काठमाडौं महानगरपालिकाले वसन्तपुर डबलीमा आठवटा राष्ट्रिय झन्डा फहराउने भन्दै मापदण्डविपरीत निर्माण गरेको ढलान संरचना हटाउन सुरू गरेको छ।
युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत वसन्तपुरमा यस्तो संरचना निर्माण नगर्नू भनेर पुरातत्व विभागले भनेपछि र स्थानीयको दबाबपछि महानगरले उक्त संरचना हटाउन थालेको हो।
महानगरको अनुगमन समितिले पुरातत्व विभाग र महानगरीय प्रहरी वृत्तको रोहवरमा मंगलबार बेलुकीबाट ढलानमाथि रहेको डन्डी काट्ने काम सुरू गरेको छ।
विश्व सम्पदा क्षेत्रमा मापदण्डविपरीत संरचना निर्माण भइरहेको भन्दै युनेस्कोले 'खतरा सूची' मा राख्ने चेतावनी दिइरहेका बेला काठमाडौं महानगरले वसन्तपुर डबलीमा ३५ फिट अग्लो राष्ट्रिय झन्डा राख्ने तयारी गरेको थियो।
पुरातत्व विभागले सम्पदा स्थलको संरक्षण र व्यवस्थापनविपरीत यस्तो निर्माण नगर्नू भनेर सचेत गराउँदा गराउँदै महानगरले वसन्तपुर डबलीमा एकतर्फी रूपले राष्ट्रिय झन्डा राख्न कंक्रिट संरचना निर्माण गरेको थियो।
स्थानीय तथा सम्पदा संरक्षण अभियन्ताहरूले यो योजनाको विरोध गरेका थिए।
चौतर्फी विरोधपछि महानगरकी उपप्रमुख हरिप्रभा खड्गी र पुरातत्वका अधिकारीहरूले मंगलबार बिहानै वसन्तपुर क्षेत्र अनुगमन गरे। त्यस क्रममा उपप्रमुख खड्गीले उक्त संरचनाबारे आफू अनभिज्ञ रहेको बताउँदै यो काम मेयरको एक्लौटी निर्णयबाट भएको जानकारी दिइन्।
'यो महानगरको निर्णय होइन, मेयर सा'बको एकलौटी निर्णय हो। यहाँ के–कस्तो संरचना बन्दै छ भनेर मलाई पहिले जानकारी थिएन। हाम्रो पहिचानसँग जोडिएको झन्डा राखेर राष्ट्रिय भावना जगाउनु राम्रो कुरा हो। तर वसन्तपुरजस्तो सम्पदा क्षेत्र त्यसका लागि उपयुक्त ठाउँ होइन,' उनले भनिन्, 'सम्पदा क्षेत्रमा कंक्रिटले यस्तो संरचना बनाउन हुन्छ कि हुँदैन भनेर मेयरले विवेक पुर्याउनुपर्ने हो।'
खड्गीले चाँडै उक्त संरचना हटाउने प्रतिबद्धता पनि जनाएकी थिइन्। त्यसैअनुरूप मंगलबार बेलुकी उनकै उपस्थितिमा डन्डी काट्ने काम सुरू भएको हो।
सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले डन्डी काट्ने काम सुरू भएकोमा सन्तोष व्यक्त गर्दै ढलान संरचना पनि चाँडै हटाउनुपर्ने बताए।
'ढलानमाथि फलामे डन्डी ठड्याएर झन्डा राख्न मात्र बाँकी थियो। त्यसैले अहिलेलाई डन्डी काट्नु पनि ठूलो कुरा हो,' उनले भने, 'अब यहाँको ढलान संरचना पनि चाँडै हट्नेमा हामी आशावादी छौं।'
पुरातत्व विभागले आफूसँग समन्वय नगरी सुरू गरिएको निर्माण 'स्थगित गर्नू' भन्दै गत फागुन ६ गते नै पत्र लेखे पनि महानगरले आठवटा झन्डा ठड्याउन रातारात कंक्रिट संरचना निर्माण गरेको हो।
'काठमाडौं उपत्यका विश्व सम्पदा स्थललाई खतराको सूचीमा राख्न विश्व सम्पदा समितिबाट पटक–पटक प्रस्ताव भइरहेको छ,' पुरातत्वका अधिकृत देवेन्द्र भट्टराईले महानगरलाई पठाएको पत्रमा भनिएको छ, 'नेपाल सरकारले पनि अस्वीकार गर्दै आएको परिप्रेक्ष्यमा बिनाअध्ययन स्थानीय सरकारबाटै गरिने यस्ता कार्य विश्व सम्पदा स्थलको संरक्षण एवं व्यवस्थापनविपरीत हुने भएकाले निर्माण कार्य स्थगित गरी विभागसँग समन्वय गर्न अनुरोध छ।'
सम्पदा स्थलहरूको रेखदेख र सुरक्षाप्रति जवाफदेही पुरातत्व विभागले नै यसरी पत्र पठाइसकेपछि महानगरले निर्माण रोकेर समन्वय गर्नुपर्नेमा थाहै नदिई वसन्तपुर डबलीको एउटा खण्डमा ढलान पूरा गरेको थियो।
महानगरको सार्वजनिक निर्माण विभागले यो काम गरेको हो। विभाग प्रमुख रामबहादुर थापाले चौतर्फी विरोधपछि 'अहिलेलाई काम स्थगित गरेको' बताएका छन्।
'चौतफी विरोध भएकाले हामीले काम रोकेका हौं। कतैबाट मौखिक वा लिखित रूपमा काम रोक्का गर्नू भनेर खबर आएको छैन,' उनले भने, 'अब कार्यपालिका बैठक वा महानगरबाट जे निर्णय हुन्छ, हामी त्यसैअनुसार काम गर्छौं।'
उनका अनुसार काठमाडौं उपत्यकाका पाँच स्थानमा बाह्रवटा झन्डा राख्ने योजना थियो। यसका लागि करिब ७० लाख रूपैयाँ बजेट छुट्याइएको छ।
उचाइ मापदण्डका कारण वसन्तपुर डबली र स्वयम्भूमा ३५ फिट अग्लो झन्डा राख्ने तयारी थियो। वसन्तपुरजस्तै स्वयम्भू पनि विश्व सम्पदा सूचीकृत भएकाले मापदण्डविपरीत झन्डा राख्ने योजना तुरून्तै बन्द गर्नुपर्ने संरक्षण अभियन्ताहरूको जोड छ।
यसबाहेक रत्नपार्कको शान्तिवाटिकामा १०३ फिट अग्लो झन्डा राखिएको छ। त्यति नै उचाइको झन्डा तीनकुने र शंखपार्कमा राख्ने योजना छ।
यो पनि हेर्नुहोस्: