बलात्कार आरोपित अभिनेता पल शाह (पूर्णविक्रम शाह) को मुद्दामा तनहुँ जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ।
जिल्ला अदालत तनहुँमा बुधबार र बिहीबार भएको थुनछेक बहसमा पलका कानुन व्यवसायीहरूले एकतर्फी प्रेम अस्वीकार गर्दा फसाइएको जिकिर गरेका छन्।
पलका पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले अभियुक्त पलले नाबालिग गायिकालाई बहिनीको व्यवहार गरेको दाबी गरेका छन्।
‘पलले पीडित भनिएका व्यक्तिलाई बहिनीको व्यवहार गर्नुहुन्थ्यो, तर पीडित भनिएकीले एकतर्फी प्रेम गरेर विवाहका लागि दबाब दिइन्,’ वाग्लेले बहसमा आफूले गरेको जिकिर उदृत गर्दै सेतोपाटीलाई भने, ‘एकतर्फी प्रेम र विवाह अस्वीकार गर्दा बलात्कार भनेर फसाइयो।’
बलात्कार भनिएको मितिदेखि अहिलेसम्म चुप लागेर बस्नुले पनि घटना विश्वसनीय नभएको उनको जिकिर छ।
२०७८ वैशाख १४ गते तनहुँमा बलात्कार भनेर दाबी गरेको भोलिपल्ट ढोरबाराही सँगसँगै घुमेको, सँगै सुटिङमा हिँडेको र त्यसपछि पनि पटक पटक भेटघाट भएको वाग्लेले बताए।
‘बलात्कार भएको भए कोरिबाटी चिटिक्क परेर सँगसँगै हिँड्ने, डुल्ने, घुम्ने हुँदैनथ्यो होला नि,’ उनले भने, ‘पीडित भनिएको पक्षले विवाह गर्न नमान्दा फसाएको प्रष्ट देखिन्छ।’
अभियोग पत्रको बयानमा पीडितले अनुसन्धान अधिकृतसमक्ष योनीमा विर्य स्खलन गरेको बताएको र अस्पताल गएर झ्यालको कोठामा विर्य स्खलन गरेको भनेकाले पनि घटना स्वीकार्य हुन नसकेको उनले दाबी गरे।
बारदात भएको घरधनीले छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाएको र गायक कमल खत्रीले समेत पल आफूसँग सुतेको बताएको उनले जिकिर गरे। यसैका आधारमा पनि पल निर्दोष रहेको उनले दाबी गरे।
पीडितलाई नाबालिग भनिएकोमा पनि पलका कानुन व्यवसायीले अस्वीकार गरेका छन्।
उनको जन्मदर्ता विद्यालयको रेकर्डमा खोज्न समेत अदालतसमक्ष उनले माग गरेका छन्।
देशभरका स्टेज कार्यक्रमदेखि अन्य सांगीतिक समारोह र सुटिङमा समेत पीडित परिपक्व महिलाका रूपमा देखिएको पलका कानुन व्यवसायीको जिकिर छ।
‘एकतर्फी प्रेम र विवाहका लागि अधिकतम दबाब दिएको देखिन्छ,’ वाग्लेले भने, ‘विवाह नगरे ‘लाइफ ड्यामेज’ गरिदिन्छु भनेर पूरै बनावटी रूपमा लागेको देखिन्छ।’
बुधबार र बिहीबार भएको थुनछेक बहसमा पलका तर्फबाट वरिष्ठ अधिवक्ता वाग्लेसहित यदुनाथ खनाल, लव मैनाली, अधिवक्ताहरू भानुभक्त सुवेदी, परशुराम गिरी, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरे लगायत १२ जनाले बहस गरेका थिए।
यता, पीडितका तर्फबाट जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधीवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बहस गरेका थिए।
थुनछेक बहसमा पीडितका पक्षबाट बहसमा उत्रिएका कानुन व्यवसायीले पीडकलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका छन्।
पीडितका पक्षबाट सुरूआती बहस गरेकी अधिवक्ता राधिका खतिवडाले पललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने १७ वटा कारण पेस गरेकी थिइन्।
प्रतिवादी पलले कसुर गरेको अवस्था देखिए जिकिर गर्दै उनले नाबालिग बलात्कारका अभियुक्तलाई बाहिर ल्याउँदा समाजमा आतङ्कित हुने, स्वतन्त्र न्यायको सिद्धान्तविरूद्ध हुने, पीडितलाई होस्टाइलको प्रयास हुने, अपराधमा संलग्न अरोप लागेका व्यक्तिलाई समाजबाट बाहिर राख्नुपर्ने मान्यता रहेको, जघन्य फौजदारी मुद्दाका अभियुक्त रहेको र विगतमा बलात्कारसम्बन्धी मुद्दामा अदालतबाट आएका फैसलाहरुका नजिरका आधारमा पललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने उनको जिकिर छ।
बहसका क्रममा खतिवडाले बलात्कार मुद्दाका अभियुक्तलाई लोकप्रियता वा शक्तिका आडमा छाड्न नहुने, छाड्दा प्रमाण नष्ट गर्न सक्ने लगायतका जिकिर उनले बहसमा पेस गरेकी थिइन्।
बलात्कार घटना लुकीछिपी हुने भन्दै उनले प्रत्यक्षदर्शी आवश्यक नपर्ने समेत जिकिर गरेकी छन्।
पीडितको भनाइ नै सबभन्दा ठूलो प्रमाण भएको भन्दै उनले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने बताइन्।
नाबालिग पीडितलाई आफन्तको घरमा लैजाने, मादक पदार्थ सेवन गराउने लगायतका कार्य अभियुक्तले स्वीकार गरिसकेकाले अपराध गर्न तयार भएको र घटना विवरण हेर्दा अपराध भएको तर्क उनले दिएकी थिइन्।
खतिवडाले पेस गरेको १७ वटा कारण त्यसपछि पीडितका पक्षमा बहस गरेका अन्य कानुन व्यवसायीले पनि समर्थन जनाएका थिए।
यता, पलका पक्षबाट बहस गरिरहेका कानुन व्यवसायीले भने पललाई धरौटी वा तारेखमा छाड्नुपर्ने तर्क दिएका छन्।
हिरासत बाहिर बसेर नै पलले मुद्दा लड्न पाउनुपर्ने उनीहरूको जिकिर रहेको प्रतिवादीका कानुन व्यवसायीले बताएका छन्।
आज नै थुनछेक आदेश जारी हुने जिल्ला अदालत तनहुँले जनाएको छ।
झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ, नवलपुर लगायतका स्थानमा पटक पटक बलात्कार गरेको भन्दै नाबालिग गायिकाका परिवारले फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा पललाई हिरासतमा लिएर प्रहरी अनुसन्धान गरेको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियुक्त पललाई बलात्कार र उनका म्यानेजर कृष्ण जोशीलाई मतियारका रूपमा अधिकतम सजाय माग गर्दै सोमबार जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको थियो।
दुर्बतर्फका कानुन व्यवसायीसँग थुनछेक बहस सकिएकाले केहीबेरमा आदेश आउने जिल्ला अदालत तनहुँले जनाएको छ।