केही महिनाअघिको कुरा हो, दैलेखकी १७ वर्षीया गुराँस (नाम परिवर्तन) आफ्ना किताब कापी र लुगा हालेको झोला बोकेर घरबाट निस्किन्। उनले घर छोड्दा एघार कक्षाको परीक्षा चल्दै थियो।
आमालाई साथीको घरमा पढ्न जाने भनेर मनाएकी थिइन्। आफैलाई भने तीन वर्षदेखि आफूमाथि भएको बलात्कार अब नसहने भनेर मनाएकी थिइन्।
यो कुरा उनले कसैलाई भन्न सकेकी थिइनन्। त्यसैले उनले घरबाट सकेसम्म टाढा बस्ने बाटो उचित देखेकी थिइन्।
सधैँ साथीको घरमा बस्न थालेपछि उनकी आमा पिरमा परिन्। साथीकैमा बसे पनि गुराँस बेलाबेला घर आउँथिन्। त्योबेला आमाले रोक्न खोज्थिन्। गुराँस सुरुसुरूमा अटेरी गरेर साथीकैमा फर्किन्। जब आमाले घरमै बस्न उर्दी गरिन् उनलाई गाह्रो पर्यो।
गएको हप्ता गुँरासकी एक संरक्षणकर्ता मानवअधिकारकर्मीले सेतोपाटीसँग भनिन्, ‘घरमा बस्नै पर्छ कि भन्ने डर भएपछि गुराँसले आमालाई सबै कुरा सुनाइछन्।’
गुराँस नौ कक्षामा पढ्थिन्। अचानक एक दिन घरमा कोही नभएको समयमा बुबाले उनको शरीरका भित्री अंगहरूमा हात लगाए। त्यो दिन उनी झस्किन्। यसपछि बाबुले घरमा कोही नभएको वा एकान्तको मौका पारेर उनको शरीर छाम्न थाले। गुराँसले साहस जुटाएर प्रतिवाद गरेकी थिइन्। तर उनका बाबुले उल्टै यस्तो त सामान्य हो, जसले पनि गर्छ भनेर चुप लगाउन खोजे। घरमा र बाहिर कसैलाई केही नभन्न उर्दी गरे।
केही समयपछि एकदिन बलात्कार नै गरे। यो कुरा पनि कसैलाई नभन्नू, भने मारिदिन्छु भनेर धम्क्याए।
‘उनले कहिल्यै नसोचेको घटना भयो, बुबाले अरूलाई सुनाए मार्ने धम्की दिएपछि के गर्ने भन्ने मेसो पनि पाइनछिन्,’ ती अधिकारकर्मीले भनिन् ‘तीन वर्षपछि बल्ल उनले आमालाई सुनाएकी रहिछन्।’
तीन वर्षदेखि आफ्नी छोरी बाबुको बलात्कारमा परेको कुरा सुनेर आमाको अनुहार निलो भयो, छाँगाबाट खसेझैँ भइन्।
उनकी आमालाई यस्तो कुरा प्रहरीकहाँ लैजानु पर्छ भन्ने थाहा भएन। उल्टै बेइज्जत हुने डर लाग्यो। तर उनी पतिसँग दिनहुँ झगडा गर्न थालिन्। एक कान दुई कान हुँदै कुरा छरछिमेकमा पनि पुग्यो। केही छिमेकीले कुरा गोप्य राख्न र घरको कुरा घरमै मिलाउन सुझाब दिए।
गुराँस साथीको घरमा बस्न थालेको महिना दिन हुँनै लागेको थियो।
‘घरमा मेरै कारणले झगडा पर्न थाल्यो। गाउँमा पनि सबैले थाहा पाए। म घर फर्कें तर गाउँमा मलाई हेर्ने नजर पनि फरक भयो। सबैले अचम्मका आँखाले हेर्थे खासखुस कुरा गर्थे,’ सहयोगी मानवअधिकारकर्मीले गुराँसलाई उद्धृत गरिन्, ‘फेरि एकजोर कपडाका भरमा घर छोडेर साथीकोमा गएँ।’
केही दिनपछि आमाले जोडबल गरेर छोरीलाई घर फर्काइन्।
उनीमाथि भएको घटना घर र छिमेकमा मात्रै सीमित रहेन, केही मानव अधिकारकर्मीहरूकोमा पनि पुग्यो। उनीहरूले गुराँसलाई संरक्षण दिएर सुर्खेत लगे। त्यहाँ कानून व्यवसायी र मानव अधिकारर्मीहरूसँग कुरा भयो।
अन्ततः गुराँस अपराधी बाबुविरूद्ध न्यायका लागि अदालत जाने निर्णयमा पुगिन्। सुर्खेतको संगतले उनलाई यस्तो आँट दिएको थियो।
