भारतको हैदरावाद आगलागीमा परी ११ जनाको मृत्यु भएको छ।
बुधबार बिहान सिकंदराबादको बोयागुडाको गोदाममा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ।
कबाडी गोदाममा आगलागी भएको हो।
स्थानीयका अनुसार आगो लाग्दा १२ जना कामदार थिए। तीमध्ये एक जना कामदार मात्र बाँच्न सफल भएको बिबिसीले उल्लेख गरेको छ।
मृत्यु हुनेमा २० देखि ३० वर्षका ८ जना, ३० वर्ष माथिका दुई जना र ४० वर्षको एक जना रहेको जनाइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै यस घटनाले मर्माहत भएको बताएका छन्।
मोदीले आगलागीबाट ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्दै मृतकका परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा समेत गरेका छन्।