सरस्वती माध्यमिक विद्यालय, कनकपट्टी, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७, विद्यार्थी संख्या करिब नौ सय। शिक्षक १६ जना। यही फागुन ३० गते सोमबार दिनको करिब दुई बजेतिर चर्को घाममा विद्यार्थीहरू घर फर्किंदै थिए।
दुई बजिनसक्दै विद्यालय परिसर सुनसान थियो। सबै कक्षाकोठामा ताल्चा लागिसकेको थियो। कार्यालयमा चार जना शिक्षक भेटिए। कतिपय शिक्षक फर्किसकेका थिए, कोही आएकै थिएनन्। भेटिएका शिक्षक पनि घर फर्किन हतारिएका थिए।
दुई नबज्दै छुट्टी हुनुको मुख्य कारण थियो विद्यालय परिसरमा फैलिएको दुर्गन्ध।
सोमबार आधा दिनपछि छुट्टी भएको हो। आइतबार त विद्यालय बन्द नै थियो, कुनै सार्वजनिक बिदा परेर होइन। कारण के थियो भने विद्यालय परिसरमा आइतबार बिहानैदेखि स्थानीय एक युवकको बिहेको भोज थियो।
एक शिक्षकका अनुसार बिहे भोजका लागि युवकका परिवारजन र आफन्तहरू विद्यालयमा ठाउँका लागि आग्रह गर्न गएका थिए। विद्यालय प्रशासनले आनाकानी गरेपछि उनीहरूले वडाध्यक्ष परमेश्वर यादवको लिखित सिफारिस लिएर आए।
भोज भयो तर आयोजकले भोजमा फालिएको खाना र कुहिने अन्य फोहोर राम्ररी सफा गरेनन्। विद्यालय परिसरमै थुपारे। त्यही फोहोरको थुप्रो कुहिएर दुर्गन्ध फैलिएको हो।
विद्यालयमा गाउँलेको भोज भएको पहिलो पटक होइन। आइतबारको भोज पछिल्लो दृष्टान्त मात्रै हो।
विद्यार्थीहरूका अनुसार सोमबार थोरै शिक्षकमात्र कक्षामा गएका थिए। शिक्षक अरविन्द यादवका अनुसार तीन वटा कारणले सोमबार आधा दिनमै विद्यालय बन्द गर्नु परेको हो।
पहिलो कारण, बाह्र वर्षमाथिका विद्यार्थीहरूलाई कोरोना विरूद्धको खोप लगाइएको थियो। तीमध्ये केही विद्यार्थी ज्वरो आएकोले अनुपस्थित भए। दोस्रो, आइतबार बिहेको भोज भएकाले स्कुल दुर्गन्धित भएको छ। तेस्रो, होलीको माहोल बनिसकेकाले विद्यार्थीको उपस्थिति घटेको छ।
खोपको कारण देखाए पनि कक्षा सातसम्ममा १२ वर्ष पुगेका विद्यार्थी नगन्य छन्। खोप लगाउने धेरै जसो विद्यार्थी कक्षा आठ माथिका छन्। खोप लगाउने सबैलाई ज्वरो आएको पनि होइन। एक जना अभिभावकले शिक्षकलाई विद्यालय छुट्टी गर्ने निहुँ चाहिएको हुन्छ, सानै कुरामा पनि छुट्टी भइहाल्छ भन्ने टिप्पणी गरे।
सोमबार बैंकको काम परेको कारण देखाएर प्रधानाध्यापक सुनील मल्लिक पनि चाँडै हिँडेका थिए। हिँड्नुअघि उनले विद्यालय छुट्टी दिएका थिए।
एक जना अभिभावक भन्छन्, ‘यहाँ मास्टर (शिक्षक) को कुनै टाइम टेबल छैन। आफूलाई मन लागेको गर्छन्। कक्षामा मास्टर नआएपछि विद्यार्थी किन पढून्! घरतिर हिँडिदिन्छन्।’
एक जना अभिभावक दिनेश यादवका अनुसार विद्यालयबाट छिट्टै आएका दिन उनकी छोरी सर (शिक्षक) नआएर छिट्टै छुट्टी भएको हो भन्छिन्।
