आगामी शनिबारबाट सुरू हुने सेतो मच्छिन्द्रनाथको रथयात्राको लागि ३२ हाते लामो रथ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।
रथयात्रा काठमाडौंको तीनधाराबाट तानेर असन, इन्द्रचोक, वसन्तपुरहुँदै लगनटोल पुर्याएर समापन गरिन्छ।
वर्षा र सहकालका देवताको रूपमा मानिने सेतो मच्छिन्द्रनाथलाई चैत शुक्ल अष्टमीको दिन जनबहालबाट नगरपरिक्रमा गराई दरबारमार्गस्थित तीनधारामा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गराउने प्रचलन छ।
किम्वदन्तीअनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एकजना ज्यापुले खेत खन्दा फेला परेको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाएका थिए।
त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको हो। सोही परम्पराअुनसार जमलमै रथ बनाउने गरिएको छ।
रथलाइ लगनटोलमा रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर परिक्रमा गराइ रथयात्रा सम्पन्न भएपछि सेतो मच्छिन्द्रनाथलाई खटमा राखी मच्छिन्द्रवहालस्थित मन्दिरमा लगिन्छ।
उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउँन रथलाई नगर परिक्रमा गराउँने चलन अनुसार रथलाई नगर घुमाएर असन लगिएको हो।
वर्षा र सहकालका देवता मानिने सेतो मछिन्द्रनाथको र्दशन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास छ।
रथ यात्राको दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्याइन्छ। चौथो दिन लगनमा रथ घुमाइन्छ।
पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ।