आफ्नै विद्यार्थीमाथि शिक्षकले दुर्व्यवहार गरेको भन्दै विरोधमा उत्रिएका स्थानीयबासी र प्रहरीबीचको झडपले मोरङको लेटाङ तनावग्रस्त बनेको छ।
आइतबार दिउँसैदेखि तनावग्रस्त बनेको लेटाङ–५ को खेरूवा क्षेत्रमा अहिले साँझ गाउँले र प्रहरीबीच झडप भएको छ
झडपका क्रममा मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितका प्रहरी घाइते भएका छन्। एक जना महिला प्रहरीमाथि छुरा प्रहार भएको प्रहरी स्रोतले बताएको छ ।
छुरा प्रहारबाट गम्भीर घाइते ती महिला प्रहरीको विराटनगरमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ।
लेटाङ ५ का वडाध्यक्ष भीम सूर्य मगरले दिएको जानकारी अनुसार स्थानीय शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा पढ्ने एक छात्रामाथि यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थी र गाउँले बिहानैदेखि प्रदर्शनमा ओर्लिएका थिए।
दिउँसो एक बजेतिर ती शिक्षकलाई पक्राउ गर्न गाउँ पुगेको प्रहरी टोलीले शिक्षकलाई नियन्त्रणमा लियो । तर, प्रहरीले आरोपित शिक्षकलाई बचाउन लगेको भन्दै गाउँलेले अवरोध गरे ।
साँझ पाँच बजेसम्म पनि गाउँलेले प्रहरीलाई ती शिक्षक लिएर जान दिएनन्। साँझमा झडप नै हुँदा प्रहरी र गाउँले घाइते भएको स्थानीयबासीले जानकारी दिएका छन् ।
त्यसैगरी स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको थियो। स्थानीयका अनुसार यसक्रममा एक युवकलाई पनि गोली लागेको छ। तर, यसबारे प्रहरीले आधिकारिक जानकारी दिइसकेको छैन।
कसरी भयो घटना
प्रहरी स्रोतका अनुसार चैत ४ अर्थात तराईको होलीका दिन ती शिक्षक छात्राको घरमा पुगेका थिए। घरमा पुग्ने बित्तिकै उनले विद्यार्थीसँग पानी मागेका थिए। पानी ल्याएर दिने क्रममा ती शिक्षकले आफूमाथि दुर्व्यवहार गरेको छात्राले बताएकी छन्।
‘गएको तिहारदेखि यता उहाँ पटक–पटक हाम्रो घरमा आउने, मसँग पानी माग्ने र दुर्व्यवहार गर्ने गर्नुहुन्थ्यो,’ छात्राको भनाइ उद्धृत गर्दै वडाध्यक्ष मगरले सेतोपाटीसँग भने, ‘ती नानीले यसो भनेपछि हामीले प्रहरी बोलाएका हौं। प्रहरीले लगेर छानबिन गरोस् भन्ने थियो। तर, स्थानीय र विद्यार्थीलाई प्रहरीले आरोपित बचाउन लागेको भन्ने सोच्नुभयो। फलतः झडपको अवस्था आयो।’
दिउँसो आक्रोशित विद्यार्थी र स्थानीयबासीले शिक्षक र स्थानीय जनप्रतिनिधिलाई कोठामै थुनेर प्रदर्शन गर्दै आगजनीको प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ ।
विद्यालयको अवस्था तनावग्रस्त बनेपछि पुगेको प्रहरी टोली र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले थुनिएकालाई उद्धार गरि सुरक्षित स्थानमा लगेको र स्थिति समान्य अवस्थामा आएको जनाएको छ ।
प्रदर्शनकारीहरुले प्रदर्शनका क्रममा आरोपित शिक्षकको मोटरसाइकल जलाइदिएका छन्। एक महिला प्रहरी गम्भीर घाइते भएको स्थानीयले जानकारी दिएका छन्। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले घाइतेहरू अस्पताल पुगेपछि अवस्थाबारे जानकारी हुने बताए।