कोरोनाभाइरसको संक्रमण रोक्न लकडाउन गरिएको चीनको सांघाईमा सबै मानिसको कोरोना परीक्षण गर्न सेना पनि खटाइएको छ।
२ करोड ६० लाख सहरवासीको कोरोना परीक्षण गर्न हजारौंको संख्यामा सेना र स्वास्थ्यकर्मी पठाएको समाचार संस्था रोयटर्सले जनाएको छ।
सोमबार पनि कोरोना संक्रमण बढेपछि सांघाईमा सेना पठाइएको हो।
जनमुक्ति सेनाले आइतबार नै सेना, नेभी र जोइन्ट लजिस्टिक फोर्स गरी दुई हजार स्वास्थ्यकर्मी पठाएको हो। जियाङ्गसु, झिजियाङ र बेइजिङबाट पनि १० हजार बढी स्वास्थ्यकर्मी सांघाई पठाइएका छन्।
त्यहाँ सोमबार बिहानैदेखि कोरोना परीक्षणको लागि स्वाब लिने काम सुरू गरिएको छ।
सांघाईमा अहिले दुई स्टेजमा लकडाउन गरिएको छ। मार्च २८ देखि लकडाउन गरिएको हो।
आइतबारमात्रै त्यहाँ लक्षण नदेखिएका आठ हजार ५८१ जना र ४२५ लक्षण देखिएका संक्रमित थपिएका थिए।
स्थानीयलाई आफैं परीक्षण गर्नसमेत भनिएको थियो।
सांघाईमा सरकार अहिले कोभिड उन्मुलन रणनीतिलाई अपनाएर अघि बढेको छ। त्यसका लागि टेष्टिङ, ट्रेसिङ र क्वारेन्टेनिङको रणनीति अपनाइएको छ।
सांघाईले अस्पताल, जिम, अपार्टमेन्ट ब्लकहरूलाई पनि क्वारेन्टिन साइट बनाएको छ।