गायिका एवं संगीत अनुसन्धाता पुष्पा पलाञ्चोकेले एकदिन कीर्तिपुरका महिलाहरूलाई सोधिन्, 'तपाईंहरूलाई दाफा भजन गाउने र बाजा बजाउने इच्छा छैन?'
पुष्पाको प्रश्नलाई उनीहरूले गम्भीरतापूर्वक लिएनन्।
बरू ठ्ट्यौली पारामा उल्टै सोधे, 'के अब हामी खिँ (बाजा) झुन्ड्याउँदै हिँड्ने? पुरुषहरूले जसरी 'हआआआ...गरेर गीत गाउने?'
उनीहरूले दाफाप्रति चासो नै देखाएनन्।
त्यसरी गाउन र बाजा बजाउन धकाउने महिलाहरू नै यही शनिबार कीर्तिपुरमा हुन लागेको एकदिने सांगीतिक महोत्सव 'इकोज इन द भ्याली' मा सांगीतिक प्रस्तुति दिँदैछन्।
दाफामा पहिले चासो नदेखाएका महिलाले कसरी यहाँ प्रस्तुति दिन सम्भव हुँदैछ?
त्यसबारे बताउनुअघि दाफाको छोटो जानकारी लिऊँ है!
बेलायती संगीतविद् रिचर्ड विडेसको किताब 'दाफाः सेक्रेड सिंगिङ इन अ साउथ एसियन सिटी' का अनुसार नेवार समुदायले गाउने दाफा एक भक्तिपूर्ण गायन हो। यो १७ औं शताब्दीतिर सुरू भएको थियो। सन् १६७२ मा पहिलोपटक यो शब्द साहित्यमा प्रयोगमा आएको हो।
नेपाल सम्वत् ७८४ अर्थात् सन् १६६४ मा काठमाडौंको तलेजू मन्दिरमा राजा प्रताप मल्लले पौभाः चित्र बनाएका छन्। उक्त चित्रअनुसार तलेजू परिसरमा धार्मिक गतिविधि हुँदैछ। त्यसमा राजाले छोराको तौल बराबर गरगहना र चाँदी तौलिएका छन्। त्यो देवीलाई चढाइँदैछ।
त्यही चित्रमा समुदाय मिलेर दाफा गाएको दृश्य छ।
'चित्रकलामा कम्तीमा छ वटा सांगीतिक समूहले जोसका साथ प्रदर्शन गरेका छन्,' संगीतविद् विडेसले किताबमा लेखेका छन्, 'यो दाफा समूह अहिले थाहा भएसम्मकै पुरानो हो। यो चित्रमा दाफा समूह देखाइएकाले झनै महत्वपूर्ण छ।'
यो जानकारीपछि अब कीर्तिपुरमै फर्किऊँ।
करिब दुई वर्षअघिको कुरा हो।
पुष्पा एक जना साथीसँग कीर्तिपुरको तःननी दाफा खलः पुगेकी थिइन्। त्यति बेला तःननीले टोलबासीसँग मिलेर सञ्चालन रोकिइसकेको देवी प्याखँ (नाच) ब्युताउँने प्रयास गरिरहेको थियो। देवी प्याखँ 'खँ प्याखँ' अन्तर्गतको नाच हो। त्यसको पनि अझै बृहत लालहिरा प्याखँ रहेछ भन्ने जानकारी पुष्पाले त्यही क्रममा थाहा पाइन्।
जतिजति यसबारे बुझ्दै गइन्, उनलाई यस नाचबारे चासो बढ्दै गयो। सन् २०१९ डिसेम्बरदेखि काम थालेकी उनले मार्चसम्ममा लालहिरा प्याखँका कथाहरू गुरुसँग रेकर्ड गराइसकेकी थिइन्। त्यसका शब्द, संगीत, मुखौटो, लुगा, पूजाविधि लगायत धेरै सामग्री तयार पारिसकेकी थिइन्।
काठमाडौं विश्वविद्यालयमा संगीतमा स्नातकोत्तर गरिरहेकी उनले यही विषयमा थेसिस लेख्ने पनि सोचिन्। सन् २०२० मा हुन लागेको 'इकोज इन द भ्याली' मा नै उनले यो प्याखँमा आधारित काम गर्ने सोचेकी थिइन्। त्यही भएकाले 'फोकलोक' नामक समूह पनि बनाइन्। अंग्रेजीको 'फोक' र नेपालीको 'लोक' मिलेर बनेको यी दुई शब्दले एउटै अर्थ दिन्छन् – परम्परागत/पुरानो।
फोकलोकले तःननीसँग सहकार्य गरेर प्रस्तुति दिने तयारी गरिरहँदा कोरोना महामारीका कारण इकोजको कार्यक्रम स्थगित भयो। पुष्पाको अध्ययन–अनुसन्धानको काम भने जारी रह्यो। महामारीमा काम अनलाइनबाट हुन थाल्यो।
'स्थानीय समुदायलाई महामारीमा संलग्न गराउन हामीले 'दाफा कलिङ' भनेर अनलाइन फोरम बनायौं। त्यहाँ स्थानीय संगीतकार, प्राध्यापक, नीति-नियम निर्माता लगायत भेला भई दाफामा के गर्न सकिन्छ भनेर छलफल हुन्थ्यो,' पुष्पाले भनिन्, 'दाफा खलःको राम्रा र नराम्रा विषयमा छलफल भयो। समुदायमा दीर्घकालसम्म दाफा कसरी जोगाउने र तिनीहरूका चुनौती के–कस्ता छन् लगायत छलफल भए।'
दाफा कलिङमार्फत समुदाय स्तरका विभिन्न गतिविधि पनि भए। त्यही क्रममा एकदिन महिलालाई दाफा सिकाउने कुरा आयो। दाफा महिलालाई सिकाउन हुने हो वा होइन लगायत विभिन्न कुरा थिए। तःननीका गुरुहरू यो विषयमा सकारात्मक सुनिए।
पुष्पाले अनुसन्धान क्रममा गीत रेकर्ड गराउँदा नबुझेका कुरा गुरुहरूलाई गाएर सोध्थिन्। महिला स्वरमा दाफा सुन्दा गुरुहरू अचम्म मान्थे।
कहिलेकाहीँ त भन्थे पनि, 'हाम्रो समुदायका महिलाले पनि यसरी गीत गाए कस्तो हुन्थ्यो होला है!'
यहाँका महिला भने गीत गाउनु त परको कुरा, समुदायिक भवन आखाछेँमा जान पनि हिच्किचाउँथे। किनभने त्यो ठाउँसँग उनीहरूले दोहोरो सम्बन्ध बनाएका थिएनन्। अध्ययन–अनुसन्धानका लागि पुष्पा भने सजिलै आखाछेँभित्र पस्थिन्। अरू महिलालाई पनि त्यहाँ जान रोकतोक थिएन। तर जान्थेनन्।
'भनिन्छ नि, शरीरले ठाउँ बनाउँछ र ठाउँले अनुभूति। पुरुष मात्र जाने भएपछि त्यो महिलाको ठाउँ होइन कि भन्नेजस्तो हिच्किचाहट उहाँहरूलाई भएको थियो,' पुष्पाले भनिन्, 'उहाँहरूलाई आखाछेँमा ल्याउनु नै चुनौतीपूर्ण थियो।'
सन् २०२१ जनवरी अन्त्यमा उनीहरूले दाफा सिकाउने भनेर कीर्तिपुरमा भव्य कार्यक्रम गरे। त्यति बेला भक्तपुरदेखि संगीतकर्मी इन्दिरा लाछिमस्यू आएर सांगीतिक प्रस्तुति दिइन्। कार्यक्रममा १०–१२ जना पुरुषले मात्र खिँ बाजा सिक्ने इच्छा देखाए। महिला कोही आएनन्। कार्यक्रम पुरुषकै लागि गरिएजस्तै भयो।
महिला नआएपछि व्यक्तिगत रूपमै पुष्पाले उनीहरूसँग भेटघाट गरिन्।
त्यही क्रममा उनीहरूले जवाफ दिएका थिए, 'के अब हामी खिँ (बाजा) झुन्ड्याउँदै हिँड्ने? पुरुषले जसरी 'हआआआ...गरेर गीत गाउने?'