दिनेशकी छोरी नेहाकुमारी सात कक्षामा पढ्छिन्। शिक्षक र जनप्रतिनिधिले नौ सय जना विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको उनको आरोप छ।
उनी भन्छन्, ‘यहाँ पढाउने सबै शिक्षकका छोराछोरी बोर्डिङ (निजी) स्कुलमा पढ्छन्, अरूका छोराछोरी पढून् कि नपढून् कसैलाई मतलब छैन।’
दश कक्षामा पढ्ने एक जना विद्यार्थीका अनुसार शिक्षकहरू कहिल्यै पनि ठिक समयमा कक्षामा आउँदैनन्।
‘सरहरू घण्टी लागेको १५–२० मिनेटपछि मात्र कक्षामा आउनुहुन्छ,’ उनी भन्छन्, ‘यस्तो भएपछि विद्यार्थीहरूलाई पनि पढ्न मन लाग्दैन। जति बेला मन लाग्यो, त्यति बेला हिँडिहाल्छन्।’
सरस्वती माध्यमिक विद्यालयमात्रै होइन, सोमबार वडा नम्बर- १७ कै तेतरिया गाउँस्थित मानसिंहपट्टी निम्न माध्यमिक विद्यालय पनि दिउँसो साढे एक बजे बन्द भइसकेको थियो। त्यहाँका केही विद्यार्थीहरूका अनुसार पहिलो घण्टीमा विद्यार्थीहरूको हाजिरी भयो। त्यसपछि पढाइ भएन।
करिब तीन सय विद्यार्थीमध्ये ७५ जनामात्र उपस्थित भएकाले आधा बिदा दिनुपरेको शिक्षक कासिम राइनले बताए।
उनका अनुसार नौ जना शिक्षकमध्ये छ जना उपस्थित थिए।
वडामा १२ वर्षमाथिका बालबालिकालाई कोरोना विरूद्धको खोप लगाउने कार्यक्रम रहेको र विद्यार्थीहरू नआएकोले विद्यालय बन्द गर्नुपरेको बताए।
उनले विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी १२ वर्षमुनिका रहेको पनि बताए। उनका अनुसार ठूला विद्यार्थी नआएपछि साना पनि आउँदैनन्। गाउँमा बिहे र भोजभतेर छ भने पनि विद्यार्थीको उपस्थिति ह्वात्तै घट्छ।
स्थानीय अभिभावकहरू भने शिक्षकको यस्तो कुरा मान्न तयार छैनन्।
‘मास्टरहरू कक्षामा जाँदैनन्, अफिसमा गफ गरेर बस्छन्, विद्यार्थीहरू खेलेरै टाइम पास गर्छन्,’ स्थानीयबासी जागेश्वर यादव भन्छन्, ‘मेरो नातिलाई पनि हेर्छु, सधैं तीन नबजी घर आइपुग्छ।’
मधेश प्रदेशको राजधानीमै सामुदायिक विद्यालयहरूको यस्तो हविगत देखिन्छ।
स्थानीयबासी रामदेव गोइतको विचारमा अभिभावक र जनप्रतिनिधिले कहिल्यै अनुगमन नगरेकाले सामुदायिक विद्यालयहरू जर्जर बनेका हुन्।
‘पढे/लेखेका सबैले छोराछोरी बोर्डिङ स्कुलमा पढाउँछन्। सरकारी स्कुलमा के हुन्छ, कसैलाई मतलब छैन,’ रामेदव भन्छन्, ‘शिक्षकहरू बसेरै तलब खाइहाल्छन्। वडाध्यक्ष र मेयरले अनुगमन गरेको मैले देखेको छैन।’
सेतोपाटीले वडाका विद्यालयहरूबारे बुझ्न खोज्दा वडाध्यक्ष परमेश्वर यादव कुरा गर्न तयार भएनन्।
उपमेयर रीता झाले आफूलाई योजनाको मात्रै अनुगमन गर्ने अधिकार भएको भन्दै विद्यालयको अवस्थाबारे अनभिज्ञता प्रकट गरिन्।