अफगानिस्तानमा तालिबानले महिलाहरूलाई एक्लै हवाइजहाजमा यात्रा गर्न रोक लगाएको छ।
सोमबार तालिबानले एकल यात्रा गर्ने महिलाहरूलाई उडानमा रोक लगाएको समाचार संस्था एएफपीले जनाएको छ।
तालिबानले पुरूष आफन्तबिना एक्लै यात्रा गर्ने सम्पूर्ण महिलालाई रोक्न अफगानिस्तानस्थित काबुल एयरलाइन्सलाई आदेश दिएको उड्डयन अधिकारीहरूले बताएका छन्।
तालबानीहरूले आइतबार नै एक्लै यात्रा गरिरहेका महिलाहरूलाई बोर्डिङ पास दिन रोक्न आदेश दिएको अफगानिस्तान एरियाना अफगान एयरलाइन्स र काम एयरका दुई अधिकारीहरूले बताए।
गत बिहीबार तालिबानी प्रतिनिधि, दुई एयरलाइन्स र अध्यागमन अधिकारीहरूबिच छलफल भएको थियो। त्यसपछि सो निर्णय लिइएको अधिकारीले बताएका हुन्।
तालिबानीहरूले अमेरिकी पासपोर्ट भएकाहरूलाई समेत यात्रामा रोक लगाएको छ। तर मन्त्रालयले यो विषयमा आधिकारिक जानकारी दिएको छैन।
तालिबानहरूले पहिले नै एकबाट अर्को सहरमा यात्रा गर्न महिलाहरूलाई प्रतिबन्ध लगाएको थियो। अहिले उडानमा पनि रोक लगाएको हो।
गत बुधबार तालिबानले अफगानिस्तानको नयाँ शैक्षिक सत्रदेखि लागु हुनेगरी ६ कक्षा माथिका छात्रालाई पढ्न शैक्षिक संस्था खोल्न नदिने निर्णय समेत गरेको थियो।
गत अगस्टमा असरफ घानीको सरकार हटाएर सत्तामा आएका तालिबानहरूले सरिया कानुनअनुसार देश चलाइरहेका छन्।
तालिबान आएपछि भने महिलाहरूका अधिकार पनि कुण्ठित गरिएको छ।