केही सीप नलागेपछि पुष्पाले महिलाहरूले खोलेको मिसा पुचः की अध्यक्ष शुशीला महर्जनलाई भेटिन्। त्यस भेटमा उनले उक्त संस्थाले गर्ने गतिविधिहरू बुझिन्। मिसा पुचः ले त्यस बेला महिलाहरूसँग पैसा संकलन गर्ने र एक ठाउँमा जम्मा गर्ने गर्दो रहेछ। त्यसबाट आएको ब्याजले उनीहरू वनभोज जान्थे।
'त्यसबाहेक अरू के गर्नुहुन्छ?' पुष्पाले सोध्दा अरू केही नगर्ने महर्जनले बताइन्। र भनिन्, 'केही गरौं भन्दा महिलाहरू घरबाट बाहिर निस्कनै मान्नु हुन्न।'
पुष्पाले सोधिन्, 'तपाईंहरूलाई बाजा बजाउन मन लाग्दैन?'
महर्जनले भनिन्, 'बाँसुरी बजाउन दियो भने बजाउने हो।'
'बाँसुरी बजाउने तपाईं मात्र हो कि अरू पनि छन्?' पुष्पाले फेरि सोधिन्।
बाँसुरी बजाउने भन्दा ३०–३५ जना एकैपटक आए। आफ्नो नाम लेखाए। बाँसुरी किन्न ब्रिटिस काउन्सिलले बजेट दियो। यसले गर्दा कमसेकम महिला आखाछेँभित्र त आए।
महिलाका लागि फेरि उद्घाटन कार्यक्रम गरियो। कार्यक्रममा फोकलोकले भक्तपुरका दुइटा महिला ब्यान्डलाई पनि बोलायो– नौ दाफा खलः र माझीँभैरव बासुरी खलः।
उनीहरूले त्यहाँ सांगीतिक प्रस्तुति दिए। आफूले बाजा बजाउन सिक्दा के–कस्ता समस्या भोगे, घर–समाज लगायतले के भने, कसरी बाहिर आए लगायत विविध विषयमा आफ्ना अनुभव पनि सुनाए।
'सिक्न त आउने भन्यो तर उहाँहरूलाई एक किसिमको डर हुने रहेछ। जानेन भने के हुन्छ भन्ने डर,' पुष्पाले सुनाइन्।
त्यही डरबाट निक्लिसकेकी माझीँभैरवकी एक जना बाँसुरीवादक स्कुलमा पढाउने, खेतबारी र घरको काम गर्ने र सिक्ने पनि गर्दिरहिछन्। उनले आफ्नो अनुभव साट्दै भनिन्, 'थाक्न त एकदम थाकिन्छ। तर आफूले गर्छु भनेर समय निकालेपछि सकिँदो रहेछ। त्यसरी सिकेकैले त अहिले तपाईंहरूसामु आउन पाइयो।'
उनीहरूको सांगीतिक प्रस्तुति र अनुभव सुनेपछि कीर्तिपुरका महिला सिक्ने ऊर्जा लिएर घर फर्किए। अनि नियमित कक्षामा आउन थाले। दुइटा समूह गरेर कक्षा साझँको ७ देखि १० बजेसम्म थियो। सिक्न आउनेमा १५ देखि ७५ वर्षका महिला थिए। घरायसी काम चाँडै सकेर उनीहरू आउँथे।
'मेरा श्रीमान पनि पहिले तःननीमै बाँसुरीवादक हुनुहुन्थ्यो। त्यही भएकाले सिक्न आउँदा मलाई कुनै समस्या भएन,' एक वर्षदेखि बाँसुरी बजाउन र गाउन सिकिरहेकी ४७ वर्षीया गीता महर्जनले भनिन्, 'घरमा खाना पकाउने काम सकेर सिक्न आउँछु। फर्किएपछि खाना खान्छु। यहाँ आउने प्रायः सबै जनाले त्यस्तै गर्नुहुन्छ।'
उनले अगाडि भनिन्, 'अहिले केटीहरूले नै बासुँरी बजाउने भएपछि श्रीमान बजाउन जानुभएको छैन।'
