सुर्खेतको कोहिनुर मल्टी टेक्निकल कलेज प्रालिले इजरायल जान चाहने युवाका लागि तयारी कक्षा खुलेको भन्ने सूचना निकाल्यो।
२०७६ माघ २८ गतेको सूचनामा ‘सिक र गर’ कार्यक्रमअन्तर्गत ११ महिने व्यवसायिक कृषि तालिमका लागि इजरायल जान चाहिने ९० दिनको तयारी कक्षा सञ्चालन गर्ने उल्लेख थियो।
त्यही सूचना पढेर दैलेखको आठबीस नगरपालिका वडा नम्बर ७ का धीरबहादुर कठायतले इजरायल जाने सपना देखे। तालिम लिने बेला इजरायलमा आम्दानी हुने आश्वासन कलेजले दिन्थ्यो।
उनले दुई वर्षअघि गाउँका साहुसँग साढे एक लाख रुपैयाँ ऋण लिएर कोहिनुर मल्टी टेक्निकल कलेज प्रालिलाई बुझाए। उनी अहिले भारतमा छन्।
‘पैसा बुझाएको यो चैतमा दुई वर्ष पूरा भयो। आजभोलि भन्दाभन्दै इजरायल जाने दिन आएन। दसैँपछि काम गर्न हिमाञ्चल प्रदेश गएको छ,’ धीरबहादुरका बुबा भद्रले भने, ‘साहुको ऋणको ब्याज बढ्दै गएपछि छोरो आत्तिएर भारत गयो। यता पनि छिटै इजरायल पठाउँछौँ भनेका छन्, के हुन्छ थाह छैन।’
भद्रले छोराका लागि सयको मासिक तीन रुपैयाँ अर्थात ३६ प्रतिशत ब्याज तिर्ने गरी ऋण लिएको बताए। यस हिसाबले डेढ लाख रुपैयाँको वार्षिक ब्याज ५४ हजार रुपैयाँ हुन्छ। ऋणको ब्याजमात्रै एक लाख आठ हजार नाघेको छ।
‘साहुको एक रुपैयाँ पनि तिरेको छैन, बेलाबेला साहुले पैसा मागे पनि छिमेकी भएकाले कर गर्न सकेका छैनन्,’ भद्र भन्छन्, ‘साहुले छोड्ने होइनन्, बुझाएको ठाउँबाट फिर्ता भएको छैन,आफ्नो कमाइ पनि छैन।’
भद्रका अनुसार धीरबहादुर २८ वर्षका भए। इजरायबाट फर्केर बिहे गर्ने सोच थियो। जेठो छोरो भएकाले परिवारको खर्च जुटाउने जिम्मेवारी पनि धीरबहादुरमाथि छ।
धीरबहादुर एक्लै होइनन्। आठबीस नगरपालिकाकै आठ जना युवाले इजरायल जान कोहिनुर कलेजलाई पैसा बुझाएका छन्। उनीहरू पनि इजरायल जाने दिनको प्रतीक्षमा छन्।
दैलेखका दुई जनाले भने आफ्नो पैसा फिर्ता लिएका छन्।
‘लकडाउन भयो भनेर हामीलाई घर पठाइयो। पछि फेरि पासपोर्ट बनाएर लमजुङको दुराडाँडामा तयारी कक्षा लिन आउनू भनेर बोलाएको थियो,’ नाम सार्वजनिक नगर्ने शर्तमा आठबीसकै अर्का एक युवकले भने, ‘मैले ५० हजार रुपैयाँ बुझाएको थिएँ। बारम्बार फोन गर्दा पनि पार नलागेपछि कलेजमै गएर लिएँ। मसँगै अर्को एकजना साथीले पनि फिर्ता लियो।’
पैसा फिर्ता नपाएका केही युवाहरू कामका लागि भारत गएका छन्। उनीहरू अधिकांशले ऋण लिएर बुझाएका हुन्। ‘उनीहरू साहुको ऋण तिर्न कालापहाड गएका छन्,’ ती युवकले सेतोपाटीसँग भने, ‘तिमीले कसरी फिर्ता लियौ, हाम्रो पनि फिर्ता गराइदिनु पर्यो भनेर बेलाबेला फोन गर्छन्।’
उनका अनुसार कोहिनुर कलेजले इजरायल जान पैसा बुझाएका युवाहरूलाई २०७६ मा सुर्खेतमा राखेर दुई हप्ता प्रयोगात्मक कक्षा गराएको थियो।
‘फलामे रडको कुटो बनाएर दिएको थियो, गर्मीमा बाँस काट्ने र बाँसका टहरा बनाउने तालिम गरायो,’ उनले भने, ‘उखरमाउलो गर्मीमा कष्टपूर्ण काम गर्यौँ। इजरायलमा यस्तै कम गर्नुपर्छ भन्थे।’
त्यसको तीन महिनापछि फेरि बोलाएर त्यस्तै तालिम गराएको उनले बताए। कोभिड फैलिएपछि कोहिनुर कलेजले भर्चुअल कक्षा सञ्चालन गर्ने भनेको थियो।
कोहिनुर कलेजले लमजुङको आराभा मोर्डन एग्रिकल्चर कम्पनीसँग सहकार्यमा कर्णालीका ५० जना युवालाई इजरायल पठाउने भनेर सूचना जारी गरेको थियो।
