भारतीय पत्रकार राना अय्युबलाई विदेश जानबाट रोकिएको छ।
उनले बुधबार ट्विटरमार्फत् आफूलाई विदेश जानबाट रोकिएको बताएकी छन्।
उनी लन्डन जाँदै थिइन्। तर उनलाई भारतीय अध्यागमनले मुम्बई विमानस्थलमा रोकेको हो।
‘म लन्डनस्थित एक कार्यक्रममा बोल्न जाँदै थिएँ। त्यसलगत्तै इटालीमा पुगेर जर्नलिस्ट फेस्टमा भारतीय लोकतन्त्रबारे बोल्न जाने कार्यक्रम थियो,’ उनले भनेकी छन्, ‘तर मलाई भारतीय अध्यागमनले रोक्यो।’
उनले आफ्ना कार्यक्रमहरू पहिले नै तय भएको र सामाजिक सञ्जालमा हप्तौंदेखि सार्वजनिक भएको बताइन्। तर अध्यागमनमा रोकेपछिमात्रै इन्फोर्समेन्ट डाइरेक्ट्रेटले आफूलाई मेल पठाएको उल्लेख गरेकी छन्।
अय्युबमाथि मनी लाउन्डरिङ गरेको आरोप छ।
वासिङटनको इन्टरनेशनल सेन्टर फर जर्नलिस्टले पत्रकार अय्युबलाई अनलाइनमा महिला पत्रकारहरूमाथि दुर्व्यवहार शीर्षकमा बोल्न बोलाएको थियो। अनलाइनमा आफूमाथि हुने दुर्व्यवहारबारे उनले ट्विट गर्ने गरेकी छिन्। जसमा उनलाई मार्ने समेतको धम्की आउने गरेको देखिन्छ।
डाइरेक्ट्रेटले अय्युबलाई अप्रिल १ मा सोधपुछ गर्न बोलाएको छ। उनीविरूद्ध गत सेप्टेम्बरमा उत्तर प्रदेशको गजियावाद प्रहरीमा मनी लाउन्डरिङ गरेको भन्दै रिट दायर भएको थियो।
हिन्दु आइटी सेलका संस्थापक विकास संकृतियनले उनीविरूद्ध रिट दायर गरेका थिए।
सन् २०२० र २०२१ मा अय्युबले दुई करोड ६९ लाख भारू किट्टो नामक अनलाइन प्लेटफर्मबाट पैसा उठाएको भन्ने आरोप डाइरेक्ट्रेटले लगाएको छ। उक्त पैसा दान दिने उद्देश्यले उठाएको एनडिटिभीले जनाएको छ।
अय्युबले भने उठाएको रकम कतै पनि दुरूपयोग नभएको बताउँदै आएकी छन्।