आगामी स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै नेपाल प्रहरीले निश्चित समयका लागि म्यादी प्रहरी माग गरेको छ।
म्यादी प्रहरी बन्नका लागि झन्डै चार लाखले आवेदन दिएका छन्। आवेदन दिएकाहरूको धमाधाम छनोट प्रक्रिया सुरू भएको छ। म्यादी प्रहरीका लागि दरखास्त दिएकाहरूको स्वास्थ्य तथा शारीरिक परीक्षणलगायत जाँच गरेर छनोट प्रक्रिया अगाडि बढाइएको हो। कीर्तिपुरको ल्याबोरेटरी सेकेन्डरी हाइस्कुलको मैदानमा बुधबार म्यादी प्रहरीका उम्मेदवारहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षा लिइएको हो।
०७९ वैशाख ३० मा हुन गइरहेको स्थानीय चुनावका लागि प्रहरीले एक लाखको संख्यामा म्यादी माग गर्दै आवेदन खुलाएको थियो।
चैत ६ देखि १२ गतेसम्म आवेदन खुला गरिएकोमा उक्त अवधिमा तीन लाख ९३ हजार तीन सय १२ जनाबाट आवेदन आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
चुनावमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मी कम हुने भएपछि म्यादी प्रहरी राख्न लागिएको हो। विगतका चुनावमा पनि म्यादी प्रहरी राखिएका थिए।
प्रहरीले ७७ जिल्ला प्रहरी कार्यालयबाट आवेदन माग गर्दा मागभन्दा धेरै आवेदन आएका थिए।
म्यादी प्रहरीको लागि १८ वर्ष नाघेको र ५४ वर्ष ननाघेको हुनुपर्नेछ। म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिनसम्मको हुने प्रधान कार्यालयले जानकारी दिएको छ।
सेवा सुविधा स्वरूप म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरहको हुने जनाएको छ।
म्यादी प्रहरीको तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्न बापत एकमुष्ठ ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ दिने भएको हो।
तस्बिरहरू: