दार्चुलाको महाकाली नगरपालिकाका केही भू-भाग २०७० सालमा आएको बाढीले महाकाली नदीपारि पुर्याइदिएको थियो। नदीको धार फेरिएपछि नेपालको भू-भाग भारततिर गएको थियो।
त्यसपछि सीमाबारे भारतसँग स्थानीयको विवाद बढ्दै गयो।
स्थानीय सुरेश ठगुन्नाका अनुसार महाकाली-५ स्थित गल्खै भन्ने ठाउँ त्यो बाढीपछि भारततिर गयो।
‘यहाँ सिमानामा पिलर छैन, नदीको सिमाना हो, गल्खैमा भारतले केही समयअघि बाँध लगाउँदा पनि विवाद भएको थियो, माथिबाट टोली आयो, छानबिन भएपछि विवाद सकिएको थियो,’ उनले भने।
अहिले फेरि महाकाली नदीको बीचमा भारतले बनाउन लागेको तटबन्ध(बाँध)का कारण नयाँ विवाद सुरू भएको छ। स्थानीयहरूले उक्त बाँधले दार्चुलाको सदरमुकाम नै जोखिम पर्ने भन्दै विरोध जनाएका छन्।
भारतीय पक्षले महाकाली-४ को पारिपट्टी धार्चुलामा नयाँ बाँध बनाउन थालेको छ। त्यसले नदीको धार परिवर्तन गर्ने भन्दै महाकालीका स्थानीयहरू विरोधमा उत्रिएका हुन्।
भारतले बनाउन लागेको बाँधले दार्चुलाको सदरमुकाम नै जोखिममा पर्नसक्ने उनीहरू बताउँछन्।
‘पुरानो नक्सामा हेरे नेपालको भूमि हो, भारतले महाकालीको वहाव नेपालपट्टी परिवर्तन गरेर वारिको बाँधलाई असर पर्नेगरी बनाउँदैछ,’ ठगुन्नाले भने।
स्थानीयहरू भारतले आफ्नो भूमिमा राम्रो बाँध बनाओस् तर नेपालतर्फ असर पार्ने गरी नबनाओस् भन्ने चाहेको उनले बताए।
आफ्नो भूमिमा कटान रोक्न भारतले महाकाली नदीको बीचमा १० मिटरजति वर नेपालतर्फ बाँध बनाउन लागेकाले स्थानीयले विरोध गर्नु परेको ठगुन्नाले बताए।
´उसको पुरानो बाँध जहाँ छ त्यहाँ बनाउनु पर्ने, त्यहाँ बनाए हामीलाई समस्या भएन, डुंगा लगाएर बीच नदीमा वहाव रोकेर बाँध बनाउन थालेपछि विरोध भएको हो,` उनले भने।
जेसिबी ल्याएर केही दिनअघि भारतीय पक्ष नेपालको भूमिमै आएपछि स्थानीयले ढुंगामुढा गरेका उनले बताए। उनका अनुसार अहिले पनि स्थानीय आन्दोलनमै छन्। यो आन्दोलन औपचारिक रूपमा संगठित भएर गरिएको भने होइन। बेलाबेला मान्छे जम्मा हुने र बाँध बनाउन नपाइने भन्दै विरोध जनाउने गरेको उनले बताए। उनीहरूले सरकारी निकायमा ज्ञापनपत्र पनि बुझाएको उनले बताए।
‘ढुंगामुढा हान्दै छन्, कराउँदै छन्। तर नदी किनारमा कराएको कसले सुन्छ र`,उनले भने। प्रहरी प्रशासन र जनप्रतिनिधिले पनि यसबारे नबोलेको उनी बताउँछन्।
‘यहाँ सुन्ने कसले हो? ज्ञापन पत्र बुझाएर कसले सुन्छ? चुनाव लाग्या छ। त्यसमा व्यस्त छन्। भारतसँग कसले सक्छ भन्छन,’ उनले भने।
यसबारे विरोध गर्ने र बोल्नेलाई पनि भारतीय एसएसबीबाट डर रहेको उनले बताए।
स्थानीयहरूले भारतीय पक्षका निर्माण कम्पनीसँग कुरा बुझ्दा ‘कुकुर भुक्दै गर्छ हात्ती हिँड्दै गर्छ’ भन्ने जवाफ दिएको उनले बताए।
´मेयरसँग बैठक बसेको भन्ने सुनियो तर बाँध बनाउन रोकिएन, छानबिन पनि भएन। उल्टै मेयरले काम गर भनेको भारतीय ठेकेदारले भन्ने गरेको छ`, उनले भने।
अर्का स्थानीय तिलकराज अवस्थीले नेपालको प्रशासनले यसबारे भारतसँग कुरा गर्नुपर्ने बताए।
´जहाँ उसको पुरानो बाँध हो, आफ्नो ठाउँमा बनाए नदी फराकिलो हुन्छ, यसरी भारत र नेपाल दुबैलाई असर पुग्दैन,` उनले भने।
भारतले अहिले तोकेकै ठाउँमा तटबन्ध बनाए बस्ती नै जोखिममा पर्ने महाकालीका बासिन्दालाई चिन्ता छ। बसेको ठाउँ असुरक्षित हुने भएकोले नेपाल सरकारले त्यो हुनबाट रोक्न पहल गरोस् भन्ने उद्देश्यले कतिपय स्थानीय आन्दोलन गर्नु परेको बताउँछन्।
उक्त तटबन्ध रोक्न त्यहाँका स्थानीयलेले माग गरिरहेका छन्। सम्बन्धित निकाय, राजनीतिक दलहरूले यो विषयलाई गम्भीर रूपमा नहेरेको स्थानीय गुनासो छ।
यसबारे स्थानीयले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ज्ञापन पत्र बुझाउदै जानकारीसमेत गराएका थिए। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घ उपाध्यायले भारतले माघदेखि तटबन्ध बनाउन सुरू गरेको बताए।
‘उनीहरूले कटान रोक्नका लागि एक किलोमिटर संरचना बनाउन खोजेको हो, त्यो भनेको दार्चुला सदरमुकाम खलंगादेखि तल पारी भारतपट्टी एक किलोमिटर पुलसम्म हो, त्यो बने यता क्षति हुन्छ भन्ने यताका मान्छेको भनाइ छ,’ उनले भने।
नेपालका तर्फबाट बनाउन नमिल्ने भनेको होइन तर प्राकृतिक वहाव परिवर्तन हुन नहुने स्थानीयको माग रहेको उनले बताए। प्रमुख जिल्ला अधिकारी उपाध्यायले भारतीय जिल्लाका अधिकारीसँग संरचना निर्माण गर्ने विषयमा कुराकानी भएको बताए।
´हाम्रा प्राविधिकहरूलाई पनि संरचनाबारे जानकारी लिने काम भइरहेको छ। छलफलमा वहाव परिवर्तन हुने गरी र वारि असर पार्ने गरी गरिँदैन भनेका छन्,`उनले भने।
उनका अनुसार अहिले तटबन्ध निर्माण गर्ने भनिएको ठाउँमा भारतले ढुंगा भर्ने काम गरिरहेको छ।