अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले छात्राहरूलाई ६ कक्षामाथि पढ्न नदिने भएको छ।
तालिबानले अफगानिस्तानाको नयाँ शैक्षिक सत्रदेखि लागु हुनेगरी ६ कक्षा माथिका छात्रालाई पढ्न शैक्षिक संस्था खोल्न नदिने निर्णय गरेको समाचार संस्था एपी न्युजले जनाएको छ।
विद्यालय खोल्न तथा महिलाहरूलाई अधिकार दिन अन्तर्राष्ट्रियस्तरबाट तालिबानलाई दबाब थियो। तर तालिबानले बालिकाहरूका लागि ६ कक्षामाथिका विद्यालय नखोल्ने निर्णय गरेको हो।
केही समयअघि मात्रै अफगानिस्तानको शिक्षा मन्त्रालयले सबै विद्यार्थीहरू विद्यालयमा जान भन्दै सूचना जारी गरेको थियो।
अभिभावक र विद्यार्थीले बालिकाहरू पनि विद्यालयमा पढ्न जान पाउने भन्ने बुझेका थिए। तर मन्त्रालयले मंगलबार छ कक्षामाथि शैक्षिक संस्था खोल्नबाट रोक लगाएको हो।
गत अगस्टमा असरफ घानीको सरकार हटाएर सत्तामा आएका तालिबानहरूले सरिया कानुनअनुसार देश चलाइरहेका छन्। २० वर्षसम्म अमेरिकी सेना अफगानिस्तानमा हुँदा महिलाहरूलाई विश्वविद्यालयसम्म पढ्न कुनै रोकावट थिएन।
तालिबान आएपछि भने महिलाहरूका आधारभूत मानवअधिकार पनि कुण्ठित गरिएको छ।