एकदिन काठमाडौं, नरदेवीका मचाराजा डंगोलको घरमा अचम्मको घटना भयो।
रातको समय सबै जना सुतिरहेका थिए। मचाराजाका बुबा न्हुच्छेनारायण अकस्मात् उठे। घरका ढोकाहरूमा चुकुल लगाइएको थियो। तर उनले धकेल्नासाथ सबै ढोका घर्याक घर्याक खुले।
ढोकाको आवाजले घरका मानिस जर्याकजुरूक उठे। सबैले न्हुच्छेनारायणलाई 'यति राति कहाँ जान लागेको?' भनेर सोधे।
उनी एक शब्द नबोली सरासर बाहिर निस्किए।
उनको यस्तो अप्रत्यासित चाला देखेर पनि घरका कसैलाई आश्चर्य भएन। बरू उनीहरूले सोचे- यो त कसै न कसैलाई हुनु नै थियो! धन्न भयो!
परिवारका सबै दंग परे।
न्हुच्छेनारायण घरबाट निस्केर सिधै नरदेवी मन्दिरको आखाछेँमा पुगे।
उनी पुग्नेबित्तिकै त्यहाँको च्यानल गेट, मुख्य ढोका र भित्री ढोका सबै आफसे आफ खुले। उनी देवीका लुगा, गरगहना लगायत सामग्रीमा सजिएर बाहिर नरदेवी डबलीमा नाच्न थाले।
न्हुच्छेनारायण त्यसरी नाचेको उनको घर, आखाछेँ र वरपरका सबैले थाहा पाए। उनलाई भने कुनै होसहवास थिएन।
२०३६ सालको त्यो रात न्हुच्छेनारायणमाथि नरदेवीको ङतभुलु अजिमा, अर्थात् श्वेतकालीमाई चढेको थियो।
'२०३६ सालसम्म काठमाडौंको बाह्रवर्षे ङतभुलु अजिमाको नाच यसरी नै सुरू हुन्थ्यो,' नाचमा कुमारी र चण्डीको भूमिका गर्ने मचाराजाले भने, 'हामी देवगणमध्ये कसैलाई देवी चढ्नैपर्थ्यो। अहिले त्यो प्रक्रिया रोकिएको छ।'
उनका अनुसार बाह्रवर्षे देवी नाच पहिले ठ्याक्कै १२ वर्षमा हुँदैनथ्यो। देवगणमध्ये कसैमा देवी चढेपछि मात्र नाच सुरू हुने हुँदा बाह्र, तेह्र, चौध वा जति पनि वर्षमा हुन सक्थ्यो।
देवगणमध्ये मुख्य गरी चार जनालाई देवी चढ्थ्यो– ङतभुलु अजिमा, कुमारी, भैरव वा बाराही। अहिलेसम्म एकपटक मात्र देवगणबाहेक अन्यमा देवी चढेको स्थानीयको स्मरणमा छ। २०३६ सालअघि २०२२ र त्यसअघि २००८ सालमा देवी चढेको गुठियारहरू बताउँछन्।
जुन वर्ष देवी चढ्छ, त्यही वर्षलाई १२ वर्ष मानेर ङतभुलु अजिमाको नाच देखाइन्छ। २०३६ सालयता कसैलाई देवी चढेको छैन। गुठियारहरूले कुनै वर्ष कसैलाई देवी चढिहाल्छ कि भनेर लामो समय कुरे। तीस वर्ष कुर्दा पनि नचढेपछि नाच परम्परा नै लोप हुने अवस्थामा पुग्यो।
त्यसपछि गुठियारहरूले यो परम्परालाई कसरी निरन्तरता दिने भनेर छलफल गरे।
'देवगणका कसैमा देवी प्रवेश नभएपछि हामीले केही अनिष्ट नहोस् भनेर २०६६ सालमा पूजापाठ गर्यौं, भगवानसँग माफी माग्न क्षमापूजा गर्यौं, होम लगायौं र नाच फेरि सञ्चालनमा ल्यायौं,' मचाराजाले भने।
त्यसयता कसैलाई देवी नचढे पनि बाह्र–बाह्र वर्षको अन्तरमा नाच चलाउने परम्परा जारी छ। यसअघि २०६६ सालमा नाच देखाइएको थियो। त्यसको बाह्र वर्षपछि यसपालि देखाइयो।
ङतभुलु अजिमाको नाच लिच्छवि राजा गुणकामदेवको शासनकालमा स्थापना भएको र पछि अमर मल्लका पालामा शुभारम्भ गरिएको मानिन्छ। यसबारे लिखित कथा भने छैन।
तान्त्रिक विधिले निकालिने यो नाचको आफ्नै सिद्धान्त, समय र संगति छ। कता नाच्ने र कुन कुन ठाउँ देवगणहरूले परिक्रमा गर्ने भन्ने नियम छ।
