घरजग्गा बिक्री गर्न नमानेको भन्दै छोराले आफ्नै आमाको हत्या गरेका छन्।
आमाको हत्या गर्न साथीलाई एक लाख रुपैयाँ दिने प्रलोभन समेत दिएको प्रहरी अनुसन्धानमा खुलेको छ।
पोखरा–१२ शितलादेवीमा घरमै सुतिरहेको अवस्थामा छोरा ओमबहादुर नेपालीले आफ्नी ६७ वर्षीया आमा नौमाया नेपालीको हत्या गर्न साथी कुमार गुरूङलाई एक लाख रुपैयाँ प्रस्ताव गरेको प्रहरीले बताएको छ।
मध्यरातसम्म मदिराले लठ्ठ ओमबहादुर र कुमारले राति सुतिरहेको अवस्थामा आमा नौमायाको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।
आमा सुतिरहेको कोठाको चुकुल खोलिदिएर ओमबहादुरले आमाको हत्या गर्न कुमारलाई घरभित्र पठाएका थिए। नौमायाको हत्यापश्चात् ओमबहादुरले एक लाख रुपैयाँ दिने प्रस्ताव गरेको कुमारले प्रहरी बयानमा स्वीकार गरेका छन्।
कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार चैत ४ गते बिहान छोरा ओमबहादुरले नै आमाको हत्या भएको भन्दै प्रहरीलाई खबर गरेका थिए।
‘म घरमा नभएको बेला आमाको कसले हत्या गर्यो भनेर ओमबहादुरले हामीलाई खबर गरे,’ डिएसपी तिवारीले भने, ‘अनुसन्धान गर्दै जाँदा उनै ओमबहादुरको योजनामा हत्या भएको रहेछ।’
छरछिमेकमा समेत आमाको हेरचाह गरेको छवि बनाएका ओमबहादुरलाई यसअघि कसैले पनि आमाको हत्या गरेको शंका गरेका थिएनन्। प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरू दुबै जनाले कसुर स्वीकारेको डिएसपी तिवारीले बताए।
हत्या हुनुभन्दा केही दिनअघि नै ओमबहादुरले आमाको हत्या गर्न कुमारलाई एक लाख दिनेगरी सहमति गरेका थिए।
प्रहरीका अनुसार आमाको हत्यापश्चात् घरजग्गा बिक्री गर्ने र त्यसपछि रकम भुक्तानी दिने उनीहरूको सहमति थियो।
ओमबहादुरले घटनाका बारेमा जानकारी गराएपछि घटनास्थल पुगेका प्रहरीले आमाको मृत्यु नभई हत्या भएको आशंका गरेको थियो।
आमाको घाँटी थिचिएको डाम बसेको थियो भने अनुहारमा आलो घाउ देखिएको डिएसपी तिवारीले बताए।
घटनापश्चात् प्रहरीले छरछिमेकमा बुझ्दा नौमायाको हत्याबारे कसैले पनि सूचना दिएका थिएनन्।
घरजग्गा बिक्रीका विषयमा आमा-छोरा विवाद पर्दा छोराले कुटपिट गर्ने र खाना नदिएको भन्दै केही समयअघि सामुदायिक प्रहरी माटेपानी पुगेर आमा नौमायाले गुनासो गरेकी थिइन्।
सामुदायिक प्रहरीमा रेकर्डमा रहेको त्यही गुनासोका आधारमा छोरा ओमबहादुर र घटना भएको मध्यरातसम्म सँगै रहेका साथी कुमारलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
दुई जनालाई छुट्टा–छुट्टै राखेर बयान लिने क्रममा उनीहरूका भनाइ बाझिएको थियो।
बाझिएका बयान सुनाएपछि सुरूमा कुमारले घटना स्वीकार गरेपछि छोरा ओमबहादुरले पनि आफ्नो योजना स्वीकारेको डिएसपी तिवारीले बताए।
आमाको हत्यापश्चात् ओमबहादुर पनि कुमारको कोठामा गएर बसेका थिए।
चैत ५ गते पक्राउ परेका दुबै जनालाई अदालतले अनुसन्धानका लागि ६ दिन म्याद दिएको छ।
अपराध संहिता २०७४ को परिच्छेद १२ अनुसार ज्यानसम्बन्धी कसुरमा उनीहरूविरूद्ध मुद्दा दायर गर्ने प्रहरीले तयारी गरेको छ।