महिलाहरूले संगीत सिक्नुअघि नास द्यः (नाच र वाद्यवादनका देवता) लाई हेर्न हुन्न भन्ने भनाइ थियो, जसको डर हटाउन उनीहरूले सुरूमा क्षमा पूजा गरे।
बिस्तारै केही महिलाले बाँसुरी मात्र नभई खिँ बाजा सिक्न थाले। पछि खिँ सिकाउने गुरुको दुर्घटना भयो, त्यसले निरन्तरता पाएको छैन। खिँको कार्यक्रम रोकिए पनि बाँसुरीको जारी रह्यो।
'हाल स्विडेनमा बस्ने मेरा एक जना साथीले उताबाट बोल पठाइदिनु हुन्थ्यो। २०–२२ वर्षका युवाले ठूला मान्छेलाई सिकाउनु हुन्थ्यो,' पुष्पाले भनिन्, 'पहिला त ठूला मान्छेले सानालाई सिकाउँथे। एक हिसाबले ठूलोबाट सानोमा भूमिका परिवर्तनजस्तो भएको थियो।'
छ महिनाको अभ्यासपछि उनीहरूले 'पिग्यंगु' गरेर बाहिर प्रस्तुति दिन थालेका छन्। बाहिर आउँदा महिला, पुरुष र बालबच्चा गरेर करिब ५५ जना भएका थिए। त्यसपछि दाफा खलःलाई बाहिर प्रस्तुति दिन केही समस्या भएन। बजाउने मान्छे जति पनि भए।
'भिन्तुना र्याली, सकिमना पुन्हि, जात्रा र सामाजिक गतिविधिमा अब खलःलाई बाजा बजाउने मान्छेको कमी छैन। महिलाले केही गीत पनि सिक्नुभएको छ,' पुष्पाले भनिन्, 'केही कार्यक्रम हुन लाग्यो भने यहाँका महिलाले भर्खरै सिकेको छ भनेर उहाँहरूलाई बोलाउँछन् पनि। त्यसबाट खलः ले राम्रो आम्दानी पनि गरिरहेको छ।'
दुई महिनाअघि पुष्पालाई इकोजले कतै गएर बस्न र संगीत बनाउन प्रस्ताव राखेको थियो। त्यस बेला उनले दुई वर्षदेखि काम गरेको कीर्तिपुरकै नाच र संगीतमा काम गर्ने प्रस्ताव राखिन्।
त्यसपछि उनले काठमाडौंमा दाफा सिकेका र सिकाइरहेका २२ वर्षीय नितिक डंगोल र बाँसुरी बजाउने आशिष महर्जनलाई बोलाइन्। समूह नै भएपछि उनीहरू कीर्तिपुरमै बसेर काम गरे। पहिले बाँसुरी सिकेका महिलाले इकोजका लागि अब गीत पनि गाउनुपर्ने भयो।
गीत गाउन ३०–४० जनाबाट १० जनाले आफ्नो नाम टिपाए। विश्वविद्यालयमा गायन नै सिकेकी पुष्पाले उनीहरूलाई स्वरमा 'वार्मअप' र गाउन सिकाइन्। बिस्तारै उनीहरूले दुइटा गीत सिके। तर सिक्न पनि अर्को चुनौती थियो।
दस जनामध्ये पढ्न जान्ने एक जनाबाहेक कोही थिएनन्। पढ्न जान्नेले त सजिलै टिपे। अरूलाई भने शब्द–शब्द सिकाउनु पर्यो। करिब १५ दिन उनीहरूले यसरी अभ्यास गरे।
त्यस क्रममा उनीहरूले लालहिरा प्याखँको कथामा केन्द्रित नेपाल भाषामा एउटा गीत पनि बनाए-
'मिखां ख्वबि ह्यांगु÷हागु स्वयाव हिरा, जित जित म्हसिइकी!
झी नापं क्यबे च्वनाव कासा म्हितु हिरा, हिरा लुमंकी!