नरदेवीमा वार्षिक रूपले पनि नाच देखाइन्छ तर बाह्रवर्षे नाच अलि फरक र विशेष हुन्छ। बर्सेनि १२ जना देवीले नाच देखाउँछन् भने बाह्रवर्षे नाचमा १९ जना हुन्छन्– करूणामय (लोकेश्वर), ङतभुलु अजिमा, कुमारी, भैरव, बाराही, चण्डेश्वरी, गणेश, महालक्ष्मी, नारायणी, इन्द्रायणी, रूद्रायणी, ब्रह्मायणी, महाद्यः, सिंगिनी, ब्याघिनी, कुमार, चण्डासुर दैत्य, ध्वं र खिचा।
नाचमा गणेश बन्ने राम महर्जनका अनुसार नरदेवी भन्ने नाम पृथ्वीनारायण शाहको पालातिर मात्र आएको हो। त्यसअघि यो ठाउँलाई ङतभुलु नै भन्ने गरिन्थ्यो। नेपाल भाषामा 'ङत' भनेको केन्द्र र 'भुलु' भनेको रक्षक हो। त्यही भएर ङतभुलु अजिमालाई शक्तिकी देवी र जनताको रक्षकका रूपमा पुजिन्छ।
उनलाई श्वेतकाली पनि भनिन्छ। त्यसो भन्नुको कारण उनी श्वेत अर्थात् सेतो वर्णकी हुनुले हो।
'यी देवीले नराम्रो ऊर्जालाई राम्रो ऊर्जाले सन्तुलन गर्छिन्,' रामले भने, 'त्यही भएर वर्ष–वर्षमा देवी नाच गर्यो भने यो ठाउँ स्थिर हुन्छ र सबैको स्वास्थ्य राम्रो हुन्छ भन्ने मान्यता छ।'
नाचमा चन्द्रासुर भन्ने दैत्य संहार गर्न कुमारी चण्डीका रूपमा आउँछिन्। त्यसका लागि अजिमा विभिन्न देवता, हावा, पानी लगायत सबै शक्तिलाई एकैठाउँ एकीकृत गर्छिन्।
यो नाचमा अजिमा बन्ने व्यक्तिले जीवनभर सेतो लुगा लगाउनुपर्ने नियम छ। ६० वर्षीया देवकृष्ण महर्जन यसका अजिमा हुन् जसलाई नाचको मूलधामी भनिन्छ। २०७४ सालमा उनको बुबाको निधनकै दिनबाट देवकृष्णले अजिमाको जिम्मेवारी सम्हालेका हुन्।
नाचको विशेषता के भने देवगणका कुनै सदस्यको निधन भयो वा उनले जिम्मेवारी पूरा गर्न सकेनन् भने त्यो उनकै वंशको छोरालाई जान्छ। यही क्रममा यहाँका सबै देवगणले जिम्मेवारी पाएका हुन्। उनीहरूले आफ्नो जीवनभर उक्त जिम्मेवारी निर्वाह गर्नुपर्छ।
देवगणका सबै सदस्य नियममा बाँधिएर बस्नुपर्छ। अरूको तुलनामा अजिमा बन्नेको काम बढी हुन्छ। उनले हरेक दिन नरदेवी मन्दिरमा पूजा गर्नुपर्छ। उनको हातमा नेपाल भाषामा 'चुलिया' भनिने चुरा हुन्छ जसमा देवीको मन्त्र राखिएको विश्वास गरिन्छ।
हरेक दिन मन्दिरमा पूजा गर्नुपर्ने भएकाले उनले बाहिर रात बिताउनुहुन्न। कतै बाहिर जानुपर्यो भने हातमा लगाएको चुरा खोलेर मात्र जानुपर्ने नियम छ।
'सानोदेखि बुबाले गरेको देखेकाले यी नियम पालना गर्न खासै गाह्रो भने हुँदैन,' देवकृष्णले भने।
नाच बेला देवगणहरूले कालो टीका लगाउँछन्। विधिपूर्वक पूजा गरेर आफूले धारण गर्ने देव वा देवीको लुगा र मुकुट लगाएपछि कसैसँग बोल्न हुँदैन।
हरेक वर्ष पाहाँचह्रेको दिन नरदेवी डबलीमा देवीनाच प्रदर्शन गरिन्छ। हरेक १२ वर्षमा पाहाँचह्रेको पूर्वसन्ध्यामा देवीको मूलघरबाट नाच आरम्भ हुन्छ। त्यसपछि नरदेवी, तेंगल, बांगेमुडा, असन, जनबहाल, इन्द्रचोक, हनुमानढोका दरबार, चिंकमुगल, जैसीदेवल, क्व:हिति, भीमसेनस्थान, मरू, काष्ठमण्डप, यट्खा हुँदै पुनः देवीको मूलघर फर्किने चलन छ।