ती युवकले आफूले कक्षा नलिएको र अरू युुवाहरूसँग अतिरिक्त १२ हजार रुपैयाँ लिएर केही दिन होस्टलमा राखेको बताए। केही युवाले दुई लाख रुपैयाँ बुझाएका छन्। कलेजले ५० हजार रुपैयाँ भर्ना शुल्क भनेको छ।
पैसा बुझाएको दुई वर्ष पूरा हुँदा पनि इजरायल पठाउने नपठाउने टुंगो छैन। कलेजले पैसा पनि फिर्ता पनि दिएको छैन।
गण्डकी प्रदेशका कलेजमध्ये आफ्नो कलेजले ५० जना कामदार इजरायल पठाउन अनुमति पाएको भनिएको थियो। एक वर्षमा २५ लाख रुपैयाँ कमाइ हुने आश्वासन पाएका थिए।
सूचनामा ‘मेरिट लिस्ट’ का आधारमा ५० जना कामदार छनोट गरेर इजरायल पठाउने उल्लेख गरिएको थियो। कोहिनुरमा भर्ना भएर ६२ जनाले आधा वा पूरा रकम बुझाएका छन्। पूरा रकम दुई लाख ५० हजार रुपैयाँ हो। यसरी रकम बुझाउनेमा दैलेखका २४ जना, डोल्पाका २० जथना, सुर्खेतका तीन जना, रुकुमका १० जना, जुम्लाका दुई जना, जाजरकोट, कालीकोट र सल्यानका एक–एक जना छन्।
कोहिनुरका अधिकारीले आफूहरू युवाहरूलाई इजरायल पठाउने प्रयासमा रहेको बताएका छन्। कोहिनुर कलेजका व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रकेशर खनालले प्रयास जारी रहेको बताए। ‘हामीलाई भन्दा पनि यो विषय बोर्ड अध्यक्ष बखत भण्डारीजीलाई बढी थाह छ,’ खनालले सेतोपाटीसँग भने, ‘केही दिनअघि उहाँसँग सम्पर्क हुँदा म काठमाडौंमा बसेर प्रयास गरिरहेको छु भन्नुभएको थियो।’
बोर्ड अध्यक्ष भण्डारीसँग कुरा गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।
प्रयास जारी रहेको भने पनि उक्त विषयमा छलफल नभएको खनालले बताए। उनले भने, ‘हामी, मुख्यमन्त्री र मन्त्रीसमेत बसेर तालिमका लागि पैसा उठाउने निर्णय गरेका थियौँ तर इजरायल पठाउने सन्दर्भमा भने करिब डेढ वर्षदेखि हाम्रो मिटिङ भएको छैन।’
नगरपालिकाले पैसा दिने!
युवाहरूलाई इजरायल पठाउने भन्दै रकम असुलेको कोहिनुर कलेजलाई दैलेखको आठबीस नगरपालिकाले १६ लाख रुपैयाँ दिने निर्णय गरेको छ।
आफ्नो नगरका युवालाई इजरायल पठाउन लाग्ने पैसा नगरपालिकाले उक्त कलेजलाई दिने निर्णय गरेको हो। नगरपालिकाले नगरका आठ जना युवालाई इजरायल जान आवश्यक पर्ने रकम ‘नगर प्रमुख रोजगार कार्यक्रम’ बाट प्रतिव्यक्ति दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णयमा उल्लेख छ।
यी आठ जनामा धीरबहादुर पनि छन्। नगरपालिकाले आठ जना युवालाई दुई लाख रुपैयाँका दरले रकम दिने निर्णय भएको जानकारी गराउँदै कलेजलाई पत्र लेखेको छ।
नगरपालिकाको उक्त निर्णय कतिपयले कोहिनुर कलेजका अधिकारी जोगाउने चालबाजी मानेका छन्। एक युवकले भने, ‘यो त ठग कलेज र त्यसका मालिकलाई बचाउने खेल हो।’
यही २०७८ असोज २४ गते लेखिएको पत्रमा भनिएको छ, ‘यस आठबीस नगरपालिका स्थायी ठेगाना भएका व्यक्तिहरूलाई इजरायल जानको लागि तपसिलमा आवश्यक पर्ने रकम यस नगरपालिकाको नगर प्रमुख रोजगार कार्यक्रमबाट देहायका व्यक्तिहरूलाई प्रतिव्यक्ति दुईलाख रुपैयाँका दरले लागत साझेदारी उपलब्ध गराउने व्यहोरो अनुरोध छ। साथै उक्त रकम यस नगरपालिका र त्यस कलेजसँगको सम्झौतापछि उपलब्ध गराइने व्यहोरा जानकारी गराइन्छ।’
पत्रमा नगर प्रमुख खड्गराज उपाध्यायको हस्ताक्षर छ।
उपाध्यायले कलेजको बचाउ गर्न खोजेको भन्ने आरोप अस्वीकार गरे। उनका अनुसार बेरोजगार नगरबासी युवाहरूलाई रोजगारीमा सहयोग होस् उक्त निर्णय गरिएको हो।