जिल्ला अदालत कास्कीका कार्यालय सहयोगीले बुधबार बिहान कार्यालय जाँदा फरक दृश्य देखे।
प्रमुख जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले हेर्ने १ नम्बर इजलासको ढोका खुला थियो। भट्टराई बस्ने ६ नम्बर फाँटका दुइटा ढोका पनि खुला थिए। ढोकाभित्र दराज र टेबलका घर्रा खोलेर कागजपत्र गिजोलेको दृश्य कार्यालय सहयोगीले देखे।
कार्यालय सरसफाइमा जाँदा देखेका दृश्य उनले अदालतका प्रशासन फाँटमा जानकारी गराए। प्रशासनले प्रहरीलाई खबर गर्यो।
डिएसपी चिनीमाया तामाङको कमाण्डमा रहेको वडा प्रहरी कार्यालय बैदामको गेट र जिल्ला अदालतको गेट सडकको वारिपारि छ।
प्रहरी कार्यालयकै अगाडि रहेको जिल्ला अदालतको कम्पाउण्ड पर्खाल र काँडेतारले घेरिएका छन्। २४ घण्टा प्रहरी सुरक्षामा रहेको अदालतभित्र को कुन उद्धेश्यले छिर्यो भन्ने अहिलेसम्म पत्ता लागेको छैन।
अदालतभित्र छिरेका व्यक्तिले ढोकाको चाबी फोरेर भित्र छिरेको देखिएको छ। चाबी फोर्न प्रयोग गरिएको रड फेला परेको छ।
घटनाका विषयमा प्रहरीले मुचुल्का बनाएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए।
‘घटनास्थल पुगेर हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अहिलेसम्म केही हराएको जानकारी भने छैन।’
अदालतभित्र पुगेका व्यक्तिले विभिन्न फाइल पल्टाएको देखिएको छ। तर अदालतभित्र रहेका कम्युटर लगायतका सामग्री भने सुरक्षित भेटिएको डिएसपी तिवारीले बताए।
अदालतमा पेस गरिएको मिसिल र कुनै कागजात हराएको छ कि छैन भनेर अनुसन्धान भइरहेको उनले बताए।
जिल्ला अदालतका अनुसार उक्त फाँटमा फैसला गरिएका र चालु अवस्थामा रहेका मुद्दाका पाँच सय फाइल थिए। सोही घटनाका कारण बुधबार सुनुवाइ हुनुपर्ने पाँच वटा मुद्दा प्रभावित भएको अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरूले बताए।
अदालत छिर्ने व्यक्तिले मिसिलबाट महत्वपूर्ण कागजपत्र चोरेको हुन सक्ने आशंका अनुसन्धान भइरहेको उनले जानकारी दिए।
‘अदालत फोर्ने व्यक्ति धन-सम्पत्ति चोर्न पक्की आउँदैन, कागजपत्र चोरिएको आशंका छ,’ पनेरूले सेतोपाटीलाई भने, ‘हामीले पहिला सबै फाइल हेर्छौं र एक-एक पाना भेरिफाइ गर्छौं।’
यसका लागि अदालतमा रहेको सिसिटिभी फुटेज प्रहरीलाई उपलब्ध गराइसकेको उनले बताए।
अदालत जस्तो संवेदनशील क्षेत्रमा कोही व्यक्ति उद्धेश्य बिना प्रवेश गर्न नसक्ने उनको भनाइ छ।
‘कुनै मुद्दाका महत्वपूर्ण सक्कली लिखत हराएको पनि हुन सक्छ, केही नलगेको भए किन अवैध तरिकाले अदालत छिर्यो भनेर अनुसन्धान हुन्छ,’ उनले भने, ‘अहिलेसम्म केही हराएको पाइएको छैन, अदालत छिर्ने व्यक्ति पनि पहिचान भइसकेको छैन।’
अदालत परिसर बाहिर लागुऔषध नष्ट गर्ने स्थान छ। लागुपदार्थ सेवनकर्ता अदालत छिरेको हुन सक्ने अनुमान पनि गरिएको छ। यसतर्फ पनि अनुसन्धान भइरहेको डिएसपी तिवारीले बताए।
‘ढोका फोरेर भित्र पसेका व्यक्तिले अहिलेसम्म केही लगेको देखिँदैन,’ उनले भने, ‘कुन नियत राखेर अदालतमा को छिरेको हो भनेर खोजतलास गर्दैछौं, छिट्टै निष्कर्षमा पुग्छौं।’