त्यसलाई अड्याउन ढलान गरेका हौं।’
वसन्तपुरमा १५-२० दिनअघि नै निर्माण सुरू भइसकेको जानकारी दिँदै उनले भने, 'सर्वसाधारणलाई अग्रिम जानकारीसहित सूचना बोर्ड राखेकाले काममा कुनै विरोध नहुनुपर्ने हो।'
यहाँका स्थानीयले भने विश्व सम्पदा क्षेत्रमा बन्न लागेको संरचनामा आपत्ति जनाएका छन्।
स्थानीय एवं इन्द्रजात्रा व्यवस्थापन समितिका उपाध्यक्ष दिपकप्रसाद श्रेष्ठ डबली लगायत वसन्तपुर क्षेत्रमा कुनै पनि संरचना बनाउँदा पुरातत्व विभाग र युनेस्कोको स्वीकृति लिनुपर्नेमा महानगरले एकतर्फी रूपमा खनेर ढलान गरेको बताउँछन्।
‘उहाँहरू (महानगर) आएर राति राति चोरजस्तो गुपचुप काम गर्नुहुन्छ। पुरातत्व विभागले काम रोक्नू भनेर पत्र लेख्दा पनि काम रोक्नुभएको छैन,’ उनले भने, ‘पुरातात्विक मठ–मन्दिर नै छेक्ने गरी त्यति धेरै झन्डा राख्नुपर्ने आवश्यकता किन पर्यो। वसन्तपुर घुम्न आउने पर्यटकलाई देखाउन राष्ट्रिय झन्डा राख्न लागेको हो भने उनीहरूलाई यहाँका सम्पदा स्थल महत्वपूर्ण हुन्छ कि राष्ट्रिय झन्डा?’
अर्का स्थानीय तथा सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठ वसन्तपुर डबली यस्तो संरचना बनाउन उपयुक्त स्थल नभएको बताउँछन्। महानगरले स्थानीयसँग सल्लाह नै नगरी झन्डा राख्न लागेको उनको भनाइ छ।
‘नेपालको राष्ट्रिय झन्डाप्रति हाम्रो सम्मान कम छैन। तर झन्डा राख्न यो उपयुक्त ठाउँ होइन,’ उनले भने, ‘विभिन्न सांस्कृतिक र सामाजिक गतिविधि हुने वसन्तपुर डबली बिगारेर आधुनिक संरचना बनाउनु जायज छैन।'
उनले अगाडि भने, 'महानगरले राम्रै सोचले यस्तो कार्य गरेको भए पनि यहाँको खुला दृश्य नै खल्बल्याउने गरी यस्तो संरचना बनाउनु गलत छ।'
महानगरपालिकाले यति ठूलो लागतमा नयाँ संरचना बनाउनुको साटो भइरहेका पुराना संरचना संरक्षणमा जोड दिनुपर्ने श्रेष्ठले बताए।
‘अझै पनि भुइँचालोले जीर्ण हाम्रा मठ–मन्दिरहरू टेका लगाएरै बसेको अवस्था छ। महानगरले बरू त्यो पैसाले मठ-मन्दिर जिर्णोद्धार गरेको भए सरहानीय हुन्थ्यो,’ उनले भने, ‘राष्ट्रवादका नाममा यस्ता संरचना बन्दै जाने हो भने भविष्यमा खुला ठाउँ नै नरहने गरी संरचना थपिँदै जान सक्छन्।’
विश्व सम्पदामा सूचीकृत वसन्तपुर दरबार क्षेत्रलाई युनेस्कोले आधुनिक र अग्ला संरचना निर्माणका कारण पटक–पटक खतरा सूचीमा राख्ने चेतावनी दिएको छ। नयाँ बन्ने संरचनाले विश्व सम्पदामा के–कस्तो असर पुर्याउन सक्छ भनेर पुरातत्व विभागलाई खबर गरेको युनेस्कोकी नव बस्नेत थापाले बताइन्।
‘हामीले पनि आजै मात्र त्यहाँ ढलान गरेर झन्डा राख्न लागेको खबर पायौं। विश्व सम्पदा सूचीमा रहेकाले उक्त ठाउँको दैनिक गतिविधिको जानकारी राख्ने जिम्मा पुरातत्व विभागलाई छ। त्यही भएर हामीले उनीहरूलाई सूचना पठाएका छौं,’ उनले भनिन्।