जिल्ला अदालत कास्की र वडा प्रहरी कार्यालय बैदामको गेट सडकको वारीपारी छ।
पोखरा शहरबाट बग्ने फिर्के खोलाले यी दुबै कार्यालयका कम्पाउण्ड छोएको छ। जिल्ला अदालत परिसरको पूर्वतर्फ प्रहरीले लागु औषध नष्ट गर्ने ठाउँ बनाएको छ।
लागुऔषधको खोजीमा रहेका पोखरा–१५ टुटुङ्गाका २७ बर्षीय दाबा (अर्जुन परियार) बुधबार मध्यरात लागु पदार्थ नष्ट गर्ने ठाउँमा पुग्छ। अदालत परिसर नजिकै फिर्के खोला किनारमा दावाले ३ थान लागु औषध भेटाए।
सिरिञ्जबाट उनले लागु औषध लिए। त्यसअघि नै मदिरा सेवनबाट लठ्ठिएका दावा त्यसपछि काँडेतारबाट छिरेर अदालत परिसर प्रवेश गरे। अदालतको मुख्य गेटमा प्रहरी तैनाथ थिए । परिसरमाको मुख्य गेटदेखि सडकतर्फका भागमा पर्खालमाथि काँडेतारले घेरिएको छ।
यसअघि विभिन्न मुद्धामा ८ पटक पक्राउ परेका दावा पैसा र लागु औषधको खोजीमा अदालत प्रवेश गरेको प्रहरीलाई बयान दिएका छन्। यसअघि पनि अदालत लैजाँदा सामाग्री राखेको देखेका उनले अदालतको इजलास नम्बर १ र फाँट नम्बर ६ मा लगाइएका ताला फोडे।
उनले ताला फोड्न प्रयोग गरेको रड त्यहीं छाडेका थिए। ढोकामा लगाइएका चाबी फोरेर भित्र पसेका दाबाले दराजमा राखिएका फाइलहरु खोतलेका थिए।
’कोठाभित्र रहेका टेबलका घर्राहरु खोलेर कागजात यत्रतत्र छरिएको अवस्थामा भेटिएको थियो,’ कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले भने, ‘चाबी फोर्न प्रयोग गरिएको रड बाँङ्गो बनाएर त्यहीं छाडेका थिए।’
दावाले चाबी फोरेर कागजात खोतलेको इजलास जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराइको हो। जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले उक्त फाँटमा ५ सय बढी फाइल थिए।
उक्त फाइलहरु यत्रतत्र छरिएका, ढोका खुला राखिएका र टेबलका घर्रा र दराज खोलिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले लिएको प्रारम्भिक बयानमा दावाले कुनै कागजात चोर्ने वा नष्ट गर्ने उदेश्य नभएको दाबी गरेका छन्।
उनले लागु औषध र पैसा भेटिन्छ कि भनेर अदालत छिरेको र त्यसैको खोजीमा चाबी फोरेर टेबल र दराज खातलेको बयान दिएका डिएसपी तिवारीले बताए। बुधबार राती चाबी फोरिएको इजलास र फाँट नम्बर ६ मा अदालतले सिसिटीभी क्यामेरा जोडिएको छैन।
अदालतका अन्य फाँट र परिसरमा सिसिटीभी क्यामेरा राखिए पनि उक्त इजलास नयाँ भवनमा भएकाले सिसिटीभी जोड्न छुटेको अदालतका सूचना अधिकारी पनेरुले बताए।
अहिलेसम्मको अनुसन्धानमा प्रहरीले कुनै कागजात नष्ट गरेको वा चोरेको सूचना पाएको छैन। अदालतका सूचना अधिकारी पनेरुले अहिलेसम्म अदालतमा राखिएको कागजात हराएको नदेखिएको बताए।
‘हामीले कागजातको अनुसन्धान गरिरहेका छौं, सबै फाइल भेरिफाइ गर्छौ,’ उनले भने, ‘अहिलेसम्म कुनै कागजात हराएको देखिएको छैन।’
अदालतमा तोडफोडका आरोपमा बुधबार विहानैदेखि केही व्यक्तीहरुलाई निगरानीमा राखेका कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताए। उनका अनुसार दाबा अदालत भवनको परिसरबाट पछाडीबाट काँडेतार नाघेर बाहिर निस्केका थिए।
राती सडकमै बास बसेर दावा बुधबार बिहान घर गएको प्रहरीले जनाएको छ। अदालत परिसर वरीपरी मंगलबार रातीदेखि देखिएका व्यक्तिहरुलाई निगरानीमा राख्दा दावालाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ।
अदालतबाट म्याद थपेर थप अनुसन्धान अघि बढाउने तयारी गरेको एसपी थापाले बताए। प्रहरी अभिलेख अनुसार दावा २०७३ सालमा पहिलो पटक अभद्र व्यवहार मुद्धामा पक्राउ परेका थिए। त्यसपछि चोरी, पोखरा र रुपन्देहीमा लागुऔषध लगायत मुद्धामा पक्राउ परेका दावा गत फागुन २३ गते मात्र थुनामुक्त भएका थिए।