ललितपुरका मेयर चिरिबाबु महर्जनले गत भदौ ३ गते पाटनको पुल्चोकस्थित समय् फल्चा (पाटी) पुनर्निर्माण गर्ने 'भीष्मप्रतिज्ञा' गरेका थिए। त्यस दिन फल्चा शिलान्यासको पूर्वनिर्धारित कार्यक्रम भए पनि अघिल्लो साँझ जिल्ला अदालतबाट आएको 'स्टे अर्डर' ले काम रोकिएको थियो।
शिलान्यासका लागि भेला भएका सार्वसाधारणलाई सम्बोधन गर्दै उनले भनेका थिए, 'कसैले रोकेर फल्चा बनाउने काम रोकिन्न। आज नभए भोलि त बन्छ बन्छ। यो मेरो भीष्मप्रतिज्ञा हो।'
महर्जन आफ्नो प्रतिज्ञामा अडिग रहे। अदालतको चक्कर काटे, विरोधीका विरोधहरू सहे। अन्ततः फल्चा बनाएरै छाडे।
स्थानीय जनप्रतिनिधिले चाह्यो भने मासिएको सम्पदा पनि कसरी ब्युँतिन सक्छ भन्ने राम्रो उदाहरण बनेको पुल्चोकको समय् फल्चा शनिबार उद्घाटन हुँदैछ।
यो खुसी साट्दै मेयर महर्जनले शुक्रबार सेतोपाटीसँग भने, 'लामो संघर्षपछि हामीले समय् फल्चा बनाएरै छाड्यौं। अब यो फल्चासँग जोडिएका गतिविधि स्थानीयले फेरि सुरू गर्न पाउँछन्। एकदमै खुसी लागेको छ।'
समय् फल्चा पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाअगाडि छ। साढे आठ आना क्षेत्रफल जग्गामा रहेको उक्त सहकारीले फल्चाको जग्गा मिचेको थियो। उसले दक्षिण मोहडाको भवन बनाउने गरी नक्सा पास गरे पनि पूर्व फर्काएर बनाएको थियो। यसले सहकारी संस्था छिर्ने मुख्य प्रवेशद्वार फल्चाको जग्गातिर फर्किएको थियो।
सहकारीले सार्वजनिक जग्गा मिचेर गैरकानुनी ढंगले भवन बनाएको भन्दै ललितपुर महानगरले फल्चा ब्युँताउन पहल गर्यो।
त्यस क्रममा महानगरले फल्चा शिलान्यास गर्दा र पछि निर्माण गर्दा सहकारी संस्था र उक्त भवनमा भाडामा बसेका पसलहरूले अदालतमा मुद्दा हालेर काम रोक्न खोजेका थिए। यसले पुनर्निर्माणलाई असर पुर्याए पनि मेयर महर्जन फल्चा ब्युँताउन निरन्तर लडिरहे।
विभिन्न समयमा हालिएका मुद्दामा सर्वोच्च अदालतले दुईचोटि र उच्च अदालतले एकचोटि फल्चा निर्माण गर्न बाटो खोलिदिएका थिए। अन्ततः सबै मुद्दा महानगरपालिकाले जितेकाले यहाँ फल्चा बनेको हो।
महानगरले अहिले फल्चा बनाउँदा सडकको पेटीतर्फ फर्किएको सहकारी प्रवेश गर्ने बाटो बन्द भएको छ। तिनले अहिले दक्षिणतर्फ सानो बाटो खोलेका छन्।
पुल्चोकको अशोक स्तुपभन्दा दक्षिणतर्फ समय् फल्चा थियो भन्ने २०२३ सालमा खिचिएको तस्बिरबाट प्रस्ट हुन्छ। स्थानीयसँग पनि फल्चा देखेको स्मरण थियो।
समयक्रममा उक्त फल्चा मर्मतसम्भार अभावले जीर्ण हुँदै गयो तर जिर्णोद्धार गर्न कसैले वास्ता गरेनन्। उल्टो २०२९ सालतिर विदेशी पाहुनालाई वृक्षारोपण निम्ति पुल्चोक हुँदै गोदावरी लैजान खोज्दा बाटोछेउको जीर्ण फल्चा दरबारलाई शोभनीय लागेन। त्यसैले दरबारकै निर्देशनमा उक्त फल्चा भत्काइयो।
फल्चामा भएको टुँडाल, मूर्ति र शिलालेख भने नजिकै प्रहरी चौकीमा सुरक्षित राखिएको थियो। यी पुराना सामग्री पुनः फल्चामा राखिएको मेयर महर्जनले बताए।
यहाँ भेटिएको शिलालेखअनुसार यो फल्चा २ सय ६ वर्ष पुरानो हो। रातो मच्छिन्द्रनाथ जात्रा बेला यहाँ समय् बजी खुवाइने भएकाले यसको नामै समय् फल्चा रहन गएको हो।
जहिलेदेखि फल्चा मासियो, त्यसयता समय् बजी खुवाउने कार्यक्रम अलपत्र थियो। कहिले लामोपाटी, कहिले पुल्चोककै सोह्रखुट्टे पाटी त कहिले सडक किनारमै पाल टाँगेर समय् बजी खानुपरेको स्थानीय बताउँछन्।
अब फेरि फल्चा ब्युँतिएकाले ती गतिविधि फेरि सुरू हुने मेयर महर्जन बताउँछन्।
'शनिबार उद्घाटन क्रममा हामी फल्चामा १०–१२ पाथी चिउरा, विभिन्न गेडागुडी, माछा–मासु लगायतले सजाएर ठूलो समय् बजी प्रदर्शनका लागि राख्नेछौं। त्यसलाई पछि कार्यक्रममा उपस्थित हुने मान्छेबीच बाँड्नेछौं। यसले समय् फल्चाको महत्व के हो भन्ने बुझाउँछ,' उनले भने, 'रातो मच्छिन्द्रनाथ जात्रा बेला पहिलेजसरी समय् बजी खुवाउने कामले पनि निरन्तरता पाउनेछ।'
एक आना एक दाम क्षेत्रफलको यो फल्चा पुनर्निर्माणका लागि महानगरले करिब तीस लाख रूपैयाँ बजेट छुट्याएको थियो। निर्माण क्रममा यसको लागत करिब ३५ लाख पुगेको मेयर महर्जनले जानकारी दिए।
'हामीले यो फल्चा मौलिक स्वरूपमा बनाएका छौं। यसमा प्रयोग भएका काठ, इँटा लगायत सामग्री र काममा हामीले कुनै कञ्जुस्याइँ र सम्झौता गरेनौं। त्यही भएर लागत अलिकति बढेको हो,' उनले भने, 'बजेटभन्दा बढी भएको पैसा हामीले स्थानीयसँग चन्दा उठाउने सोचेका छौं।'
सबै तस्बिर: सुसन चौधरी/सेतोपाटी