भारतको पन्जाबमा सेक्युरिटी गार्डबाट काम सुरू गरेका व्यक्ति त्यही बैंकका म्यानेजर बनेका छन्।
५८ वर्षीय परमजीत सिंह मठारू सेक्युरिटीको कामबाट सुरू गरेर १३ वर्षपछि सोही बैंकको म्यानेजर बन्न सफल भएको भारतीय सञ्चार माध्यम जागरणले जनाएको छ।
परमजीत सिंह मठारू युनियन बैंक अफ इन्डियाको शाखामा सेक्युरिटी गार्डको काम गर्थे। मठारू सन् १९८२ मा १० कक्षा पास गरेर सेनामा भर्ती भएका थिए। २१ वर्षसम्म सेनामा हवल्दार भएर देशको सेवा गरे। त्यसपछि उनले सन् २००३ मा स्वेच्छाले अवकाश लिए।
परिवारको आवश्यकता बढ्न थालेपछि पेन्सनले मात्र दैनिकी धान्न मठारूलाई गाह्रो भयो। त्यसैले उनले करिब पाँच वर्ष ट्याक्सी चलाउने काम गरे। ट्याक्सी चलाएर पनि केही नभएपछि सन् २००८ मा युनियन बैंक अफ इन्डियाको शाखामा सेक्युरिटी गार्डको काम गर्न थाले।
उनले बैंकमा सेक्युरिटी गार्डको काम गर्दा कर्मचारीहरूलाई काममा सहायता गर्थे। सहायता गर्ने क्रममा उनले एकदिन बैंकमा काम गर्ने अठोट लिए।
मठारूले जागिर खाँदा-खाँदै आफ्नो अठोट पूरा गर्न परीक्षाको तयारी गर्न थाले।
उनले सन् २०१३ मा परीक्षा दिए। तर पहिलोपटक नाम निकाल्न असफल भए। सन् २०१३, १४ र १५ मा परीक्षामा फेल भए।
तीनचोटिसम्म असफल हुँदा पनि उनले हार भने मानेनन्। सन् २०२१ मा पुनः पूर्ण तयारीका साथ परीक्षा दिए।
यसपटक भने उनी सफल भए। सन् २०२१ मार्चको ३१ मा सोही बैंकको म्यानेजर बनेर काम गर्न थाले।
मठारू यसै सफल भने भएका होइनन्। उनको कठोर मेहनत र प्रयत्नले गर्दा नै सफलता चुम्न सफल भएका हुन्।
मठारू जीवनमा सबै काम तन, मनका साथ मेहनतले गरे चाहेको सबै कुरा पाउन सक्ने बताउँछन्।
पहिले मठारू सोही बैंकमा सेक्युरिटीको काम गरेर झन्डै ७ हजार(भारू) तलब खान्थे। अहिले सोही बैंकमा म्यानेजर भएर ८०(भारू) हजार भन्दा बढी तलब खान्छन्।