गुराँसकी सहयोगी अधिवक्ता गीता कोइरालाका अनुसार बालबालिकाको अधिकार सम्बन्धी संस्था अनौपचारिक सेवा क्षेत्र (इन्सेक) का प्रतिनिधिहरू र अन्य केही मानव अधिकारवादीहरूको सहयोगमा गुराँसले प्रहरीमा उजुरी दिइन्।
गुराँसकी आमा मुद्दामामिलामा नजाने मनस्थितिमा थिइन्। घरतर्फका आफन्तहरूले उनलाई मुद्दामा नजान दबाब दिएका थिए। यस्तो दबाब बेवास्ता गरेर नाबालिग गुराँस अघि बढिन्। एउटा गैरसरकारी संस्थाको सहयोगमा आवासीय संरक्षण पाइन्।
गत मंसिर ९ गते प्रहरीमा उजुरी दर्ता भएको थियो। उसै दिन प्रहरीले बालात्कारी बाबुलाई पक्राउ गर्यो। फटाफट मुद्दा अघि बढ्यो। यही फागुन ९ गते दैलेख जिल्ला अदालतले अपराध ठहर गर्दै २५ वर्ष जन्मकैद सुनाएको छ। त्यसमाथि आफ्नै छोरीमाथि बलात्कार गरेको भन्दै १० वर्ष कैद थप गरेको छ। यसरी उनलाई जिल्ला अदालत दैलेखले ३५ वर्षको कैद सजाय हुने फैसला गर्यो।
बलात्कारी बाबु जेल चलान भएपछि नाबालिग गुराँसकी आमालाई आफन्तहरूले हैरान गर्न थालेका छन्।
उनीहरूका विचारमा बाबुलाई जेल हाल्ने गरी मुद्दामामिलामा जानु हुने थिएन, आफूआफूमा मिलाउनु पर्ने थियो। नाबालिग गुराँसको रक्षा गर्नुपर्ने दायित्व भएका गाउँलेले उनको परिवारलाई उल्टै सोध्न थालेका छन्, ‘कमाउने बाबुलाई जेल पठायौ, घरको जिम्मेवारी कसले लिन्छ?’
गुराँसलाई यो कुरा उनकी आमाले फोनमा सुनाउँछिन्। गुराँस अहिले एउटा संरक्षण गृहमा छिन्। उनी आमा र भाइबहिनीहरूसहित गाउँ छाडेर केही टाढा बस्न चाहिन्छन्।
कहाँ बस्ने? कसरी गुजारा गर्ने? भाइबहिनीलाई कसरी पढाउने? आफू कसरी पढ्ने? यस्ता प्रश्नहरूले उनलाई सताउँछन्।
उनको संरक्षणकर्ताको अनुमतिमा गुराँसले सेतोपाटीसँग भनिन्, ‘बाबालाई जेल पठाइस्, अब तेरो घरमा कसरी रासनपानी चल्छ, हामी पनि हेरौँ न भन्ने कुरा बाबातर्फका आफन्तले गर्नुहुन्छ रे! बाबा नभएपछि भाइबहिनीलाई कसरी पढाउँछेस्, कसरी पाल्छेस् भन्छन्। अहिले मैले आमालाई दिन सक्ने साहसबाहेक केही छैन।’
‘गाउँमा बसिसक्नु छैन, विकल्प सुर्खेत हो। यहाँ बस्न न रोजगारी छ, न अरू आय,’ गुराँस भन्छिन्, ‘आमा गाउँ छोड्न तयार हुनुहुन्छ तर कहाँ जाने भन्ने टुंगो छैन।’
बाबुका विरुद्ध उजुरी गरेपछि उनी घर गएकी छैनन्, आमासँग भेट पनि भएको छैन। गुराँसका सहयोगी एक जना मानव अधिकारकर्मीका अनुसार उनको पढाइका लागि तीन पटक विद्यालय सार्नुपरेको छ। विद्यालय सारे पनि आर्थिक संकटका कारण नियमित हुन सकेकी छैनन्।
बाबुविरुद्ध मुद्दा दर्ता गरेपछि गुराँसले आफ्नो नागरिकताको प्रमाणपत्र बनाउन खोजिन्। घरतिरबाट नागरिकता नबनाइदिने भए।
‘बाबुलाई जेल पठाउने छोरीलाई बाबुको पहिचान किन दिने भनेर भन्दा रहेछन्। इन्सकेको मानिसले यसमा सहयोग गर्नुभयो,’ अधिवक्ता कोइरालाले भनिन्, ‘यो कुरा सिडिओ (प्रमुख जिल्ला अधिकारी) सम्म पुगेपछि उहाँले आमालाई बोलाएर गुराँसलाई नागरिकता दिलाउनु भयो।’
नागरिकता त पाइन् तर गुँरास अब कसरी अघि बढ़ने भन्ने द्विविधामा छिन्।