आफूसँगै दिनरात कर्तव्य पालनामा खटिने साथीलाई अन्तिम बिदाइ गर्नुपर्दा प्रहरी जवान उर्मिला श्रेष्ठका सहकर्मीहरू सोमबार भावुक देखिन्थे। कोशी अस्पताल परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव राखिँदा भेला भएका प्रहरीहरू मलिन अनुहार लिएर कार्यक्रममा सहभागी थिए।
मोरङको लेटाङ तनावमा ज्यान गुमाएकी उर्मिलालाई प्रहरी संगठनले अन्तिम बिदाइ गरेर शव परिवारलाई जिम्मा लगाएको छ। विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम प्रक्रिया पूरा गरेपछि श्रेष्ठलाई प्रहरी संगठनले अन्तिम सलामी अर्पण गरेको थियो।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरूणकुमार जिसी, मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितका प्रहरी अधिकारी, उर्मिलाका सहकर्मीलगायतले उनको शवमा पुष्पगुच्छा अर्पण गरेर अन्तिम बिदाइ गरेका थिए।
प्रहरीका अनुसार उदयपुरको त्रियुगा निवासी उर्मिलाको परिवारले शव लिएर गएको छ। उनको अन्त्येष्टि उदयपुरमै गर्ने तयारी छ।
एकपछि अर्को यौनहिंसाका घटनाको दुष्चक्रमा पर्दै आएको मोरङमा फेरि त्यस्तै घटना नै प्रहरी जवान उर्मिलाको ज्यान लिने मुख्य कारण बनेको थियो। स्थानीयबासी र प्रहरीसहित दर्जनौं घाइते हुने र सिंगो गाउँ कर्फ्यूको कहरमा रहनुपर्ने कारक पनि यही घटना नै भयो।
यो उत्तरी मोरङको लेटाङ–५ को घटना हो, जहाँ एक शिक्षकले आफ्नै छात्रामाथि गरेको दुर्व्यवहार यति ठूलो तनावको कारण बन्यो। आइतबार प्रहरीको ज्यान जाने गरी भीडन्त भएको लेटाङमा सोमबार दिनभर प्रशासनले कर्फ्यू आदेश जारी गर्नुपर्यो। ‘हामी गाउँमै छौं, कर्फ्यूले सबै घरघरै थुनिएको अवस्थामा छौं,’ लेटाङ-५ का वडाध्यक्ष भुमसूर्य मगरले भने, ‘गाउँ अझै पनि आतंककै छायामा छ।’
लेटाङमा आइतबार भएको घटनामा दर्जनौं प्रहरी र गाउँले घाइते भएका थिए। यो घटनापछि लेटाङ क्षेत्रमा प्रहरीको बाक्लो पहरा छ। गाउँमा सन्नाटा जस्तो अवस्था व्याप्त रहेको वडाध्यक्ष मगरले जानकारी दिए।
उर्मिला २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरकी हुन्। १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा दरबन्दी भएकी उर्मिलासहितको टोली आइतबार दिउँसो लेटाङको तनाव साम्य पार्न त्यसतर्फ लागेको थियो। तर, फर्कंदा उनका अरू साथीहरू घाइते थिए भने उनको भने शवमात्रै फर्किएको थियो।
तराईको होलीको दिन चैत ४ मा शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रालाई घरैमा गएर दुर्व्यवहार गरेपछि आइतबार विद्यार्थी र स्थानीय आन्दोलित भएका थिए। त्यही क्रममा तनाव बढेपछि भीडबाट कसैले उर्मिलाको घाँटीमा चक्कु प्रहार गरेको प्रहरी भनाइ छ। घाँटीमा गहिरो चोट बोकेकी उर्मिलाको बाटैमा निधन भएको थियो।
यो पनि:
लेटाङमा बिलायो प्रहरी जवान दम्पतीको सँगै बस्ने सपना