फैचा जुया च्वने मए, जि न नापं हे वए
फैचा जुया च्वने मए, जि न नापं वए हिरा
गपते च्वंगु खिपः अथें हे च्वबुना वँसा ज्यु
मिखां ख्वबि हागु स्वया हिरा, जित जित म्हसिइकी
जित स्याइला पालिला मिइला जिं छु हे मस्यु
जित हानं मनु जुइ ला मजुइ ला छुं हे मस्यु
जि फैचा जुया च्वंसां हिरा नापं च्वने दसा ज्यु।
मिखां ख्वबि हागु स्वयाव हिरा, जित आक म्हसिइकी'
लालहिरा प्याखँ लाल र हिरा नामक दुई पात्रको प्रेम र संघर्षको कथा हो। कथाको एक भागमा तान्त्रिकले लाललाई भेडा बनाएर आफूसँग राखेका हुन्छन्। हिरा लाललाई खोज्दै आउँछिन्। हिरालाई देखेपछि भेडा बनेका लालको मनमा के–के कुरा आउँछन् भन्ने गीतमा बताउन खोजिएको छ।
यो गीत बनाउँदाको प्रक्रिया पनि रमाइलो छ।
गुरूबाट लालहिरा प्याखँको कथा सुनाएपछि संगीत सिक्न आउने महिलाहरूलाई लालको मनमा कस्तो प्रश्न उब्जिएको थियो होला भनेर कल्पना गर्न लगाइएको थियो।
'उनीहरूले यस्तो भन्यो होला भनेर अनुमान गरेका सबै कुरा हामीले कापीमा टिप्यौं। अनि त्यसको वाक्य, लय मिलाएर, तानतुन पारेर गीत बनायौं,' पुष्पाले भनिन्, 'त्यो गीत बनाइसकेपछि गाएर सुनाउँदा नेवार समुदायको घातु लयसँग मिल्यो।'
पुष्पाका अनुसार दाफा अन्तर्गतको यो लय रणजीत मल्लले आफ्ना ज्वाइँ पृथ्वीनारायण शाहले आफूमाथि घात गरेपछि चित्त दुखेर निर्माण गरेका हुन्। वियोगान्त यस लयमा सबैले संयुक्त रूपमा लेखेका शब्द 'फिट' हुँदा तःननीका महिला छक्क परेका थिए।
आफैंले रचना गरेको गीत भएकाले होला उनीहरू भन्छन्, 'हामीलाई त यो गीत कस्तो मनपर्छ। निद्रा पनि यो गीत सुनेपछि हराउँछ।'
योबाहेक समूहले इकोजमा दुइटा परम्परागत दाफा गीत गाउनेछन्। एउटा गीत पुष्पा र उनका साथीले मिलेर बनाएका छन्। बाँसुरी मात्रको सामूहिक प्रस्तुति पनि हुनेछ। यसरी इकोजमा फोकलोक र तःननीको सहकार्यका पाँच वटा सांगीतिक प्रस्तुति हुँदैछ।
उनीहरूजस्तै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायले उक्त महोत्सवमा प्रस्तुति दिनेछन्। सन् २०१७ देखि सुरू इकोजको उद्देश्य नै हो– हराउँदै गएका आवाज उजागर गर्नु र पुनरूत्थान गर्नु।
हराउँदै गएको आवाज उजागर गर्ने सोच पुष्पालाई संगीतमा स्नातक गर्दाताकै आएको थियो। त्यस समय कामको सिलसिलामा देशका विभिन्न समुदायमा जाने अवसर उनले पाएकी थिइन्। त्यो बेला विभिन्न ठाउँका संगीत रेकर्ड गरेर उनी फर्किन्थिन्।
उनलाई यो कुराले भने सताइरहन्थ्यो, 'भोलिका दिनमा यी गीत बाँच्छन् कि बाँच्दैनन्?'
त्यही कुराले यहाँसम्म ल्याएको उनी बताउँछिन्।
फोकलोकबाट उनले ग्राफिक्स नोभलमा पनि काम गरेकी छन् जसमा एउटा बच्चीकी हजुरआमा दाफा गुरु हुन्छिन्। तःननीकै परिवेशमा लेखिएको उक्त किताबमार्फत देवी प्याखँ र दाफाबारे जानकारी पाइने उनी बताउँछिन्।
त्यसबाहेक लालहिरा प्याखँलाई कसरी स्टेजमा ल्याउन सकिन्छ भनेर पनि उनी काम गरिरहेकी छन्। त्यसका लागि तःननीकै एक जना गुरुले कथा लेखिरहेका छन्। त्यो कथालाई भविष्यमा त्यहीँका समुदायले केही बनाउँछन् कि भन्ने उनलाई आशा छ।
'केही नभए पनि हाम्रा दिदीबहिनीले एउटा गीत त बनाइसक्नु भयो,' पुष्पाले भनिन्, 'अरू भन्दा पनि उहाँहरूलाई त्यो गीत एकदम मन पर्छ। मन पराएर गाउनुहुन्छ। त्यो नै अहिलेका लागि ठूलो उपलब्धि हो।'