काठमाडौँको नरदेवीमा रहेकी ङतभुलु अजिमा (नरदेवी श्वेतकालीमाई) को नाच सुरू भएको छ। लिच्छविकालदेखि नचाइँदै आएको १२ वर्षे ङतभुलु अजिमा आइतबार भएको हो।
ङतभुलु अजिमा भनिने नरदेवीले सबैको रक्षा गर्ने र असत्यमाथि जित्ने विश्वासका साथ नाच आयोजना हुँदै आएको छ। नाचमा कुमारी, भैरव, बाराही, गणेश, महालक्ष्मी, नारायणी, इन्द्रायणी, रूद्रायणी, ब्रह्मायणी, सिंघनी, ब्याध्रिनी, करूणामय, महाद्यः, चण्डेश्वरी, कुमार, दैत्य, ध्वं र खिचा जस्ता देव र दैत्यका भूमिकामा देवदेवीहरू थिए।
नरदेवीको स्थापना गुणकामदेवको पालामा भएको मानिन्छ। देवीनाच पर्व भने अमर मल्लको पालामा शुभारम्भ भएको देखिन्छ। यिनै देवीले जगत उद्धारका निम्ति शक्तिस्वरूपाको दर्शन दिएको महान दिनका रूपमा हरेक वर्ष पाहाँचह्रेका दिन नरदेवीस्थित देवीको डबलीमा देवीनाच प्रदर्शन गरिने परम्परा छ।
यसैगरी, हरेक १२ वर्षमा विशेष देवीनाच पर्व चलाउने परम्पर छ। यसमा पाहाँचह्रेको पूर्वसन्ध्यामा प्राचिन भित्रि शहरको देवी मार्ग अन्तर्गत मूलदेवीघरबाट आरम्भ भई नरदेवी, टेंगल, बागेंमुडा, असन, जनबहाल, इन्द्रचोक, हनुमानढोका दरबार, चिकमुगल, जैशिदेवल, क्वहिति, भिमसेनस्थान, मरु काष्ठमण्डप, यटखा हुदै पुनः देवीको मूलदेवीघरमा फिर्ति सवारी गर्ने चलन छ। त्यसपछि पाहाँचह्रेका दिन नरदेवी डबलीमा १२ वर्षे देवी नाच पर्व अन्तर्गतको पहिलो देवीनाच प्रदर्शन गरिन्छ।
यसरी १२ वर्षे देविनाच पर्व आरम्भ भएपछि काठमाडौंका विभिन्न प्राचिन डबलीका साथै मल्लकालिन राज्यहरू ललितपुर, कीर्तिपुर, भक्तपुर, बनेपाका प्राचिन दरबारस्थित मूल डबलीमा यो देवीनाच प्रदर्शन गर्नुपर्ने परम्परा छ।