पाहाँचह्रेका दिन नरदेवी डबलीमा बाह्रवर्षे देवीनाचअन्तर्गत पहिलो नाच प्रदर्शन गरिन्छ। बाह्र वर्ष र एक वर्षका लागि छुट्टाछुट्टै आखाछेँ छ।
देवगणलाई बाजागाजासहित बाहिर निकाल्दा मान्छेहरू एउटा कलश बोकेर अगाडि अगाडि हिँड्छन्। त्यसमा सबै देवतालाई साधना गरेर राख्ने परम्परा रहेको राम बताउँछन्।
उनका अनुसार देवगणको सबभन्दा आखिरीमा पित्तलको एउटा मान्छे आकृतिको मूर्तिलाई पनि नगर परिक्रमा गराइन्छ। त्यो मूर्ति नेपाल–तिब्बत युद्धमा भाग लिने सैनिक भारदार भोटु पाँडेको हो भन्ने विश्वास गरिन्छ।
एकपटक उनी युद्ध बेला तिब्बती फौजबाट पक्राउ परे। उनलाई बन्दी बनाइयो। त्यहाँबाट मुक्ति पाउन उनले आफ्नो इष्टदेवी श्वेतकाली अर्थात् ङतभुलु अजिमालाई आराधना गरे। त्यसपछि उनी मुक्त भए।
'पाँडेले १६ पाइला चाल्दा जुन ठाउँमा पुगे, त्यहाँ उनले सोह्रखुट्टे पाटी बनाएको भनाइ छ,' रामले भने, 'उनले काठमाडौंका विभिन्न ठाउँमा मठ–मन्दिर, पाटीपौवा र ढुंगेधाराहरू स्थापना गरे।'
ङतभुलु अजिमाको आराधना गरेर मुक्त भएकाले उनले देवी जहाँजहाँ जान्छिन्, आफू भक्तका रूपमा सेवा गर्न पाऊँ भनी बिन्ती गरे। त्यही भएर नाच बेला देवदेवीको लस्करपछि मूर्ति स्वरूपमा उनलाई देख्न सकिन्छ।
यो नाच सञ्चालन गर्न पहिले दरबारबाट सहयोग आउँथ्यो। १९६२ सालतिर राणाहरूले सबै सामग्री जफत गरेर लगेको गुठियारहरू बताउँछन्। यहाँ अहिले पाइने केही गहनामा राजा रणबहादुर शाहको नाम देखिन्छ।
एकपटक रणबहादुरकी कान्छी रानी कान्तिमतीलाई बिफर रोगले समात्यो। उनको स्वास्थ्य बिग्रँदै गएपछि राजाले देवीदेवता भाकल गरे। दान गरे, पूजापाठ गरे। तर कसैगरी रोग निको भएन। त्यही रोगका कारण उनको निधन भयो।
रानीको निधनपछि राजाले विह्वल भएर मान्दिर र पाटीपौवाहरू भत्काउन थाले। उनी मानसिक सन्तुलन गुमाएझैं भए।
'पछि उनलाई उपचार गर्न लैजाँदा उनले गरेका कुकर्मका कारण त्यस्तो भएको थाहा भयो। त्यसपछि उनले नाच जोगाउने, मन्दिर बनाउने, गुठी बनाएर आयस्ता बढाउने लगायत काम गर्न थाले,' रामले भने, 'त्यही भएर धेरैजसो गुठीमा भेटिने गहना र विभिन्न सरसामग्रीमा उनकै नाम पाइन्छ।'
केही दिनअघि सम्पन्न बाह्रवर्षे ङतभुलु अजिमा नाच करिब २४ घन्टा चलेको थियो। बाह्रवर्षे पर्व क्रममा नरदेवीबाट विवाह भएर अन्यत्र गएका महिला पनि आफ्ना इष्टदेवीको पूजा गर्न सामग्रीहरू लिएर आउने चलन छ।
यो अवसरमा देवगण नगरबाट निस्कँदा एउटा ढोका राखिएको हन्छ। त्यो ढोका सुनको थियो भन्ने भनाइ छ। अहिले भने काठको छ। इतुम्बहालबाट ल्याइएको उक्त ढोकामार्फत देवीलाई इतुम्बहालवासीले स्वागत गरेको कहावत छ।
'२०६६ सालको बाह्रवर्षे नाचमा यो विधि पूरा गर्न छुटेको रहेछ। त्यति बेला छुटेको कुरा हामीले यसपटक समावेश गरेका छौं,' रामले भने, 'पहिलोपटक ३० वर्षपछि सञ्चालन गर्दा नयाँ पुस्तालाई कति कुरा थाहा थिएन। अहिले सिक्दै, गर्दैछौं।'
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी