काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनामा मासिक सरदर १४ जनाको ज्यान जाने तथा ७ जना गम्भीर घाइते हुने गरेको महानगरीय ट्राफिक प्रहरी कार्यालको तथ्याङ्क छ। मृतकमध्ये अधिकांश १७ देखि ३५ वर्ष उमेर समूहका युवा छन्।
आकाशे पुल, ट्राफिक बत्ती र जेब्राक्रसको अभावमा जथाभाबी बाटो काट्न बाध्य पैदलयात्रु धेरै दुर्घटनामा परेका छन्। कतिपय ठाउँमा जेब्राक्रस हुँदाहुँदै जथाभाबी बाटो काट्नेहरू पनि छन्।
दुर्घटनामा सबभन्दा पीडित हुने पैदल यात्रु हुन्।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ अन्तर्गत दफा-१२६ मा पैदलयात्रुले पेटीबाट हिँड्नुपर्ने स्पष्ट उल्लेख गरेको छ।
‘मानिस हिँड्ने पेटी भएको सडकमा पेटीबाटै हिँड्नुपर्छ। पेटी नभएको सडकमा हिँड्दा दायाँ किनारा च्यापी हिँड्ने गर्नुपर्छ,’ उक्त दफामा उल्लेख छ।
त्यस्तै, दफा १३७ मा निर्धारित ठाउँबाट बाटो काट्नुपर्दा जेब्रा क्रसिङ, सबवे, ओभरहेड ब्रिज वा त्यस्तै बाटो बाट्न निर्धारण गरिएको ठाउँबाट मात्र बाटो काट्नुपर्छ भनेर स्पष्ट लेखिएको छ।
ट्राफिक महाशाखाले दुर्घटना न्यूनीकरणका लागि जथाभावी सडक पार गर्ने यात्रुलाई २०० देखि १००० सम्म जरीवाना र कक्षा लिने व्यवस्था पनि गरेको छ।
ट्राफिक नियम उल्लंघन गरेर जथाभावी बाटो काट्ने पैदलयात्रीले उन्मुक्ति पाइरहेको अवस्थामा २०६३ सालमा पैदलयात्रु समेतलाई दुर्घटनामा दोषी देखिए कारबाहीको व्यवस्थासहितको सडक सुरक्षा ऐन ल्याइएको हो।
दुर्घटना हुन नदिन सवारी चालकजस्तै पैदल यात्रुले पनि आफ्नो सुरक्षाप्रति सचेत र ट्राफिक नियम पालना गर्नुपर्छ।
विकसित मुलुकमा ट्राफिक व्यवस्थापन र ट्राफिक नियम पालना गराउनुलाई सरकारले उच्च प्राथमिकता दिएको हुन्छ। राज्यको अनुशासन व्यवस्था कायम गर्न ट्राफिक नियमलाई कडाइका साथ पालना गराउनुलाई उनीहरूले पहिलो खुड्किलोको रूपमा लिएका हुन्छन्। नयाँ युवापुस्तालाई समेत ट्राफिक नियम पालना नगरे कारबाहीको भागिदार भइन्छ भन्ने शिक्षा दिइन्छ।
संस्कार भनेको शिक्षा र कानुनी व्यवस्थामा निर्भर रहने हुनाले अब विद्यालय तहको पाठ्यक्रमबाटै ट्राफिक सचेतना शिक्षा आवश्यक भएको देखिन्छ। कारबाहीमा पर्छु भनेर होइन आफ्नै सुरक्षाका लागि पनि सडक नियम पालना गर्नुपर्छ भन्ने संस्कार बसाल्नुपर्छ।
हामी यति हतारमा हुन्छौं कि एक छिनसम्म पर्खनसमेत फुर्सद हुँदै र हतारमै बाटो काट्छौं। यतिमात्र होइन बाटो काट्नेबेला मोबाइल फोनमा व्यस्त हुन्छौं जसको कारण दायाँ/बायाँबाट आएको सवारी देखिन्न र एक सेकेन्डको असावधनीले भयानक दुर्घटना निम्तिने गर्छ।
कहिलेकाहीँ पैदलयात्रुको गल्तीले ठूलो दुर्घटना हुन्छ।
उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ। जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरीले यो उपाय लगाएको हो।
यसैबीच सेवाग्राहीको अत्यधिक चाप हुने यातायात व्यवस्था कार्यालय अगाडि सडकमा जथाभावी जोखिम मोलेर बाटो काटिरहेका छन्।
एकान्तकुनादेखि महालक्ष्मीस्थानसम्म बीचमा कुनै पनि जेब्रा क्रसिङ नभएकाले बाध्य भएर सेवाग्राहीहरू डिभाइडर नाघेर सडक पार गरिरहेका हुन्छन्।
हेर्नुहोस् तस्बिरहरू