स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन चाहनेका लागि आजदेखि आवेदन खुलेको छ। आइतबार बिहानैदेखि प्रहरी कार्यालयअघि म्यादी प्रहरीका लागि आवेदन दिन युवाहरू लामवद्ध भएका छन्। ७७ वटै जिल्ला प्रहरी कार्यालयमा म्यादीका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
म्यादी प्रहरी हुन् १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्नेछ। चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ।
भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्ने विज्ञापनमा उल्लेख छ। सरकारले ४० दिनका लागि १ लाख जना म्यादी प्रहरी भर्ना गर्न लागेको छ।
म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरू हुनेछ। चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरू हुनेछ। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ।
भर्ना हुनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान/निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश/उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिइने मापदण्ड छ ।
म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ।
हेर्नुस् तस्बिरहरू